पर्यटन

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित

इकागज |
असार ९, २०८० शनिबार १६:४४ बजे

काठमाडौँ- कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरू खुसी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको बुझाइ छ । व्यवसायीहरू सरकारले कोराेना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महसुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरूले देशको आर्थिक अवस्थालाई सुदृढ पार्न पनि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।


न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरू खुशी भएको बताए । उनले व्यवसायीहरूले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनमा जोड दिएकाले पनि पर्यटकहरूको आगमन बढेको बताए । ड्रागन बोट रेस फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरू पोखरामा आएको र उनीहरूबाट अन्य पर्यटकहरू पनि आउने वातावरण बनेको बताए । उनले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए ।

त्यस्तै  होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरू बढ्दा व्यवसायीहरूमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटकहरू बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरूका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए । उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए । उनले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउन सके पर्यटकहरूको कमी नहुने बताए ।

त्यस्तै गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूले पर्यटकहरूको आवागमन बढे पनि स्थायी हुन नसकेको गुनासो गरे । उनले कोरोनापछि पर्यटकहरू बढेको भएपनि उल्लेख्य मात्रामा अझै बढ्न नसकेको बताए । उनले पोखरामा विदेशी पर्यटकहरूको आगमन अझै कम रहेको बताए ।

 

व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरूको मनोबल बढ्ने र पर्यटकहरू पनि वृद्धि हुने बताए । उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए ।

 


Author

थप समाचार
x