विश्व

बाल्टिमोरको पुल भत्किँदा बेपत्ता जिवित पाइने आशा नभएपछि उद्धार कार्य स्थगित

इकागज |
चैत १४, २०८० बुधबार १४:१० बजे

वासिङ्टन- अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा बेपत्ता भएका ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । 

दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकाले बेपत्ता निर्माण श्रमिक पानीमा जिवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ । 


पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबीचमा बेपत्ता व्यक्तिहरू जिवित भेटिने सम्भावना नरहेको रियर एडमिरल श्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए । 

क्षतिग्रस्त २.६ किलोमिटर लामो इन्टरस्टेट–६९५ पुलमा पानीजहाजको सिङ्गापुरको ध्वजाबाहक कन्टेनर जहाजले ठक्कर दिएपछि पुल मर्मतमा खटिएका करिब २० कामदार पानीमा फसेको प्रारम्भिक अनुमानमा गरिएको थियो । 

दुर्घटनामा परि बेपत्ता भएका सबै व्यक्तिहरू सडक मर्मत सम्भारमा खटिएका कामदारहरू थिए । 

पाटापस्को नदीबाट यसअघि अन्य दुई जनालाई उद्धार गरिएको थियो, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उक्त पुल सन् १९७७ मा यातायात सहजताको लागि निर्माण गरिएको र प्रत्येक वर्ष लगभग एक करोड १५ लाख सवारी साधनहरू यस पुलबाट आवतजावत गर्ने गरेका थिए । (सिन्ह्वा)


Author

थप समाचार
x