विश्व

पछिल्लो समय चीनमा देखिएको भाइरस नेपालबाट आयातित

अजय अलौकिक |
पुस १८, २०७७ शनिबार २०:४ बजे

बेइजिङः गत डिसम्बर ७ मा चीनको सछ्वान (सिचुवान) प्रान्तमा देखिएको कोरोना भाइरस (कोभिड-१९) नेपालबाट आएका सङ्क्रमित मानिसबाट भएको अनुसन्धानले देखाएको छ । नौ महिनापछि डिसम्बर ७ मा छङतु (चेङदु) को फितु जिल्लामा कोभिड-१९ सङ्क्रमित फेला परेको थियो । त्यस लगत्तै सो क्षेत्र र कन्ट्याक्ट ट्रेसिङको आधारमा न्यूक्लिक एसिड परीक्षण गरिएको थियो जसबाट कुल १४ जना सङ्क्रमित भेट्टाइएको थियो ।
 
छ्वानक्‍वान सिनवन नामक सछ्वानको स्थानीय समाचार संस्थाले अनुसन्धान रिपोर्टको उद्धृत गर्दै पछिल्लो समय छङतुमा देखिएको महामारी नेपालबाट आयातित सङ्कमित केसबाट प्रसार भएको उल्लेख गरेको छ । आइसोलेसनमा थुपारिएको फोहोरको सम्पर्कबाट सङ्क्रमित भएपछि प्रसार भएको बताइएको छ । 
 
कोभिड-१९ को नयाँ सङ्क्रमित फेला परेलगत्तै प्रान्तीय पार्टी कमिटी, नगरपालिका पार्टी कमिटी र नगरपालिका सरकारले तुरून्तै आपतकालिन कार्यान्वयन कदम चालेको थियो । महामारीको प्रसारलाई रोक्न विविध प्रभावकारी उपायहरू अपनाइएको थियो । साथै सो सङ्क्रमण के कसरी भयो भन्‍ने अनुसन्धान पनि तुरून्तै सुरू गरिएको थियो ।

छ्वानक्वान सिनवन अनुसार, महामारीपछि राष्ट्रीय स्वास्थ्य आयोग, प्रान्तीय तथा नगरपालिका स्वास्थ्य, सार्वजनिक सुरक्षा र अन्य विभागको संयुक्त तत्वाधानमा एक विशेष अनुसन्धान समूहको गठन गरेको थियो ।


विशेषज्ञ समूहले व्यापक रूपमा गरेको जाँच, न्यूक्लिक एसिड परीक्षण तथा जीन अनुक्रमणको परिणामको विश्लेषणबाट यो पछिल्लो समय देखिएको सङ्क्रमण विदेशबाट आयातित थियो । 

प्रान्तीय तथा नगरपालिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र र सछ्वान विश्‍वविद्यालयअन्तर्गतको अस्पतालले संयुक्त रूपमा गरेको जीनोम अनुक्रमण तथा तुलनाले यो भाइरसको जिनोटाइप एल टाइप यूरोपेली परिवार शाखा २.३ देखाएको थियो । जुन नोभेम्बरमा नेपालबाट आएका सङ्क्रमित बिरामीको भाइरस जीनसँग समान छ । 

अनुसन्धानको रिपोर्ट अनुसार, नोभेम्बर ९ मा नेपालबाट आएका नेपालीहरूको एक समूहलाई फितु जिल्लाको थाइफिङ गाउँमा आइसोलेसन तथा अबजर्भेसनका लागि राखिएको थियो ।

नोभेम्बर १६ देखि २८ सम्म गरिएको जाँचमा ५ जना पोजिटिभ देखिएको थियो । यस अवधिमा सम्बन्धित कर्मचारीले ती सङ्क्रमितबाट सङ्कलित फोहोरलाई निर्धारित क्षेत्रमा व्यवस्थापन गरेनन् । नियम अनुसार निर्धारित क्षेत्रमा फोहोर नराख्नु र उक्त फोहोरलाई साधारण फोहोरको रूपमा उठाउँदा सङ्क्रमण फैलिएको जनाइएको छ । 

डिसम्बर १७ पछि सछ्वानमा स्थानीय रूपमा नयाँ सङ्क्रमित थपिएको छैन । साथै डिसम्बर ३१ बाट  महामारी नियन्त्रणमा रहेको जनाउँदै तोकिएका जोखिम क्षेत्रहरूलाई पनि हटाइएको जनाइएको छ । सछ्वानमा हालसम्म ८५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएकोमा ८१७ जना बिरामीको उपचार भइसकेको छ भने ३ को मृत्यु भएको छ ।
 


Author

थप समाचार
x