विचार

अनि कोभिडले अवश्य हार्नेछ

सन्तोष अधिकारी, यूराेप |
जेठ १४, २०७८ शुक्रवार ७:२२ बजे

देशभरका अस्पतालमा एम्बुलेन्सको लस्कर । अस्पतालमा बेड अभाव । आईसीयू र सीमित भेन्टिलेटर कोभिड–१९ संक्रमितले भरिभराउ । अस्पतालका पेटीमा उपचार गर्नुपर्ने बाध्यता । कतिले उपचार नै नपाएर ज्यान गुमाए । 

फेब्रुअरीको सुरुवातमा युरोपियन देश पोर्चुगलको अवस्था यस्तै थियो । छिमेकी मुुलुक पनि नयाँ भेरियन्टको दोस्रो लहरसँग जुध्दै थिए । जता हेर्‍योे उतै त्रास । दैनिक १५÷१६ हजार नयाँ संक्रमित र सयौँको संख्यामा मृत्यु । अत्यासलाग्दो अवस्था थियो । सीमित स्रोतबीच पनि छोटै अवधिमा पोर्चुगल तत्काललाई संक्रमण रोक्न सफल भयो । तीन महिनामा महामारीलाई कसरी नियन्त्रण गर्न सक्योे पोर्चुगलले ? दोस्रो चरणको संक्रमणबाट ग्रसित नेपालले पोर्चुगलको संघर्ष र अनुभवबाट के सिक्न सक्छ ?


पोर्चुगलले कसरी नियन्त्रण गर्‍यो ?
पहिलो चरणको संक्रमणका क्रममा पोर्चुगलले ठूलो क्षति बेहोर्नु परेन । सामान्य संक्रमण देखिन थालेसँगै लकडाउन गरेको थियो । केही महिनाको बन्दाबन्दीले महामारीमा नियन्त्रणमा सफलता पायो । जब कि युरोपियन देशले एक कदम अघि बढेर छिटोछिटो लकडाउन अन्त्य गर्दैै पर्यटकीय गतिविधि सुचारु गरे । 
दोस्रो लहर भने पोर्चुगलका निम्ति संकट नै साबित भयो । तर, संकटलाई पोर्चुगलले पार लगाउन सफल भयो । महामारी नियन्त्रणमा यहाँको सरकारले निर्वाह गरेको भूमिका र संघर्ष प्रशंसनीय छ । अनि नागरिकले देखाएको धैर्य, इमानदारी र कर्तव्यपरायणता उत्तिकै तारिफयोग्य । जुन नेपाल र नेपालीले अहिलेको संकटमा अनुशरण गर्न आवश्यक छ । 

संकटबाट पाठ सिक्दै पोर्चुगलले दोस्रो लहर प्रवेश गर्नेबित्तिकै कडा लकडाउन गरेन । नागरिकको जनजीवन र स्वतन्त्रतालाई ख्याल गर्दै क्रमिक रूपमा लकडाउनलाई कसिलो बनाउँदै लग्यो । जनवरीबाट सुरु लकडाउनको अभ्यासलाई नतिजा हेरेर बिस्तारै कडाइ गर्दै लगेको थियो । नेपालमा जस्तो हतार–हतास कडा बन्दाबन्दी गरेन । लकडाउन जति प्रभावकारी देखियो, उत्तिकै रूपमा कडाइ गरिँदै लगियो । मान्छेहरूको जमघट र भीडभाड हुने समय र पर्वलाई केन्द्रित गरेर ठाउँ र समयअनुसार लकडाउनको मोडालिटी फेरबदल गरिराख्यो । जब कि महामारी नियन्त्रणमा लकडाउन प्रभावकारी पनि बनोस् अनि लकडाउनको नाममा नागरिकले सास्ती पनि नहोस् । यी दुवै कुरामा यहाँको राज्य र जनता सजग र सचेत देखिन्थे । 

पहुँच, पावर र पैसाको आधारमा होइन, आवश्यकताको आधारमा भेन्टिलेटर, आईसीयू उपलब्ध गराऔँ । पहुँच र पैसाकै कारण कसैले सामान्य अवस्थामा पनि भेन्टिलेटर पाउने र कसैले गम्भीर अवस्थामा पनि आवश्यक उपचार नपाउने विभेदपूर्ण अवस्थाको अन्त्य गरौँ । 

राज्यले गरेको आह्वानलाई जनताले सक्दो पालना गरे भने राज्य आफ्नो उत्तरदायित्व पूरा गर्न उत्तिकै लागिपर्‍यो । सायद यसैको परिणाम होला सीमित स्रोत र साधनको बाबजुद पनि महामारीको जटिल अवस्थालाई बिस्तारै पार लगाउन सफल भयो । 

नेपालमा जस्तो भेन्टिलेटर, अक्सिजन र आईसीयू अभाव भयो भनेर जनताले मानसिक तनाव बेहोर्नुपरेन । यस पछाडिका मूलभूत केही कारण छन् । पहिलो जनता इमानदार भएर राज्यको आह्वानलाई आफ्नो कर्तव्य सम्झेर पालना गरे । दोस्रो युरोपियन युनियनअन्तर्गतका अरू समृद्ध देश लक्जेम्बर्ग, जर्मनीलगायतबाट सहयोग प्राप्त भयो । अन्य छिमेकी देश सहयोगका निम्ति फराकिलो मनका साथ उभिए । जस कारण मानसिक र प्राविधिक रूपमा पोर्चुगलको आत्मविश्वास बढ्योे ।

अर्को महत्वपूर्र्ण कारण हो, संक्रमण बढिरहँदा पोर्चुगलले कोभिडविरुद्धको भ्याक्सिन लगाउने अभियान अघि बढाएको थियो । जसले संक्रमणको जोखिममा रहेका समूहमा आत्मबल र विश्वास बढ्न सक्यो । भनिन्छ, आत्मबलले ५० प्रतिशत रोग आफै निको पार्दछ ।

आप्रावासीका निम्ति खुला हृदय भएको देशका रूपमा चिनिन्छ पोर्चुगल । संकटमा आप्रावासी र स्वदेशी भनेर यो देशले कुनै विभेद गरेन । हरेक सेवा सुविधा, राहत र अनुदानमा समान नीति अख्तियार गर्यो‍ । महामारीका कारण बन्द भएका होटल, रेस्टुरेन्ट, उद्योग, कलकारखानामा काम गर्ने मजदुरलाई सामान्य अवस्थामा पाउँदै आएको तलब सुविधा दिएर घरमै बस्न आह्वान गर्यो‍ । 

कामदारले सुविधा पनि पाए र राज्यको आह्वानलार्ई पालना पनि गरे । अर्थात् लकडाउनका कारण आर्थिक समस्यासँग जुध्नु परेन । राज्यले गरिखाने वर्गको हितमा बढी चासो देखायोे । जुन समूहलाई लकडाउनले अप्ठ्यारो परेन । राज्यले नागरिकका आवश्यकता पूरा गरेपछि नागरिकले आदेश पालना गरे । सरकार र जनताको सहकार्य र इमानदारिताको परिणाम दोस्रो लहरको महामारी परास्त गर्ने हतियार बन्यो । 

नेपालले के गर्न सक्छ ?
लकडाउन कोभिड नियन्त्रणको अन्तिम उपाय होइन । तत्काललाई अन्य विकल्प पनि छैन । तर, भोक ठूलो कि रोग ? हाम्रासामु ठडिएको मुख्य चुनौती यो हो । जटिल र विषम परिस्थितिमा सुझबुझपूर्र्ण ढंगबाट राज्यका हरेक निकाय चल्न सक्नुपर्छ । उपलब्ध स्रोतसाधनकै समुचित प्रयोग गरेर हामीले के गर्न सक्छौँ ? महत्वपूर्ण कुरा यो हो । नेपालले कडा खालको लकडाउनसमेत गरिसकेको छ । यस्तै लकडाउन लामो समय गर्न पनि सहज छैन । नागरिक रोगले भन्दा भोकले पनि मर्ने अवस्था आउँछ । तर, लकडाउन कडाइ गर्नुको विकल्प के त ?

गरिखाने वर्गलाई प्राथमिकतामा राख्न जरुरी छ । नाम मात्रको कम्युनिस्ट होइन, वास्तविक रूपमै समाजवादी चरित्र देखाउन आवश्यक छ । जुन सीमित स्रोतसाधनको बीचमा गर्न सकिन्छ । जस्तो, पोर्चुगलबाट सकिन्छ । 

मजदुरी गरेर छाक टार्ने नागरिकको अभिलेख राखी उनीहरूको गाँसबासको व्यवस्था राज्यले गर्नुपर्छ । यति मात्रै गर्ने हो भने उनीहरू बाहिर निस्किँदैनन् । त्यसो नगर्ने हो भने लकडाउन असफल हुँदै जान्छ । लकडाउनमा गाँसबासकै लागि कोही बाहिर नआऊन् भनेर पोर्चुगलले शतप्रतिशत तलब भुक्तानी गरेको थयो । नेपालले त्यति नसके पनि गाँसबासको ग्यारेन्टी नगरी लकडाउन मात्रै लम्ब्याउँदै जाने हो भने यसको प्रभावकारिता सकिँदै जानेछ । गरिखाने वर्गको समस्या राज्यको प्राथमिकतामा पर्नैपर्छ । मजदुर वर्ग भन्नाले शारीरिक परिश्रम गर्ने समूहलाई मात्र बुझ्ने भुल पनि गर्नुहुँदैन । यसमा सबै क्षेत्र, तह र वर्गलाई समेट्नुपर्छ । अब प्रश्न उठ्न सक्छ, के राज्यले यति गर्नेबित्तिकै महामारी नियन्त्रणमा आउला ? अवश्य आउँदैन । नियन्त्रणका लागि आमजनताले हरेक क्षेत्रबाट राज्यलाई सहयोग गर्न जरुरी छ ।  राज्यले अख्तियार गरेका नीतिलाई परिपालन गर्न आवश्यक छ । राज्यको आह्वानलाई नजरअन्दाज गरिनुहुँदैन । 

सम्पन्न देशको तुलनामा नेपालले पनि त्यही स्तरको सेवा प्रवाह गर्नुपर्छ भनेर अफवाह फैलाउने र भड्काउने काम जनस्तरबाट हुनुहुँदैन । राज्यले आफ्नो स्तरको अनुपातमा मात्रै सेवा प्रवाह गर्नसक्छ भन्ने तीतो यथार्थतालाई भुल्नु हुँदैन । समाजवादको अभ्यास गरिरहेका धनी–गरिब युरोपियन मुलुकले अंगीकार गरेको बाटो पनि यही हो । 

पोर्चुगलले प्रत्यक दुई हप्तामा लकडाउन अवधि नवीकरण गर्दै आएको थियो । नवीकरण गर्नुपूर्व देशका सत्ताधारी र विपक्षी दल एकमतका साथ सदनमा प्रस्तुत हुन्थे । जसले आमजनतामा महामारीसँग जुध्न सबै एकै ठाउँमा रहेको सन्देश प्रवाह हुन्थ्योे । अनि जनता राजनीतिक आग्रह पूर्वाग्रहमा विभाजित भएर सरकारको आलोचना र विरोधमा लागेनन् । एक ढिक्का भएर संकटसँग जुध्न हिम्मत जुटाए । नेपालमा पनि सरकारले केही गरेन भनेर तथानाम गालीगलौज मात्रै गरेर संकटमोचन हुँदैन । आग्रह पूर्वाग्रह नराखी एक हुनुको विकल्प छैन । हरेक राज्यले आफनो स्तर र क्षमताअनुसार मात्रै सेवा प्रवाह गर्न सक्छ भन्ने यथार्थलाई नकार्नु हुँदैन । विरोध सबै कुराको समाधान कदापि होइन । जुन युरोपियनबाट पनि सिक्न सकिन्छ । 

महासंकटका बेलामा राज्यशक्तिको दुरुपयोग गर्न खोज्नेहरूलाई सरकारले नियन्त्रण गरोस् । कारबाहीकोे दायरामा ल्याएर सबक सिकाइयोस् । माफिया र ठगहरूले जानाजान ठगिरहेको सरकारले टुलुटुलु हेरेर नबसोस् । अनि सम्पन्न र छिमेकी देशहरूसँग प्राप्त गर्ने सहयोग माग्न ढिला नगरौँ । संकट पार लगाउन अन्य देशको सहयोग नलिई सम्भव छैन । नागरिकको ज्यान बचाउने सवालसँग सम्बन्धित छ । बरु यसका निम्ति हतार गरौँ, आह्वान गरौँ । पर्ख र हेरको अवस्थामा नरुमलिऔँ ।

अन्त्यमा,
पहुँच, पावर र पैसाको आधारमा होइन, आवश्यकताको आधारमा भेन्टिलेटर, आईसीयू उपलब्ध गराऔँ । पहुँच र पैसाकै कारण कसैले सामान्य अवस्थामा पनि भेन्टिलेटर पाउने र कसैले गम्भीर अवस्थामा पनि आवश्यक उपचार नपाउने विभेदपूर्र्ण अवस्थाको अन्त्य गरौँ । जुन  विभेद समाजवादको अभ्यास गरिराखेका अन्य देशमा देखिँदैन । यो संकटमा रोगसँग जोगाउँदै भोक मेटाउने ग्यारेन्टी राज्यले गर्नैपर्छ । अनि सरकारलाई गाली गर्नुभन्दा सहयोग गरेर महामारीलाई परास्त गर्ने साहस बटुलौँ । पोर्चुगलजस्तै महामारीमाथि जित हासिल गर्न सकिन्छ ।


Author

सन्तोष अधिकारी, यूराेप

हाल यूरोपमा बस्‍ने अधिकारी समसामयिक/राजनीतिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x