विचार

एसईई  लेखाइको माध्यम हो, जिउँदै गरेको जिन्दगी वास्तविक परीक्षा हो

मन्दिप बास्कोटा |
असार २३, २०८० शनिबार १४:१३ बजे

भर्खरै एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ, जसमा विद्यार्थीको भविष्यको एउटा पाटोलाई मात्रै केन्द्रविन्दु बनाएर र मूल्यांकन गरेर अभिभावक ,शिक्षक र विधालय सन्चालकहरूको  सामाजिक सञ्‍जाल भरी अवस्थ प्रतिस्पर्धा र होडबाजी चलिरहेको छ । के राम्रो जीपीए ल्याउनेहरू मात्रै परिवार र समाजका आश र भरोसाका केन्द्र अनि देशका उज्वल भविस्य हुन् त ?

परीक्षा भन्दा ठूला परीक्षार्थीहरू हुन् ,यो कुरोलाई हामीले किन भुलेका ? एसईई को जीपीए र ग्रेडमा पछाडि नै हुनेहरू पनि त  जिन्दगीमा अगाडि पुग्न सक्छन् ! जिपिएले होच्चिएकाहरूको पनि, आज जिन्दगी उचाइमा पुगेको छ  ! परीक्षामा फेल भएकाहरू पनि त  जिन्दगीमा पास भएका छन्।


नम्बर नबुझ्ने हरूले पनि त जिन्दगीको अर्थ बुझेका  छन् । स्कुलमा सामाजिक नबुझ्नेहरूले पनि  त कालान्तरमा गएर समाजलाई नेतृत्व गरेर निकास दिइरहेका छन् । गणित र एकाउन्ट  नबुझ्नेहरूले पनि आज धेरैको घरको चुलो बालेर उनीहरूको जिन्दगीको हिसाब मिलाइदिरहेका छन् । कक्षामा रोल नं अन्तिम हुनेहरू पनि  सफल ब्यक्तिको नम्बर अगाडि उभिएका छन् ।

लाइनमा कक्षामा पछाडि बसेर अनुहार नदेखिनेहरू पनि आज मिडिया र न्युजको फ्रन्ट पेजमा छन् । स्वास्थ शिक्षामा फेल भएकाहरूले पनि हस्पिटलको ढोकासम्म देखेका छैनन् । अनि स्वास्थ पढाउनेहरूले A+ ल्याउनेहरूले पनि आज मार्कसिटभन्दा लामो औषधिको बिल बोकेर हिडिरहेका छन् नि त ।

के सिक्यौ के पढ्यौ भन्दा पनि त्यसलाई कति ब्यवहारमा उतार्‍यौ र त्यो हाम्रो जीवनमा कति उपयोगी सिद्ध भयो यो  चाहिँ महत्त्वपूर्ण कुरा हो। नेपालीमा कमजोर र ब्याकरण अनि ह्रस्व दीर्घ नजानेकाहरूले नै अक्सर धेरैजसो यो माटोलाई मलिलो र सुगन्धित बनाइरहेका छन् साथी ।

गाउँका ती बुबा आमा जसलाई  बोल्नबाहेक नेपाली पढ्न र लेख्न आउदैन अनि छोरो /छोरी  जसले A+ ल्याएर राम्रो जीपीए ल्याएर कोरीया र जापानमा चौकिदारी गर्न भाषाको निम्ति घुँढा धसिरहेका छन् , देशको निम्ति को कुन महत्त्वपूर्ण हो ?

जिन्दगीको  प्लस  र माइनस  हिसाबलाई स्वीकार्न नसक्दा गतिला ग्रेटवालाहरूले पनि गिलास घोप्टाइरहेको छन् ... धुलो पिठो चाटिरहेको उदाहरणहरू टाढा खोज्न जानु पर्छ र ?

गणितमा उच्च ग्रेट ल्याउने पनि जिन्दगीको सूत्र प्रयोग गर्न नजानेर जिन्दगी केरमेट छ। 4 जीपीए ल्याउदा भविष्यमा इन्जिनिएर बने भनेर बधाइ दिइरहेका छन् ।

इन्जिनिएर बनेर हजार बढी  बिल्ल्डिङ र पुल बनाउनेहरूले वृद्धाश्रममा भएका बाउआमासँग वर्षौ पहिले तोडिएको सम्बन्ध आजसम्म जोड्न सकेका छैनन् । देशलाई चोट लाग्छ समाजमा गलत हुँदा कुन ग्रेडका विद्यार्थीहरू जुध्न अगाडि आउछन् ? प्रश्न यो हो ? आज बुबाआमाहरूसँग साथमा भएर  कुन ग्रेडका तातोपनी पिलाउँदै  छन्  त ?

अर्कोतर्फ , राम्रो  उत्तर  लेखेर पनि आफूलाई मनमा लागेको ,फिल गरेको कुरा सही तरिकाले व्यक्त गर्न सक्दैन भने,   राम्रो ग्रेटमा उभिएर पनि एक दुइ  सय जनाको अगाडि उभिन सक्दैन भने जिन्दगीभरका अनुभव अनुभूतिहरू कथा ब्यथा ३० / ३५ वर्षको शिक्षाले पनि हात बसाउन सकेन भने, चाहे त्यो आफुले हात समाएर डोर्याउने वा आफ्नो हात समाएर डोरिने आफूभन्दा साना हुन्, आफूसँगसँगै हात मिलाएर हिड्नेहरू हुन् आफूलाई नमस्ते गर्नेहरू हुन् या आफूले नमस्ते गर्नेहरू हुन् सहीलाई सहीलाई र गलतलाई गलत भन्ने उसमा साहस छैन भने  कोही मन पर्‍यो भने मन पर्‍यो भन्न , परेन भने परेन भन्न , राम्रो लाग्यो राम्रो नराम्रो लागेमा नराम्रो भन्न  सकिँदैन भने यो भन्दा ठूलो अशिक्षा , अस्वस्थता अर्को  होला र जिन्दगीमा ?

उसो भए "प्रतिशत" र ग्रेडले र पढाइले मात्रै के दियो त ? त्यसैले, कसैको डिजाइनबद्द् यो 2/3 घन्टाको कुनै  एउटा  स्किल टेस्टको आधारमा मात्रै विद्यार्थीलाई काँधमा बोक्नु र हतोत्साहित गर्नु अनि गाली गर्नु र मख्ख पर्नुको कुनै आधार र औचित्यै छैन । लेखाइको एउटा माध्यम मात्रै परीक्षा होइन, जिउँदै गरेको जिन्दगी चाहिँ वास्तविक परीक्षा हो ।

अनि डियर शिक्षक /अभिभावकज्युहरू ,
जो कम्ती ग्रेडमा छन् उनीहरू कमजोर होइनन् । एउटा छेत्रमा चाहिँ उनिहरूको सपना ,रुचि  नमिलेको कारणले पछि परेका हुन् जिन्दगीका अरु धेरै छेत्र र आयामहरूमा तपाई हाम्रो  बधाई र शुभकामनाको काँधमा बोकेका अरुहरू भन्दा उनीहरू उत्कृष्ट छन् । आफ्ना सन्तानको ग्रेड र जीपीए मात्रै होइन , जिन्दगीको यात्रा र गन्तव्य कस्तो छ  ?   लक्ष्य उदेश्य कस्तो  छ ?अझ त्यो भन्दा पनि टाढाको कुरा  लक्ष्य उदेश्य यात्रा पछाडिको उनीहरूको नियत र उद्देस्य कस्तो छ ?

सिकाइको लय कति गहिरो छ ? भोगाइको अनुभूति कति रङ्गिन छ ? आश हौसला सपना उत्साह उमङ्ग विश्वास मानसिक अनि  सोच र विचार  चाहिँ कस्तो छ त ? उनीहरूको भविष्य परिवार समाज देशप्रतिको नजर कस्तो छ उर्जा कस्तो छ ?

विद्यार्थीमा सस्कार कतिको छ? अनुशासन कतिको छ ? धैर्यता कतिको छ ? परिपक्वता कत्तिको छ? चेतना जागरुकता कत्तिको छ? समाजदारी कत्तिको छ ? देखाइ हेराइ भोगाइ सिकाइ कस्तो छ ? आफ्नो जिन्दगीको यात्रामा आफ्नै खुट्टाले दौडन उनिहरू सक्षम भए या भएनन् ?

श्रमको मूल्य थाहा पाए या पाएनन् ? भोकको अर्थ बुझेका छन् या छैनन् ? समस्या आउँदा त्यसलाई आफैँ फेस गर्न सक्ने , जुध्न सक्ने, ट्याकल गर्न सक्ने ब्यक्तित्वमा रुपान्तरण भए या भएनन् ? अक्षर मात्रै चिने या अक्षरसँग सँगसँगै अक्षर भित्रका अर्थहरूलाइ बुझ्न र त्यसको महत्त्वलाई केलाउन सक्ने भए या भएनन् ?

कलेज सकेर निस्कँदै गर्दा उसले सर्टिफिकेट सँगसँगै के लिएर निस्किरहेको छ ? औचित्य र महत्त्व यसले राख्दछ। स्कुलमा बिताएका दिनहरूले नै बाँकी उसको भविष्य तय गर्ने भएकाले स्कुलमा 10/15 वर्ष कति घोकेको छ भन्दा पनि कस्तो विश्वास ,मनस्थिति , रुपरेखा र लक्ष्य स्थापित भएको छ त्यो महत्त्वपूर्ण कुरा हो।

उच्च शिक्षा हासिल गर्दैगर्दा उसको दृष्टिकोण विचार भिजन मानसिकता कत्तिको सिर्जनशील उर्वरशिल बन्यो? उ कतिको जिम्मेवारीशील बन्यो त्यसले महत्त्व राख्छ अङ्कले होइन ।

विश्वका उत्कृष्ट लेखक,अभिनेता,व्यापारी, राजनीतिज्ञ र आ-आफ्नो छेत्रका दिग्गज र स्थापित ब्यक्तिहरूको जीवनी र  पृष्ठभूमि एकपल्ट खोजेर हेरौँ आफैँले पनि।

जिन्दगीको उचाई र गहिराई नाप्ने थर्मोमिटर विचारले हो , सोचले हो, सङ्गत ले हो, विश्वासले हो , लक्ष्य र उदेश्यले हो यात्रा र गन्तव्यले हो जीपीए र  प्रसेन्टेजले मात्रै होइन।

हरेकको आ-आफ्नो क्षमता, चाहना र रुचि हुन्छ । मिजास हुन्छ । शैली हुन्छ  । एउटा टिचर पृन्सिपल सामाजिक अगुवाले सामाजिक सञ्‍जालमा कोरेको आश र मूल्यांकनकै मापदण्ड अल्टिमेटम भने  होइन । 

चरो उड्नै बनेको हुन्छ । उसलाई चितासँग एउटै भाडोमा मुछेर र तौलिएर दौडाउनु भएन । माछालाई रुख चढाउनु भएन ।  उनीहरूको स्वाभाव र प्रकृति अनुसार अगाडि बढ्ने हौसला प्रदान गर्नुपर्छ ।
परीक्षाको २/३ घन्टाको स्किल टेस्टले त्यति महत्त्व राख्दैन यहाँबाट उता जिन्दगीले लिने परीक्षामा, समय-समाज ,स्थिती-परिस्थिति, देश-काल-परिवेशले लिने परीक्षा हरूमा चाहिँ हामी कति सकारात्मक एवम् दर्विलो भएर उभिन सक्यौ त्यसले चाहिँ महत्त्व राख्छ। 

यी कुराहरू लाई  चाहिँ बधाई दिन सिकौ अनि मूल्यांकन गर्न खोजौँ । डा.,पाइलट, इन्जिनियर त स्कुलमा म्यामले सोध्दा भन्ने डाइलगहरू हुन् । अहिलेको सबैभन्दा ठूलो चुनौती त मान्छेलाई यहाँ मान्छे भएर देखाउनुमा छ । असल मान्छे बन्न्न बनाउन प्रेरित गरौँ ।, असल मान्छे बनाउन सपना देखौँ देखाऔँ । असल मान्छे आफै ठूलो मान्छे  हुन्छ। 

हिड्न चाहेको बाटोभन्दा आज र भोलीका दिनहरूमा हिडीरहेको बाटो फरक नहोस्, सम्पूर्ण एसईई  दिने विध्यार्थी भाइबैनीहरूलाई उज्वल भविष्यको  जिन्दगीको शुभकामना ।


Author

थप समाचार
x