विचार

पत्रकारितामा सिक्किम - १

युवराज घलेभाइ |
साउन १६, २०८० मगलवार २१:३८ बजे

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता तीनवटा राजकीय अङ्गहरूको संग्लो रूप नै राज्यसत्ता हो । यी तीनवटै अङ्गहरूको समायोजन, समन्वय र सहकार्यमा राज्यसत्ता चलायमान हुने गर्दछ । संवैधानिक तथा कानूनी प्रावधानहरूमा अङ्कित नगरिए पनि पत्रकारितालाई राज्यको चौथो अङ्गको विम्बमा तुलना गर्ने गरिन्छ । अर्थात् मानव समाजलाई सूचना सञ्चार गर्ने संवाहक शक्ति नै पत्रकारिता हो । आजको सूचना प्रविधिको दुनियाँमा अभूतपूर्वरूपमा यसको भूमिका बढिरहेको छ । समाज रूपान्तरण गर्न, विभेद र अन्यायको अन्त्य गर्न समग्र समाजलाई सही र वस्तुवादी सूचनामार्फत् आम जनसमुदायलाई सूचनाद्वारा सचेत गर्न पत्रकारिताको अहम् भूमिका देखिन्छ । यस अतिरिक्त राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा हिँडाउन अनि समाजलाई सुसंस्कृत बनाउन यसको असाध्यै महत्वपूर्ण  जिम्मेवारी रहेको तथ्यलाई पनि नजरअन्दाज गर्न सकिन्न ।

पत्रकारिता जगतले समाज रूपान्तरण गर्ने ऐतिहासिक प्रक्रियामा असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जगजाहेरै छ । यो सचेतना र परिवर्तनको संवाहक साधन हो । अन्याय र अत्याचार विरुद्धको अभियान हो । अपराध र भ्रष्टाचार विरुद्धको ‘वाचडग’ हो । विकृति, विसङ्गति र बेथितिविरुद्धको निरन्तर आन्दोलन हो । हरेक नागरिकहरूको सूचनाको हकको व्यावहारिक कार्यान्वयन गर्ने माध्यम हो । सही र गलत निर्क्यौल गर्ने गहन शल्यक्रिया हो । तर, पछिल्लो समय स्वयम् पत्रकारितामा समेत गलत प्रवृत्ति नराम्ररी मौलाइरहेको छ । यो दुःखद विडम्बनाको विषय हो । यसले आफ्नो नीतिशास्त्रीय मूल्यमान्यताहरू भूल्दै गइरहेको आभास हुन्छ । झन–झन व्यापारिक र व्यावसायिक बन्ने नाममा अनुशासनका पर्खालहरू ढलिरहेका छन् । श्रव्य–दृश्यलगायतका सूचनाहरू फूलबुट्टा भरेर नाफामा बिक्रीको लागि राखिएको बजारको मालजस्तो बनाइँदैछ । यसले पत्रकारिताजस्तो जिम्मेवार र सम्मानित पेशा एकाएक कौडी कारोबारी र कमाउधन्दाको दलाल जस्तो हुँदैछ, जसलाई सकारात्मक मान्न सकिन्न । 


वस्तुतः वर्ग अन्तरविरोधपूर्ण समाजमा पत्रकारिता निरपेक्ष स्वतन्त्र हुन सक्दैन । निजी तथा निहीत स्वार्थमा आधारित समाजमा यो निःस्वार्थी हुनैपर्छ भन्न सकिन्न । किनकि स्वार्थी समाजमा सम्पूर्ण सामाजिक सत्ताहरू स्वार्थद्वारा नै परिचालित हुने गर्दछ । यस्तो समाजमा निरपेक्ष स्वतन्त्र, निष्पक्ष र निःस्वार्थ भन्ने वस्तु नै हुँदैन र भए पनि त्यो निर्णायक र स्थायी हुँदैन । त्यसैले अन्य सत्ताहरू जस्तै पत्रकारिता पनि निरपेक्ष स्वतन्त्र हुन्छ भन्न सकिन्न । यद्यपि पत्रकारिता क्षेत्रले पनि वैचारिक आस्थाको आधारमा वकालती गर्न सक्छ । तर, त्यो न्यूनतम रुपमा समाज परिवर्तनको पक्षमा हुन जरुरी हुन्छ । त्यो न्याय र समानताको पक्षमा हुनुपर्दछ । त्यो मूल्य मान्यता, थिति र संस्कार निर्माणमा सहयोगी हुनुपर्दछ । किनकि वर्गसमाजमा विभिन्न विचार र दृष्टिकोणहरू अस्तित्वमा रहेका हुन्छन् । पत्रकारिता पनि त्यही समाजको उपज हो । यो चाहिँ भन्न सकिन्छ कि पत्रकारितामा अभिव्यक्त पक्षधरताले अग्रगमन, समानता, न्याय, इमान्दारिता र नैतिकताको पक्षपोषण गर्नै पर्दछ ।

मूलतः सारभूत अर्थराजनीतिले तपशिलका सबै गौण पक्षहरूलाई दिशानिर्देश गरिरहेको हुन्छ । सही अर्थराजनीति भयो भने अन्य सहायक पक्षहरू पनि स्वतः सही हुन्छन् । गलत भयो भने सबै गलत हुन्छन् । यो सार्वभौम नियम हो । यही मान्यताबाट विश्लेषण गर्दा पछिल्लो समय सिक्किमको  अर्थराजनीतिले पनि जनअपेक्षित दिशा पकड्न सकेको छैन । परिणामतः तपशिलका सम्पूर्ण सामाजिक सत्ता र मानवीय क्रियाकलापहरू पनि आपराधिक, भ्रष्ट, विकृत र असङ्गत भइरहेको छ । पत्रकारिता पनि समग्र अर्थराजनीतिद्वारा निर्देशित एउटा अंशगत आयाम हो । परिणामतः यो पनि नराम्ररी विकृत बनिरहेको छ । विकृत भएपछि यसले मौलिक आदर्श कायम गर्न सक्दैन । तब आज पत्रकारिता जगतमा सही सूचनाभन्दा पनि बिकाउ मालको रूपमा सूचनाहरूको सौदाबाजी गर्ने होडबाजी चलिरहेको छ । सही सूचना प्रवाहबाट समाजलाई सही दिशानिर्देशन  गर्नुभन्दा पनि जनताका संवेदनशील भावनामा ब्ल्याकमेलिङ गर्दै बजारमा बिक्रीमा राखिएको वस्तुजस्तो भएको छ, पत्रकारिता ।

समाजलाई अग्रगति दिन वैचारिक र राजनैतिक बहससँगै यथार्थ र सकारात्मक सन्देश दिनेभन्दा पनि कसरी बाङ्गो–टिङ्गो, भाँचकुँच, बढाई–चढाई र अपव्याख्या गरेर घटनालाई तरङ्गित पार्ने साथै तिक्तता बढाउने भन्ने मिसनमा कतिपय पत्रकार मित्रहरू लागेको देखिन्छ । एउटा दलले अर्को दलप्रति गरेको प्राविधिक टिप्पणी वा एउटा नेताले अर्को नेताको बारेमा गरेको औसत भाषण, वक्तव्यबाजी, अन्तरवार्ता र आलोचना अनि उठान गरिएका हाम्रै सरोकारका सवालहरू पत्रकारहरूको लागि पक्कै पनि कच्चापदार्थ हो । तर, उनीहरूले यस्तो कच्चावस्तुलाई चिन्नै नसकिने गरी मोडिफाइ गरेर बिक्रीको लागि बजारमा लाने नराम्रो प्रचलन बढेको छ । यो असाध्यै विचारणीय र गम्भीर सवाल हो । यस्तो प्रवृत्तिले कुनै सञ्चार गृह वा पत्रकार साथीहरूले स्वार्थ पूरा गर्लान, तर, यसले अनावश्यक विवादसँगै राजनैतिक–वैचारिक संस्कृतिलाई कमजोर बनाउँछ भने समाज प्राविधिक टिपन–टापनमा फस्दछ, जसले समाधन दिँदैन । तथ्य सूचनालाई सुसूचित गर्दै समाजसेवा गर्नेभन्दा पनि प्रशोधित व्यापारिक वा व्यावसायिक माल जस्तो तोडमोड गरेर बिक्रीमा राख्ने प्रवृत्ती आफैमा अपराधिक र भ्रष्ट मानसिकताकै उपज हो ।

पछिल्लो समय सिक्किमको  पत्रकारितामा बोल्दै नबोलेका, भन्दै नभनेका अनि लेख्दै नलेखेका कुरालाई बोलेको, भनेको र लेखेको भन्दै उत्तेजित, अतिरञ्जित र भड्किलो पार्ने परम्परा बढिरहेको छ ।

यो स्वार्थमा लगाइएको आधारहीन आरोप होइन । तर, पत्रकारिताजगतमा जे प्रवृत्ति झाँगिदैछ, त्यो संवेदनशील छ । पछिल्लो समय वैचारिक–राजनैतिक आयाममा कुन पार्टी वा नेता सही र गलत भन्ने कोणबाट बहसको थालनी नै गरिँदैन । उद्देश्य नै दुइटा पक्ष बीच नितान्त प्राविधिक र साना–तिना कुराहरूमा उत्तेजना पैदा गर्ने अनि तिक्त विवाद वा मुठभेडमा उतारेर मुसुमुसु हाँस्दै आफ्नो माल बजारमा बिक्री गरिरहने डरलाग्दो प्रवृत्ति देखिन्छ । यस्तै रवैयाले हामीले चाहेको समानता, न्यायसहितको सुन्दर, शान्त र समृद्ध समाजको कल्पनै गर्न सकिन्न । उदाहरणको लागि कुनै नेताले बोल्दै नबोलेको विषयलाई अर्को नेतासँगको छलफलमा तपाईंलाई त फलानो नेताले त यसो भन्दै थियो नि के भन्नुहुन्छ ? भनेर ‘प्रोभोकेटिभ’ प्रश्न सोधेपछि त्यसको जवाफ अझ झोंक्किएर दिनै पर्यो । तब रिस, आवेग र गालीगलौज वरिपरि घुम्न थाल्छ । कुराकानी अनि सिङ्गो समाज नै अनावश्यक ढङ्गले तरङ्गित हुन पुग्दछ । विचार र राजनीतिमा बहस असाध्यै थोरै मात्र हुन्छ । हाम्रो राष्ट्रिय राजनीतिक भाष्य नै झिना–मसिना प्राविधिक टिकाटिप्पणीहरूमा रुमल्लिइरहेको देखिन्छ, जसले हामीलाई जनताले चाहेको गन्तव्यमा पुर्याउँदैन ।

वस्तुतः पत्रकारिता भनेको सामान्य समाचार वा सूचना सम्प्रेषण गर्ने माध्यम मात्र होइन । यसमा सिङ्गो समाजलाई कुन बाटोमा डोर्याउने अनि कहाँ पुरयाउने भन्ने अहम जिम्मेवारी पनि अन्तरनिहीत हुन्छ । गलत पत्रकारिताले नेतृत्व गरेको समाजमा परिवर्तन र रूपान्तरण प्रायः असम्भव हुन्छ । बरु उल्टै मुलुक दशकौंपछि धकेलिने खतरा रहन्छ । यस्तो पत्रकारिता सही विचार, राजनीति र गन्तव्य तय गर्ने सन्दर्भमा सहयोगी हुँदैन । यस्तो रवैयाले जनअपेक्षा वा मागसापेक्ष एजेण्डाहरूसमेत ओझेलमा पर्दछ । समाजमा राम्रो थिति बस्दैन । इमान्दारिता र नैतिकता हुँदैन । समाज पूरै आपराधीकरण र भ्रष्टिकरणको अखडा बन्दछ । सही र सत्य भन्ने चिजै हुँदैन । भए पनि निर्णायक हुँदैन वा कमजोर हुन्छ । किनभने सही, सत्य, यथार्थ र जनअपेक्षित मुद्दाहरू पनि गलत पत्रकारिताको निवहरूले असान्दर्भिक, अनावश्यक र असत्य सावित गरिदिन्छ । यो असाध्यै गम्भीर विषय हो ।

मूलतः पत्रकारिता निरपेक्ष स्वतन्त्र हुँदैन । यो सार्वभौम नियम हो । तर, समाजमा विद्यमान विचार र दृष्टिकोणहरूमध्ये कुन सही छ भन्ने न्यूनतम् सचेतना भने सबै पत्रकारहरूमा हुनु जरुरी छ । सही वा गलत विचार, राजनीति, एजेण्डा अनि कृति र विकृतिको नजरबाट नियाल्दा सचेत पत्रकारहरूले पनि सही र सुकृतिको पक्षमा बोल्नु वा लेख्नुलाई पक्षधरता भनेर टिप्पणी गर्नु उचित हुँदैन । सही र सत्यको वकालत गर्दा पक्षधरता देख्नु दृष्टिदोष मात्र हुन्छ । पत्रकारहरूले कुनै पनि राजनैतिक पार्टीहरूले उठाएको समय सापेक्ष मुद्दाहरूको पक्षमा वकालत गर्न सक्नुपर्दछ, जुन बहुसङ्ख्यक जनताको पनि माग सापेक्ष मुद्दाहरू होस् । सम्पूर्ण सामाजिक सत्ताहरूको पक्ष विपक्षमा पनि उभिन सकिन्छ । तर, त्यो आग्रह पूर्वाग्रह र स्वार्थमा आधारित भएर होइन । त्यो परिवर्तन, अग्रगमन, न्याय र समानताको पक्षमा हुनुपर्दछ । त्यो सही विचार, राजनीति, एजेण्डाद्वारा निर्देशित हुनुपर्दछ । सिङ्गो समाजको हित वा स्वार्थमा आधारित हुनुपर्दछ । विभेद र उत्पीडनको विरुद्ध हुनुपर्दछ साथै इमान्दारिता र नैतिकताको पक्षमा हुनुपर्दछ । अर्थात् त्यो पक्षधरता आवाजविहीनहरूको आवाज वा उन्मुक्तिको लागि हुनुपर्दछ ।

तर, एउटा पार्टीलाई उक्साएर अर्कोलाई बेइज्जत गर्ने, एउटा नेतालाई उक्साएर अर्को नेतालाई खुइल्याउने अनि भिडाएर धमिलो वातावरणमा स्वार्थरूपी माछा समात्ने तरिका उचित होइन । यसले पार्टी–पार्टी र नेता–नेताबीच अनावश्यक तिक्तता, मुठभेड र उत्तेजना पैदा गर्दछ । पछिल्लो समय सिक्किमको  पत्रकारितामा बोल्दै नबोलेका, भन्दै नभनेका अनि लेख्दै नलेखेका अभिव्यक्तिहरू पनि बोलेको, भनेको र लेखेको भन्दै सामान्य परिवेशलाई पनि उत्तेजित, अतिरञ्जित र भड्किलो पार्ने गलत परम्परा बढिरहेको छ । यस्तो तिक्त दोहोरी खेलाइले समाचार बिक्री होला, अमूक पार्टी र नेताहरूको प्रिय पात्र बन्न सकिएला, पाठक, श्रोता र दर्शकहरूलाई प्रतिक्रियाको मीठो मनोरञ्जनको मसला त बन्ला । व्यापार वा व्यवसाय पनि फस्टाउला, पैसा पनि कमिएला, राम्रै गुजारा पनि चल्ला, सनसनी चर्चा पनि पाइएला, मिडिया हाउस र पत्रकारलाई मनग्यै फाइदा पनि होला, इज्जत प्रतिष्ठा पनि बढ्ला, हेल्लो–हाइ साथी–भाइ सबै हाई–हाई होला, सुखसयलसँगै समय बित्ला अनि जीवन रसरङमै रमाउला तर मुलुक, समाज र जनताले चाहेको राजनैतिक निकास पाउँदैन । 

वास्तवमा सही सूचना नपाउनु भनेको तत्कालीन समाजको अन्तरविरोधको सही समस्या पहिचान गर्न नसक्नु हो । समस्या खुट्याउन नसक्नु भनेको अर्थराजनीतिक अन्तरविरोधको वस्तुवादी ज्ञान नहुनु हो । औसत नागरिकहरूमा अन्तरविरोधको आधारभूत ज्ञान नहुनु भनेको अर्थराजनीतिक सचेतना नहुनु हो । साधारण जनतामा सचेतना नहुनु भनेको राजनीतिक भविष्य अन्यौल हुनु हो । राजनैतिक भविष्य अन्यौल हुनु भनेको जनताका परिवर्तन, न्याय र समानताप्रतिको मर्म, भावना र चाहना कमजोर हुनु हो वा यसलाई नजरअन्दाज गर्नु हो । मुलुक झनै अस्थिर, अन्यौल, अस्त–व्यस्त र अनिर्णयको बन्दी बन्नु हो । यही संवेदनशील तथा अनुकूल मौकामा पश्चगामी तत्व हरूले टाउको उठाउन थाल्दछन् । प्राप्त उपलब्धिहरूमाथि योजनाबद्ध हमला गरिन्छ, जुन साङ्केतिकरूपमा सुरु भई नै सकेको छ । यसमा हामी सबैको गम्भीर ध्यान जान जरुरी छ ।

त्यसैले पत्रकारिता जगतले गलत सूचना प्रवाह गर्नु भनेको अपराधतुल्य कर्म हो । पार्टी वा नेताको भनाइलाई अपव्याख्या र गलत नियतको साथ सम्पादन गर्नु पत्रकारिताको नीति र अनुशासनभित्र पर्दैन । एउटा पार्टी वा नेताले अर्को पार्टी वा नेताबारे अभिव्यक्त विचारहरूलाई खण्डन–मण्डन र बढाई–चढाई गरी सूचना सम्पे्रषण गर्ने अनि अनावश्यक मुठभेड सिर्जना गरेर माल बिक्री गर्नु पत्रकारिताको नीतिशास्त्रभित्र पर्दैन । यसले अमूक मिडियाकर्मी र हाउसहरू पाठक वा दर्शकहरू वृद्धि भएसँगै अघि बढे पनि मुलुक र जनता धेरै पछि धकेलिनेछ । अर्कोतिर, यस्तो उकास्ने र खसाल्ने प्रवृत्तिले तथ्यको गहिराइमा पुगिँदैन । तब राष्ट्रिय राजनीतिले सही निकास पाउँदैन साथै जनताका एजेण्डाहरूको वस्तुवादी कार्यान्वयन पनि हुँदैन ।

तसर्थ, पत्रकारिता भनेको पार्टी वा नेताहरूबीचको विवाद  वा झगडालाई मलजल पुर्याउने ‘फर्टिलाइजर’ जस्तो मात्र बनाउनु हुँदैन । यो अग्रगामी समाधान, न्याय, समानता, सुसङ्गति, इमान्दारिता र नैतिकताको सारथि बन्नु पर्दछ । यसकारण सही र वस्तुवादी सूचना मात्र प्रवाह गर्ने गरौं । सूचनालाई ‘सुगरकोटेड’ व्यापारिक माल नबनाऔं । यसैमा समाजको उन्नति र प्रगति अन्तरनिहीत छ ।


©   युवराज घलेभाइ / गान्तोक सिक्किम 
इमेल : [email protected]
[email protected]


Author

थप समाचार
x