विचार

रामचन्द्र कसरी त्यागी ? पढ्नुहोस्, उनको चट्टानी लोभलालचका शृंखला

अनिष भट्टराई |
मंसिर २७, २०७८ सोमबार १३:१५ बजे

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने निर्णय गरेका छन् । यस्तो निर्णय किन घातक छ ? केही चिन्तन गरौँ । 

अलि पहिलेको कुरा रामचन्द्र पौडेल र पुष्पकमल दाहाल प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । एमालेका अध्यक्ष झलनाथ खनालले यी दुईमध्ये कसैलाई भोट हालेनन् । उनले आफ्नो पार्टी चट्टानझैँ उभिने बताए । खनालको पार्टी सत्र पटकसम्म तटस्थ बस्यो ।


परिणाम के भयो भन्दा दाहालले आधा दर्जन पटक हार खाएपछि उम्मेदवारी फिर्ता लिए । रामचन्द्र भने १७ पटकसम्म लडिरहे । फलतः उनी प्रधानमन्त्रीमा १७ पटक चुनाव हारेका पदीय लोभी पात्रका रूपमा चित्रित छन् ।

मान्छे अन्य प्राणीबाट फरक हुने भनेकै उसको विचार हो । विचार त अरु प्राणीको पनि हुन्छ । तर मान्छेले म विचारवान् हुँ भनेर विचार अभिव्यक्त गर्छ, आफ्नो विचार प्रसार गर्न सक्छ । 

उहिले उहिले एमाले माधवकुमार नेपाल, झलनाथ खनालले चलाउँथे । त्यति बेला पार्टीलाई आरोप लाग्थ्यो— एमालेको लिंग के हो ? ढुलमुले पार्टी । लोभी पार्टी । हुन पनि एकपक्ष कांग्रेस समर्थक, अर्काे पक्ष माओवादी समर्थक । अनि अर्काेतिर दरबार र राप्रपा । एमाले राजा ज्ञानेन्द्रदेखि देउवा हुँदै राप्रपाका दुवै पक्षसँग मिलेर सत्ताको तर मारिरह्यो ।

पछि जसै केपी शर्मा ओली एमालेको नेतृत्वमा आए, सही होस् या खराब उनले आफ्नो विचार स्पष्ट व्यक्त गरे । त्यसैले भन्न खोजेको के हो भने, माधव नेपाल, झलनाथ, रामचन्द्रभन्दा खराब नै सही अर्काे पात्र ठीक । म चोरको पक्षमा छु भन्ने मान्छे रामचन्द्रभन्दा धेरै नै सही हो । 

रामचन्द्र जो, सधैँ शक्तिकै वरिपरि छन् । उनी पटकपटक सांसद भए । सांसदमा हार पाए पनि टिकट लिइरहकै हुन् । राज्यका तीन अंगमध्ये प्रमुख अंग व्यवस्थापिकाको प्रमुख भइसकेका उनी पछि शान्ति मन्त्री भए । 

पार्टीमा कार्यवाहक सभापति भए । सरकारमा कार्यवाहक प्रधानमन्त्री भए । कार्यवाहक हुनु भनेको पनि पहिलो हुनु नै हो । उनले आफ्ना छोराछोरी, सम्धी युवराज भुषाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अनि छोरा चिन्तन पौडेललाई गरिब घरपरिवार परिचयपत्र वितरण कार्यक्रमको प्रमुख बनाएर आफ्नो घरको गरिबी निवारण गरे । पटक–पटक आफूले जितिरहेको क्षेत्रमा चुनाव हार्दा पनि उनले गोविन्दराज जोशीदेखि जिल्लास्तरका नेतालाई अन्तरघातको दोष लगाएर सभापति देउवासँग मिलेर कारबाही गरे । 

मदन भण्डारीको भाषामा भन्दा रामचन्द्रको राजनीतिमा त्याग भन्ने शब्द हुँदैन, तर अहिले उनी गोहीका आँशु चुहाउँदै त्यागीको उपमा भिरेर कमरेड झलनाथ उर्फ चट्टान भएका छन् । 

गोविन्दराज जोशीलाई कारबाही गर्ने रामचन्द्रको लालसा बुझेका देउवाले आफ्नी श्रीमती आरजु राणाको निर्वाचन क्षेत्र कैलालीमा अन्तर्घात गरेको भन्दै सुदूरपश्चिमका वरिष्ठ कांग्रेस नेता पुष्कर ओझालाई कारबाही गरे । यी सबैको कारक रामचन्द्रको कुण्ठा थियो । 

हर मान्छे विचार र विकल्पभन्दा बाहिर रहन सक्दैन भने अझ राजनीतिक मानिस कसरी विचारभन्दा बाहिर रहन्छु भन्न सक्छ ? दलमा आस्थावान् व्यक्ति चट्टान वा तटस्थ हुनै सक्दैन । हुन्छ कति बेला भने जब ऊ लोभलाभले ढाकिएको, पुरिएको हुन्छ । खराब होस् वा असल विचार हुन्छ । तर, विचारविहीन मूर्तिझैँ मौन बस्ने मान्छे मान्छे नै हुन सक्दैन भने राजनीतिक प्राणी र लोकतान्त्रिक प्राणी त हुनै सक्दैन । 

रामचन्द्रलाई पार्टी कमजोर भएको लाग्छ भने उनले नेतृत्वको आलोचना गर्नैपथ्र्यो । आफू पनि सधैँ पार्टीमा हालिमुहाली गरेको, भागबण्डा लिएको हुँदा उनले आत्मालोचना गर्नै पथ्र्याे । 

सभापतिमा छ–छ जना उम्मेदवारमध्ये जसलाई खुला सहयोग समर्थन गरेको भए पनि हुन्थ्यो । अथवा कोही काम छैन भन्ने लागेको भए आफैँ उम्मेदवारी दिएको भए पनि हुन्थ्यो । आखिर १७ चोटि प्रधानमन्त्री लड्दा पनि बेइज्जत महसुस नगर्ने उनले फेरि पनि सभापतिमा हार्दा कुनै लज्जा महसुस गर्दैनथे । अनि राजनीतिमा, राजनीतिको शास्त्रमा होस् वा व्यवहारमा मतदान धेरै महत्वपूर्ण छ ।

नेताले त नागरिकलाई र कार्यकर्तालाई मतदानप्रति प्रेरित गर्नुपर्छ । जुन देशमा मतदानप्रति उदासीनता हुन्छ, त्यहाँ लोकतन्त्र कमजोर हुन्छ । मतदान लोकतन्त्रको बलियो शोभा हो । अनि जीवनभर लोकतन्त्रका लागि लडेको मान्छे कसरी मतदानबाट बाहिर रहन सक्छ ? आफ्नो घर बलियो बनाउन लाग्ने नेता अभिभावक हुन्छ कि लोभले पुरिएर मौन रमिते बस्ने मान्छे अभिभावक हुन्छ ? त्यागीको परिभाषा मतदान पनि त्याग्ने भनेको हो ?

रामचन्द्र संसद्मा सभामुख हुँदा उनी जहिले पनि मतदानद्वारा निर्णय गराउँथे । मतदानको महिमागान उनमा मुखबाट धेरै सुनिथ्यो । तर, आज उनी मतदान बहिष्कार गरेर बसेका छन् । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x