विचार

हाम्रो मूल्यांकन पद्धतिकै मूल्यांकन

डा. कृष्णप्रसाद पौडेल |
असार ३, २०७८ १३:५३ बजे

भौतिक रूपमा उपस्थित हुँदै परीक्षा गर्न दिन/लिन नसक्ने परिस्थितिबीच मन्त्रिपरिषद्ले ‘आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षाको नतिजा निकाल्ने’ निर्णय लिएको छ, २०७८ जेठ १७ का दिन । कोभिड-१९ को प्रकोपसँगै वैशाख १६ बाट निषेधाज्ञा सुरु भयो । राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि सञ्चालन हुने भनेको एसईई परीक्षा वैशाख २७ को मन्त्रिपरिषद्को बैठकले स्थगित गर्ने निर्णय लिएको थियो ।

गत वर्ष पनि आन्तरिक मूल्यांकन आधारमै एसईई परीक्षा नतिजा प्रकाशन भएको थियो । मन्त्रिपरिषद्को निर्णय ठीक हो या होइन ? बालबालिकाको बदलिएको सिकाइको तरिका के हो ? हाम्रो मूल्यांकन पद्धति कस्तो छ ? अन्य देशले कस्तो पद्धति प्रयोग गरी मूल्यांकन गर्छन् ? र अबको हाम्रो गन्तव्य कता हुनुपर्छ ? यो आलेखमा विश्लेषण गर्नेछु ।


बालबालिकाको बदलिएको सिकाइको तरिका के हो ?
आजको युग सूचना-प्रविधिको युग हो । अझ भन्‍ने हो भने ‘डिजिटल टेक्नोलोजीको युग हो । अब शिक्षाका लागि ‘डिजिटल टेक्नोलोजी’ र ‘डिजिटल इन्टिगेरेसन’लाई सिकाइको आधारभूत तत्व मानिन्छ । डिजिटल टेक्नोलोजी विद्युतीय उपकरण तथा औजारहरूको प्रणाली हो, जसले विद्युतीय डाटा तथा सूचना उत्पन्‍न, प्रोसेस र भण्डारण गर्ने गर्छ । बृहत्तर रूपमा डिजिटल टेक्नोलोजी भनेको विद्युतीय उपकरण, स्वचालित प्रणाली र अन्य टेक्नोलोजिकल उपकरणहरूलाई जनाउँछ, जसले सजिलैसँग सूचना तथा जानकारी उत्पन्‍न, प्रशोधन र भण्डारण गर्न सहयोग गर्छ ।

डिजिटल टेक्नोलोजीले विद्यार्थीहरूको सिकाइमा ठूलो भूमिका खेलेको हुन्छ । विभिन्‍न प्रकारका डिजिटल टेक्नोलोजी माध्यमबाट विद्यार्थीहरूले सैद्धान्तिक र प्रयोगात्मक ज्ञानहरू लिइरहेका हुन्छन् ।

डिजिटल शिक्षण प्रणालीमा कुनै पनि टेक्नोलोजीको प्रयोग गरेर सूचना तथा जानकारी लिन सकिन्छ । डिजिटल इन्टिगेरेसनको माध्ययमबाट एउटा डिजिटल उपकरणमा भएको डाटालाई अर्को डिजिटल उपकरणबाट पढ्न वा हेरफेर गर्न सकिन्छ ।

डिजिटल टेक्नोलोजी र डिजिटल इन्टिगेरेसनले विद्यार्थीहरूलाई सजिलैसँग संसार भइरहेको नवीनतम अन्वेषण र आविष्कारबारे ज्ञान प्रदान गर्दै उनीहरूलाई विश्वव्यापी रूपमा साक्षर हुन सहयोग गरेको छ ।

हाम्रो मूल्यांकन पद्धति कस्तो छ ?
सहरको अति सम्पन्‍न विद्यालय, अनि पहाड-हिमाली भेगका अति विपन्‍न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एउटै बास्केटमा राखी मूल्यांकन गर्नु भनेको राज्यले आफ्ना नागरिकप्रति अन्याय गर्नु हो । अतः हामीले प्रयोगमा ल्याएको मूल्यांकन पद्धति व्यक्तिवादी र परम्परावादी भएको ठान्‍नुपर्छ । 

एक वर्षसम्म पढेर केवल ३ घण्टामा सोधिने व्यक्तिपरक प्रश्नावलीका भरमा विद्यार्थीहरूले वर्ष दिनसम्म पढेको विषयलाई मूल्यांकन गरिन्छ । यसरी मूल्यांकन गर्दा विद्यार्थीमा अन्तर्निहित रहेको वस्तुपरक ज्ञान, सीप, साक्षरता तथा कौशल, सामाजिक सहभागिता, अतिरिक्त क्रियाकलाप लगायतमा भएका रुचि तथा क्षमता मापन गर्न सकिँदैन, जुन जीवन जिउन अति आवश्यक र अपरिहार्य मानिन्छन् ।

कतिपय विषयवस्तु, जसमा निबन्ध प्रकारका उत्तर खोजिएका हुन्छन्, त्यस्तोमा व्यक्तिपरक प्रश्नावली ठीकै हुन सक्छ । तर कम्प्युटर, विज्ञान, कृषि जस्ता प्रयोगात्मक ज्ञान तथा सीप आवश्यक पर्ने विषयमा यो पद्धतिबाट परीक्षा लिनु भनेको विद्यार्थीहरूमा भएको ज्ञान तथा सीप अवमूल्यन गर्नु हो ।

अन्य देशले कस्तो पद्धतिमार्फत मूल्यांकन गर्छन् ?
बालबालिकाको सिकाइको पद्धति र तरिका परिवर्तन भएसँगै विकसित तथा विकासशील देशहरूले मूल्यांकनको पद्धति पनि परिवर्तन गरेका छन् । विद्यार्थीहरूलाई आन्तरिक र बाह्य गरी दुई प्रकारबाट मूल्यांकन गर्ने गरिन्छ । आन्तरिक मूल्यांकनको अंकभार देशअनुसार ७०-८० प्रतिशत र बाह्य मूल्यांकनको भार २०-३० प्रतिशतसम्म रहने गरेको छ । अन्तरिक मूल्यांकनमा विशेषतः विद्यार्थीहरूले कक्षा-कोठामा सिकेका विषय, परिच्छेदअनुसारका प्रतिवेदन, परिच्छेदअनुसारका मूल्यांकन, विषयगत आधारमा प्रोजेक्ट प्रतिवेदन, प्रयोगात्मक नोट पर्छन् ।

त्यसअतिरिक्त मौखिक परीक्षा (सामान्य ज्ञान तथा बुद्धिमता प्रश्न आदिका लागि), अवलोकन नोट (भूगोल, सामजिक विज्ञान, इतिहास लगायतका विषयमा), घरमा गरिने घरायसी तथा सामाजिक कार्यहरू, कक्षा कोठाको उपस्थिति, विद्यालय समयभन्दा अगाडि र पछाडि गरिने छलफलमा सहभागिता आदि हुन् । त्यस्तै बाह्य मूल्यांकनमा रचनात्मक तथा आलोचनात्मक विषयवस्तुमाथिका छलफललाई आधार मानिन्छ ।

अबको हाम्रो गन्तव्य कता हुनुपर्छ ?
शिक्षाको मुख्य उद्देश्य सामाजिक र आर्थिक रूपान्तरण गर्ने हुनुपर्छ । सामाजिक र आर्थिक रूपान्तरणका लागि विद्यालय तथा विश्वविद्यालय तहमा पढने विद्यार्थीहरूलाई पढाइँदै आएका विषयवस्तु, पढाउने तरिका र मूल्यांकन पद्धतिलाई आमूल रूपमा परिवर्तन गर्नु आवश्यक छ । 

जसरी सिकाइका तरिका परिवर्तिन भएको छ, त्यहीअनुरूप मूल्यांकनको तरिका पनि परिवर्तित हुनुपर्छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई आन्तरिक र बाह्य गरी दुईतिरकाले मूल्यांकन गर्न सकिन्छ । आन्तरिक मूल्यांकन सम्बन्धित विषय शिक्षकले गर्न सक्छन् भने बाह्य मूल्यांकन संविधानमा उल्लेख भएबमोजिम अधिकार प्राप्त निकायले गर्न सक्छ । सम्बन्धित विषय शिक्षकले स्वमूल्यांकन गर्दा त्यसमा पूर्वाग्रह पनि हुन सक्छ त्यसलाई अनुगमन गर्ने वैज्ञानिक प्रणाली अपनाउनु जरुरी छ । 

विशेषतः आन्तरिक मूल्यांकन गर्दा, विद्यार्थीहरूको कक्षाकोठाको सहभागिता तथा छलफल, परिच्छेदअनुसारको मूल्यांकन, मौखिक परीक्षा, प्रयोगात्मक परीक्षा, अवलोकन नोट, प्रोजेक्ट वर्कको प्रतिवेदन, शैक्षिक उपलव्धि, अतिरिक्त क्रियाकलापको उपलब्धि आदिलाई आधार मानी गर्नुपर्छ ।

यसलाई आधार मानेर गरे तापनि विद्यालयमा भएका स्रोत र साधन, शिक्षकले अपनाएको सिकाइका तरिका, विद्यार्थीहरूका सामाजिक तथा आर्थिक अवस्थालाई आधार मानी आन्तरिक मूल्यांकनको पद्धति र तरिकालाई अवलम्बन गर्नुपर्छ । 

यदि राज्यले सबै विद्यालयमा समान किसिमको भौतिक संरचना, पुस्तकालय, प्रयोगात्मक विषयका प्रयोगशाला, एकै प्रकारका शिक्षकको व्यवस्था गरेको अवस्थामा भने आन्तरिक मूल्यांकन पद्धति र तरिका पनि एउटै हुन सक्छ । अन्यथा, भूगोल, विद्यालयको अवस्था, शिक्षकको उपलब्धता साथै विद्यार्थीको सामाजिक र आर्थिक अवस्था हेरेर मूल्यांकन तरिका फरक बनाइनुपर्छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ जेठ १७ को निर्णयबमोजिम अब विद्यालयहरूले स्वमूल्यांकन गरी त्यसको विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने तत्पश्चात् शिक्षा विकास तथा समन्वय एकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ ।

गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अंकका आधारमा विद्यार्र्थीहरूको मूल्यांकन तयार गरिएको थियो ।

यस वर्ष पनि यही पद्धतिलाई आधार मानी मूल्यांकन गर्ने भनिएको छ । विद्यालयलाई स्वमूल्यांकन गर्न दिँदा प्राप्त भएको मार्किङ प्रणालीलाई त्यस विद्यालयले विगतमा प्राप्त एसईईको ग्रेडिङलाई पनि हेर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा सिकाइका तरिकालाई पनि आधार बनाएर वैज्ञानिक प्रणालीअनुसार मूल्यांकन गर्नु आवश्यक छ । कोभिड-१९ कारण नेपालको शैक्षिक जगत्ले प्रयोगमा ल्याएको तरिका परिवर्तन गरी वैकल्पिक माध्यमबाट मूल्यांकन गर्ने परिस्थिति सृजना भएको छ ।

यो महामारीका बेला शैक्षिक क्षेत्रमा सिकिएका अनुभवलाई अवसरका रूपमा प्रयोग गर्दै आन्तरिक मूल्यांकनमार्फत नै विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको मूल्यांकन गर्ने गरी यो पद्धतिलाई कार्यान्वयनमा ल्याउने गरी नीति निर्माण गर्नु आवश्यक छ ।



Author

डा. कृष्णप्रसाद पौडेल

लेखक ज्ञान व्यवस्थापन विज्ञ तथा नेपाली कांग्रेसका युवा नेता हुन् ।


थप समाचार
ad
x