विश्व

चीनमा १० अर्ब घरेलु पर्यटक

अजय अलौकिक |
पुस २, २०७७ बिहीबार १७:२६ बजे

फाइल तस्वीर

बेइजिङ : कोभिड-१९ महामारीको कहरबाट चीनको पर्यटन बजार उकासिन थालेके छ । गत अक्टुबरको सुनौलो सप्ताहमा ६३ करोड ७० लाख चिनियाँले आन्तरिक भ्रमण गरेको तथ्याङले पनि यसलाई पुष्टि गर्छ । भर्खरै जारी एक रिपोर्टका अनुसार चीन आगामी पाँच वर्षमा विशाल आन्तरिक पर्यटन बजार हुने अपेक्षा गरिएको छ ।

उक्त प्रतिवेदनका अनुसार सन् २०१९ मा आन्तरिक पर्यटकको संख्या ६ अर्ब पुगेका छन् । ईनबाउण्ड पर्यटकको संख्या १४ करोड ५३ लाख पुगेको छ । यसबाट कुल वार्षिक पर्यटन आय ६.६३ खर्ब यूआन पुगेको छ ।


हालै बेइजिङमा एक कार्यक्रमबीच उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री हू ख्हफिङले ‘मास र स्मार्ट’ टुरिजम्को विकासको महत्त्वबारे प्रकाश पार्दै संस्कृति तथा पर्यटनको एकिकृत विकासलाई प्रवर्द्धन गर्न र बजार नियमनलाई सुदृढ पार्न जोड दिए ।

चीन पर्यटन प्रतिष्ठानले हालै जारी गरेको चीन पर्यटन समूह विकास रिपोर्ट (२०२०) प्रतिवेदन अनुसार, चीनको आन्तरिक पर्यटन बजारले आगामी पाँच वर्षमा प्रतिवर्ष औसत रूपमा १० अर्ब घरेलु पर्यटक भित्र्याउने छ । सोबाट १० खर्ब चिनियाँ यूआन (१.५३ खर्ब अमेरिकी डलर) को विशाल आन्तरिक पर्यटन बजार हुने अपेक्षा गरिएको छ । उक्त प्रतिवेदनले आगामी पाँच वर्षमा चीनको राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा आन्तरिक पर्यटन बजारको योगदान दर १० प्रतिशतभन्दा माथि रहने पनि अनुमान छ ।

अहिले पर्यटन मानिसहरूको दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसकेको छ । साथै सांस्कृतिक अनुभव सङ्गाल्ने माध्यम पनि बनेको छ । यस वर्षको जुनमा उक्त चिनियाँ प्रतिष्ठानले गरेको सर्वेक्षणको नतिजा अनुसार, ७८.३ प्रतिशत पर्यटकले यात्राको मुख्य उद्देश्य या एउटा पाटो सांस्कृतिक अनुभव सङ्गाल्ने रहेको बताएका छन् ।

चिनियाँहरूको सबैभन्दा ठूलो चाड वसन्त चाड नजिकिँदै छ। कोभिड-१९का कारण पछिल्लो वसन्त चाड खल्लो बन्न पुगेको थियो । यस पटक वसन्त चाड अवधिमा चीनको पर्यटन बजारले नयाँ झण्डा गाड्ने सम्भावना छ । यद्यपि चीन सरकारले कोरोनाभाइरसको त्रास अझै रहेकोले भिडभाडमा यात्रा नगर्न आग्रह गर्दैआएको छ ।

यसै बीच चीनको सबैभन्दा ठूलो अनलाइन ट्राभल एजेन्सी सिट्रिपले गत वर्षको तुलनामा २० प्रतिशतले होटल बुकिङ बढेको जनाएको छ । तथ्याङ्क अनुसार, तेस्रो तथा चौथो तहका सहरहरू पुनरूत्थानका मुख्य योगदानकर्ता बनेका छन् । यसै गरी अर्को अनलाइन ट्राभल एजेन्सी टोङछङ-इलोङले गत सेप्टम्बरसम्मको तथ्याङ्क अनुसार ८६.१ प्रतिशत प्रयोगकर्ता साना सहरका भएको जनाएको छ ।


Author

थप समाचार
x