सप्ताहन्त

हिराइथ

प्रवीण |
भदौ ५, २०७८ शनिबार ७:५३ बजे

चेतना

‘म यो सहरभित्र गुमनाम छु,
या, यो सहर मभित्र गुमनाम छ !’


हामी एक अर्कालाई जान्दैनौँ । हामी एक अर्कालाई चिन्दैनौँ । नजानेरै ऊभित्रको गन्ध-सुगन्धसँग मेरो चिनजान छ । नचिनेरै उसले मभित्रका हरेक भावनाहरूलाई महसुस गरेको छ । हामी एकअर्काका लागि होइनौँ । फेरि हामी एकअर्काको ‘हुँ’ नभनि कसैको हुन सक्दैनौँ । म ऊभित्र परजिवी बनेर जीवित छु । र ऊ जीवित रहनलाई, मभित्र परजिवी बनेर बसेको छ । 

थाहा छैन, म उसको बारेमा जे सोच्छु, के ऊ मेरो बारेमा त्यही सोच्छ ? के ऊ सोच्‍न पनि सक्छ ? तर मलाई यति थाहा छ, ऊ महसुस भने अवश्य गर्छ । मभित्र गुम्सिएर उकुसमुकुस भएका, मेरा कति खल्ला भावनाहरूलाई, उसले जति आजसम्म कसले महसुस गर्यो र ! कसले बुझ्न सक्यो र !

ऊ वर्षौदेखि मौन छ । तर मभित्रको मौनता भने वर्षौंदेखि उसको कानमा गुनासोहरूको गीत गाइरहेको छ । जो कर्कश छ । जसमा कुनै सुर छैन । स्वर छैन । जस्तो कि एक भद्दा संगीत ! मलाई लाग्छ, म रहुञ्जेल यो सहर रहन्छ । मेरो अस्तित्वको विलयसँगै यो सहरको नामोनिशान मेटिन्छ । यो सहरले जसरी मलाई बोकेको छ, धानेको छ - मैले पनि यो सहरको अस्तित्व मेरा सासहरूमा जीवित राखेको छु ।

हामीभित्र आआफ्नै सहर छन् । म मर्दा मेरो ठाउँ, मेरो सहर पनि मसँगै मर्छ । मेरो सहर मबाहेक कसैले बाँच्‍न पाउँदैन । कसैले बाँचेको छैन । हामी सबै एउटै सहरभित्र छौँ भन्ने कुरा हाम्रो मस्तिष्कले आविष्कार गरेको एउटा भ्रम मात्र हो । हाम्रो बाह्य-आँखाले देखेको यो ‘भौतिक ठाउँ’ एउटा भूलभुलैया हो - जहाँ सदियौँदेखि हामी सचेत भई बाँचेको ढोङ गरिरहेका छौँ ।

एउटा मान्छे जन्मिँदा उसले आफ्नो मृत्युसँगै, आफ्नो ठाउँ, आफ्नो गाउँ या सहरपनि साथै लिएर आएको हुन्छ । हाम्रा सहरहरू उस्ताउस्तै लाग्छन् । तर त्यसको सतह एउटै भएपनि गहिराइ फरक छ । 

कहिलेकाहीँ मनन गर्छु, गहिरिएर हेर्छु - लाग्छ, म बाँचिरहेको ठाउँ मेरो मात्र हो । म हिँडेको बाटोमा, म बसेको ठाउँमा, त्यहाँ मैले जस्तो महसुस गरेँ, त्यस्तै महसुस अरू कसैले गर्न सक्दैन । किनकि, त्यो मेरो मात्र बाटो हो, त्यो मेरो व्यक्तिगत ठाउँ हो । त्यो मेरो मात्र महसुस हो ।

यो सहर अदृश्य छ, अभौतिक छ ! भौतिक जे देखिन्छ, त्यो सबथोक भ्रम हो, जस्तो कि मृगतृष्णा !
हो, यो म बाँचिरहेको ठाउँ, कुनै ठाउँ होइन । यो मभित्र बाँचिरहेको महसुस हो ।  

यहाँ हरकोही जन्मिन्छ, एउटा आफ्नै ठाउँ बोकेर । आफ्नै दुनियाँ बोकेर । त्यहाँ पहिला नै कति मान्छेहरू जन्मिसकेका हुन्छन् । कति जन्मिने क्रममा हुन्छन् । कति सँगसँगै जन्मिन्छन् । तर जति मान्छे अस्तित्वमा हुन्छन् भन्ने छ, ती सबै एकअर्काको जिन्दगीका पात्रहरू हुन् । हर-एकको अस्तित्वको नाशसँगै सबथोक बिलाएर जान्छ ।

जस्तो कि, सबथोक पहिला नै निर्धारित छ ! म मर्दा, म मात्र मर्दिनँ, मेरा हर पात्र मर्छन् । हर ठाउँ मर्छन् । हर महसुस मर्छन् । सबैको जिन्दगी एक-एकवटा समानान्तर रेखामा हिँडिरहेको छ । म मेटिएँसँगै, मेरो जिन्दगीको त्यो समानान्तर रेखा मेटिन्छ अनि मेटिन्छ; मसँग जोडिएका हरेक भौतिक चिजहरू, अभौतिक महसुसहरू !

०००
टाउको नानाथरी सोचहरूको संग्रहालय बनेको छ । म त्यही ठाउँमा छु, जहाँ ठीक यो समयमा, सधैँ हुने गर्छु । सायद सहरका मान्छेहरूले यसै बिर्सिगएको यो एकान्तिक डाँडा; जहाँ ज्याकारान्डाको एउटा बूढो रूख वसन्त ऋतुको पर्खाइमा छ । त्यो रूखको तीनवटा बूढा हाँगा तीन दिशामा सोझिएका छन् र तिनै हाँगाको छायामुनि वर्षौँदेखि एक्लिएको एउटा थोत्रे काठको बेन्च छ, जसलाई ओगट्न दुई मान्छेको शरीर काफी छ । 

म त्यही बेन्चमा बसेर यो सहरको जाग्दै गरेको सुन्दरता या कुरूपतालाई नियालिरहेको छु ।

‘यो सहरको सुन्दरता नै यो सहरको कुरूपता हो
यो सहरको कुरूपता नै यो सहरको सुन्दरता हो !’

मेरो मस्तिष्क, मेरो मुखभन्दा बढी बोल्छ । मलाई लाग्छ, मेरो टाउकोमा संसारको सबैभन्दा चर्को आवाज सदाबहार गुन्जिरहेको हुन्छ । अरुसँग बोल्नुभन्दा, म आफैसँग बोल्न बढी रुचाउँछु । म सधैँ आफ्नै मस्तिष्कको सही र गलत, यो गर्ने कि त्यो गर्ने भन्ने बहस मै अल्झिरहेको हुन्छु । 

यो सहरको सबैभन्दा उदास र एक्लो मुटु मेरो छातीभित्र धड्किरहेको छ ।  त्यहाँ एक प्रकारको गहिरो चाहना छ । तिर्खा छ, जसलाई सायद कसैको सामीप्य वा अँगालोले मेटाउन सक्छ । म केही त खोजिरहेको छु तर मलाई बिल्कुल थाहा छैन म के खोजिरहेको छु ! सायदै मेरो अगाडि आएर कसैले भन्न सक्छ कि तैँले खोजेको चिज ‘यही’ त हो !

र यो सहरपनि केही त खोजिरहेको छ । यसभित्र अटेसमटेस भएको सुख्खापन, म महसुस गर्न सक्छु । सायद यो सहर र म, एकै खाले भाग्य लिएर बाँचिरहेका छौँ । जसमा उदासिनता छ, एक्लोपना छ, दुःख छ र हामी हाम्रो अस्तित्वबाट के खोजिरहेका छौँ या के चाहन्छौँ भनेर न यो सहरलाई थाहा छ, न मलाई थाहा छ !

‘र सायद यो सहर पनि एक भ्रम हो,
र सायद म पनि एक भ्रम हुँ !’
 
यो सहरमा कोही मभन्दा बढि एक्लो छ भने, त्यो यो उदास बेन्च हो - जो बेथकान, बेझन्झट,  वर्षांैदेखि कसैलाई त पर्खिरहेको छ र म बुझ्न सक्छु ऊभित्र बाँचिरहेको, मिलनको त्यो गहिरो अभिलाषा !

र म यो पनि बुझ्छु कि त्यो उसले कुरिरहेको ‘कसै’ म भने होइन । 

०००
अनिद्रा ! केही छट्पटी ! केही पीडा ! 

कोठा भरपुर भएको छ । घुम्सिएको देखिन्छ । भरिएको छ । अझ मेरा भावनाहरूको झ्यालबाट चिहाउने हो भने, मेरो कोठा पूर्णतः निसासिएको छ । चिज-बिज, सर-सामान, भौतिक जिन्सी, केही छैनन् भन्दा पनि हुन्छ । हुन त, हुनुपर्ने आवश्यक कुराहरू छन् । तर ती सबै सामानहरू मेरो कोठाको एक कुनामा लगेर राख्‍ने हो भने, त्यो कुना त्यतिले नै ओगटिन्छ ।
 
म यहाँ थोकहरूको कुरा गरिरहेको छैन । मेरो कोठा केही निराश महसुसहरूले भरिएको छ । यहाँ छट्पटी छ । अनिद्राको तिखो वाण र चिन्ताका कलिला खुट्टाहरू दौडिरहेका छन्, थोत्रा भित्ताहरूमा । रातको सम्पूर्ण शुन्यता थोत्रो स्वरमा गीत गाइरहेछ, मेरो टाउकोमाथिको सिलिङमा उल्टो जुण्डिएर । र त्यसको स्वर बिस्तारै-बिस्तारै चर्को हुँदै गइरहेको छ । मेरा कानहरू जतिसक्दो त्यो आवाजलाई वास्ता नगर्ने कोसिसमा लागेको छन् । तर उनीहरूको कोसिस, विफलताको भीरबाट फाल हाल्न सफल भएको मेरा भौतिक आँखाहरूले नदेखे पनि, मेरो चेतनालाई भने चेत भइसकेको छ ।

मलाई हत्तपत्त निद्रा आउँदैन । सयौँ कोसिसका बावजुदपछि बल्लबल्ल निदाउँछु ।  र मेरो निद्रामा शून्यबाहेक केही पनि हुँदैन । म सपना देख्दिनँ । मलाई आजसम्म, कुनै रात म निदाएको बेला सपना देखेको याद छैन । तर विपनामा भने मेरो मस्तिष्क कल्पनाको पखेटा भिरेर आकाश-आकाश डुलिरहेको हुन्छ । 

निद्रा नलागेको रात, म उत्तानो परेर आफ्नो कोठाको सिलिङलाई घुरिरहन्छु । त्यतिबेला मेरो मस्तिष्क एउटा काल्पनिक सफरमा निस्किन्छ । म यसै अजब-गजब सोचहरूमा रुमल्लिन पुग्छु । हरेक कल्पनाका सुरुआती दृश्यहरू फरक हुन्छन्, तर सफरको अन्त्यतिर आइपुग्दा मेरो मस्तिष्कमा त्यही एउटा दृश्य घोलिन पुग्छ । जतिनै कोसिस गरेपनि, मेरो खयाली दुनियाँ त्यो दृश्यसम्म नपुगी रहन सक्दैन । त्यो दृश्यबाट भाग्‍न पनि सक्दैन । यस्तो लाग्छ, मेरा कल्पनाहरूलाई कसैले नियन्त्रण गरिरहेको छ र उसैले हरेकचोटि मलाई त्यो अनौठो दृश्यमा धकेल्छ ।

त्यो दृश्यमा एउटा डाँडा छ । त्यो डाँडाबाट सहरको नग्‍न आकृति देखिन्छ । त्यहाँ एउटा पुरानो र एक्लो काठको एउटा बेन्च छ । सोही बेन्चमा एउटी स्त्री आकृति सधैँ कसैलाई कुरिरहेकी हुन्छे । उसका खाली पैताला वरपर, सुकेका पात अनि वैजनी रङ्गका फूलहरू तितरबितर, छरपस्ट भई छरिएका हुन्छन् । 

म उसको अनुहार त त्यति याद गर्न सक्दिनँ तर उसका आँखा भने म कदापि बिर्सन सक्दिनँ । ती आँखा निकै गहिरा छन् । सुमुन्द्र झैँ । तर त्यो समुन्द्रमा पानी छैन । मानौँ, समुन्द्रको सबै पानी सुकिसकेको छ । बडो उदास छन् ती उसका आँखा । जस्तो कि कसैलाई कुर्दाकुर्दै थाक्न लागेका हुन् !

मलाई सधैँ ती आँखाले तर्साउने गर्छन् ! 

०००
र,
मलाई निद्रामा हिँडने रोग छ । तर यो रोग आफैलाई बडो अचम्मको लाग्छ । म सधैँ निद्रामा; आफ्नो कोठाबाट निस्किन्छु र एउटा सुनसान ठाउँमा पुगेको हुन्छु । सदा त्यही ठाउँमा । सायद, त्यो ठाउँ पनि सधैँ मलाई नै कुरिरहेको हुन्छ !

घरदेखि पश्चिम, दुईवटा अँध्यारा गल्लीहरूलाई पार गरेर उँभो लाग्दा, त्यहाँ एउटा डाँडा आउँछ - जसलाई मैले ‘उदास-डाँडा’को संज्ञा दिएको छु । 

घरदेखि पश्चिम, दुईवटा अँध्यारा गल्लीहरूलाई पार गरेर उँभो लाग्दा, त्यहाँ एउटा डाँडा आउँछ - जसलाई मैले ‘उदास-डाँडा’को संज्ञा दिएको छु । 

सोही डाँडामा अवस्थित एउटा प्राचीन ज्याकारान्डाको छहारीमुनि सहरको उदासिनता नियालिरहेको बेन्चमा पुगेपछि म आफ्नो निद्राबाट ब्युँझने गर्छु । त्यहाँ पुगेपछि, म फेरि घर फर्किन्न । रातलाई त्यही बसेर बिहान बनाउँछु । बिस्तारै प्रभातका कलिला किरणहरूमा आङ तान्दै गरेको सहरलाई नियालिबस्छु । क्षितिजतिर नजर तेर्साउँछु र त्यसको योनीबाट जन्मिँदै गरेको घामको अद्भुत स्वरूपमा लठ्ठ हुन्छु । 

त्यतिबेला मेरो दिमागभित्रको मुख धाराप्रवाह बोलिरहेको हुन्छ । गुनासोहरूको गीत गाइरहेको हुन्छ । मानौँ, कोही मेरो मस्तिष्कभित्र छ । र ऊ त्यही मस्तिष्कभित्रको अदृश्य, काल्पनिक पात्रसँग संवाद गरिरहेको छ । 

यो ठाउँ, मेरो कल्पनाको त्यो अनौठो दृश्यसँग मेल खान्छ । म यहाँ होसमा कहिले आएको छैन । सधैँ, निद्रामै हिँडेर आइपुग्छु । यहाँ बसिरहँदा, म अजीब-अजीब ख्यालहरूमा हराउँछु । सधैँ, मलाई अनौठा-अनौठा महसुसहरूले कुत्कुत्याउँछन् । अनन्त आकांक्षाहरूले लखेट्छन् ।

जस्तो कि, एकदिन मेरो कल्पनाकी त्यो ‘दिव्य आकृति’, चुपचाप आएर मसँगै त्यो बेन्चमा बस्नेछे !  

अवचेतना

म सधैँ एउटै सपना देखिरहेकी हुन्छु । 

त्यस सपनामा, एउटा परिचित लाग्‍ने अनुहार कुनै अन्जान डाँडामा रहेको एक्लो बेन्चमा बसेर कसैलाई पर्खिरहेको हुन्छ । म त्यो ठाउँसँग अपरिचित छु । यथार्थमा त्यो ठाउँ कतै नहुन पनि सक्छ या हुन पनि सक्छ ! 

ऊ साँच्चै नै एक्लो छ । उसका आँखा उदास छन् । ती आँखामा विरक्ति, वैराग्य कोचाकोच भइ भरिएका छन् । ऊ पूर्ण रूपले रित्तिएको छ । जस्तो कि एउटा कुवा, जसमा पानी छैन । यस्तो लाग्छ, उसका सबै प्रसन्न अनूभुतिहरूलाई कसैले ऊबाट खोसेर लगेको छ । ऊ शून्य-शून्य छ । ऊ खोक्रो-खोक्रो भएको छ ।

थाहा छैन ऊ कसलाई पर्खिरहेको छ । तर बेलाबेला मलाई लाग्छ, ऊ जसलाई पर्खिरहेको छ - त्यो सायद म नै हुँ !

०००
प्रवीण पढ्न र लेख्‍न रुचाउँछन् । उनी आर आर कलेजमा साइकोलोजीका विद्यार्थी हुन् । 


Author

थप समाचार
x