विचार

साहिल्याँ, यहाँ यस्तै हो !

सन्तोष अधिकारी, यूराेप |
माघ २, २०७७ शुक्रवार १४:१५ बजे

पसिनाले निथ्रुक्क भिजेको शरीर । थकाइले लल्याकलुलुक  गलेका हातगोडा । रोटोपिठो जे हुन्छ, त्यही खाएर छाक टार्नुपर्ने बाध्यता । पहाडको गाउँ न हो  । त्यसमाथि वर्षायाम । खाली खुट्टा गाउँबेसीको यात्रा । पटपटी फुटेका गोडा । पीडाको त पहाड नै थियो नि । तर पनि जब उनीसामु मालती र मंगले मेलाबाट फर्कंदै गर्दा बाटोमै अँगालो मार्न पुग्थे । तब पटुकीमा बाँधेको मकै र भटमास दिँदै ढाडमा सुम्सुमाउँदा सबै दुःख भुलेको अनुभूत गर्थिन् । आफ्नो पेट भोको भए पनि मालती र मंगलेको खुसीका निम्ति केसम्म गर्थिनन् । ज्वरोले शिथिल शरीर बोकेर गाउँबेसी गर्थिन् ।

कहिले बर्खेझरी र कहिले टन्टलापुर घामको प्रवाह नगरी दुईचार पैसाको जोहो गर्न मेलापात धाउँथिन् । सायद उनी मंगलेको सुन्दर भविष्य यही दुःखमा देख्थिन् । मालतीको मुहारमा कान्ति  छाउन चाहन्थिन् । उनीहरूको खुसीमा नै सुन्दर भविष्यको सपना सोचेकी थिइन् । बहिनी मीनाले फोनबाट बिमारले साहिल्याँँ थला परेको सुनाइराख्दा म भने उनको पीडादायी र संघर्षमय यस्ता विगत सम्झेर भावुक बनिरहेको थिएँ । निमोनियाले थलिएकी उनीसँग न उपचारका निम्ति पैसा थियो, न त ठूलाबडाको जस्तो पहुँच र पावर नै । थियो त केवल बिमारले थलिएको अशक्त शरीर । 


पहिले–पहिले कहिलेकाहीँ साहिँली आमा सोध्‍ने गर्थिन् । अब त गरिबको सरकार आउने रे । मालती र मंगलेले पनि सहराँ गएर पढ्न पाउँछन् रे । हाम्रोको पनि पक्कीघर हुन्छ रे । धनी, गरिब, जातभात सबै समान हुन्छन् रे । के साँच्चै हो बाबु ? २०६४ सालताका उनले गरेको यो प्रश्‍न मेरो मनमा नोस्टाल्जिक बनेर आयो । बहिनीले भिडियो कलमा साहिँली आमाबारे सुनाइराख्दा मेरो मनमा साहिँली आमाका विगत रिल बनेर घुमिरहेका थिए । म झन्झन् साहिल्याँलाई सम्झेर भावुक र नोस्टाल्जिक बन्दै गएछु । यत्तिकैमा मालती र मंगलेको हाल सोधेँं । बहिनी मीनाले उताबाट जवाफ फर्काई, ‘मंगलेको त कहिलेकाहीँ हाम्रै मोबाइलमा फोन आइराख्छ तर मालती सहराँ गएदेखि एक पटकभन्दा आएको छैन ।’ 

आवाजविहीनहरूको बित्ने भनेको समय हो । सकिने भनेको जोस, जाँगर र उमेर नै हो । किनकि त्योभन्दा बाहेक सकिनका निम्ति अरू केही छँदै छैन । 
 

मालती पनि कामको खोजीमा सहर पसेको तीन चार महिना भइसकेको रहेछ । मंगले ६ महिनाअघि मात्र फेरि मुम्बई फर्किएको रहेछ । साहिँला काका वीरबहादुर परदेश गएदेखि नफर्किएको एक दशक त चार वर्षअघि नै पुगिसकेको थियो । मालती र मंगलेका निम्ति बाबाआमा दुवै साहिल्याँँ नै थिइन् । 

पैसाको अभावमा प्लास्टिकको तुनाले चप्पल गाँसेर पढ्न जाँदा पनि मंगलेले कहिल्यै साहिल्याँँसँग गुनासो गरेन । आधा भात र आधा पानीले पेट भरेर थाल चाट्दै उठ्नुपरे पनि कहिल्यै  दुःख पोखेन । दसैँमा अरूले नयाँनयाँ नाना लगाएको देखे पनि साहिल्याँँलाई घुर्की लगाएन । सायद उसलाई सानै भए पनि आफ्नो विवशता र बाध्यताबारे राम्रोसँग थाहा थियो । अनि नयाँ कपडाको टालोलाई रिबन बनाएर बाँध्‍न पाउँदा कम्ती खुसी हुन्थिन् मालती । साथी नयाँ लुगा, खसी, दक्षिणा सम्झेर रमाउँदा ऊ भने घरको थांक्रामा फलेको काँक्रो गनेर दसैं सम्झेर रमाउने गर्थी । सायद उसलाई पनि थाहा थियो, आफ्नो घरमा कस्तो दसैं आउँछ भनेर । यी सब विगत एकतमासले सम्झिरहँदा सिरानीमा आँसुका थोपा झरेको मैले पत्तै पाएनछु ।  

बहिनीसँगको फोन कल सकिए पनि साहिल्याँँ, मालती, मंगलेसँगका धेरै कुरा भने झन् ताजा बन्दै आए । कति प्रश्न मनमा उठे । आफैं उत्तर खोज्ने प्रयास गरेँ । तर निरुत्तरित भइराखेँ । मालती र मंगले दुवै रहरले घर छोडेका थिएनन् । हिजो आफ्नो खुसीका लागि आमाले गरेको त्यागलाई सम्झेर उनैको खुसीका निम्ति उनलाई एक्ल्याएर परदेसिएका थिए । अरूलाई जस्तै पढ्ने, रमाउने, घुम्‍ने इच्छा नभएर मंगले मुम्बई पुगेको होइन । घरमै बसेर कम्तीमा सामान्य खाना र लाउन मात्र पुग्थ्यो भने पनि रोगी आमालाई छोडेर जाने मालतीलाई मन थिएन । यो त उनीहरूको विकल्पविहीन बाध्यताको उपज थियो । अरू धेरैले जस्तै पढेर केही गर्ने ठूला सपना थिए मंगलेका पनि । सहराँ गएर पढ्ने र नर्स बन्‍ने आफ्नो इच्छा सुनाउने गर्थी मालती ।

२०६४ ताका उनीहरूले देखेका यस्ता सपना २०७४ सम्म आइपुग्दा त तासको महलमा परिणत भइसकेका थिए । पढ्ने रहर नगरेका होइनन् मालती र मंगलेले । पढ्ने या पेट भर्नाका निम्ति काम गर्ने, उनीहरूसँग दुई मात्र विकल्प थिए । हिजो पो साना थिए, आमाको कमाइले गुजारा चलेकै थियो । आज उमेर र आवश्यकता बढिसकेका थिए । विडम्बना उनीहरूको स्तर र अवस्था भने बदलिएको थिएन ।

यो सम्झँदै गर्दा वि.सं २०६४ को चुनावताकाको साहिल्याँको फेरि याद आयो  । मंसिरको महिना परालको भारी बिसाएर हस्याङफस्याङ गर्दै भोटका लागि बेतोडले दौडिएको साहिल्याँँलाई  एकतमासले फेरि सम्झे । उनलाई लागेको थियो, यो गरिबी, त्यो पीडाबाट मुक्ति दिने भगवान् उनीहरू नै  हुन् । तर २०७० सम्म आइपुग्दा सिसाजस्तै चकनाचुर भइसकेका थिए सपना । ठडिएका कल्पनाको महल गल्र्यामगुर्लुम ढलिसकेका थिए । धेरै साहिल्याँँहरूले भ्रम र यथार्थ बुझिसकेका थिए सायद । जो जो फेरिए । जति फेरिए, आफ्नै अनि आफन्तका लागि फेरिए । तर साहिल्याँँ, मालती र मंगलेहरूका लागि कोही फेरिएन ।

त्यतिबेला साहिल्याँँका सपना उनीहरूको जस्तो झुपडीबाट महल ठड्याउने पनि थिएन । राज्यदोहन गरेर सात पुस्तालाई धन थुप्र्याउन त झन् कल्पना पनि गरेकी थिइनन् । पजेरो, मर्सिडिज चढेर अघिपछि बडीगार्ड राखेर तमासा देखाउने सपना त देख्‍ने कुरै भएन । सायद सोचेकी थिइन् त मालती र मंगलेले आफूले जस्तो दुःख काट्न नपरोस् । भोक, तिर्खा र प्याससँग सम्झौता गर्न नपरोस् । कम्तीमा बिमार हुँदा आजको जस्तो थला परेर बेसहारा भएर बस्‍न नपरोस् । 

हो, भोलिको राज्यमा धेरै नभए पनि यतिसम्म हुन्छ कि भन्‍ने भ्रम धेरै साहिल्याँँहरूलाई हिजो थियो । हुन त हिजोभन्दा आज उलटपुलट नै भयो । तर साहिल्याँँहरूका लागि होइन । किनकि आफैं रोगसँग लडिरहेकी साहिल्याँँसँग मेडिकल कलेजमा लगानी गर्ने पैसा हुने कुरै भएन । मेलापात गरेर गुजारा गरेकी उनलाई मल ल्याउने ठेक्का पर्ने नै भएन । आकाशमा उडेको बाहेक जीवनमा हवाईजहाज नदेखेकी उनलाई यती र ओम्नीबारे थाहा हुने नै भएन ।  अनि साहिल्याँहरूले पाउने भनेको उनीहरूको उत्थानका लागि भोट हाल्ने अवसर मात्रै हो । मालती र मंगलेहरूले उनीहरूको समाजवादमा जवानी फाल्ने भनेको कि परदेशमा हो कि उनीहरूको सेवक बनेर स्वदेशमै हो । यसरी नानाभाँती मनमा कुरा खेलाइराख्दा समय धेरै बितिसकेछ । 

अनि सोचेँ, यहाँ आवाजविहीनहरूको बित्‍ने भनेको समय नै हो । सकिने भनेको जोस, जाँगर र उमेर नै हो । किनकि त्योभन्दा बाहेक सकिनका निम्ति अरू केही छँदै छैन । साहिल्याँंहरूले पनि उपचार पाउने दिन कहिले आउला ? मंगले र मालतीहरूले चाहेर पनि पढ्न नपाउने दिनको कहिले अन्त्य होला ? रोगी आमालाई छोडेर बाँच्‍नैका लागि बिदेसिनुपर्ने यो कस्तो विवशता ?  वीरबहादुरहरूले विदेशमै बेपत्ता हुनुपर्ने कस्तो विडम्वना ? मनमा यी र यस्तै प्रश्‍न, प्रतिप्रश्‍नहरू उब्जिरहे । तर युरोपको घट्दो तापक्रम र चढ्दो चिसोले पनि मेरो मनलाई भने ठण्डा बनाउन सकेन । 

मलाई पनि उतिबेला लागेको थियो साहिल्याँहरूको यो कारुणिक कहानी त यतिबेलासम्म आइपुग्दा कथा बन्‍नेछ । तर विडम्बना भ्रमको पर्दालाई उघारेर चिहाएँ । यही रहेछ, आजको वास्तविकता । अनि यताको हेरेर उताको तुलना गरें । यता कसरी यी सब सम्भव भयो ? उता किन हुन सकेन ? साहिल्याँको भोटले जित्नेहरूलाई उता स्वर्ग छ । तर भोट दिने साहिल्याँं सामान्य उपचार नपाएर जीवनको भिख मागिरहेकी छन् । अनि आफैले आफैंलाई सम्झाएँ, सायद हाम्रोमा साहिल्याँहरू काम लाग्ने भनेको भोटका लागि मात्रै नै हो  । किनकि हाम्रो लोकतन्त्रमा अब्राहम लिंकनले भने जस्तो जनताले, जनताका लागि जनताद्वारा गरिने समानताको शासन व्यवस्था छैन । बरु नेताले नेताका लागि जनतामाथि शासन गर्ने प्रणाली छ । तसर्थ हाम्रो लोकतन्त्रमा, अनि भोलि ल्याउने भनेको समाजवादमा साहिल्याँहरूले उपचार पाउन राधिका, सीता, सुजाता, पम्फा, आरजुजस्तो भएर जन्मनुपर्छ । 

घडीको सुई धेरै पर पुगिसकेको थियो । साँझ छिप्पिएर रातमा परिणत हुँदै थियो । फेरि सम्झिएँ साहिल्याँं । हिजो खानाका लागि दसनंग्रा खियाउँदा नै जवानी बित्यो । आज बाँच्नका लागि संघर्ष गरिराखेकी छौ । यहाँ त यस्तै हो । यदि भगवान् छन् भने तिम्रो जिजीविषा पूरा होस् । शीघ्र स्वास्थ्यलाभको कामना ।


Author

सन्तोष अधिकारी, यूराेप

हाल यूरोपमा बस्‍ने अधिकारी समसामयिक/राजनीतिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x