पर्यटन

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

इकागज |
फागुन ४, २०८० शुक्रबार १२:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।

यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए ।


यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ । ‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट-सुर्खेत परीक्षण उडान हुनेछ,’ उनले भने,’ त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।‘

यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन । सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए ।

‘सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ ‘,उनले भने । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले उडान भर्ने कन्फर्म नभएको बताए । 'उडान भर्नेगरी तयारी हुँदैछ,' उनले भने ।


Author

थप समाचार
x