सप्ताहन्त

पाठकको चेतनालाई कम आँक्ने पुस्तक

हेमन्त पहारी |
भदौ ५, २०७८ शनिबार १६:५६ बजे

साहित्यका चल्तीका विधामध्ये कविता कान्छो विधा हो । यो मानेमा आख्यान भने निकै पुरानो विधा हो । अमेरिकी साहित्यको हकमा भने हर्मन मेल्भाइलको ‘मोवी डिक’को युगलाई आख्यानको युग मान्न सकिन्छ । नेपालमा पनि पछिल्लो समय आख्यान लेखनमा सबै लेखकहरूको रुचि बढेर गएको देखिन्छ । स्थापित लेखक हुन् या लेख्न थाल्दै गरेका नवलेखक, धेरैजसोले लेख्य विधामा आख्यानलाई रोजेको पाइन्छ ।
 
यही क्रममा आख्यानमा डेब्यू गरेका नवलेखक सुरेश बडालले ‘रहर’ जन्माए । लेखनमा नयाँ अनुहार देखिनु नेपाली साहित्यलाई समृद्ध बनाउने बलियो आधार तय हुनु हो । बडालले कमै उमेरमा चालेको यो कदम प्रशंसनीय छ । नेपाली साहित्यको गरिमालाई अझ सघन पार्न यत्न गरेका हुँदा एक पाठकका नाताले म लेखकलाई सुरुवातमै धन्यवाद दिन चाहन्छु । यो लेखमा भने पंक्तिकारले बडालको कथासंग्रहको टिप्पणी गरेको छ ।

प्राविधिक टिप्पणी 


लेखनको प्राविधिक पक्ष ठीकै छ । सिङ्गो पुस्तक लेखिसक्दा सामान्य त्रुटि त हुने नै भए । दुई बजे आसपासमा मान्छेको छायाँ आफ्नै खुट्टा वरिपरि हराउनु, सम्पादनका दृष्टिकोणले एकै वाक्यमा उस्तै अर्थ दोहोरिने शब्दको प्रयोग हुनु, समयको क्रम नमिल्नु इत्यादि जस्ता प्राविधिक समस्या भने सिङ्गो कथासङ्ग्रहमा रहेको देखिन्छ । यो सामान्य त्रुटि हो । यो त्रुटिलाई केही मीठा कथानकले छाँयामा पार्दिन्छन् ।

 विषयगत टिप्पणी 

विषयको उठानमा भने लेखक नराम्रोसँग चुकेका छन् । पुस्तकमा भएका कतिपय कथा पढ्दै गर्दा पाठकलाई असहज महसुस हुन सक्छ । यो टिप्पणी लेख्नुको खास उद्देश्य विषयवस्तुमाथिको चर्चा हो । विषयवस्तु र पात्र चित्रणलाई पंक्तिकारले उपशीर्षक बनाएर चर्चा गर्नेछ ।

महिलाको स्थिति : महिला शिक्षाको हकमा पचासको दशकमा नेपाली युवा महिलाको साक्षरता दर करिब ६० प्रतिशत देखिन्छ (वल्र्ड बैंकको सर्भे) । आमाको पढाइ शीर्षकको कथामा बोर्डिङ स्कुल पढेका विद्यार्थीमध्ये कसैका आमा पनि उति धेरै पढेलेखेका छैनन् जब कि बाउ पात्रलाई लेखकले डाक्टर बनाउन भ्याएका छन् । कुनै पात्रको आमालाई प्रतिनिधि पात्र बनाउनु त ठीकै हो, तर सबैका आमा निरक्षर हुन्छन् भन्ने छैन । मेरी आमाको शैक्षिक योग्यता बाबुको भन्दा उच्च छ । यस्तो लेखनीबाट लेखकले नेपाली समाजमा सक्षम महिला छँदै छैनन् भन्न खोजेको जस्तो देखिन्छ । 

घरभेटीकी छोरी शीर्षकको कथा भने ब्लन्डर हो । कथामा एउटी युवती पात्र छे जो घरभेटीकी छोरी हो, उसको चित्रण लेखकले यसरी गरेका छन् मानौँ कि ऊ भोग्या हो । आफ्नो इनर उठाइल्याउने पुरुषसँग इनर माग्न आएकी ऊ बारम्बार मुसुमुसु हाँसिरहेकी छे । अहँ, उसले किन उठाइस्सम्म भनिन । उल्टै मीठा बात गरी । केही अपवादका उदाहरण होलान् तर मलाई लाग्दैन कि आफ्नो भित्री वस्त्र उठाई ल्याउने केटालाई कुनै युवतीले मुसुमुसु हाँस्दै भन्दछे, ‘मेरो भित्री वस्त्र उठाइल्याउनु भएकामा धन्यवाद ।’ अनि ऊ छिल्लिएर दौडिन्छे ।

अझ अनौठो त कथाको अन्त्य छ, केटीको भित्री वस्त्र उठाइल्याएको पुरुष पात्रले माफीसमेत माग्दैन । यो कस्तो प्रवृत्ति देखाउन खोजिएको हो ? लेखकले पात्र चित्रण गर्नुपूर्व प्रकृति बुझ्नुर्थ्यो । उनले सामाजिक दलनलाई रत्तिभर बुझेनन् वा महिलाप्रति पूर्वाग्रही भए, लेखक नराम्रोसँग चुके । अर्को कथामा उनी लेख्छन्, ‘ऊ पहिलेकी जल शाह र अहिलेकी वर्षा राउतजस्तै खाइलाग्दी र राम्री थिई’ (पृष्ठ ५४) । 

कुनै युवतीको सौन्दर्य वर्णन गर्दा उनले प्रयोग गरेका विम्बात्मक उदाहरण हुन् यी । यहाँनेर स्त्रीप्रतिको सौन्दर्यचेतको चर्चा गरिनु जाती होला । सबै चिज सत्ताले सुन्दर बनाउँछन् । दुवै पात्र बाहुन/क्षत्री समुदायका छन् । यसअनुसार लेखकले सुन्दर भनेको बाहुन/क्षत्री हुन् भन्ने मात्रै बुझेको देखिन्छ । महेन्द्रले एउटा गीत लेखे, ‘गाजलु ती ठूलाठूला आँखा... ’ यो गीत सुन्दा उनले ठूला आँखा भएकी (खस/आर्य) युवती मात्र सुन्दर हुन् भन्न खोजेजस्तो देखिन्छ । बडालको सौन्दर्यचेत पनि महेन्द्रको जस्तै देखियो । अहिलेको समयको लेखकमा महेन्द्रको सौन्दर्यचेत देखिनु ताज्जुब लाग्ने विषय हो । लेखकले अग्रगामी चेतलाई स्वीकारेका छैनन् । 

साहित्यमा प्रगतिशील धारणा आयो भने न सामाजका बेथिति हराएर जान्छन् । प्रेमको प्रसङ्ग आँउदा एक पात्र भन्दछ, ‘उसले क्यानडा जान तँसित प्रेमको नाटक गरेकी हो ।’ यस्तो विचार देखाइनुले एउटी नेपाली युवती क्यानडा जान पनि सक्षम छैन भन्ने प्रस्ट पार्छ । उसलाई त्यतिका लागि पनि पुरुष चाहिन्छ र ऊ प्रेमको नाटक गर्छे । उसो भए नेपाली युवती गर्न सक्छन् चैँ के ? मांसपिण्डको थुप्रो मात्रै हुन् त नेपाली महिलाहरू ?

मेरो चाहनाको जवाफ त्यो थिएन । मलाई चाहिएको थियो प्रतिबद्धता, चाहिएको थियो वाचा । म चाहन्थेँ ऊ पनि हिँडोस् सँगै मैले हिँड्ने अप्ठेराहरूमा । ऊ पनि रमाओस् खुशीखुशी मैले खाने सुख्खा रोटाहरूमा  (पृष्ठ ६२ ) । यहाँनेर एकनिष्ठताको माग गर्दछ एक पुरुष पात्र । यो शोषित मानसिकता हो । समाज परिवर्तन भएर यस्तो विचारबाट निकै माथि उठिसक्दा पनि पात्रको मानसिकता शोषक देखाइरहने लेखकले सामाजिक परिवर्तन् अँगाल्न सकिरहेका छैनन् भन्न प्रस्ट हुन्छ । 

‘नयाँ सर’ शीर्षकको कथामा लेखकले उठान गरेको विषयमा गम्भीर त्रुटि छ । नेपाली समाज संगठित समाज हो । यहाँका पुरुषहरू सयौँ वर्षदेखि कुनै न कुनै रूपमा अन्तर्राष्ट्रिय मजदुर हुँदा आएका छन् । चाहे त्यो बेलायती वा भारतीय सेनामा संलग्न भएर होस् वा अन्य मुलुकमा श्रम गरिरहेका नेपाली, पुरुषहरू वर्षौदेखि विदेशिँदै आइरहेका छन् ।

कथामा, श्रीमान् विदेशमा रहँदा घरकी श्रीमती एउटा फेसबुकको भिडियो हेरेर छोरीको शिक्षकसँग प्रेममा पर्छे । शिक्षकले उसलाई वास्ता नगर्दा पनि उसले मरिहत्ते गरेको देखिन्छ । कसैको फेसबुकको भिडियो हेरेर हाम्रा आमाहरूले आफ्ना पति बिर्सन्छन् ? सन्तानप्रतिको दायित्वबोध एकाएक हराएर जान्छ ? यो कथानकका अनुसार पुरुष विदेश गएपछि महिलाहरू घर व्यवहार नधानेर परपुरुषसँग लाग्छन् भन्ने बुझिन्छ । 

सयौँ वर्षदेखि नेपाली पुरुष विदेश गइरहेका छन्, तिनका श्रीमतीहरू परपुरुषसँग लाग्दा हुन् त हाम्रो समाज यत्तिको संगठित हुन्थ्यो ? आज नेपाली परिवार रहन्थ्यो ? यो कथा कुनै विदेशीले पढ्दो हो त नेपाली श्रीमतीहरूप्रतिको उसको धारणा कस्तो हुन्थ्यो ? सम्बन्धलाई यथावत् राखिरहने तमाम नेपाली श्रीमतीमाथि गरिएको धोका हो यो कथा । यस्तो विषयको उठान् गर्नु नै गल्ती भन्ठान्छु म । एउटा संगठित समाज र सम्बन्धलाई अपवादका घटनाले प्रतिनिधि बनाउन खोज्नु कुनै अर्थमा सही छैन । 

युवा नारी पात्रको चित्रण गर्दा लेखकले सबैजसो कथामा उक्त पात्रप्रति पुरुष पात्रको यौनिक दृष्टिकोण हाबी गराएको पाइन्छ । युवा महिला पात्रको उठान हुनासाथ उसप्रतिको पुरुषको लम्पट दृष्टिकोण देखाइनु कतिसम्म उक्तिसंगत होला ? यस्ता पात्र सृजना गरेर पुस्तक लेख्नु आखिर लेखकीय रहर मात्र हुन जान्छ । अबको पुस्ता यी कुरामा सजक भई जोगिनुपर्छ । 

सामाजिक अर्थराजनीति  

समाजको आर्थिक प्रणाली वा राजनीतिक चेतमा लेखक कमजोर देखिन्छन् । माओवादी विद्रोह उत्कर्षमा रहेको समयको कथामा विद्रोहका बाछिटा समेत छैनन् । उनले निम्न वर्गीय परिवारको आर्थिक प्रणाली बुझनेनन् । यहाँ टल्स्ट्वेको उदाहरण दिनु सान्दर्भिक हुन्छ । एरिस्ट्रोक्राट भैकन पनि उनले निम्न वर्गका मान्छेको अवस्थालाई सूक्ष्म रूपमा नियालेको देखिन्छ । एउटा कथामा कमेरो पोतेको घर छ जसको ढोकामा चुकुलसमेत छैन । घरको भित्ता पनि माटोले लिपेको छ । यस्तो परिवारको सन्तानले नास्तामा भने दुनोट खाइरहेको भेटिन्छ, चाउचाउ चोर्याे भनेर भोलिपल्टै बाले एक कार्टुन चाउचाउ किनिदिन्छन् । 

सोही परिवेशमा हुर्केका हामीले नास्तामा दुनोट कमै पटक खान पाएका हौँ । कार्टुन चाउचाउ त घरमा कहिल्यै आएन । सामाजिक अर्थव्यवस्था नबुझेको यो एक उदाहरण हो । मार्वाडीको पसलमा काम गर्ने केटोले तलब दस हजार पाउँछ तर खाजा ? डेडप्लेट मःम र दुईचार कप चिया । यो स्टेट्मेन्टमा गणित लगाउने हो भने उसले तलबभन्दा आधा मूल्य बराबरको त खाजै खाँदो रछ । यो सुहाउँदो देखिएन । बाबुले पुरेत्याइँ गरेर थुपारेको सम्पत्ति लगानी गर्नुहुन्थ्यो । पैसा ब्याजमा चोके लगाउनुहुन्थ्यो । खेती प्रशस्त थियो । धान, मकै बेच्नुहुन्थ्यो । बाबुले कमाएको सम्पत्तिलाई झन् धेरै बढाउनुभएको थियो (पृष्ठ, ४२) ।

पुँजी र लगानी हेर्दा या कथाका हजुरबा सामन्ती प्रवृत्तिका छन् तर लेखकले आदर्श पुरुषका रूपमा चित्रण गरेको पाइन्छ । बारम्बार चुनाव लड्ने र हार्ने गरेको हजुरबाले सम्पत्ति सके भनिएको पनि छ । तर माथिको वाक्यांशमा भने पुँजी बढेको भनिएको छ । कामधन्दा नगर्ने, चुनाव लड्ने र हार्ने, कार्यकर्ता पाल्ने र नेतालाई सहयोग गर्नेको पुँजी कसरी बढ्छ ? के हजुरबा क्रोनिक्यापिट्यालिस्ट थिए, वा भ्रष्टाचारी ? प्रश्न गर्ने आधार छन् । यस्ता पात्रलाई महान् र आदर्शवादी बनाइनुको लेखकीय उद्देश्य के हुनसक्छ ? 

बाल मनोविज्ञान र पात्रहरू 

कथाका धेरै पात्र बालबालिका छन् । तर कतिपयको चेत सामाजिक सम्बन्धमा अभ्यस्त पुरुषको जस्तो छ । मैले खसीको पछि लागेर मसिनो सिम्किनाले हिर्काउँदै स्यास्या भनेँ । तर मलाई वास्तै नगरी नयाँ खसी आफ्नै सुरले बालाई पछ्याएर खोरसम्म पुग्यो ( पृष्ठ ६९) । सिम्किनाले हिर्काउँदा कस्तो हुन्छ ? खसीलाई केही भएन । ऊ आनन्दसँग खोरतिर गयो । र अनौठो कुरा के भने खसी नकाट भन्ने बालकले खसीलाई सिम्किनाले चैँ किन हिर्काउँछ । बालकलाई यसरी हिंस्रक देखाइनु पनि निको नलाग्ने कुरा हो । पात्रको चित्रणमा पनि लेखक नराम्ररी चुकेका देखिन्छन् । पात्रहरू समावेशी छैनन् । 

अन्तिममा आएकी एक केटी पात्रले तराईको प्रतिनिधित्व नगरेकी हुँदा एउटा सिङ्गो कथा सङ्ग्रहमा तराई नअटाएको प्रस्ट छ । जनजाति मूलका पात्र एब्सेन्ट नै छन् । कथाका लगभग सबैजसो पात्रहरू उच्च जातिका छन् । दलितले रहरमा स्थान पाएनन्, पायो त फगत आत्महत्या गर्ने कमजोर पात्र । र त्यो पात्रलाई पनि लेखकले महिला बनाएका छन् । नेपाल भनेको पहाड मात्रै होइन, र नेपाली बाहुन/क्षत्री मात्रै पनि होइनन् । त्यसकारण यो पुस्तकलाई कुनै जाति विशेषको कथासंग्रह भनी आरोप लगाइहाले अन्याय हुँदैन होला ।

समग्रमा : लेखकले समाजलाई सतही रूपमा बुझेका छन् । केही कथानकमा त समाजको सन्तुलनमाथि प्रश्न गरी बिग्रह पैदा गर्ने दृष्टिकोण राखेको जस्तो देखिन्छ । सन्तुलन बिगार्नु साहित्य होइन यी सबै समस्याका बाबजुद लेखकले यत्न गरे, उनलाई साधुवाद । लेखन वृत्तमा एउटा इँटा थपियो । यो गर्वको विषय हो । पुस्तक पढिसकेर अन्त्यमा  एक वाक्यमा टिप्पणी गरेको पंक्तिकारले लेखेको छ, ‘पाठकको चेतनालाई कम आँक्ने पुस्तक ।’

लेखक पृथ्वीनारायण क्याम्पसमा बिए एलएलबीका  विद्यार्थी हुन् । 


 


Author

थप समाचार
x