विश्व

अमेरिकाले लगायो इजरायली सैनिकमाथि प्रतिबन्ध

इकागज |
बैशाख १०, २०८१ सोमबार ७:२० बजे

तेलअहिव- अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ। 

अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन् । साथै उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन् । 


प्रधानमन्त्री नेतान्याहुले भने, ‘अमेरिकाको यो निर्णय बेतुक छ, यो गर्नु हुँदैनथ्यो । मैले नेतृत्व गरिरहेको सरकारले यी कदमहरूविरुद्ध हरसम्भव रूपमा कारबाही गर्नेछ ।’

यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनीहरूविरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । जो बाइडन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय पनि गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन् । यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन् । अमेरिकी कोष पनि बन्द हुनेछ । अमेरिकी हतियारमाथि पनि प्रतिबन्ध लगाइने छ ।

‘हाम्रा सिपाहीहरू आतंककारी राक्षसहरूसँग लडिरहेका छन्, उनीहरूले उल्टै हामीलाई प्रतिबन्ध लगाएका छन्,’ बेन्जामिन नेतान्याहुले भने, ‘अमेरिकाबाट यो अपेक्षा थिएन, हाम्रा सैनिकहरू आतंकवादी राक्षससँग लडिरहेका बेला यस्तो अवस्थामा पनि प्रतिबन्ध लगाइँदैछ । प्रतिबन्ध लगाउने मनसाय बेतुक छ ।’

यसै क्रममा इजरायली मन्त्री इटामार बेन ग्वीर र बेजलेल स्मोट्रिचले पनि अमेरिकाको निर्णयको कडा आलोचना गरेका छन् । ग्वीरले भने, ‘हाम्रा सैनिकमाथि प्रतिबन्ध लगाउनु खतराको संकेत हो । इजरायल आफ्नो अस्तित्वको लागि लडिरहेको बेला बटालियनहरूमा प्रतिबन्ध स्वीकृत गर्ने कदम पूर्ण पागलपन हो । यो कदम अत्यन्त गम्भीर छ र नेत्जाह येहुदा सदस्यहरूलाई सुरक्षित गरिनुपर्छ ।’ उनले रक्षा मन्त्री योभ ग्यालान्टलाई अमेरिकी आदेशको अगाडि नझुक्न पनि आग्रह गरेका छन् ।

इरान–इजरायल युद्धपछि अमेरिकाले इजरायललाई आक्रमण नगर्न निरन्तर दबाब दिइरहेको छ । यसैबीच इरानमा हवाई आक्रमणको खबर पनि बाहिर आएको छ । अहिले अमेरिकाको यो कदमबाट धेरै अर्थ निकालिएको छ ।


Author

थप समाचार
x