विचार

ढुङ्गासाँगुको उपलब्धिमूलक यात्रा

चिरञ्‍जीवी मास्के |
मंसिर ४, २०७८ १५:३३ बजे

यो पटकको तिहार काठमाडौँमा मनाइयो । आफ्नो जन्मभूमि चरिकोटको सांस्कृतिक रौनकलाई मनमा राखेर काठमाडौँको लागि बढेका पाइला त्यसै पनि गरुङ्गो भएको थियो । त्यसमाथि बागबजार, प्रर्दशनीमार्ग, बानेश्वरतिरको शून्यता मेरोलागि जीवनको एक्लोपना जस्तै बनेको थियो । शून्यता मानव या सवारी साधनको चहलपहलमा हैन, संस्कृति, संस्कार र आत्मियतामा थियो । मानवको चहलपहल र सवारी साधनको ओहोर दोहोर त गल्ली, चोक र चौरस्ताहरुमा असरल्ल थिए ।

३३ वर्ष अघि प्रर्दशनीमार्ग (भृकुटी मण्डप) मा रहेको नेपाल ल क्याम्पसको विद्यार्थी भएर काठमाडौँ प्रवेश गर्दाको वातावरण र अहिलेको वातावरणमा धेरै अन्तर भएको छ । मैतिदेवीको बसाइ, विहानै कलेजको लागि डिल्लीबजारको भित्रिबाटो हुँदै कालिकास्थान, बाँसघारी, पुतलीसडकतिरबाट प्रर्दशनिमार्ग निस्कदा साँच्चै मन मोहित हुने गथ्र्यो । साइकलमा स्वच्छ हावाको सुगन्धमा रमाउँदै अघि बढ्ने यात्रुको हुलदेख्दा मनमा एकप्रकारको अलौकिक आनन्दको वर्षा नै हुनेगथ्र्यो । त्यतिबेला आमाको काखमा लुटपुटिएर बालापन देखाउँदाको मनको तरङ्गले पनि विश्राम लिन्थ्यो । किनभने मनले काठमाडौँको त्यो स्वच्छतालाई आत्मिक ढङ्गले पान गरिरहेको हुन्थ्यो ।


वातावरणको उकुसमुकुसकै कारण मैले कातिक १९ गते काठमाडौँ पुग्दा २० गतेको सांस्कृतिक पर्व भाइटीकाको उद्देश्य पूरा गर्दै त्यही दिन चरिकोट फर्कने योजना बनाएको थिए । तर ललितपुर गोदावरीका मित्र उत्तम कार्कीको ढुङ्गासाँगु १०८ धारा मुक्तिनाथ धाम मन्दिर भ्रमण गर्ने निम्तोलाई स्वीकार गर्नु मेरो कर्तव्य सरह भएकोले मेरो काठमाडौँ बसाइको अवधि केही दिन लम्बिएको थियो । 

कार्तिक २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार कैलाश लामा र म गोदावरीको मुक्तिनाथ धाम मन्दिरमा पुग्याँै । मन्दिरको व्यवस्थापनमा स्थानीयको व्यस्तता वास्तवमै प्रशंसनीय छ । स्थानीयको सक्रियता र सबैको सहयोगमा आकर्षक ढङ्गले निर्माण गरिएको मन्दिरमा अहिले दैनिक जसो धार्मिक पर्यटकको चाँप देखिन थालेको रहेछ । 

गोदावरीको यो मन्दिरको इतिहास त्यति पुरानो भने हैन । स्थानीयको भनाइमा गौमती खोलाको ढुङ्गासाँगु तरेर गोदावरीका मानिस किनमेल र व्यापार व्यवसायको लागि भक्तपुर जाने गर्थे भने भक्तपुरतिरबाट पनि यही बाटो भएर तराई तथा भारतको विभिन्न ठाउँमा व्यापारको लागि जाने गर्थे । झण्डै एक सय वर्ष अघि व्यापारिक मार्ग रहेको ढुङ्गासाँगुको किनारमा स्थानीय एकजनाले हिड्दा साइत पर्छ भनेर गणेशको मूर्ति स्थापना गरिदिएका रहेछन् ।

मन्दिर भएको ठाउँलाई ढुङ्गासाँगु नामाकरण गरिएको किंवदन्ति भने रमाइलो रहेछ । गौमती खोला तर्न सहज होस् भनेर स्थानीयले ढुङ्गाको साँगु राखिदिए जसको कारण ठाउँको नामनै ढुङ्गासाँगु रहन गयो । अहिले मन्दिर किनारको गौमती खोलामा पक्कि पुल निर्माण भएको छ तर त्यो बेलाको ढुङ्गाको साँगुलाई पनि सुरक्षित राखिएको छ ।  

समय क्रममा स्थानीयले मन्दिरलाई थप व्यवस्थित बनाउँदै लगेकोले अहिले ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिर निर्माण हुन सकेको देखिन्छ । झण्डै एक सय बर्ष अघि गणेशको मूर्ति स्थापना गरिएको ढुङ्गासाँगुमा २०५५ सालतिर पशुपति मन्दिर निर्माण गरिएको रहेछ भने २०५८ सालतिर सप्तऋषी र राम सीताको मन्दिर निर्माण गरिएको रहेछ । २०७४ सालमा मन्दिरमा सप्ताह लगाउने कुरा भयो । स्थानीय २३ जनाले १० हजारको दरले सहयोग रकम उठाएर भुवन गुरुलाई बोलाएर सप्ताह लगाइएको रहेछ । सप्ताहमा उठेको पैसा के काममा खर्च गर्ने भन्ने गनथन मनथन पछि नै ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिर निर्माण गर्ने योजना बनेको रहेछ । 

भुवन गुरुले १०८ धारा निर्माण गर्न स्थानीयलाई सुझाए । सोहीअनुसार प्रदेश सरकार र गोदावरी नगरपालिकाको समेत सहयोगमा १०८ धारा निर्माण भयो । मन्दिरमा मुक्तिनाथको जल ल्याउने योजना अनुसार नै हेलिकप्टरबाट जल ल्याएर मन्दिरमा छरिएको र मन्दिरको नाम पनि ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिर राखिएको रहेछ ।

मुक्तिनाथ धाम मन्दिरमा रहेको १०८ धारामा उपत्यकाको प्रमुख चार नारायण भक्तपुरको चाँगुनारायण, काठमाडौँको इचङ्गुनारायण, ललितपुरको विशंखुनारायण र दक्षिणकालीको शेषनारायण मध्ये ललितपुरको विशंखुनारायणको पाउमा रहेको गायत्री कुण्डबाट ल्याइएको पानी झारिएको छ । यो मन्दिरको मुख्य विशेषता हो । पवित्र गायत्री कुण्डाको पानीले नुहाएर मनोकांक्षा पूरा गर्ने अभिलाषा बोकेका धार्मिक पर्यटकका लागि अहिले गोदावरीको आकर्षण अझ बढेको छ । 

मन्दिरमा सप्ताह लगाउन श्रमदान मात्र हैन आर्थिक दानसमेत गर्न तयार रहनु भएका स्थानीय गौतम कार्की, राधाकृष्ण कार्की, शिवराम थापा, कृष्ण राना, मानध्वज कार्की, विनोद कार्की, दिपक कार्की, उत्तम कार्की, रमेश केसी, अर्जुन केसी, दयाराम केसी, प्रकाश थापा, राजु कार्की, सुमन कार्की, राजकुमार मर्हजन, भुवन केसी, राम केसर कार्की, स्व. रोमवहादुर कार्की, प्रदीप केसी, राम सुन्दर कार्की, किशोर खड्का, पूर्ण खड्का र कुमार थापालाई म स्यालुट गर्छु । उहाँहरुको प्रतिवद्धता ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिर निर्माणको प्रस्थान विन्दु थियो ।

ढुङ्गासाँगुका स्थानीयको प्रतिवद्धताले उपत्यकामा एउटा पवित्र धार्मिक स्थल थपिएको छ । यसले मुलुकको विकास र समृद्धिको लागि स्थानीयको चासो र अग्रसरता अपरिहार्य हुन्छ भन्ने कुरालाई पुर्नपुष्टि गरिदिएको छ । भुवन गुरुको योजना र २३ भाइको प्रतिवद्धता नभएको भए गायत्री कुण्डको पानी १०८ धारामा झार्ने र मुक्तिनाथबाट जल ल्याएर हेलिकप्टरबाट छर्ने कुरा कसरी सम्भव हुने थियो होला र । 
ललितपुरको गोदावरी त्यसै पनि पर्यटकीय केन्द्र हो । 

अहिले नेपालकै ठूलो सभाहल र ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिरको चर्चाले आन्तरिक पर्यटकलाई निरन्तर डो¥याइरहेको छ । तर मन्दिर स्थलसम्म पुग्ने सडकलाई भने सुधार गर्न आवश्यक छ । साँगुरो धुले सडकले मन्दिरसम्म पुग्ने जोशलाई कहिलेकाहिँ बीचैमा ब्रेक लगाइदिन सक्छ । त्यस्तै गोदावरीका केही बस्तिहरु सुनसान बनेका छन् । सुनसान बस्तिलाई समेत प्राण भर्ने काम अब ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिरले गर्ने छ । जसको लागि स्थानीयको सक्रियता आवश्यक छ । 

हरेक पटक उपत्यका भित्रँदा मेरो मनमा कता कता चरिकोटको सुन्दरता, स्वच्छता र सौहाद्रताले कुतकुती लगाउने गर्छ । उपत्यकाको अव्यवस्थापन र प्रदूषणले छोटो बसाइमा समेत ठूलो बोझ थपिदिए जस्तो लाग्छ । किनभने काठमाडौँमा म अहिले ३३ वर्ष अघिको सुन्दरता र स्वच्छता पाउनै सक्दिन । तर यो पटकको मेरो काठमाडौँ यात्रा उपलब्धिमूलक बन्न सक्यो । किनभने मैले उपत्यकाको बासिन्दामा कामप्रतिको अग्रसरता देखेँ । आफ्नो ठाँउको सम्भावनाहरुको विषयमा चासो र त्यसको उचित व्यवस्थापनको लागि तत्परता देखे । त्यसैले त गोदावरीमा ढुङ्गेसाँगु १०८ मुक्तिनाथ धाम मन्दिरको निर्माण सम्भव भयो । 

उपत्यकालाई पहिलको जस्तो प्राकृतिक रुपमा सुन्दर त बनाउन सकिँदैन । किनभने प्रकुतिमा हामी सबैले कुनै न कुनै बहानामा प्रशस्तै क्षयीकरण गरिसकेका छौ । अब भएको सुन्दरतालाई कायम राख्दै नयाँ नयाँ गन्तव्यको पहिचान, विकास र प्रवद्र्धनमा सबैको हातेमालो आवश्यक देखिन्छ । गोदावरीका २३ भाइले एउटा उदाहरण प्रस्तुत गरेका छन् । नयाँ सम्भावना पहिल्याएका छन् । र त्यसको व्यवस्थापन गर्दै अधिक भन्दा अधिक आन्तरीक पर्यटक भित्राउन विशेष प्रयत्नहरु गरिरहेका छन् । 

हामी जहाँसुकै रहौ, आफ्नो ठाउँको विकासको लागि एकतावद्ध भएर लाग्नु पर्छ । हामी अहिले अघिल्लो पुस्तालाई गालि गरिरहेका छौ संस्कार, संस्कृतिको संरक्षण र विकासमा चासो नदिएको बनेर । हामीले आफ्नो पुस्ताप्रति गौरव गर्ने वातावरण निर्माणको लागि जति सकिन्छ र जे आवश्यक छ त्यसको लागि योजनासहितका कार्यक्रम घोषणा, सञ्चालन र कार्यान्वयनमा अग्रसरता देखाउनु पर्छ ।  


 



Author

थप समाचार
ad
x