विचार

चाइना जर्नल

आफू स्वयंले मात्र गर्न सकिन्छ कोभिड-१९ को अन्त्य

अजय अलौकिक |
भदौ ३, २०७८ बिहीबार १७:२४ बजे

यस्तो लागेको छ कि कोभिड-१९ महामारीको प्रभाव मानवका लागि रहेका अरू घातक रोगसरह अनन्तसम्म रहने छ । यस रोगविरूद्धको खोप मात्रै यसलाई निमिट्यान्न पार्ने हतियार भए तापनि विश्वबाट यो रोग विलोप हुन अझै धेरै वर्ष लाग्ने निश्चित छ । त्यसमाथि खोप लगाइसकेका मानिसमा पनि यो रोग लाग्नुबाट अझै यो रोगको प्रभाव अति भयावह हुनसक्ने हालको विश्व परिदृश्यले देखाइरहेको छ । यसै गरी, भाइरसको रूप फेराई मानव जातिलाई क्षुब्ध र विक्षोम बनाउने अर्को कारण बनेको छ । 

भाइरसको यही म्यूटेसनका कारण विश्वका विभिन्न देशका सहरहरूमा कोभिड-१९ को तेस्रो त कतै चौथो लहरले चुनौती दिइरहेको छ । नेपालमा पनि तेस्रो लहरको हल्ला चलिरहेकै छ । एउटा सानो भुलबाट तेस्रो, चौथो गर्दै धेरै लहरका साथै सुनामी नै आउनसक्ने देखिन्छ । यसै गरी भाइरसको नामाकरणमा पनि अल्फा, बिटा गर्दै ग्रीकका वर्णाक्षर नै सकिने सम्भावना पनि त्यति कै छ । 


विश्व स्वास्थ्य संगठनका टेक्निकल चिफ मारिया भ्यान कर्खोभाले टेलिग्राफलाई दिएको एक अन्तर्वार्तामा संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सी पहिले नै भाइरसको म्यूटेसनपछि नामाकरणकालागि नयाँ नामहरू खोजी भइरहेको बताएकी छिन् । ग्रीक वर्णमालाका चौबीस अक्षरपछि तारा मण्डलबाट नामाकरण गरिने अवस्था रहेको र भोलि मेष, मिथुन यस्तै रहनसक्ने बताएकी थिइन् ।

मे ३१ बाट यस कोभिड-१९ का म्युटेसन भाइरसको नामाकरण थालेदेखि हालसम्म ११ वटा म्युटेसन भएका भाइरसको नामाकरण गरिसकेको छ । यसरी भाइरसमा आउने परिवर्तनपछिको भाइरसलाई नाममात्रै नयाँ दिइने होइन, यो भाइरस खतरनाक हुँदैजाने सम्भावना पनि उत्तिकै छ । 

चीनमा पनि पछिल्लो समय यसै कोभिड-१९ को म्युटेसन भाइरस देखापरेको छ । यो कोभिड-१९ लाई परास्त नै गरिसकेको अवस्थामा फेरि पनि चीनमा देखापर्नाले यो रोग मानवजातिको साझा रोग भएको र यसलाई विश्व मानव समुदाय मिलेर मात्रै परास्त गर्नसक्ने प्रष्ट्याएको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रायः भन्ने गर्छन्, “हामी मानव जाति एउटै डुङ्गामा सवार छौँ । समस्त मानवजातिको हितका लागि हातेमालो गर्दै काँधमा काँध मिलाएर बढ्नु आवश्यक छ ।” यो कोभिड-१९ को नियन्त्रण पनि एउटा मात्र देशले गरेर सकिँदैन । 

चीनभित्र लुप्त झैँ भइसकेको यो कोभिड-१९ को डेल्टा भ्यारेन्टले केही महिनाअघि (सर्वप्रथम मे २१ बाट) क्वानचौ र आसपासका सहरमा धावा बोलेको थियो र यसलाई पनि चीनले मत्थर पार्न सफल भएको थियो । फेरि, जुलाई २० मा नानचिङ सहरको लुखौ अन्तर्राष्ट्रिय विमानस्थलका सफाई कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएको पाइयो । यस पटकको सङ्क्रमण रूसबाट आएको विमानबाट भएको पत्ता लगाइयो । तर यस पटकको सङ्क्रमणको प्रसार र गतिले चीनलाई पनि अप्ठेरोमा पारेको थियो । 

राजधानी बेइजिङमा १८० दिनपछि दुई जना सङ्क्रमित देखिनुका साथै चीनका १३ वटा सहरहरूमा फैलिसकेको यस अवस्थाले ऊहानको सम्झनासमेत दिलाएको थियो जसबाट केही खुकुलो भइसकेका नियमहरू फेरि लागू गरिए । वर्तमान अवस्थामा, फेरि पनि देखिएको कोभिड-१९ को नयाँ भेरिएन्टलाई पनि चीनले आफ्नो पकडमा लिइसकेको छ । 

चीनभरि झण्डै सयको हाराहारीमा पुगेको सङ्क्रमितको सङ्ख्या पुन शुन्यतिर झर्दै गएको छ । अगस्ट १८ मा चीनभरि मात्र ६ जना सङ्क्रमित देखिएका छन् र ती सबै नानचिङका हुन् । नानचिङ लुखौ विमानस्थल पनि अगस्ट १८ बाट पुनःसुचारू भइसकेको छ । यसबाहेक, यस बीचमा चीनले सङ्क्रमित तथा सम्भावित सङ्क्रमित चढेको सबै सार्वजनिक सवारी साधनदेखि बसेका होटल गएका मल, पसल सबैको परीक्षण र सम्पर्कमा आएका अरू यात्रु सबैको परीक्षण गरेको थियो । कतिपय ठाउँ, कम्युनिटी बन्द गरेर निगरानी तथा त्यहाँका सबै मानिसको परीक्षण गरियो । नानचिङलगायत केही सहरहरूमा पूरै परीक्षण पनि गर्यो । 

यसै गरी जनतामा सामान्य सुरक्षाका उपाय अपनाउनेदेखि पर्यटकीय स्थल तथा सिनेमाघरलगायतमा भिड नियन्त्रण यसै गरी मानिसको भिडभाड हुने ठाउँहरू जस्तै मन्दिर, चर्चहरू समेत हाललाई बन्द गरेको छ । यसरी सम्भव भएसम्मका उपायहरू अपनाएर चीनको केन्द्रीय, स्थानीय तथा प्रान्तीय सरकारले कोभिड(१९ को प्रसारलाई नियन्त्रणमा लिएको छ । 

यसरी चीनले फेरि पनि देखिएको कोभिड-१९ को लहरलाई परास्त गरेको छ । तर एउटा मात्र देशले जितेर यसको अन्त्य कदापि हुने छैन । सबैले हातेमालो गर्नुपर्छ । यहाँलाई जानकारी गराउन मनासिब हुने छ कि गत डिसम्बरमा चीनको सछ्वानमा फैलिएको कोभिड-१९ नेपालबाट आएका सङ्क्रमितबाट भएको थियो । २०२० डिसम्बर ७ मा छङ्तुको फितुमा भेट्टाइएको सङ्क्रमितको परीक्षण तथा अनुसन्धानपछि नेपालबाट आएका सङ्क्रमितलाई राखिएको ठाउँको फोहोरको उचित व्यवस्थापन नगर्दा स्थानीय मानिसमा सरेको पाइएको थियो । अतः यस कोभिड-१९ बाट बच्न एउटा एउटा देश र एक एक मानिसले ध्यान दिनु अति जरूरी छ । 

एक जनाको सामान्य लापरवाहीले एउटा लहर र सुनामी आउनसक्ने सम्भावना छ । तपाईँलाई कुनै शङ्का लागेमा या सङ्क्रमित हुनुहुन्छ भने यो भाइरसलाई अन्त कतै सर्न नदिने र आफूभित्रै अन्त्य गर्ने प्रण गर्नुहोस् । यो कोभिड-१९ को भाइरस हाम्रै पुराण र कथाका रक्तबीज राक्षस हुन्, जसको हरेक रगतको थोपाले अर्को रक्तबीज जन्माउँदछ । 

यसै गरी अर्को भरपर्दो उपाय मानिएको खोप पनि भाइरसको रूप परिवर्तनसँगै शतप्रतिशत प्रभावकारी देखिएको छैन । तर, यसविरूद्धको खोपको प्रयोगले तपाईँमाथिको यो कोभिड-१९ भाइरसको आक्रमणमा ढालको काम भने गर्दछ । खोप लगाइसकेको अवस्थामा भाइरसको प्रभाव कम देखिएको छ साथै मृत्यु दरमा पनि कमी आएको छ । पछिल्लो समय, चीनमा कोभिड(१९ ले मानिसको ज्यान लिएको छैन । आजको पहिलो आवश्यकता खोप हो भने तपाईँको सचेतना र सतर्कता अर्को खाँचो हो ।

यसैबीच चीनले यही अगस्ट १२ मा सम्पन्न समाजको निर्माणः चीनमा मानव अधिकार विकासको गौरवशाली अध्याय शीर्षकमा श्वेतपत्र प्रकाशित गरेको थियो जहाँ चीनले महामारीको आरम्भमा पूर्ण रूपमा देशको शक्तिलाई जनधनको रक्षामा परिचालन गरेको उल्लेख छ । श्वेतपत्रका अनुसार, हरेक बिरामीको उपचार गर्ने, कुनै पनि बिरामीलाई नछुटाउने, कुनै पनि सङ्क्रमितलाई नछोड्ने, साथै उपचार शुल्क कटौती गर्ने नीतिलगायतका कदमले बिरामीको पैसाको कारण उपचार प्रभावित नहुने वातावरण बनाएको थियो । 

खण्ड ३ को बुस्टिङ ह्युमन राइट्स विथ डेभलपमेन्ट एण्ड सेक्युरिङ इकोनोमिक, सोस्यल एण्ड कल्चरल राइट्स शीर्षकको लेखभित्र कोभिड-१९ विरूद्धको लडाइँमा सर्वप्रथम मानिसको जीवन उल्लेख गर्दै ऊहानदेखि देशभरि तीव्रस्तरमा जारी खोप कार्यक्रमसम्मको वर्णन गरिएको छ ।

यस्तै, अगस्ट १३ मा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको तथ्याङ्क अनुसार, चीनको आधा जनसङ्ख्याले कोभिड(१९ विरूद्धको खोप लगाइसकेको छ । ७७ करोड ७० लाखभन्दा बढी चिनियाँ जनताले खोप लगाइसकेका छन् । आयोगका प्रवक्ता मिफङका अनुसार, चीनभरि समग्रमा १ अर्ब ८३ करोड डोज खोप लगाइसकेको छ ।

त्यस बाहेक चीनले विश्वका विभिन्न मुलुकलाई कोभिड-१९ विरूद्धको खोप उपलब्ध गराइरहेको छ । कोभिड-१९ विरूद्धको लडाइँमा चीनले नेपालसहित एक सय बढी देशलाई खोप सहयोग गरिसकेको छ साथै ६० बढी देशमा खोप निर्यात पनि गरेको छ । चीनले हालसम्म ७७ करोड बढी खोप निर्यात गर्दै खोप निर्यातकर्ता मुलुकमा विश्वमा पहिलो स्थान ओगटेको छ । 

यसै बीच अगस्ट ५ मा कोभिड-१९ विरूद्धको खोप सहयोग सम्बन्धि अन्तर्राष्ट्रिय मञ्चको पहिलो बैठकलाई पठाएको सन्देशमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले यो वर्षभरि विश्वलाई दुई अर्ब डोज खोप उपलब्ध गराउने तथा कोभ्याक्स कार्यक्रमकालागि १०० मिलियन अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेका छन् ।

यसरी चीन आफ्नो देशभित्र र विश्वसँग हातेमालो गर्दै संसारबाटै कोभिड-१९ लाई परास्त गर्ने अस्त्र उपलब्ध गराउन तत्पर रहेको अवस्थामा मानव अधिकारको हिमायती ठान्ने संयुक्त राष्ट्र अमेरिकाको भूमिका गौण देखिन्छ । अमेरिकाले विश्वमा खोप उपलब्ध गराउनुको साटो भण्डारण गरिरहेको छ । हरेक कुरामा अब्बल देखाउने अमेरिका यस खोप उपलब्ध गराउनुमा पछि मात्र परेको छैन, यस भाइरसको स्रोतलाई लिएर राजनीतिकरण गर्दैआएको छ । हालको महामारीको अवस्थामा यो भाइरसलाई संसारबाट कसरी निमिट्यान्न पार्न सकिन्छ भन्ने तिर नलागी खाली आरोप प्रत्यारोपमा अल्झिरहेको छ । 

विश्व स्वास्थ्य संगठनले चीनको ऊहानमा आएर सबै जाँचबुझ गरी त्यहाँको ल्याबबाट भाइरस लिक बिल्कुलै असम्भव भएको निश्कर्षसहित प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा फेरि पनि अमेरिका विश्व स्वास्थ्य संगठनलाई दबाव दिइरहेको छ । विश्वका विभिन्न देशमा आन्तरिक हस्तक्षेप र दखल दिने अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आफ्नो भाषा बोल्न बाध्य गराइरहेको छ भने उता आफ्नो ल्याब फोर्ट डेट्रिक बन्द गरी त्यहाँको निशान सबै मेटाएको अवस्था छ ।

मानवजातिको साझा शत्रु कोभिड-१९ लाई परास्त गर्न विश्व एक ढिक्का हुनुपर्नेमा अमेरिकाको रवैया बुझी नसक्नु छ । यसलाई परास्त गर्न एउटा मात्र देशको प्रयासले सम्भव छैन तर एक जनाको प्रयासले भने सम्भव छ । तपाईँलाई कोभिड-१९ को शङ्का लागेमा सर्वप्रथम अलग बस्नुहोस् । परीक्षण गराउनुहोस् ।

यदि पोजिटिभ देखिएमा म यो रोग अरू कसैलाई सर्न दिन्न भन्ने प्रण गर्नुहोस् । यो रोगका लागि खोप ढाल हो भने तपाईँको सतर्कता, सावधानी र सचेतना यसलाई अन्त गर्ने दिव्यास्त्र हुने छ । हरेक मानिसले यसो गरे मात्रै छिटोभन्दा छिटो सर्वश्रेष्ठ प्राणी फेरि पनि खुला आकाशमा भय र डर बिना मानिसको लावालश्करसँगै विजयको झण्डा फहराउन सक्षम हुने छ ।


Author

थप समाचार
x