सप्ताहन्त

पहिलो पाठशाला अर्थात् घरको भाषा कस्तो छ ?

वसन्त आचार्य |
माघ २४, २०७७ ७:२१ बजे

धेरैपछि बा घर आउनुभयो । छोरो बाको काँधमा चढेर हट् घोडा हट् खेल्न निकै रमाउँछ । बा आउनेबित्तिकै ऊ रमायो, ‘बा आउनु भयो ।’ छोरो रमायो तर उसले बोलेको कुराले भने मलाई चिन्तामा पार्‍यो । ‘उहाँ बा होइन, हजुरबा हुनुहुन्‍छ,’ मैले छोरोलाई भाषा सच्याउन निकै यत्न गरेँ । उसले मान्दै मानेन । मान्‍ने कुरा पनि थिएन । बोल्न जान्‍ने हुँदादेखि उसले बोल्न थालेको कुरा मैले ६ वर्षको हुँदा सच्याउन खोजेको थिएँ ।

माटो गिलो हुँदा पो सहजै भाँडाको आकृति बदल्न सकिन्‍छ । सुकिसकेपछि अवश्य पनि गाह्रो पर्छ नै । नेपाली भाषा पढाउने शिक्षकका हिसाबले मलाई यो कुराले निकै पोल्यो । लकडाउनका कारण सारा विद्यालय बन्द भए र छन् । केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको भए पनि त्यो खासै प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको सर्वस्वीकार्य छ । विद्यार्थी घरभित्रै बस्न बाध्य (?) छन् । यसमा अधिक बालबालिकाले इन्ज्वाय पनि गरिरहेकाले प्रश्नचिन्ह राख्नुपरेको हो ।


विद्यार्थीको पहिलो पाठशाला मानिने घर यतिबेला दोस्रो पाठशाला पनि बनेको छ । अभिभावकले आफूले जानेको विषय घरमै पढाएर विद्यालयको रिक्तता पूरा गर्ने केही प्रयास पनि गरिरहेका छौं । सधैँ व्यस्त हुने बाबु-आमालाई घरमै देखेर बालबालिकाहरू निकै रमाएका पनि छन् ।

मेरो छोरो पनि कक्षा १ मा यसै साल गएको छ । उसका लागि लकडाउनको पहिलो पाठशाला भन्‍नु नै मोबाइल र टिभी बनेको छ । उसलाई यी जिनिसहरूमा झुण्डिएको देख्दा आजभोलि अक्सिजन रुखले उत्पादन गर्छ या मोबाइल र टेलिभिजनले भन्‍ने द्विविधा छ ममा ।

मोबाइल या टेलिभिजनबाट उसले सिकोस् भनेर चाहेको र नचाहेको सबै कुरा हेरिरहेको हुन्‍छ । कति कुरा रोक्न खोज्छु, कतिपय रोक्न खोजेर पनि सकिँदैन । अभिभावकले पनि अनेक ठाउँ बिक्री गरेको समयबाट जोगाएर न हो, सन्तान र परिवारका लागि समय मिलाउने ।

लकडाउन बिसौनीमा छोराले अलि बेसी नेपाली भाषाको कुरा सही ढंगले सिकोस् भन्‍नेमा ध्यान दिएँ । प्रविधिसँग जोडिएका बालबालिकालाई नेपाली भाषा प्रस्टसँग बोल्न सिकाउनु कुटोले पहाड उधिन्‍नु जस्तै रहेछ । यही चुनौतीसँग यतिबेला म जुधिरहेको छु ।

नेपाली भाषा प्रस्टसँग सिकाउने कुरा न मोबाइलमा भेटिन्‍छ, न टेलिभिजनमा । बालबालिका लक्षित कार्यक्रम या युट्युब च्यानलहरू पनि नेपाली भाषामैत्री छैनन् । छोरालाई सबैभन्दा अरुचि लाग्‍ने किताबबाट भाषा प्रस्टसँग सिकाउनु मेरा लागि अन्य अभिभावकलाई जस्तै निकै चुनौतीपूर्ण छ । तर चुनौती छ भनेर छाड्ने कुरा पनि भएन । ‘पापा जी क्या आप कभि अफिस नहि जाओगे’ मार्काको छोरोलाई नेपाली भाषा राम्रोसँग बोल्न सिकाउनु नै चुनौती जस्तो भयो ।

बालबालिकाका लागि सबैभन्दा पहिलो कुरा भनेको आफू र आफ्नो परिवारबारे सिकाउनु हो । आफू र आफ्नो परिवारबारे नजानेको बालकले कसरी समाजबारे जानोस् ? नेपाली भाषामा प्रस्टसँग उसलाई आफू र आफ्नो परिवारका साथै परिवेशसँग परिचित बनाउन मैले यो चार महिनाका केही फुर्सदिला समय सदुपयोग गर्ने प्रयत्न गरेँ । तर भाषागत दृष्टिले आजका बालबालिकाहरूको अवस्था साँच्चै नै ठीटलाग्दो देखियो ।

आफ्ना बालबालिकाले अंग्रेजी बोल्न जानेन भने अनेक उपाय खोज्ने अभिभावकले नेपाली भाषा कत्तिको जानेको छ भनेर एक टुक्रा समय खेर फालेका छौँ त ? आफैँलाई अनेकपटक प्रश्न गर्न मन लाग्यो । भोलि सन्तानका लागि सम्पत्तिको जोहो गरिदिने हामीले आफ्नोपन जोगाउनका लागि भाषाको जोहो गर्नुपर्छ कि पर्दैन ?

भोलि सन्तानका लागि सम्पत्तिको जोहो गरिदिने हामीले आफ्‍नोपन जोगाउन भाषाको जोहो गर्नुपर्छ कि पर्दैन ?

पहिलो कुरा छोरोलाई बुबा शब्द चिनाउन मलाई कयौँ पापड बेल्नुपर्‍यो । मैले विद्यालय प्रवेश गर्नेबित्तिकै सिकेको शब्द मेरो छोरोलाई विद्यालय प्रवेशको ३ वर्षपछि सिकाउँदा पनि अनेक झमेला सामना गर्नुपर्‍यो । अंग्रेजी शब्दबाट आएको ड्याडी र बाबा शब्द जस्तै एउटै अर्थ बोकेको बुबा आजका बालबालिकाका लागि जटिल शब्द लाग्‍न थालेको छ । आफ्ना सन्तानले ड्याडी र बाबा भनेकामा मख्ख पर्ने हामी अभिभावकहरूलाई साँच्चै पुस्तकमा लेखेको बुबा शब्दले झटारो हान्यो ।

नेपाली विषय पढाउँदा बुबा भनेको ड्याडी हो भनेर पढाउन बाध्य म जस्ता बाबुहरूको मन साँच्चै ग्लानिले हल्लाउँदो रहेछ । हामीले आफूलाई चिनाउन पनि अरुको सहारा लिनुपर्ने यस्तो बाध्यता साँच्चिकै दु:खलाग्दो छ । आमा शब्द त अहिले हरेक घरमा स्तरोन्‍नति भएर हजुरआमामा गएको छ । आमा भनेको मम्मी हो भन्‍ने कुरा बुझ्ने बालबालिका सायद औँलामा गन्‍न सकिने खालका छन् । विडम्बना, हामी यसमै रमाइरहेका छौँ ।

कतिपय कुरा विद्यालय र किताबले मात्रै होइन । बोलीचाली र परिवेशले सिकाउँछ । हामीले बोल्ने कुरामा सानैदेखि ख्याल गरेनौँ तर किताब पढाउने बेला मात्रै ख्याल गर्‍यौँ भने नेपाली सिकाउँदा पनि अंग्रेजीबाट अनुवाद गरेर सिकाउनुपर्ने बाध्यता आउन सक्छ । क्षणिक लहड र रमाइलोपनमा हाम्रा बालबालिकालाई अरु भाषाको दास त बनाइरहेका छैनौँ ? फुर्सद निकालेर सोच्‍नुपर्ने बेला आएको छ ।

बालबालिकाको पहिलो पाठशाला घर भनिनुको मुख्य कारण पनि बोल्ने र व्यवहार गर्ने लगायतका कुरा घरबाटै सिक्ने भएकाले पनि हो । पहिलो पाठशालामा हरेक कुरा पहिलोपटक सिक्ने भएकाले त्यस्ता कुरा इरेजरले मेटेजस्तो सहजै मेट्न सकिँदैन । जस्तो पहिलो प्रेमलाई सकिँदैन । बालबालिकाले अंग्रेजी बोलेकाका गर्व गर्दागर्दा हामीले हामीलाई नै भुल्ने त होइनौँ ? भाषिक दृष्टिले अवस्था साँच्चीकै जटिल बन्दै गएको छ । म आफ्नै गाउँका केही शिक्षित मान्‍छेका घर हेर्छु । उनीहरूका अभिभावकले सिकाउने कुरा नियाल्छु ।

- बाबु, ड्याडी भन ।
- मामु भन 
 -अंकल भन । 
- आन्टी भन ।

अनेक भन-भनका शृंखला जोडिरहन्‍छन् । हरेक शृंखलामा जोडिने यस्ता कुराले बालबालिकालाई आफ्नोपनले कहाँ जोड्छ ? खोइ हामीले जोड्न सकेको ? नयाँ पुस्ता जन्माउनु र बनाउनुको अर्थ यो होइन कि उनीहरूले हाम्रा भाषा बोल्न नजानून् । नेपाली संस्कृतिमा अनेक खालका साइनो छन् । हरेक साइनोको बेग्लाबेग्लै अर्थ पनि छ । तर अहिले सबै ब्रो, सिस्, अंकल, आन्टीमै समायोजन भएका छन् । हाम्रा साइनोहरू हाम्रा पहिचान हुन् र सम्पत्ति हुन् । संसारका कुनै पनि समुदायसँग नमिल्ने हाम्रा साइनोहरूलाई हामीले नै मास्दै गइरहेका छौँ ।

भर्खरै नवविवाहित एक साथी सुनाउँदै थियो । ससुराल गएर सासू र ससुरा भनेको श्रीमतीले नोट अफ डिसेन्ट जाहेर गरिन् रे । उहाँहरू मेरो ड्याडी-मम्मी भएपछि हजुरको पनि ड्याडी-मम्मी हो सासू-ससुरा नभन्‍नु, नराम्रो मान्सिन्‍छ । साथीले श्रीमतीका कुरा काट्न सकेन । सासू र ससुरा शब्दलाई क्षणभरमै कुल्चिएर ड्याडी र मम्मीको सुरुवात गर्‍यो ।

हाम्रो यस्तो व्यवहारले हाम्रा बालबालिकालाई भोलि कस्तो बनाउने भन्‍ने महत्वपूर्ण कुरा हो । भाषा जोगाउने अभिभारा हरेक नेपालीको हो । हाम्रा मौलिक कुराहरूलाई हामीले जोगाउने प्रयत्न गरेनौँ भने कसले जोगाउँछ ? अन्य भाषाप्रतिको मोहलाई हामीले त्याग्‍न सकेनौँ भने भोलिका दिनमा हजुरबुबाको काखमा लुटपुटिएको नातिनी या नातिले ‘बा ! हजुर बा भनेको को हो’ भन्‍न बेर लगाउँदैनन् । भाषा सुधार्ने भनेको पहिलो पाठशाला अर्थात् घरबाट नै हो ।

वसन्त आचार्यका यसअघिका लेख
- दास दिमाग


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
ad
x