विश्व

अपडेट

टर्की भूकम्प : मृतकको संख्या ४३ सय नाघ्यो, नयाँ पराकम्प जाने क्रम जारी

इकागज |
माघ २४, २०७९ मंगलबार ९:५८ बजे

काठमाडौँ - टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३६५ बढी जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । 

भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९२१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् । 


छिमेकी मुलुक सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पका कारण लाखौँ मानिस घरवारविहीन भएका छन् । 

टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको समाचारमा जनाइएको छ । 

रातभर पनि खोजी तथा उद्धारको काम जारी राखिएको बीबीसीले जनाएको छ । टर्कीमा भूकम्पका नयाँ पराकम्प जाने क्रम जारी रहेको समाचारमा जनाइएको छ । मंगलबार बिहानै ५.५ म्याग्निच्युडको पराकम्प महसुस गरिएको छ । 
 

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

 


Author

थप समाचार
x