रीतिरिवाज

पशुपतिमा क्षमा पूजा : भारतबाट २५ ब्राह्मणलाई निमन्त्रणा

इकागज |
फागुन ९, २०७७ आइतबार १९:३३ बजे

काठमाडौँ  :  पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको  छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६  नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। आगामी बुधबारसम्म क्षमापूजा चल्नेछ। 

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्‍ने गरेको थियो । वर्षौंँदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरु भएको हो । वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्‍न लागिएको हो । सुनको जलहरी निर्माण पनि सुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्‍ने गरी काम भइरहेको छ ।
 
पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोड रुपैयाँको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ । सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्‍नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका केपी ओलीले सुनको जलहरी राख्‍ने कोषलाई ३० करोड रुपैयाँ बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।
 
मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करीब ३४ किलो सुन लाग्‍ने अनुमान गरिएको छ ।  ३० करोड रुपैयाँ बाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ । रासस



Author

थप समाचार
x