विश्व

दिवंगत नेता गद्दाफीका छोरा आमरण अनशनमा

इकागज |
जेठ २२, २०८० सोमवार १६:६ बजे

फाइल फोटो

लिबिया - लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन सुरु गरेका छन् । 

उनलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफुलाई कुनै मुद्दामाथि सुनुवाई नगरिएको भन्दै उहाँले आमरण अनशन सुरु गरेको उनका वकिलले बताए । 


सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको जेलमा रहेका छन् । करिब ४५ वर्षअघि लिबियामा बेपत्ता भएका एक शिया धर्मगुरुको भविष्यबारे जानकारी माग्दै लेबनानी लडाकूले उनलाई अपहरण गरेका थिए ।

गद्दाफीलाई पछि लेबनानी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए र बिना कुनै सुनुवाइ बेरुत जेलमा राखिएको थियो ।

अधिवक्ता पल रोमानोसले बताएअनुसार उनका सेवाग्राही गद्दाफीले शनिबार बिहान भोक हडताल सुरु गरेका हुन् । उनले आन्दोलन अन्त्यसम्म जारी राख्ने बताएको  रोमानोसले बताए । 

अधिवक्ता रोमानोसले यस मामिलामा सञ्चारमाध्यमसँग विस्तृत विवरण राख्ने अधिकार नभएको भन्दै थप कुरा नगर्ने बताए । 

यद्यपि, गद्दाफीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अवस्थाको वर्णन गरेका छन्  । लेबनानी महिलासँग विवाह गरेका गद्दाफीको विज्ञप्तिमा भनिएको छ, “यतिका वर्षसम्म निष्पक्ष सुनुवाइ बिना नै राजनीतिक बन्दीलाई कसरी राख्न सकिन्छ?

लिबियाली नागरिक रहेका गद्दाफिले आफू भोक हडतालमा रहेको र आफूविरूद्ध अन्यायपूर्ण व्यवहार गर्नेहरू नै नतिजाका लागि जिम्मेवार हुने बताएका छन् । उनले ‘बर्तमान् (शासक) राजनीतिज्ञहरूको हातबाट कानूनलाई मुक्त गर्ने समय आएको’ बताए । 

रोमानोसका अनुसार आफ्ना सेवाग्राहीलाई वर्षौंसम्म सानो कोठामा हिँडडुल गर्न वा व्यायाम गर्न पनि नमिल्ने गरी राख्दा ढाड दुख्ने समस्या भएको छ ।

सन् १९७८ मा लेबनानका प्रमुख शिया धर्मगुरु मौसा अल–सदर बेपत्ता हुनु लेबनानमा लामो समयदेखि पीडादायी विषय बनेको छ । धर्मगुरुको परिवारले उहाँ अझै पनि लिबियाको जेलमा जीवितै रहेको हुनसक्ने विश्वास गरेका छन्, यद्यपि अधिकांश लेबनानीहरूले अल–सदरको मृत्यु भएको अनुमान गरेका छन् । उनी जीवितै रहेमा उनी अहिले ४ वर्ष पुग्नेछन् । 

अल–सदर एक शिया राजनीतिक र सैन्य समूहका संस्थापक हुनुहुन्थ्यो र उहाँले १९७५ मा सुरु भएको लामो लेबनानी गृहयुद्धमा भाग लिएका थिए । 

इरानको पवित्र शहर कोममा जन्मिएका अल–सदर सन् १९५९ मा लेबनानको दक्षिणी बन्दरगाह शहर टायरमा शियाहरूको अधिकारका लागि काम गर्न आएका थिए । सन् १९७४ मा लेबनानको १५ वर्षे गृहयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि अल–सदरले ‘मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना गरे, जसले हजारौं अनुयायीहरूलाई आकर्षित ग¥यो ।

मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना भएको अर्को वर्ष उहाँले अमाल नामक सैन्य एकाईको स्थापना गरेका थिए ।  अमालको अर्थ अरबी भाषामा ‘आशा’ हो र यही नामको लडाकू समूहको नाममा उनको समूह लेबनानको गृहयुद्धमा लडेको थियो । यस समूहको नेतृत्व लेबनानको शक्तिशाली संसदका सभामुख नाबिह बेरीले गरिरहेका छन् । 


Author

थप समाचार
x