विचार

धेरैले ‘म मरेर गए देश नासिन्छ’ भन्‍ने सोच्छन् रे, नासिएको छ त ?

राजाराम बर्तौला |
असार १७, २०७८ बिहीबार ९:२३ बजे

मुलुक राजनीतिक गञ्जागोलभित्र रुमल्लिरहेको छ । यस्तो लाग्दै छ, उडिरहेको जहाज कुहिरी-मण्डल बादलभित्र फसेको छ । पाइलटहरू जहाजलाई सही दिशानिर्देश गर्न असफल भइरहेका छन् । यो टर्बुलेन्सबाट सफलतापूर्वक पार नपाउने हो भने दुर्घटनामा परिने निश्चित जस्तै देखिएको छ । संकटका सूचना दिने बत्तीहरू रातो बलेका छन् । गतिहीन र मतिहीन चालक घामले डामेर चाउरी परेका छाला देखाउँदै उमेरको तकाजा भाँडभैँलोमा रूपान्तरण गर्दै आफ्नो सिद्धि देख्‍न, रमाउन र अनुभवको डंका पिटेर राजनीतिक ‘रजगज’ गर्नमै व्यस्त छन् ।

राजनीतिक दृश्य-पटलमा अगाडि रहेका, उमेरले जेष्ठ नागरिक सुविधाको हकदार भइसकेका, कपाल पाकेर गालाको छाला लोलाएकाहरू, २०४६/४७ बाट राजनीतिक परिदृश्यमा उदाएका अनुहारहरू हुन् । विगत तीन दशकभन्दा बढी समयदेखि रजतपटमा होस् या छापामा, सडकमा हुन् या सरकारका कुर्सीमा किंवा प्रतिपक्ष बेन्चमा यिनै अनुहार हेर्दै, सुन्दै, देख्दै र प्रत्येक निर्वाचनमा यिनीहरूले भनेकै निर्वाचन चिह्नहरूमा औँठाछाप लगाउँदै आइरहेका छौँ ।


समय क्रममा यिनीहरूको बौद्धिकता, कार्यकुशलता, दक्षता, क्षमता, नीति र नैतिकता बारम्बार हेर्दै, भोग्दै र परीक्षण गरिँदै पनि आइएको छ । यिनीहरूको कथनी र करनीको भिन्‍नता, व्यवहार कुशलता र चरित्र पनि धेरथोर नागरिकले थाहा पाइसकेका हुन् । त्यसैले त प्रायः नेताहरूको नामको पछि जनताले एक-एकवटा विशेषणको ट्यागहरू भिर्‍याइदिएको अवस्था छ । 

२०४६/४७ देखि हामीले देख्दै, सुन्दै र भोग्दै आएका नेता तिनै हुन् जसलाई हामीले परिवर्तनका संवाहक हुन् भन्दै विश्वास गर्‍यौँ । सत्ता सुम्पियौँ । यी नेताहरू राजनीतिक चलखेल गर्न, राजनीतिक दल, गुट र व्यक्तिगत स्वार्थ पूर्ति गर्न त सफल भए तर नागरिकलाई भने बारम्बार झुक्याउन सफल भइरहे ।

यी तिनै नेता हुन्, ‘देशको मुहार फेर्ने’ नारा लगाउँथे । यी तिनै नेता हुन्, ‘अब कोही भोकले र उपचार नपाई रोगले मर्न पर्दैन’ भन्थे । समानताको, न्यायको ठूलठूला भाषा प्रयोग मुलुकलाई कहिले स्वीटजरल्यान्ड त कहिले सिंगापुर बनाउने बाचा गर्दथे । सपना बाँड्थे ।

वर्गीय विभेदका चर्का नारा लगाउँदै आन्दोलन गर्न आह्वान गर्ने यी तिनै अनुहारहरू हुन् जो हिजो सडकछाप थिए, आज महलका मालिक भएका छन् । ब्रान्डेड सुट, घडी, जुत्तामा सजिन पर्ने लाखौँको बेडमा सुत्नुपर्ने अनि करोडौँको मूल्य पर्ने गाडी चढ्नुपर्ने नवधनाढ्य भएका छन् । यिनैका भाषण सुनेर यिनैलाई गरिबको मसिहा मान्‍नुपर्ने अवस्थामा छौँ, हामी ।

देशको मुहार यही केही नयाँ नवधनाढ्य वर्गको सम्भ्रान्त व्यवहारमा देखिरहेका छौँ । आफूलाई लोकतन्त्रवादी, समाजवादी र साम्यवादी भनाउन रुचाउनेहरू आज आफँै अनेकन् व्यवसायका मालिक, उद्योगपति र धनपति भएका छन्, कुलीन र सम्भ्रान्त वर्गको हिमायती पनि । प्राडो संस्कृतिका रचनाकार, यति र ओम्नीका पक्षपोषक र संरक्षक हुन पनि भ्याएका छन् ।

उमेरले नेटो काट्न लाग्दै गर्दा पनि, हिँड्दा अर्कैले हात समाइदिनुपर्ने, घरिघरि समात्ने र टेक्ने सहारा बनी दिनुपर्ने हुँदा पनि सत्ताको कुर्सीमा चिप्किनुपर्ने, यो कस्तो सत्तामोह हो बुझिसक्नु छैन । मरणान्त हुँदा पनि पदमा नै झुण्डिनुपर्ने, यो नशा हो वा आदत ? सत्तामा हुँदा पितृ भए मोक्ष पाइन्छ भन्‍ने सोचाई त होइन कतै ? इहलोक र परलोक सबै ठाउँमा कीर्तिपताका रहनेछन् भन्‍ने सोच पनि हुन सक्छ । सत्ताको पुच्छर समातेर वैतरणी पार गर्न चाहनेहरूलाई मत्र्यलोकबासीले राम र कृष्णलाई पूजे जसरी पुज्दैनन् । काश, यस्तो हुँदो हो । सोचेजस्तो कहाँ हुन्छ र जीवन, जनआक्रोशको मारमा परियो भने रावणको प्रतीक मानेर पुत्लादहन गर्न के बेर ।

बादशाहको बादशाही पनि ढल्यो
यहाँ ‘कोही अजर र अमर छैनन् ।’ यो मैले भनेको हैन, सर्वकालिक भनाइ हो । कहिलेदेखि चल्यो थाहा छैन । सम्भवतः मानिसको चेत खुलेको दिनदेखि हुनुपर्छ । जसरी यो मलाई थाहा छ, त्यसरी नै यो अरु सबैलाई ज्ञात छ, नेताहरूलाई पनि । यद्यपि, फेरि पनि सबै राजनीतिक यात्रामा आफूलाई अमर राख्‍न किन लालायित हुन्छन् ? बुझ्‍नै कठिन भयो । कत्राकत्रा राजा-महाराजाहरूको, सामन्तहरूको, बादशाहहरूको बादशाही साम्राज्य ढलेर खरानी भयो । ती राजा-महाराजा, बादशाहहरूले कहिल्यै सोचेका थिए होलान् कि तिनीहरूको त्यत्रो ठूलो साम्राज्य एकदिन ढलेर टुट्नेछ, फुट्नेछ, डुब्‍नेछ र विलीन हुनेछ ।

खोई कहाँ गयो, रोमन साम्राज्य, अस्ट्रो-हङ्गेरियन, ह्याम्सबर्ग, अटोमन साम्राज्य ? के भयो मंगोल बादशाह, चिनियाँ बादशाह र मुगल बादशाहहरूको बादशाही तागत । कहिल्यै सूर्य नअस्ताउने बेलायती साम्राज्यको पनि पतन हुँदो रहेछ । कोही त बताइदेउ, कोही त अजर-अमर भए होलान् नि । यी विशाल साम्राज्यका बादशाही शासकहरू । केही नाम लिएर त भन, एक..दुई..तीन..अमर आत्माहरू । 

कोही अजर र अमर छैनन् । इतिहास क्रुर हुन्छ भन्छन् । कि त रामको नाम रह्यो कि त कृष्णको अरु त सब तपसिल । कि त दुर्जन हुनुपर्‍यो रावण जस्तै दुष्कृति दर्ज गर्न । आधुनिक लोकतन्त्रमा शासकले कीर्तिस्तम्भहरू पनि नागरिकको नाममा राख्‍नुपर्छ ।

उसको व्यक्तिगत भन्‍ने केही हुनुहुँदैन । सबै अस्थायी हुन्छन्, व्यक्तिका प्रयासहरू । स्थायी भनेको राष्ट्र, राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सम्प्रभुता मात्र हो । जन्म दिने, कर्म दिने, ज्ञान दिने र संस्कार दिनेहरू पनि यो संसार छोडेर गएपछि केही दिनको मात्र सम्झनामा रहन्छन् भने नेतालाई सम्झने कहिले र कहाँ । 

धेरै गरे एउटा प्रस्तरको मूर्ति निर्माण गरी एकान्तमा पन्छी विष्टादीका लागि छोडिएको हुन सक्छ । बस्, यत्तिको लागि यत्रो मरिहत्य किन गर्छन् नेताहरू । हामी कत्तिले नबिराई २०४७ सालपछिका प्रधानमन्त्रीहरूको नाम भन्‍न सक्छौँ ? लाग्छ, यसमा धेरैको प्रयत्न खेर जानेछ । किनभने, त्यो हाम्रो दैनिक जीवनीको प्राथमिकता होइन ।

सन्त-त्यागी त भट्टराई मात्र
यी २०४७ पछिका नाम चलेका प्रधानमन्त्री भएका वरिष्ठ नेताहरूलाई सम्झनुपर्ने अवस्था आइलाग्यो भने उनीहरूको सुकृति वा दुष्कृतिको कुरालाई लिएर सम्झना गर्नेछन् होला । त्यागी र सन्त नेताको रूपमा त एउटैको मात्र नाम आउने रहेछ, कृष्णप्रसाद भट्टराई । अरु सबैले कसैले ‘प्राडो-कल्चर’ भित्र्याए कोही होली वाइनमा डुबे त कोही यति र ओम्नीको संरक्षक भए । आमनागरिकको स्मृतिमा सदासयी, सहृदयी, सम्यक, सादा जीवन र उच्च विचार भएका महात्मातुल्य नेताहरू मात्र बस्ने रहेछन् ।

लिएर जान सक्दैनौ, दिएर जान पनि सक्दैनौ भने ठाउँ ओगटेर किन बस्छौँ, ‘बुढो गोरुले गाई ओगटे जसरी ।’ उदीयमान युवा पुस्तालाई छाडिदिने नि घरको ताला चावी । किन डराउने जिम्मेवारी दिन ? यो उसको पनि त हो । नासिँदा उसको पनि नासिन्छ । सप्रिदा उसको पनि सप्रिन्छ । राजाहरूले ‘म मरेर गए देश नासिन्छ’ भन्‍ने सोच्छन् अरे । तर कहिल्यै राजा मरेर गएपछि देश नासिएको देखेको छ, कसैले ? फगत यो मनको भ्रम हो । यो भ्रमबाट मुक्त हुन आवश्यक छ । 

आउने पुस्ताले त्यो संस्थागत अभियानलाई अघि बढाउने छ सफलतापूर्वक । उसलाई हार्ने छूट छैन । जितका लागि उसले अदम्य साहस र उर्जा लगाउने छ । यसै पनि युवाको काँध प्रौढको भन्दा बलबान् हुन्छ र बढी वजन उठाउन सक्षम हुन्छ । ऊर्जा बढी हुने भएकाले उ गतिशील हुन्छ । जोशिलो हुने भएकाले प्रतिस्पर्धी र विजय आकांक्षी पनि हुन्छ । 

नेपालको राजनीतिक परिदृष्य सबै ठूला राजनीतिक दलहरूले यही वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने अवस्थामा छन् । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक भनिने दलले आफ्नो महाधिवेशन यही भदौ महिनामा सम्पन्‍न गर्नेगरी कार्यतालिका समेत प्रकाशित गरेको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, र जनता समाजवादी पार्टीले पनि यही वर्षभित्रमा महाधिवेशन सम्पन्‍न गर्नुपर्नेछ । दलको महाधिवेशन गर्नु भनेको दलको आन्तरिक नेतृत्वका लागि नेता चयन गर्नु र दलको विधि-विधान परिमार्जन गरी नीति तथा कार्यक्रमसहित आगामी कार्यदिशा तय गर्नु पनि हो । 

राजनीतिक परिदृष्यमा दुई पक्षहरू स्पष्ट रूपमा दृष्टिगोचर भइरहेका छन् । पहिलो त, पुरानो स्थापित संस्थापन पक्ष आफ्नो नेतृत्व नछाड्ने र आगामी महाधिवेशनमा पनि नेतृत्वको प्रत्यासी बन्‍ने । पुराना बरिष्ठहरूबीच गुटबन्दी गरी युवा तथा सम्भावित क्षमतावान नेताहरूलाई आफूभित्रै अलम्ल्याउने र नेतृत्व हत्याउने ।

दोश्रो पक्ष छ, नेतृत्वमा परिवर्तनको आकांक्षा राख्‍ने त्यसमा सहभागी पनि हुन चाहने र वरिष्ठतम नेताको आशिर्वादको कामना गर्ने । यो पक्षका नेताहरू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरिनुपर्छ भनी आवाज मुखरित गर्ने तर त्यो दोश्रो पुस्ता भनेको आफ्नै घेराबन्दी हो भन्‍ने नखुलाउने । अनि यसै मेसोमा साँच्चिकै युवा नेताहरू जिम्मेवारी लिन तयार तर हिम्मत गरेर शीर्ष नेतृत्वको इच्छा विपरित जान हच्कने ।  

नयाँ र पुरानो, काँचो र पाकेकोबीचको नेतृत्वको होडबाजी व्यवहारिक र सैद्धान्तिक रूपमा वर्षौ अघिदेखि चल्दै आएको बहस हो । कुन चाहिँको नेतृत्व ठीक हो भन्‍नेमा कुनै एक मतमा सहमति बन्‍न सकेको अवस्था छैन । राजनीतिमा सायद समय, परिस्थिति र परिबन्दले योग्यता आफैँ निर्धारण गर्छ  ।

नेपालका नेताहरूले जनआवाज अथवा मतदाताहरूको संकेत सुन्‍न सकेको, पढ्न सकेको देखिँदैन । यदि नागरिक आवाजलाई सुन्‍न प्रयत्न गरेको भए मुलुक वर्तमान अवस्थामा भासिने थिएन । मुलुकमा व्याप्त चरम अस्तव्यस्तता, अराकता, अन्यौल, अकर्मण्यता, भ्रष्टाचार, दुराचारको अवस्था देखेर युवाहरू वाक्क-दिक्क भएका छन् । धेरै उच्च बौद्धिक तहका क्षमतावान युवाहरू त पलायन हुने अवस्थामा पुगेका छन् ।

केही अझै पनि केही हुने झिनो अपेक्षामा नेतृत्व परिवर्तन गर्न आशा गर्दै बसेका छन् । यिनीहरूमा एक किसिमको बेचैनी देख्‍न सकिन्छ । ती कहिले साझा पार्टी त कहिले विवेकशील भन्दै भौतारिरहेका छन् । कोही पुरानै स्थापित दलहरूबाट परिवर्तनको चाहना राख्दै बसेका छन् । 

तर, दुई पुराना राजनीतिक दलहरू भने युवा शक्तिलाई जिम्मेवारी दिने मनस्थितिमा कतै पनि देखिँदैन । पुराना बयोवृद्ध नेताहरू भने चातुर्यतापूर्वक आफूहरूभित्र राजनीतिलाई ध्रुवीकरण गरी गुटबन्दीमा रमाउने र युवाहरूलाई आफ्नै वृत्तमा चक्कर लगाउन वाध्य पार्ने रणनीतिमा सफल देखिन्छन् । यी बयोवृद्ध नेताहरू आखिर किन नेतृत्व हस्तान्तरण गर्न अनिच्छुक देखिन्छन् त ? 

नेतृत्व हस्तान्तरण गर्न अनिच्छा देखाइनुको खास केही गम्भीर कारणहरू छन् । त्यसमध्ये पहिलो महत्वपूर्ण कारण हो राजनीतिक संस्कारको कमी हुनु, अभाव हुनु । राजनीतिक संस्कार यस्तो एउटा कडी हो, जुन लोकतन्त्रको संस्थागत विकासका लागि मेरुदण्ड हो । तर दुःखका साथ भन्‍नुपर्छ कि नेपालमा त्यसको अभाव प्रष्ट देखिन्छ ।

दोश्रो, अर्को महत्वपूर्ण कारण हो, पदमा रहँदा सोबाट प्राप्त हुन सक्ने मान, सान र आर्थिक लगायत भौतिक तथा अभौतिक लाभ । यही संस्कारजन्य कमी र शुभ-लाभका मोह आदिले गर्दा नेतृत्व मोह प्रवल देखिन्छ, हाम्रा नेताहरूमा । नेपालमा मात्र होइन, दक्षिण एशियामा राजनीति पारिवारिक विरासतका रूपमा विकास हुँदै आएको देखिन्छ । जब राजनीति पेशा बन्छ र परिवारको सीमाभित्र बन्दी हुन पुग्छ अर्थात् केही सीमितहरूको हातमा सत्ताकेन्द्रित हुन थाल्छ, त्यहाँ लोकतन्त्र नाम मात्रको रहन्छ र दृष्य अदृष्य अधिनायकवादको उदय भइरहेको हुन्छ ।

अनि राजनीतिका मूल नीति निर्धारण गर्ने र कार्यान्वयन गर्ने प्रशासनका प्रमुख स्थानहरूमा नेताको विश्वासपात्रले मात्र प्रवेश पाउँछ । दलको नेतृत्व पैतृक विरासतका रूपमा एउटै परिवार वा आसेपासेको सेरोफेरोमा सीमित हुन पुग्छ । उदाहरण हाम्रै सामु छ, भारतमा भारतीय कांग्रेसको नेतृत्व एकपटकबाहेक नेहरू परिवारबाट फुत्केर बाहिर गएको छैन । पारिवारिक घेराबाट बाहिर जाँदा पीभी नरसिंह रावको शवलाई श्रद्धाञ्जलि दिन भारतीय कांग्रेसको मुख्यालयमा राख्‍न समेत दिइएन ।

बंगलादेशमा त्यही संस्कार शेखमुजिवुर रहमानको पार्टी र शेख हसिनाको अध्यक्षतामा रहेको अवामी लिगमा देखिन्छ । नेपालमा केही हदसम्म कोइरालाको परिवारमा राख्‍न खोजे पनि अन्ततः परिवारवादबाट बाहिर निस्किसकेको र अझै संकुचित घेराभित्र कैद रहेको अवस्थामा छ । नेकपा एमालेमा उही पुरानै यिनेगिने नेताहरूको रजाईँमा चलेको छ । 

स्थापित राजनीतिक दलहरूको शासन सत्तामा परोक्ष वा अपरोक्ष रूपमा सत्तामा सहभागी भएर वा प्रतिपक्षमा बसेर, राजकीय सुविधाहरू र लाभ लिन सक्षम हुने हुँदा आफू र आफ्ना आसेपासे, नाता, परिवार, इष्टमित्रहरूलाई लाभका अवसरहरू जुटाउन पाइने भएकाले एकपटक सत्ता आरोहण गरेको व्यक्ति हत्तपत्त सितिमिति सजिलोसँग सत्ता त्याग्न चाहँदैनन् ।

नेपालजस्ता अतिकम विकसित मुलुकहरूमा कानुनी राज नाम मात्रको हुने भएकाले राजनीति समाजसेवा नभएर आय आर्जन गर्न उर्वर पेशा बन्‍न पुगेको छ । जब राजनीति पेशा बन्छ, तब स्वेच्छाले नेतृत्व हस्तान्तरण हुँदैन । कानुनी राज हुने हो भने राजकीय सत्ताको दुरुपयोग गर्ने ठाउँहरू, दुलो वा प्वालहरू विधि या प्रक्रियाका ग्लुले टालिने हुँदा कानुनले बाहेक आफ्नो र आफन्तहरूका लागि अनधिकृत, गैरकानूनी, वा अनुचित लाभ दिन सकिँदैन, लाभका अवसर पनि दिन सकिँदैन तब नेतृत्वमा बस्‍ने पात्रले राजनीतिलाई कमाई खाने भाँडो भन्दा निस्वार्थ जनसेवा गर्ने ठाउँको रूपमा स्विकार गर्नेछ । नेतृत्व आफ्नो कामप्रति जवाफदेही बन्छ र जनताप्रति बफादार ।

आगामी निर्वाचनमा पराजित हुन नपरोस् भनेर नेतृत्व सक्रिय रहन्छ । यदि आफूले नेतृत्व गरेको दल निर्वाचनमा पराजय भयो भने त्यसको सम्पूर्ण दायित्व आफ्नो जिम्मामा लिँदै पद त्याग गरी अर्को सक्षम नेतालाई नेतृत्व हस्तान्तरण गर्छ । लोभ, लालच र स्वार्थरहित भएर दल, र जनमतको कदर गर्नु राजनीतिमा लोकतान्त्रिक संस्कार हो । 

कानुनी राज्यको स्थापनाले वा संस्थात विकासले मात्र लोकतान्त्रिक संस्थाहरूको विकास गर्छ । लोकतान्त्रिक संस्कार भएका नेताहरूले मात्र राजनीतिक दलले बहन गरेको उद्देश्य प्राप्तिमा नेतृत्व दिनसक्ने आफूबाहेक अरु पनि सक्षम र काविल मानिसहरू छन् भन्‍ने मान्छ । जनमतले अस्वीकार गर्‍यो भने त्यसको जवाफदेहिता नेतृत्व गर्ने व्यक्तिले लिन पर्छ । नेपाली कांग्रेसले अघिल्लो चुनावमा नराम्रो गरी पराजय भोग्नुपर्‍यो । तर यसको नेतृत्व गर्ने नेताले किञ्चित मात्र पनि पश्चाताप गरेको वा जवाफदेहिताका लागि प्रस्तुत भएको दखिएन । 

राजनीति दलभित्र नेतृत्वले जवाफदेखिता नलिने, परिवारलाई प्रश्रय दिने, मरणान्त पद नछाड्ने प्रवृत्ति कायम राख्‍ने हो भने र समयको मागसँग साक्षात्कार भई परिवर्तनको धार नसमाउने हो भने त्यस्तो राजनीतिक दलको आयु लामो समयसम्म टिक्न कठिन हुन्छ । दलभित्रको नेतृत्व हस्तान्तर प्रक्रियालाई जति व्यवस्थित र समय सापेक्ष बनाइन्छ दलले त्यति नै सुयोग्य नेता पाउने सम्भावना जीवन्त रहन्छ ।

व्यवस्थापकीय सिद्धान्तले संगठनको जीवन्तता र गतिशीलताका लागि नवरक्त सञ्चार आवश्यक पर्छ भन्‍ने मान्यता राख्छ र व्यवहारतः यो सिद्धान्तको उपयोग सफल पनि भएको छ । नेपालमा राजनीतिक दलहरू २०४७ पछि उदय भएका नेताहरू जसले सेवाबाट अवकाश लिने उमेर पनि भइसकेको छ, उहाँहरूले अब अविभावकीय भूमिकामा आफूहरूलाई सीमित गरी जोस, जाँगर, उर्जाले भरिएका सक्षम युवाहरूलाई नेतृत्व हस्तान्तरण गरी दलको जिम्मा लगाउन आवश्यक भइसकेको छ । नेपालका बहुसंख्यक युवाहरू मुलुकलाई युवा नेताले हाँकेको हेर्न लालायित छन् ।

यसअघिका लेखकका लेख 


Author

थप समाचार
x