सप्ताहन्त

ऊ र कामरेडहरू

प्रविण ढुंगेल |
असार ५, २०७८ शनिबार ६:५८ बजे

देशमा अग्रगामी परिवर्तन
र न्यायोचित अनि 
समतामूलक मुलुक
निर्माणका लागि 
ऊ युद्धमा होमियो
आफ्ना कामरेडहरूसँग !
तर
उसलाई के थाहा कि 
उसको बलिदान र क्रान्तिले मुलुक होइन,
सर्वोच्च कामरेडहरूको
घर र संगठन बन्छ भन्‍ने कुरो !

उसको रगत र पसिनाले 
देशको माटो सिञ्चित 
नभईकन केवल उच्च तहका
कामरेडहरूलाई सत्तामा 
प्रवेश गर्न द्वार खुल्छ भन्‍ने कुरो ! 


उसले त सुशासन र समृद्धिमूलक 
नयाँ नेपालको सपना बाँडेको थियो;
तर कामरेडहरूले झुटको आवरणमा 
उही पुरानो नेपालको सपना बाँडे !

उसको लडाइँ सर्वहारा वर्गका 
नागरिक हुन नसकेका
‘अ’नागरिकहरूका पक्षमा थियो
तर:
कामरेडहरूले सत्ता र शक्तिका 
खातिर ती नागरिकहरूलाई 
चटक्कै बिर्सिदिए !

तर उसलाई के थाहा कि 
शोषित, दमित सर्वहारा, पीडित गरिब वर्ग
उसका तिनै कामरेडहरूलाई
केवल सत्ताको सिँढी चढ्ने, शक्ति पाउने 
र चुनावमा भोट खसाल्ने भोट बैंक, 
तालीको गडगडाहटले मन्दमस्त अनि 
मख्ख पार्ने भीड मात्रै हुन भन्‍ने कुरो ! 
         
उसले शासक सामन्तहरूको पन्जाबाट 
फुत्किने, मुस्कुराउँदै जीवन सँगाल्ने 
र ऋणबाट पूर्ण मुक्त हुने 
आशाका किरण देखेको थियो ! 

तर उसलाई के थाहा कि 
सत्ता र शक्तिको मात र माथ
अनि चरम चस्का लागेपछि 
तिनै कामरेडहरूले 
जनयुद्ध र जनआन्दोलनका 
मूल मर्म र भावनाहरू 
बिर्सिजानेछन् भन्‍ने कुरो !


Author

प्रविण ढुंगेल

ढुंगेल हाल त्रिविमा पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर अध्ययनरत छन् ।


थप समाचार
x