विश्व

चीनका दुई अधिवेशन साबिक समयमै हुने

अजय अलौकिक |
पुस १२, २०७७ आइतबार १४:३० बजे

बेइजिङः आउने वर्षको चीनका दुई वार्षिक अधिवेशनहरू साबिक समयमा नै हुने भएका छन् । तेह्रौं चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौथो अधिवेशन र तेह्रौं राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन क्रमशः सन् २०२१ को मार्च ४ र ५ बाट आयोजना हुने बताइएको छ । 
 
हरेक वर्षको मार्चको पहिलो साताबाट आयोजना हुँदैआइरहेका यी दुई अधिवेशन पछिल्लो पटक (सन् २०२० को) २० वर्षयता पहिलो पटक दुई महिनापछि मै २१ र मै २२ बाट आयोजना भएको थियो । सन् १९९८ यता यी दुई अधिवेशनको आयोजनाको मिति मात्रै परिवर्तन भएको थिएन अधिवेशनको अवधि पनि छोट्याइएको थियो ।

कोभिड-१९ (कोरोनाभाइरस) महामारीको प्रतिरोध र नियन्त्रणको पृष्ठभूमिमा दुई अधिवेशन मै २१ बाट शुरू भइ मै २८ मा ८ दिनभित्र सम्पन्‍न भएका थिए । विगतका वर्षहरूको तुलनामा कम्तीमा ५ दिन कटौती गरिएको थियो । साथै कतिपय बैठक, कार्यक्रम तथा पत्रकार सम्मेलनहरू इन्टरनेट तथा भिडियोमार्फत आयोजना गरिएको थियो । जुन अधिवेशनको इतिहासमै पहिलो पटक थियो । 


दोस्रो आर्थिक शक्ति तथा पछिल्लो समय विश्व परिदृश्यमा समेत प्रभावकारी भूमिका खेल्दै आएको चीनको वार्षिक अधिवेशनमार्फत गरिने नीतिगत समीक्षा, नीति परिमार्जन तथा नयाँ नीति लागू र सामरिक तथा वैदेशिक, कूटनैतिक विषय र आर्थिक क्षेत्रमा हुने बनाइने योजना र लक्ष्यले विश्‍वभरि स्वभाविक रूपमा प्रत्यक्ष, परोक्ष प्रभाव पार्ने गर्दछ । यसै कारण यी दुई चिनियाँ अधिवेशनले विश्‍वको नै ध्यानाकृष्ट गर्दैआएको पनि छ । 

यस बाहेक, वर्तमान अवस्थामा चीनले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा प्राप्त गरेको सफलता र अर्थतन्त्रलाई स्थिर बनाइराख्‍न चालेका कदम तथा नीतिप्रति पनि अन्तर्राष्ट्रिय जगतले ध्यान दिएको छ । यद्यपि चीनले पछिल्लो दुई अधिवेशनमा प्रस्तुत सन् २०२० को सरकारी कार्य प्रतिवेदनमा वार्षिक आर्थिक वृध्दिको ठोस लक्ष्य नै तय गरेको थिएन ।

कोरोनाभाइरस महामारी विश्‍वव्यापी रूपमा फैलिरहेको तथा विश्‍व अर्थतन्त्रमा गम्भीर मन्दी छाएको पृष्ठभूमिमा भएका यी अधिवेशन छोटो, छरितो त रह्यो नै चीनको संसदमा प्रधानमन्त्रीले आर्थिक वृध्दि दर प्रस्तुत नगरेको पनि पहिलो पटक थियो । 

आगामी यी दुई अधिवेशनमा कोरोनाभाइरस रोग निवारण तथा नियन्त्रण, कोरोनाभाइरसविरूध्द खोप, परीक्षण, पूर्ण रूपमा आमनागरिकको सर्वोपरी हित र आर्थिक विकासमा केन्द्रीत रहने छ । साथसाथै यस वर्ष चौतर्फी रुपमा सम्पन्‍न समाजको निर्माणको अन्तिम वर्षलाई पूरा गरेपछि शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माणमा अग्रसर हुने भएकोले अझै महत्वपूर्ण बनेको छ । 

यसै गरी चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको शतवार्षिकी मनाउँदै छ । आगामी वर्षबाट चीनको १४औं पञ्च वर्षीय योजना पनि आरम्भ हुँदै छ । सम्पन्‍न समाजको निर्माणपछि १४औँ पञ्‍च वर्षीय योजना पूर्ण रुपमा शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माणकालागि चीनको नयाँ यात्राको आरम्भ र दोस्रो शताब्दी लक्ष्यतिर अघि बढ्ने पहिलो ५ वर्ष हुनेछ । 

चीनको तीव्र आर्थिक विकास, डिजिटल क्षेत्र तथा समग्र प्रविधिमा फड्को मारेको अवस्था अन्तरिक्ष अन्वेषणका कदम, कोभिड-१९ को नियन्त्रण, खोपको विकास तथा छिमेक नीति, सामरिक नीति तथा सैन्य बजेटतर्फ चीनको योजना र लक्ष्य जान्‍न यी दुई अधिवेशन महत्वपूर्ण झ्याल हुन् ।
 


Author

थप समाचार
x