पर्यटन

राष्ट्रिय ध्वजावाहककाे हालत

एउटा न्यारोबडी एक महिनादेखि दोहामा बिग्रिएर थन्कियो

के कारण बिग्रियो निगम बेखबर

विकास थापा |
माघ १६, २०७८ आइतबार १६:५९ बजे

कतारको दोहामा एक महिनादेखि देब्रे इन्जिन क्षतिग्रस्त भई थन्किएको न्यारोबडी (एकेडब्ल्यू) । तस्बिर : निगम स्रोत

काठमाडौं : नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी (अल्फा किलो ह्वीस्की-एकेडब्लू) को देब्रेपट्टिको इन्जिन क्षतिग्रस्त (स्टल) भएका कारण एक महिनाभन्दा बढीदेखि कतारको दोहामा थन्केर बसेको छ । तर के कारण क्षतिग्रस्त भयो भन्ने कुरा निगम व्यवस्थापनलाई अहिलेसम्म पत्तो छैन ।

गत डिसेम्बर २८ तारिखमा राति १० बजे (पछि एक घण्टा ढिलो गरी) काठमाडौंबाट एक सय ३६ जना यात्रु लिएर उक्त जहाज कतारको दोहा गएको थियो । क्याप्टेन सुवास रिजाल र को–पाइलट लिबर्टी भण्डारीले उडाएको उक्त जहाज दोहारमा अवतरण गरिसकेपछि डक गर्दा (यात्रु झर्ने भर्‍याङ जहाजमा टसाउने बेला) देब्रे इन्जिन भाइब्रेसन भएको देखाई ‘स्टल’ भएको म्यासेज देखायो । 


निगम स्रोतका अनुसार इन्जिनियरहरुले उक्त म्यासेजका आधारमा जहाज चेक गर्दा उक्त इन्जिन नराम्रोसँग क्षतिग्रस्त भएको पाइयो । ‘सोचेभन्दा बढी ड्यामेज (क्षति) भएको पाइयो,’ निगम स्रोतले भन्यो, ‘जहाज अहिले कतार एयरवेजको ह्यांगरमा छ ।’

एक महिनाभन्दा बढी समयदेखि जहाज थन्किएपछि पार्किङ शुल्क र ड्यामरेज (विलम्ब शुल्क) गरी निगमले दैनिक २ सय डलर (दैनिक २४ हजार रुपैयाँ) जरिवाना तिर्नुपर्नेछ ।

दाजुको जहाज छानबिन गर्न भाइ संयोजक

इन्जिनमा समस्या देखिएपछि के कारणले गर्दा भयो भन्ने पत्ता लगाउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कमिटी गठन गरे । तर कमिटीले अहिलेसम्म दुईपटक पनि बैठक राख्न सकेको छैन । 

अधिकारीले कमिटीमा न्यारो बडी जहाजको प्राविधिक छानबिन गर्न वाइडबडीका क्याप्टेन श्रवण रिजालको संंयोजकत्वमा उक्त कमिटी बनाए । श्रवण क्याप्टेन सुवासका आफ्नै भाइ हुन् । कमिटीमा अपरेशन डाइरेक्टर दिपुराज ज्वार्चन, कस्टोमर सर्भिस डाइरेक्टर टंकमणि दाहाल, इन्जिनियरिङका डाइरेक्टर पारस पौडेल छन् ।

स्रोतका अनुसार इन्जिनियरिङसँग असम्बन्धित व्यक्तिलाई कमिटीमा राखिएकाले बैठक नै राख्न नसकिएको हो । ‘कमिटीले प्रतिवेदन त परै जाओस्, बैठकसमेत राख्न सकेको छैन,’ स्रोतले भन्यो, ‘प्रतिवेदन नआइकन के गर्ने भन्ने टुंगो हुँदैन ।’

अधिकारीले न्यारो बडीका क्याप्टेनको गल्ती ढाकछोप गर्न आफ्नै भाइ (श्रवण) लाई संयोजक बनाएको स्रोतले बतायो । ‘आफ्नै भाइलाई कमिटीमा राखिदिंदा अन्य सदस्य सशंकित बने,’ स्रोतले भन्यो, ‘पाइलटलाई दोष देला भनेर रिपोर्ट आएन ।’

सामान्यतया जहाजको प्राविधिक गडबडीमा सामान्यता पाइलटहरु जिम्मेवार हुँदैनन् ।

बोर्ड बैठक बस्नै सकेन  

यता जहाजको मर्मत गर्न निगम सञ्चालक समितिको स्वीकृति चाहिन्छ । तर निगमका ट्रेड युनियनहरुले अघिल्ला पर्यटन मन्त्री योगेश भट्टराईले नियुक्त गरेका संचालकहरुलाई निगममा प्रवेश नै गर्न नदिंदा बैठक बस्न सकेको छैन ।

ट्रेड युनियनहरुले तत्कालीन मन्त्री भट्टराईले नियुक्त गरेका सञ्चालक समितिका सदस्यहरु फुर्वा ग्याल्जेन शेर्पा, ईश्वरी पौडेल र प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई निगममा छिर्न दिएका छैनन् । उनीहरु हेलिकप्टर व्यवसायी र बतास समूहको मान्छे भएको कारण देखाउँदै प्रवेशमा रोक लगाएका हुन् ।

मन्त्री भट्टराईले बतास समूहको आयसर मोटर आपूर्ति गर्ने कम्पनीको प्रबन्ध निर्देशक डिम प्रकाशलाई निगमको प्रबन्ध निर्देशक बनाएका थिए । त्यसैगरी कैलाश हेलिकप्टरका शेयर होल्डर पौडेल र एयर अल्टिच्यूडका शेर्पालाई सञ्चालक बनाएका थिए । भट्टराईले नै बतास समूहलाई नारायणहिटी संग्रहालयमा होटल सञ्चालन गर्ने अनुमति दिएका थिए । 

निगम सञ्चालक समितिका अर्का सदस्य किशोर प्रधान (नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षका पराजित उम्मेदवार) विगत एक महिनादेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

यही जहाजको तीन वर्षअघि नयाँ दिल्लीमा स्टल भएको थियो । वाइड बडी खरिद गर्दा तत्कालीन अध्यक्ष मदन खरेल र प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जहाज अलग र इन्जिन अलग गरी खरिद गर्ने निर्णय गरेका थिए । निगमको न्यारो बडीमा हालिएको इन्जिन इन्टरनेशनल एरो इन्जिन्स (आइएइ) कम्पनीबाट ल्याइएको हो । 

निगमसँगै समानान्तर अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालयन एयरलाइन्सको इन्जिन भने सीएफएम इन्टरनेशनलको हो । निगमको न्यारोबडीमा हालिएको इन्जिनभन्दा हिमालयनको राम्रो मानिन्छ । 

अब इन्जिन भाडामा ल्याउने

निगमले क्षतिग्रस्त इन्जिन परिवर्तन नगरुञ्जेल प्रतिघण्टा न्यूनतम २ हजार अमेरिकी डलर तिरेर भाडामा ल्याउन लागेको छ । क्षतिग्रस्त इन्जिन हटाएर अर्काे नयाँ राख्न न्यूनतम ८० करोड रुपैयाँ पर्ने निगम स्रोत बताउँछ । 

निगमको नियमावली अनुसार अर्थ र पर्यटनका प्रतिनिधि राखेर बसेको सञ्चालक समितिले इन्जिन भाडामा ल्याउन अनुमति दिएको स्रोतले जानकारी दियो । एक साताको म्याद राखेर कोटेशन माग गरिएको छ । 

कति घाटा लाग्यो ?

निगमले दोहामै जरिवाना र शुल्कबापत दैनिक २४ हजार रुपैयाँ तिर्नुपरेको छ । निगम स्रोतका अनुसार उक्त न्यारो बडी थन्किदा उडान रद्द भएका कारण निगमलाई करिब २० करोड घाटा परिसकेको छ । जहाजको इन्जिन मर्मतसमेत जोड्ने हो भने एक अर्ब रुपैयाँभन्दा बढी घाटा निगमले झेल्नुपर्ने स्रोतले बतायो ।

यस सम्बन्धमा निगमका कार्यकारी अध्यक्ष अधिकारी सम्पर्कमा आउन चाहेनन् । उनले इकागजलाई म्यासेज लेख्दै निगमका डीएमडी (टेक्निकल) केबी थापालाई सम्पर्क गर्न आग्रह गरे । थापा पनि सम्पर्कमा आएनन् । इन्जिनियरिङका डाइरेक्टर पारस पौडेल पनि जानकारी दिन चाहेनन् । 
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x