विश्व

अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु

इकागज |
जेठ २५, २०८० बिहीबार २१:२० बजे

काबुल - अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको सम्झौतापछि तत्कालीन सरकारको स्थानमा सन् २०२१ को अगष्टमा दुई दशकलामो विद्रोह अन्त्य गरेको तालिवान समूह सत्तामा फर्किएपछि सुरक्षामा नाटकीय सुधार देखिएको थियो । 


गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उत्तरपूर्वी बदख्शान प्रान्तका कार्यवाहक गभर्नर निसर अहमद अहम्मदीको अन्त्येष्टिमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको समयमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।” 

प्रान्तीय राजधानी फैजाबादमा भएको विस्फोटबारे जारी विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालय शत्रुहरूको यस क्रूरताको भत्र्सना गर्दछ ।” प्रत्यक्षदर्शी नसीर अहमदले भने, “म मस्जिदबाहिर पाहुनालाई स्वागत गर्न उभिरहेको थिएँ, अचानक एउटा भयानक आवाजले मस्जिद हल्लायो । हतारमा जब म मस्जिदभित्र पसेँ, मैले रगताम्य शवहरू भुइँमा लडेको देखेँ ।” 

घटनास्थल नजिकै रहेका एएफपीका एक पत्रकारका अनुसार तालिबान सरकारका सुरक्षा बलले बिहान अन्त्येष्टि स्थलवरपर चेकप्वाइन्ट खडा गरेका थिए ।

विष्फोटको आवाज सुनिसकेपछि मानिसहरु नजिकैको सडकमा भागेका थिए र सुरक्षा बलले घेरा बन्दी गरेपछि पसलहरु आतंकित भई बन्द भएका थिए ।

स्थानीय अस्पतालमा स्ट्रेचरमा १० जनाको शव देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । इस्लामिक स्टेट (आइएस)ले अहमदीको हत्याको जिम्मेवारी लिएको छ । आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको कार उनको गाडीमा ठोक्याएपछि उनको मृत्यु भएको थियो ।

 फैजाबादमा भएको उक्त आक्रमणमा अहमदीका चालकको पनि मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहायता मिसन (यूएनएएमए) ले ट्वीटरमा भनेको छ, “हामी यसको र हालैका भयानक र अन्धाधुन्ध आक्रमणहरूको घोर भत्र्सना गर्दछौं । आक्रमणले नागरिक जीवनको पूर्ण उपेक्षा गरेको छ ।”

तालिबानको विश्वव्यापी ‘खलिफा’ स्थापना गर्ने महत्वाकांक्षी लक्ष्य लिएको तालिवान र आइएसबीच धार्मिकरूपमा समानता देखिए पनि सैद्धान्तिक रूपमा भिन्नता रहेको छ ।

आइएस अफगानिस्तानका तालिवान शासकहरूका लागि सबैभन्दा ठूलो सुरक्षा खतराको रूपमा देखा परेको छ । तालिवानले देशलाई अन्तर्राष्ट्रिय आक्रमण अन्त्य गर्ने र देशमा शान्ति तथा अमन चयन कायम गर्ने प्रतिज्ञासहित सत्तामा आएको हो ।

आइएसले अल्पसङ्ख्यक धार्मिक समूह, विदेशी दूतावास र तालिबान सरकारी अधिकारीमाथि भएको आक्रमणको जिम्मेवारी लिएको छ । रासस


Author

थप समाचार
x