विचार

सन्दर्भः प्रजातन्त्र दिवस

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र समाजवाद

फणीन्द्र फुयाल ज्वाला |
फागुन ७, २०८० सोमवार १६:२६ बजे

“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए” – कवि भूपी शेरचन

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ । त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरूकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।

विगतमा यो दिनको बेग्लै महत्व थियो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा पर्दै गएको छ । राणाहरूको व्यवहार, शासन र हैरानी सहन नसकेर हाँसी–हाँसी आफ्नो जीवन बलिवेदीमा होम्न तयारहरू देशका महान शहीदका रुपमा आफ्नो नाम कहिल्यै नमेटिने गरी लेखाउन सफल भएका छन् । देशको पहिलो शहीद लखन थापादेखि राणा विरोधी आन्दोलनका चार महान् शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले यदि राणाहरूको सशक्त विरोध गर्दै विद्रोह र चेतना बिउ नरोपेको भए सायद देशमा प्रजातन्त्र आउन अझै केही समय कुर्नुपथ्र्योकि ! त्यसैले त कवि भूपी शेरचनले कवितामार्फत भनेझैँ दुई–चार जना सपूत मरेर गए, र त देश बन्यो । 


यतिबेला ‘प्रजातन्त्र’को नाउँ र ठाउँ लोकतन्त्र, गणतन्त्र हुँदै समाजवादले लिएको छ । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको छ । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त हुन सकिरहेको छैन । केही स्थानीय र प्रादेशिक शासकहरूका क्रियाकलापमा अझै राणा शाहीकै धङधङी नियमित भएको आभाष हुन्छ ।

तर, प्रजातन्त्र दिवसले नेपालको राजनीतिक र शासकीय इतिहासमा बेग्लै महत्व बोकेको छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपर्थ्यो होला !

‘मकैको खेती’ले बालेको दियो 
त्यसो त देशमा राणाशासन अन्त्य गर्दै प्रजातन्त्र ल्याउनका लागि पत्रकार तथा साहित्यकारहरूको पनि ठूलो योगदान छ । सुव्वा कृष्णलाल अधिकारीद्वारा लिखित ‘मकैको खेती’ पुस्तक झट्ट सुन्दा नेपाली खेती किसानी सम्बन्धित पुस्तक हो जस्तो लाग्छ । तर यस पुस्तकमा मकैमा लाग्ने कीराहरूलाई राणाको संज्ञा दिइएको छ । कीराले मकै सखाप परेजस्तै राणाले देश सखाप पारेको सन्देश यो पुस्तकले साहित्यिक तरिकाले दिन्छ ।

वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा जन्मेका सुव्वा कृष्णलाल अधिकारीलाई नेपालका प्रथम साहित्यिक-भाषिक शहीद पनि भनिन्छ । प्रमाणिक अभिलेख अनुसार उहाँले वि.सं. १९४६ तिर ‘मकैको खेती’ नामक पुस्तक लेख्न थाली वि.सं. १९७७ मा पूरा गर्नुभएको थियो । ६० पृष्ठको उक्त पुस्तक नक्साल भगवती नजिकै पशुपति छापाखानामा एक हजारप्रति छापिएको थियो ।

तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले सुव्वा कृष्णलाल अधिकारीलाई ‘पुस्तक लेखेर गाथगादी ताकेको’ कारण सजाय भै उहाँको जेलमा नै मृत्यु भएकाले यो पुस्तक प्रकाशन राणा विरोधी अभियानमा ‘कोशे ढुगां’को रुपमा गणना गरिन्छ । उहाँ वि.सं. १९७७ श्रावण ११ मा पक्राउ पर्नुभयो र जेल सजाय तोकियो । साथै प्रकाशित पुस्तक मध्य ९९९ प्रति जलाइयो र अप्राप्त एक प्रतिको लागि तोकिएको पाँच वर्ष सहित कुल नौ वर्ष जेल सजाय भयो । उहाँलाई सजाय भएको सात महिना पछि सुब्बा राममणि आदिको भूमिकासहित नेपाली भाषा प्रकाशिनी समितिद्वारा प्रकाशित कृषि शिक्षावली प्रथम भागः मकैको खेती गर्ने तरिका अधिकारीकै यही मूल कृतिको संशोधित पुनरावृत्ति हो भन्ने भनाई रहेकोले उक्त एक प्रति षड्यन्त्रपूर्वक लुकाइएको अनुमान गर्न सकिन्छ । 

पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका ‘बेलायती कुकुर’ले तत्कालीन ब्रिटिस समुदायलाई इंगित गरेको आरोप लाग्यो भने पुस्तकमा– “मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा” भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य ठानेर पुस्तकलाई प्रतिबन्ध गरे । उति बेला चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे । यसबाहेक किताबमा वणिर्त ‘बालकलाई आफ्नो आमाको दूध बराबर चन्द्रोदयले फाइदा गर्दैन’ भन्ने भनाई चन्द्र शमशेरप्रति ठाडो प्रहार हो भन्ने आरोप लागेको थियो ।

क्रान्तिलाई सफल पार्न पत्रकारिताः
वि.सं. २००० सालसम्म देशमा साहित्यिक पत्रिकाहरू मात्रै प्रकाशित थिए । एकतन्त्रीय जहानियाँ राणाशासनका कारण राजनीतिक विचार प्रधान पत्रिकाहरू खासै प्रकाशित हुन सकिरहेका थिएनन् । प्रवासबाट विस्तारै राणाविरोधी पत्रिकाहरुको प्रकाशन आरम्भ हुन थालेको थियो । यही क्रममा वि.सं. २००४ सालमा बनारसबाट युगवाणी प्रकाशित भयो, जसले राणाशासन विरुद्धका राजनीतिक लेखहरूलाई प्रमुखताका साथ छाप्ने गर्दथ्यो । वि.सं. २००५ साल कात्तिकदेखि कलकत्ताबाट प्रकाशित नेपाल पुकार पनि राणाशासनको विरुद्ध देखापर्यो । नेपाली पत्रकारिताको इतिहासमा सात सालको क्रान्तिलाई सफल पार्न यी दुवै पत्रिकाहरूको योगदान उल्लेखनीय रहेको छ ।

राणाशासनको आखिरी समयताका चाहिँ नेपालबाटै पनि राजनीतिक विषयलाई समावेश गरिएका पत्रिकाहरू प्रकाशित हुन थालेका थिए । वि.सं. २००७ साल फागुन ४ गतेदेखि जागरण साप्ताहिक प्रकाशित भयो । त्यसको केही दिनमा नै नेपालमा प्रजातन्त्रको स्थापना भयो । त्यसपछि पत्रपत्रिकाहरूको प्रकाशनमा बाढी नै आयो । प्रजातन्त्र स्थापना भएको भोलिपल्ट ८ फागुन २००७ देखि आवाज दैनिकको सुरुवात भयो । वि.सं. २०११ सालमा पशुपतदेव पाण्डेको सम्पादनमा समाज दैनिक प्रकाशन सुरु भयो । यसै कालखण्डमा सन्देश, दैनिक समाचार, नेपाली समाचार, जय नेपाल, नेपाल भाषा, नेपाल टाइम्स, द कमनर, समय, हालखबर, एभरेष्ट न्युज, सही सन्देश, सत्याग्रह, दियालो, पासा, गोरेटो, भूगोलपार्क, नयाँ समाज, स्वतन्त्र समाचार, जनमत, डेली मिरर, जनता, मदरल्याण्ड, तरंग, राँको, झिल्को, राष्ट्रवाणी, आलोक, सही रस्ता, युगदुत जस्ता पत्रपत्रिकाहरू प्रकाशित भए । यी पत्रिकाहरू कुनै न कुनै रूपमा राजनीतिक पार्टीसँग सम्बन्धित थिए ।

त्यसैले अझै पनि देशमा आन्दोलन, क्रान्ति र शहीदको रगतले प्राप्त भएका उपलव्धिहरूमाथि गिद्धे दृष्टि लगाउनेहरू सल्बलाइरहेका छन् । ती गलत व्यक्ति र प्रवृत्तिप्रति साहित्यकार, कलाकार, पत्रकार नागरिक समाज, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै राजनीतिक दलका नेता, कार्यकर्ता र तिनका भातृ संस्थाहरू चौबिसै घण्टा आँखा र कान खुला पारेर ‘वाच डग’ जस्तै बन्न जरुरी छ । शब्दमा लोकतन्त्र, गणतन्त्र, समाजवाद जे भने पनि त्यो उन्नत प्रकारको प्रजातन्त्र नै हो । प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र हो, राजतन्त्र होइन । प्रजातन्त्र मासेर फेरी पुरानै पश्चगामी बाटोमा हिँड्ने कुचेष्टा कसैले पनि नगरौँ । त्यसैले त कवि भूपी शेरचन कवितामार्फत भन्छन्,
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !


 


Author

थप समाचार
x