विश्व

रूसमा पहिलो पटक तीन दिनसम्म मतदान, राष्ट्रपति निर्वाचनको परिणाम आजै आउने

इकागज |
चैत ४, २०८० आइतबार ९:२५ बजे

मस्को - रुसमा राष्ट्रपतीय निर्वाचनको मतदानका क्रममा आगजनी र हिंसा भइरहेका छन् । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनको सीमासँग जोडिएको बेल्गोरोड सहरमा पुटिन विरोधी मानिसहरूले धेरै ठाउँमा आगजनी गरेका छन् । सोही क्रममा राजधानी मस्कोका धेरै मतदान केन्द्रमा मानिसहरूले तोडफोड गरेका छन्। प्रहरीले हिंसामा संलग्न रहेको आशंकामा हालसम्म ८ जनालाई नियन्त्रणमा लिएको छ ।


रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मार्च १५ मा मतदान सुरु भएको थियो । पहिलो पटक तीन दिनसम्म मतदान हुँदैछ । कुनै पनि आपराधिक मुद्दामा जेल सजाय नपाएका रूसी नागरिकहरूले मार्च १७ सम्म मतदान गर्न सक्नेछन्। साथै, मस्को समय अनुसार मार्च १७ रातिसम्म नतिजा सार्वजनिक गर्न सकिनेछ ।

समाचार एजेन्सी एपीका अनुसार एक युवतीले सेन्ट पिटर्सबर्गको एक विद्यालयमा बनाइएको मतदान केन्द्रमा आगजनी गरेकी छन् । ती २० वर्षीया युवतीले पुटिनको विरोधमा आगो लगाएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखिएको छ ।

त्यही क्रममा राजधानी मस्कोमा एक महिलाले मतपेटिकामा मसी हालेकी थिइन् । मस्कोका अन्य मतदान केन्द्रहरूमा पनि आगो लगाइयो। प्रहरीले यस्तै गर्ने अर्की महिलालाई पनि पक्राउ गरेको छ । यहाँ निर्वाचन प्रक्रियामा अवरोध गरेको आरोपमा मसी खन्याएकी महिला पक्राउ परेकी छन् ।

सेन्ट पिटर्सबर्ग र मस्को बाहेक भोरोनेज, कराचे चेर्केसिया र रोस्तोभ सहरबाट पनि मानिसलाई हिरासतमा लिइएको छ। साइबेरियन क्षेत्र खान्ती मानसीमा एक महिलाले मतपेटिका जलाउने प्रयास गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।


Author

थप समाचार
x