सप्ताहन्त

त्यो भयानक दशक सम्झाउने जीवन्त दस्तावेज

चिरञ्‍जीवी मास्के |
असार ५, २०७८ १६:५६ बजे

मानिसहरूले अहिले पनि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वबारे प्रश्‍न उठाउने गरेका छन् । १७ हजारभन्दा बढी मानिसको ज्यान गएको र धेरै मात्रामा भौतिक सम्पत्तिको क्षति भएको सशस्त्र द्वन्द्वले मुलुकलाई के दियो ? नेपाली जनताले के प्राप्त गरे ? अनि यसको जवाफ पनि मानिस आफैँ दिने गर्छन्- हात लाग्यो शून्य !

के उपलब्धि हात लाग्यो, शून्य नै हो त ? पक्कै हैन । केही त परिर्वतन गरेको छ, १० वर्षे सशस्त्र द्वन्द्वले । मुलुकमा यति छिट्टै गणतन्त्र आउनुमा कहीँ न कहीँ १० वर्षे सशस्त्र द्वन्द्वको भूमिका छ । आम मानिसमा देखिएको अधिकारप्रतिको सचेतता र संघीयताको पृष्ठभूमिमा पनि १० वर्षे सशस्त्र द्वन्द्व प्रतिविम्बित हुन्छ । भलै जनताको अपेक्षा, तत्कालीन माओवादी कार्यकर्ताहरूको आशा र भौतिक एवं मानवीय क्षतिको हिसाबले उपलब्धि नगन्य छ । तर जसरी आम रूपमा १० वर्षे सशस्त्र द्वन्द्वले केही उपलब्धि हुन सकेन भन्ने व्याख्या हुँदै आएको छ, त्यसले भने १७ हजार नागरिकको शहादतालाई अपमान गरेको ठहरिन्छ । 


१० वर्षे सशस्त्र द्वन्द्वको विषयमा दुई खाले विश्लेषण हुने गरेका छन् । एउटा पक्षले त्यो द्वन्द्वले हत्या, हिंसालाई मात्र प्रोत्साहित गर्‍यो, उपलब्धि भने केही दिन सकेन भन्‍ने कोणबाट कुरा अगाडि बढाउँछन् र त्यो सशस्त्र द्वन्द्व नभएर आतंककारी गतिविधिमात्र भएको निष्कर्ष सुनाउँछन् । अनि अर्का थरीले अहिले जे जति उपलब्धि भएको छ (संघीयता, गणतन्त्र, मुलुकको विकास) सबै सशस्त्र द्वन्द्वकै परिणाम हो भन्ने गरेका छन् । जहाँ दुवै विश्लेषण अतिवादी ठहरिन्छ । किनभने १० वर्षे सशस्त्र द्वन्द्वले केही उपलब्धि, केही क्षति, केही हिंसा, केही अपेक्षा, केही विकास र केही विनाश गरेको छ ।

द्वन्द्वको भित्री पाटो 

सशस्त्र द्वन्द्वको पहिलो र भित्री पाटो निक्कै भयावह, रोमाञ्चक, आशलाग्दो र कहालीलाग्दो छ । १० वर्षे सशस्त्र द्वन्द्वमा केवल द्वन्द्वरत पक्ष (तत्कालीन माओवादी र सुरक्षा फौज) मात्र सहभागी छैनन् । सर्वसाधारण, व्यवसायी, पत्रकार, मानव अधिकारकर्मी, किसान, मजदुर (गैरसैनिक) पनि जोडिएका छन् । र तिनै गैरसैनिक भित्रका एक पात्र हुन्, क्याप्टेन रामेश्वर थापा । जसले १० वर्षे सशस्त्र द्वन्द्वलाई नजिकबाट नियाल्ने अवसर मात्र पाएनन्, त्यसमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहभागी हुने र सशस्त्र द्वन्द्वको भित्री पीडा बुझ्ने, कमी-कमजोरी औँल्याउने तथा त्यसको शान्तिपूर्ण अवतरणका लागि भूमिका खेल्ने अवसरसमेत प्राप्त गरे ।
 
‘बारुदमाथि उड्दा’ पुस्तक क्याप्टेन रामेश्वर थापाले १० वर्षे सशस्त्र द्वन्द्वमा देखेको र भोगेको एउटा समयको संस्मरणको सँगालो हो । ‘बारुदमाथि उड्दा’ पुस्तक पढ्दै जाँदा पुस्तकका पन्नाहरूसँगै सशस्त्र द्वन्द्वको पीडा बल्झिँदै जान्छ र हरेक पाठकलाई केही नयाँ काम गर्ने प्रेरणा थपिदिन्छ । किनभने, यो पुस्तक पढेपछि जो कोहीले सहजै अनुमान लगाउन सक्छन् कि राजनीतिको वेग र समाजको वेदनाले थलिएको हाम्रो देश विकास र समृद्धिको मार्गमा विश्वका अन्य मुलुकहरूभन्दा धेरै पछि परेकै कारण सशस्त्र द्वन्द्वको जन्म भएको हो । राजनीतिक रूपमै सुरु भएको विभेद, शैक्षिक सुस्तता, भौगोलिक विकटता र सामाजिक विकृति आदिले द्वन्द्वलाई मलजल गर्‍यो अनि असम्भव अभीष्ट र अपत्यारिला आश्वासनले १० वर्षसम्म द्वन्द्वलाई अघि बढाउन सक्यो ।

विश्‍वका धेरै मुलुकले स्वतन्त्र भएको छोटो समयमा भौतिक, मानवीय र चेतनाको विकासको दृष्टिले धेरै प्रगति गरेका छन् । तर नेपालमा हरेक समय राजनीतिक संक्रमण रहने र स्वतन्त्रतालाई स्वच्छन्दताका रूपमा परिभाषित गर्ने गलत परम्परा भएकाले एक सय चार वर्षको राणा शासन तथा ३० वर्षको पञ्चायती शासनको अन्त्य हुँदा पनि मुलुकले विकास र समृद्धिमा फड्को मार्नु त परकै कुरा पाइलो सार्नसमेत नसकेको अवस्था रह्यो । जसको परिणाम मुलुकले १० वर्षे सशस्त्र द्वन्द्व भोग्नु प¥यो र विकास र समृद्धिको एउटा अध्याय सुरु नै नभई अन्त्य हुन पुग्यो ।

क्याप्टेन रामेश्‍वर थापाको उडान अनुभव ‘बारुदमाथि उड्दा’ पुस्तक शासक, नीति निर्माता, व्यवसायी, तत्कालीन द्वन्द्वरत पक्ष माओवादी र सरकार तथा सुरक्षा फौजका मानिस, सञ्‍चारकर्मी, अधिकारकर्मी सबैले पढ्नैपर्छ । 

‘बारुदमाथि उड्दा’ पुस्तकमा वर्णन गरिएको २०६१ चैत २६ को खारा आक्रमण होस् या २०५३ पुस ३ गते डोल्पाको त्रिवेणी आक्रमण  । अथवा २०५५ जेठदेखि २०५६ वैशाखसम्म सुरक्षा फौजले चलाएको किलो शेरा टु अप्रेसन होस् या २०५६ चैत १ गते प्युठानको भिङ्ग्रीमा भएको आक्रामण वा २०५६ चैत २१ गते रुकुमको तकसेरामा भएको आक्रमण नै किन नहोस्, त्यतिबेलाको हृदयविदारक अवस्थाले जो कोहीलाई तरङ्गित बनाउँछ । द्वन्द्वमा प्रत्यक्ष संलग्न भएर बाँच्न सफल तत्कालीन माओवादी नेता, कार्यकर्ता र सरकारी सुरक्षा फौजले त्यतिबेलाको अवस्थालाई संस्मरण गरेर अहिले परिर्वतनका लागि केही काम गरे कि गरेनन् त ? यो सवाल ‘बारुदमाथि उड्दा’ पुस्तकका लेखक क्याप्टेन रामेश्वर थापाको मनमा जसरी नाचिरहेको छ, त्यसैगरी द्वन्द्वलाई आफैँले या मिडिया तथा अन्य माध्यमबाट देखेका, भोगेका नेपाली जनताको मनमा पनि नाचिरहेको हुनुपर्छ ।
 
क्याप्टेन थापाले ‘बारुदमाथि उड्दा’ पुस्तकमा झन्डै ३५ वटा भिडन्तहरूको सजीव चित्र शब्दमार्फत प्रस्तुत गरेका छन् । रगतका आहाल, सुरक्षा फौजको कोलाहल, माओवादीको भागदौड, सर्वसाधारणको आक्रोश, अपेक्षा र आतङ्क, हेलिकप्टरसँगको उडान, यी सबै विषय कुनै चलचित्रको कथा जसरी बगेका छन् क्याप्टेन थापाको पुस्तकमा । १० वर्षको त्यो द्वन्द्वमा समाजले जुन सास्ती भोग्‍नुपर्‍यो, राजनीतिमा जुन खालको रक्तपात भयो, जनताले जे खालको जबर्जस्ती सहनुपर्‍यो त्यसको साक्षी बनेको छ, क्याप्टेन थापाको पुस्तक ‘बारुदमाथि उड्दा’ । १० वर्षको द्वन्द्वले राजनीतिक रूपमा मुलुकको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, भौतिक विकास सबै कुरालाई ठप्प पारिदियो । अनि केही हदसम्म भने विकृति विसंगतिको अन्त्य, सामाजिक समानताजस्ता कुरालाई स्थापित पनि गरिदियो ।
 
क्याप्टेन थापाको फ्ल्यासब्याक

क्याप्टेन थापाको ‘बारुदमाथि उड्दा’ पुस्तकको सार १० वर्षे द्वन्द्वको पीडामा दुःखी हुने र यस्तो भयो वा यस्तो हुन्थ्यो भनेर थकथकाउने मात्र हैन, लामो समय अवरुद्ध भएको विकास र समृद्धिको उडानलाई उनकै उडानको रफ्तारमा अगाडि बढाउनु पर्छ भन्‍ने पनि हो । पुस्तकको सुरुमा उनले स्मरण गरेको उनको जीवनको फ्ल्यासब्याकले मुलुकको विकास र समृद्धिका लागि हरेक नागरिकको व्यावसायिक दक्षता, प्रतिबद्धता र निरन्तरता आवश्यक हुन्छ भन्ने कुरा सम्झाएको छ । मानिसले एउटा सम्भावनामा अगाडि बढ्दै गर्दा अरु धेरै सम्भावना पनि खोज्दै जानुपर्ने र सफलताका लागि सपना देख्नुपर्ने तथ्यलाई क्याप्टेन थापाको पुस्तकभित्र समेटिएको उनको जीवनको फ्ल्यासब्याकले स्मरण गराइरहने छ ।

अदालतको जागिरमा मात्र सन्तुष्ट बनेको भए क्याप्टेन थापा मुलुकको सफल हेलिकप्टर तथा मिडिया व्यवसायी बन्न सक्ने थिएनन् । उनले एउटा अवसरको सदुपयोग गर्दै गर्दा अर्को सम्भावनाको खोजी पनि गरिरहे र उपयुक्त समयको आँकलन गरेर अर्को सम्भावनातर्फ पाइला अगाडि बढाए । जसले उनलाई सफलतामात्र दिएन, नेपालकै इतिहासको एउटा महत्वपूर्ण कालखण्ड १० वर्षे सशस्त्र द्वन्द्वको अविचलित साक्षीसमेत बनाउन सक्यो ।
  
समग्रमा भन्नुपर्दा पुस्तकमा समेटिएको द्वन्द्वको शब्दचित्र र लेखक थापाको फ्ल्यासब्याक एकअर्कोको परिपूरक लाग्छन् । सायद त्यसैले पनि थापाले दुवै विषयलाई एउटै पुस्तकमा अटाएका छन् । फ्ल्यासब्याक पढ्दा थापाको जीवनको जोड घटाउ र उनको पेसाप्रतिको लगन, प्रतिबद्धता, निरन्तरता र आशा तथा अपेक्षालाई बुझ्‍न सकिन्छ र उनको जीवनको त्यही बुझाइबाट द्वन्द्वपछिको भयावह अवस्थालाई अवसरका रूपमा उपयोग गर्न सकिने मनोविज्ञान जो कोहीले प्राप्त गर्न सक्छन् ।
 
र अन्त्यमा,

त्यसैले पनि क्याप्टेन रामेश्वर थापाको उडान अनुभव ‘बारुदमाथि उड्दा’ पुस्तक शासक, नीति निर्माता, व्यवसायी, तत्कालीन द्वन्द्वरत पक्ष माओवादी र सरकार तथा सुरक्षा फौजका मानिस, सञ्चारकर्मी, अधिकारकर्मी सबैले पढ्नैपर्छ । क्याप्टेन थापाले संस्मरण लेख्दै गर्दा आफ्नो मनोकांक्षा र महत्वाकांक्षालाई लिपिबद्ध गरेको ठानेको भए पनि पुस्तक तयार हुँदासम्म त्यो १० वर्षे सशस्त्र द्वन्द्वको एउटा अनुभवको सँगालो, अनुसन्धानको खुराक र नयाँ आशा तथा अपेक्षाको मार्ग बन्न सफल भएको छ । त्यो पुस्तकले १० वर्षे द्वन्द्वको स्मरण मात्र गराउँदैन, राजनीतिक, सांगठनिक, सैनिक कुशलताका लागि आवश्यक तत्वहरूको ज्ञान दिने र बितेका पलहरूबाट नयाँ मार्ग पहिल्याउन सहयोग गर्ने कामसमेत गर्दछ । 



Author

थप समाचार
ad
x