विचार

इकागज आर्काइभबाट

हाम्रा दिलबहादुरको देह निमोठ्ने पुलिस, आत्मा निमोठ्ने प्रचण्ड !

निशान निष्कर्ष |
फागुन १, २०७७ शनिबार ७:६ बजे

२०५२ फाल्गुन १४ गते । जाडो जाँदो र गर्मी चढ्दो मौसम । माघको अन्तिम सातामा परेको झरीले गर्दा मौसम त्यति तातिसकेको थिएन । तत्कालीन नेकपा माओवादीले घोषणा गरेको जनयुद्ध पनि उस्तै थियो जन्मिएको तर नतातेको । पाखाहरू उराठ थिए, पालुवाहरूले पालो पाएका थिएनन् । त्यतिबेला म सात वर्षको खुड्किलोमा हिँड्दै थिएँ ।

नौला मान्छेहरू राति गाउँमा घुम्‍न आउन थालेका छन् भन्‍ने सुनेको थिएँ । ती को हुन् ? किन आउँछन् ? मेरो कलिलो मस्तिष्कले भेउ पाउने कुरा थिएन । गाउँमा परिवर्तन हुन्छ रे भन्‍ने हल्ला पनि चलेको थियो । म बुझ्दिनथेँ । गोरखाको साबिकको पन्द्रुङ-२ जराङ केराबोटमा हामीले पढेको विद्यालय छ, श्री ब्रह्मचारिणी निमावि । हाल उक्त गाविस बारपाक सुलिकोट गाउँपालिकामा परिवर्तन भएको छ । म त्यही विद्यालयमा कक्षा दुईमा पढ्दै थिएँ ।


स्कुलमा बेला बेला नारा लाग्थे । जुलुस हुन्थे । हामी भुराभुरी रमाइलो मान्दै जिन्दावाद र मुर्दावाद भन्थ्यौँ । त्यतिबेला एकदेखि दुई बजेसम्म हाफछुट्टी हुन्थ्यो । अक्सर हाफछुट्टी हुँदा हामी विद्यालयको चौरमा खेलिरहेका हुन्थ्यौँ ।

सदाझैं त्यस दिन पनि शिक्षक र माथिल्लो कक्षामा पढ्ने दाइहरू (दिदी देखिनँ) भलिबल खेलिरहनुभएको थियो । आकासमा मधुरो घाम थियो । दिउँसोको करिब साढे एक बजेको थियो ।

हाम्रो गाउँभन्दा पारिको मैलुङ पाखाको सिम्ले फाँटमा विद्यार्थीहरू यत्रतत्र देखिए । स्कुलका विद्यार्थी तथा शिक्षकको सबैको ध्यान त्यतै गएको थियो । के भएछ भनेर यता स्कुलमा कौतूहत भयो । केहीछिनपछि सूर्यज्योति मावि पाल्खुमा पढ्नुहुने छनबहादुर गुरुङ दाइ हतारिँदै हाम्रो विद्यालयमा आउनुभयो । उहाँ त्यही वर्ष ब्रह्मचारिणीबाट कक्षा ८ उत्तीर्ण गरेर कक्षा ९ पढ्न सूर्यज्योति जानुभएको थियो । सूर्यज्योतिबाट हाम्रो विद्यालयसम्म आउन छिटोमा पौने घण्टा र बिस्तारै हिँडे एक घण्टाको बाटो हो । दुरीको हिसाबले दुई स्कुल करिब पाँच किलोमिटरको फरकमा छ । उहाँको अनुहारमा अत्यास देखिन्थ्यो । उहाँ दौडँदै आउँदा परैबाट वीरबहादुर सरलाई पुलिसले समाएर ल्याको छ भन्दै हुनुहुन्थ्यो ।

स्कुलको माथिल्लो भवनको डिलमा बेलको रुखको फेदमा आएर उहाँले सबै कुरा एकै सासमा भन्‍नुभयो । (बेलको रुख स्कुलमा आज पनि छ) । विद्यालय हाताभित्र नै गएर सरलाई केही कुरा गर्नु छ भनेर बाहिर ल्याएको र हाताभन्दा बाहिर निकालेर हत्कडी लगाएको कुरा छनबहादुर दाइले सुनाउँदै हुनुहुन्थ्यो । उता सिम्ले पाखामा मानिसहरू बाक्लै देखिन थालेका थिए । खेती लगाउने बेला नभएको र शिशिर ऋतुका कारण सबै रुख सिक्रो भएकाले स्कुलबाट सिम्ले पाखा प्रस्ट देखिएको थियो । छनबहादुर दाइ भन्दै हुनुहुन्थ्यो, ‘वीरबहादुर सरलाई पुलिसले समाएर ल्याच । सबै जना बाटो छेक्न जान परो । उता स्कुलका पनि सबै विद्यार्थी र शिक्षकहरू आछ ।’ 

सरलाई छुटाउन भन्दै सूर्यज्योतिबाट विद्यार्थीको हुल अगाडि बढ्दै थियो । कक्षा चारमाथिका धेरैजसो विद्यार्थी र शिक्षक एकै स्थानमा जम्मा हुन थाल्नुभयो ।  त्यतिबेला गाउँका केही अभिभावकहरू पनि स्कुलमा नै हुनुहुन्थ्यो । सानै हुनाले हामी डरायौँ । हुलमालमा हामी पनि जानुपर्छ, सरलाई छुटाउन भन्‍ने कुरा भयो । तर म त सानै थिएँ । न राजनीतिको र बुझेको थिएँ, न जनयुद्धको ज जानेको ?

गिरफ्तार गरेर ल्याइएका वीरबहादुर सर हाम्रै गाउँका हुनुहुन्थ्यो । छनबहादुर दाइको कुरा सुनेर र हुलबाट हामी पनि जानुपर्छ भन्‍ने कुरा सुनेर मसँगै रहेका साथी र दाइदिदीहरू सबैको अनुहारमा भय पोतियो ।

भलिबल खेल रोकिइसकेको थियो । सूर्यज्योतिका विद्यार्थीहरू छरपस्ट थिए सिम्ले फाँटमा भने त्यहीँको बाटोमा केही काला मान्छेहरूको बीचमा एकजना सेतो कमिज लगाएको मानिस प्रस्टै देखिन्थ्यो । उहाँ नै हुनुहुँदो रहेछ, वीरबहादुर सर ।

हामीले स्कुलको आँगनमा उभिएर हेरिरहेका थियौँ । सिम्लेमा वीरबहादुर सरलाई छुटाउन आएका विद्यार्थीहरू र गाउँलेहरूले प्रहरीतिर ताकेर ढुंगा हान्‍न थाले । गोलीको आवाज पनि सुनिन्थ्यो । सुरुमा प्रहरीले हानेको प्लास्टिकका गोली रहेछन् । यता स्कुलको आँगनमा जम्मा भएकाहरूले भन्दै थिए, ‘हो रहेच । ऊ त्याँ ल्याइपुर्‍यायो । हामी सबै जाम् र डिगाम (स्थानीय ठाउँ विशेष नाम, जुन बाटो प्रहरी चौकी भएको स्थान घ्याम्पेसाल जाने बाटो पर्दथ्यो) मा गएर बसुम् । त्यही बाटो त लैजाने होला ।' प्रहरीले यो बाटो छान्‍नुको कारण सायद जंगलको बाटो भएकाले पनि हुनसक्छ । जंगलको बाटो गइयो भने गाउँलेको विरोध कम हुन्छ भन्‍ने उनीहरूको धारणा थियो कि ?

गोलीले बाटो बिरायो कि के भयो दिलबहादुर रम्तेलको छाती र घाँटीमा अनि रामप्रसाद भट्टको पेटमा लागेछ । 

वीरबहादुर सरलाई छुट्याउन जान गाउँलेहरू यसै पनि आतुर थिए । गुरुङ समुदायबाट वीरबहादुर सर त्यतिबेला गोरखा जिल्लाको माध्यमिक विद्यालयको एकमात्र प्रधानाध्यापक हुनुहुन्थ्यो । हाम्रो गाउँमा फेरि गुरुङ समुदायको बाहुल्य थियो । गुरुङ समुदायका अधिकांश मानिस नेपाली सेना, भारतीय सेना, नेपाल प्रहरीमा थिए । उनीहरूलाई प्रहरीसँग सायद डर लागेन त्यसैले पनि वीरबहादुर सरलाई छुट्याउन जान तयार भए । 

गाउँमा आतंक भयो । पुलिसले केही पो गर्छ कि विद्यार्थीहरूलाई ? हाम्रो गाउँका पनि सूर्यज्योतिमा पढ्ने विद्यार्थीहरू थिए । सरलाई पक्रेर लैजाँदै गरेको हल्लाले एकैछिनमा केही शिक्षक, गाउँले र विद्यार्थी गरेर करिब सय डेढ सयको भीड जम्मा भयो । उता सूर्यज्योतिबाट आउने विद्यार्थीहरू र त्यहाँका स्थानीय गरी तीन सय वरिपरि थिए होलान् । मान्छेको त्यति ठूलो भीड त्यसअघि मैले कहिल्यै देखेको थिइनँ । स्कुलको आँगनमा जम्मा भएकाले भन्‍न थाले, ‘अगाडि बढम् । सरलाई पुलिसबाट खोस्‍नुपर्छ ।’

सिम्ले फाँटबाट जराङतिर प्रहरीले वीरबहादुर सरलाई ल्याउँदा विष्णुगैरा भन्‍ने ठाउँमा आइपुग्दा एकैछिनलाई उनीहरू छेकिन पुगे । बिस्तारै भीड अगाडि बढ्यो । गाउँलेमा जति आक्रोश थियो, अत्यास पनि त्यति नै । ‘कतै गोली हानेर मार्ने त हैन ? कि वीर बहादुरलाई नै त्यही मार्च ?’ कतिले भन्दै थिए, ‘केही दिनमा त छाडिहाल्च नि । भो खोस्न नगए हुन्च ।’

स्कुलमा पढाइ हुने कुनै वातावरण नै भएन । कक्षा नभएपछि स्कुलभन्दा माथि घर हुनेहरू त माथि जानुपर्ने भइहाल्यो । तल घर हुने हामी केही विद्यार्थी घर हिँड्यौँ । भिडबाट अलग्गिएर म घर आइपुगेँ । मसँग डर, अत्यास अर्थात् चाँडै छुट्टी हुनुको खुसी के थियो अनुहारमा ? मलाई नै थाहा थिएन ।

हजुरबुबाले घर यता बाख्रा चराइरहनुभएको थियो । हजुरबुबाले नदौडी जा, केही हुन्‍न भन्‍नुभयो । म दौडिएर आएकाले मैले केही मेसो पाइनँ । घर पुग्दा आमाबुबा आत्तिरहनुभएको रहेछ किनकि उहाँहरूले पनि उक्त घटनालाई घरबाटै देखिरहनुभएको रहेछ ।

केही क्षणमा गोली चलेको आवाज आयो । घरबाटै हामीले तीनपटकसम्म गोली चलेको आवाज सुन्यौं ।  वीरबहादुर सरलाई डाँडा कटाए रे भन्‍ने सुनियो । उहाँलाई डाँडा कटाउनुअघि जराङ डिगाममा प्रहरी र गाउँलेबीच झडप भएछ । झडपका क्रममा गाउँलेले प्रहरीमाथि ढुंगा हानेका रहेछन् साथै प्रहरीले पनि । प्रहरीले गोली हान्‍न थालेछन् । गोली ब्रह्मचारिणीमा पढ्ने दुई विद्यार्थी कक्षा चारमा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल र कक्षा छमा पढ्ने १५ वर्षीय रामप्रसाद भट्टलाई लागेछ ।

पछि थाहा पाएँ, जनयुद्धको नाममा पड्किएको ती गोलीहरू सिसाका रहेछन् र माओवादीका नाममा राज्यले खर्च गरेको सिसाको पहिलोपटकको गोली त्यही रहेछ, जुन गोली दिलबहादुर र रामप्रसादलाई लागेको रहेछ । त्यतिबेलाका हाम्रै स्कुलका प्रधानाध्यापक गोविन्द देवकोटा र गाउँका काका निरबहादुर गुरुङ (जो वीरबहादुर सरको काकाका छोरा हुनुहुन्थ्यो) लगायतले हान्‍नुभएको रहेछ, प्रहरीमाथि ढुङ्गा । उहाँहरूले हान्‍नुभएको ढुङ्गा गएर बर्जियो प्रहरीको छातीमा र बदलामा पड्किएको गोलीले दिलबहादुरको दिल टुटायो, जीवनको अन्तिम घडीको निम्तो पाए । रामप्रसादको जीवनको रमिता बनाइदियो ।

गोली त गोविन्द सरलाई ताकेर हानेको थियो भनी गाउँलेहरू भन्दै थिए । तर गोलीले बाटो बिरायो कि के भयो दिलबहादुर रम्तेलको छाती र घाँटीमा अनि रामप्रसाद भट्टको पेटमा लागेछ । उनी पनि त्यही भीडसँगै प्रहरीले ल्याएका वीरबहादुर सरलाई हेर्न प्रहरीमाथि हमला गर्ने जराङबासीकै समूहमा रहेछन् । प्रहरीले गोली प्रहार गर्दा करिब दुई बजेको हुँदो हो । गोली हानेर प्रहरीहरू जंगलको बाटो घ्याम्पेसाल प्रहरी चौकीतिर लागे । गाउँमा गोली चलेपछि त्रास भरिएको थियो भने राज्य पक्षले एउटा सफलता पाएको महसुस गरेको हुँदो हो ।

दिलबहादुर र रामप्रसाद शरीरमा गोली बोकी रगतको आहालमा डुबिरहे । गाउँलेहरू दिलबहादुर र रामप्रसादलाई गोली लागेको स्थानमा जम्मा हुँदा सायद ३ बजेको हुँदो हो । त्यसपछि गोली लागेका दिलबहादुरलाई बोकेर केही मानिस घ्याम्पेसाल नै गए । त्यसको करिब आधा घण्टापछि रामप्रसादलाई पनि लगियो । दिलबहादुरलाई तालखोलातर्फ झारेर उपचारका लागि घ्याम्पेसाल लगियो भने रामप्रसादलाई पन्द्रुङ देउराली हुँदै घ्याम्पेसाल लगिएको थियो । घ्याम्पेसालमा स्वाथ्य चौकी थियो । हाम्रो गाउँबाट सामान्य बिरामी हुँदा पनि जाने स्थान हो त्यो । स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि दुवैलाई जिल्लाको सदरमुकाममा रहेको गोरखा अस्पताल लैजाने कुरा भएछ । 

गाउँ हो, आजको समयमा त बस्तीहरूले मुहार फेर्न पाएको छैन । त्यतिबेला त न राम्रो स्वास्थ्य चौकी न सवारी साधन नै थियो । गाउँबाट गोरखा बजारसम्म आउन सामान्य तरिकाले हिँड्दा पनि कम्तीमा छ/सात घण्टा लाग्थ्यो । त्यसैमाथि अत्यासमा वित्यास परेको समय थियो, त्यो । घ्याम्पेसालबाट हिँड्दा नै रात पर्न लागिसेको थियो ।

घ्याम्पेसालबाट उनीहरूलाई लिएर हिँडेको केही घण्टापछि दिलबहादुरले दामगाडे स्कुलमा आइपुगेर आफूलाई सदाका लागि यस धरतीबाट छुटाए । रातको साढे सात आठ बजेको हुँदो हो । असिना पानीलाई छिचोल्न नसकेरै उनीहरूलाई बजार लैजान हिँडेका मानिसहरूले दामगाडे स्कुलको नजिकको गाउँमा बास मागे । त्रास थियो या राजनीति अभिमान ? माओवादी हो, यिनीहरूलाई बास दिनुहुन्‍न भनेर गाउँले निष्ठुरी भए ।

विकल्पमा त्यहीँ स्कुलमा ओत लागेका थिए । त्यही ओतमा नै हो दिलबहादुरले अन्तिमपटक सास फेरेको । आकाशबाट झरेको असिनाको दानाभन्दा सेते रम्तेल(जो दिलबहादुरका बुबा हुन् ।) को मनको पीडाको दाना बढी थियो । एउटा सन्तानलाई गुमाउँदा एउटा बाबुले संसारमा त्योभन्दा भयावह कारुणिकता कुन भोग्न सक्छ र ? सकियो एउटा सामान्य बालकको ईहलीला । न जान्‍न पाए उनले जनयुद्धको परिभाषा र न जान्‍न पाए के हो राजनीति ? तर उनी तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको पहिलो सहिद घोषित भए ।

असिनापानी थामिएपछि नथामिएको एउटा मनसँगै सेते रम्तेलले छोराको आत्मविहीन शरीर बोकेर र आशाको त्यान्द्रो अल्झिएको एउटा शरीर लिएर राम्रप्रसादका बुबा भैरवप्रसाद गोरखा अस्पतालतिर लागे । रामप्रसादको उपचार गराउनुथियो र दिलबहादुरको पोस्टमार्टम । कहाँ ठूलो छ र आज पनि गोरखाको अस्पताल ? मृत शरीरको पोस्टमार्टम गरी सेते रम्तेलले दरौँदीमा लगेर आफ्नो छोरालाई सदाका लागि खरानी बनाएर आए । उता रामप्रसादको सामान्य उपचार गरियो गोरखा अस्पतालमा ।

भोलिपल्ट स्कुलमा मौनधारण गरियो । उनै दिल बहादुरको नाममा । हिजोमात्रै स्कुलको आँगनमा सँगै खेलेको दिलबहादुर आज पनि खेल्न जाम् भन्दै बोलाउन आउँछ कि भन्‍ने लागिरहेको थियो तर त्यो अब सम्भव थिएन । 
पछि सम्झँदा लाग्थ्यो, त्यो मौनधारणभित्र पक्कै पनि हजारौँ सपनाहरूको चाङ छ र हामी र हामीजस्ता मानिसहरूको मुक्तिका लागि एउटा शानदार बाटो हुनेछ । पछि थाहा भयो, उनी तत्कालीन नेकपा माओवादीको नाममा घोषित पहिलो सहिद रहेछन् र रामप्रसाद पहिलो घाइते रहेछन् ।

आज पनि रामप्रसाद पलपल मरेर बाँचिरहेका छन् । के दियो उनलाई राज्यले ? घरमा उपचार गराउने खर्च थिएन उनको पनि । सात जना दाजुभाइका साहिँला उनी । उनीभन्दा साना भाइहरू पनि छन् । उनको उपचारका लागि उनकी आमा हाम्रै घरमा आएर कयौंपटक रोएको मेरै आँखाले देखेको थिएँ र मेरै कानहरूले सुनेका थिए ।

गाउँमा आउने कार्यकर्ताहरू भन्थे, दिलबहादुरको सपना एक दिन पूरा हुनेछ । के थियो एउटा अबोध बालकको सपना ? उनकै नाममा किन गरियो राजनीति र आज उनकै बुबाआमा किन पिल्सिँदै छन् गरिबीको चपेटाबाट ? रामप्रसादले न्याय पाउनेछन् र हाम्रो सपनाको एउटा उद्गम बिन्दु हुनेछ जराङ । आज पनि उस्तै छ जराङको माटो । गन्ध आइरहन्छ रगतले मुछिएको माटोबाट र सपनाहरू अझ पनि प्रतीक्षारत छन्् विपना बन्‍न पाउने सपना नै देखेर । रामप्रसादको पेटमा गोली लागिसकेपछि उनको पेटमा केही समयपछि प्लास्टिकको आन्द्रा हालियो ।

घरमा बिहान खायो बेलुका के खाने, बेलुका खायो बिहान के खाने भन्‍ने समस्याले पिरोलिरहन्थ्यो । जेठा दाइ र माइला दाइ भारतमा रोजगारीका लागि गइसकेका थिए । उनी १७ वर्षको हुँदा त्यही घाइते शरीर लिएर दाजुहरू भएकै ठाउँतिर लागे । रहर त थिएन नै उनको पनि ।

आजकाल रामप्रसाद गोरखाको पालुङ्टार नगरपालिकाको ठाँटीपोखरीमा रेडियो, टिभी, घडी मर्मत गर्ने काम गर्दै जीविका धानिरहेका छन् । तत्कालीन नेकपा माओवादी युद्ध छोडेर मूलधारको राजनीतिमा आएकै आज १५ वर्ष भइसकेको छ । हिजो पार्टी जजसले नेतृत्व गरे आज उनीहरू कोही पनि एउटै राजनीतिक पार्टीमा छैनन् । प्रचण्ड र बाबुराम देशका प्रधानमन्त्री नै बनिसक्नुभएको छ । पार्टीबाट आज पनि मन्त्रीको पदमा रहेका छन् माननीयहरू ।

तर सेते रम्तेल र सरिमाया रम्तेलले के पाएका छन् आश्वासनबाहेक ? रामप्रसादले के पाएका छन् राज्यको तर्फबाट ? मेरो माटोले के पाएको छ आजसम्म जसले पहिलो सहिद जन्माएको थियो (उनीहरूकै परिभाषामा) ? कुन नेताले फेरि फर्किएर टेकेका छन् जराङको माटोलाई ? कुन नेताले शिरोपर गरेका छन् त्यहाँका जनताहरूको पीडालाई ? कहिले हेरेका छन् उनीहरू (जराङवासीहरू) मा किन जन्मिरहेको छ वितृष्णाको एउटा घनघोर चक्कर ? किन विभाजित छन् मन र मतहरू राज्यसँग ? आलिसान महलको सपना छैन जराङीहरूलाई र छैन चन्द्रमामा पुग्ने धोको । मात्र यति हो, कि दिलबहादुरको नाममा राजनीति बन्द गरियोस् कि त जराङ पनि परोस् राज्यको आँखामा ।   


Author

थप समाचार
x