विचार

नेपालमा ईसाई जनसंख्याको मन्द मन्द वृद्धि

प्रा. डा. पुष्पकमल सुवेदी |
असार ११, २०८० सोमवार १६:१५ बजे

नेपाल बहु-साँस्कृतिक, बहु-धार्मिक र बहु-भाषिक भएको एक सार्वभौम सम्पन्न मुलुक हो । छिटपुट केही घटनाबाहेक नेपालमा रहेका हरेक समुदाय र विभिन्न सम्प्रदायहरु बीच अनेकतामा एकताको आधारमा सम्बन्ध रही आएको मान्न सकिन्छ ।

नेपालको २०७२ सालमा घोषणा भएको पछिल्लो संविधानले धर्म-संस्कृति बारेमा स्पष्ट उल्लेख गर्दैन तर पनि केही धर्म-संस्कृतिहरू जस्तै हिन्दू, बौद्ध र किरातलाई नेपालमा सनातनदेखि चलिआएका छन् भनेर स्वीकारेको छ र राज्यले ती धर्म-संस्कृतिको संरक्षण दिनु पर्छ भनेको छ । धर्मको नाममा विभाजित जनसंख्यालाई राज्यले बहुमत र अल्पमतको आधारमा स्वीकार्नु भन्दा पनि धर्म निरपेक्षताको सिद्धान्त अनुसार चल्नु पर्छ । नेपालको संविधानको धारा ४ (१) अनुसार धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएका सबै धर्म-संस्कृतिहरुलाई स्वतन्त्ररुपमा धार्मिक तथा सांस्कृतिक कार्यहरु गर्न दिने भन्ने छ ।


ईसाई धर्म सनातनदेखि चलि आएको देखिँदैन तर पनि यस धर्मको लोकप्रियता बढ्दै छ र यस्को लागि ईसाई मिसिनरीहरु विभिन्न माध्यमहरुबाट सशक्तरुमा अगाडि आएका छन् । सन् १९९० को दशकमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनासँगै नेपालमा नाटकीय रुपमा चर्च र ईसाई जनसंख्याको संख्या हरेक वर्ष बढ्दै गएको छ । सन् २०२१ सम्ममा एक हजार भन्दा बढी गिर्जाघरहरु,३५० भन्दा बढी ईसाई मिशनसँग सम्बन्धित कार्यालयहरू, बाइबल कलेजहरू र अन्य तालिम केन्द्रहरू संचालन भएको अनुमान गरिएको छ । नेपालको जनगणना सन् १९५२/५४ देखि सन् २०२१ सम्मको प्राप्त आँकडामा रहेर नेपालमा ईसाई धर्मावलम्बीहरुको संख्या विस्तारै बढेको बारेमा छोटो चर्चा गरिनेछ ।

नेपालमा जात/जाति र यस्को पहिचान

नेपालमा मानवशास्त्रीय/समाजशास्त्रीय दृष्टिकोणबाट विस्तृतमा नेपालमा हालसम्म विभिन्न जात/जाति र तिनीहरुको संस्कृति पहिचान गर्न सर्वेक्षण गरिएको छैन । तथ्याङ्कको यो अन्तरको कारणले गर्दाजात/जाति समूहहरूको संख्या एक स्रोतबाट अर्कोमा भिन्न पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सन् १९९१ जनगणना देखि जात/जातिको आधारमा तथ्याङ्क संकलन सुरु गरेको गरेको थियो जस्मा ६० जात/जाति समूहहरूको मात्र पहिचान गरियो भने सन् २००१, सन् २०११ र सन् २२१ मा सम्पन्न जनगणनाहरुमा क्रमश १००, १२५ र १४२ जात/जाति समूहहरूको पहिचान गरियो । सन् २००२ मा आदिवासी/जनजाति उत्थान प्रतिष्ठानले आदिवासी/जनजाति वर्गमा मात्रै ५९ सांस्कृतिक समूहहरूको सूची उपलब्ध गराएको  थियो । सन् २००९ मा आदिबासी/जनजाति प्रतिष्ठानले ओम गुरुङको नेतृत्वमा गठित एक प्राविधिक समितिले पुरानो सूचीलाई अद्यावधिक गरि नेपालमा ८१ जनजाति समूहहरू अस्तित्वमा भएको देखाएको थियो ।

त्यस्तै सन् २००३ मा दलित आयोगले दलित समूह भित्र २२ वटा छुट्टाछुट्टै साँस्कृतिक समूहलाई सूचीबद्ध गरेको थियो । राष्ट्रिय दलित आयोगद्वारा गठित प्राविधिक समितिले दलितहरूको सूचीमा अद्यावधिक गर्दा थप ७ वटा समूह थपेर जम्मा २९ वटा सांस्कृतिक समूहहरु भएको देखाएको थियो । सरकारले नेपालमा ९२ वटा सांस्कृतिक समूहलाई “मधेसी” भनेर पहिचान गरेको पाइन्छ यद्यपि यो सूची अलि अस्पष्ट छ किनकि यसमा उल्लेखित धेरै समूहहरू मधेसी, दलित र आदिवासी/जनजाति वर्गहरूमा सूचीबद्ध भएको पाइन्छ ।

सन् २००७ मा अन्य पिछडिएको जाति समितिले उच्च जाति हिन्दू मधेसी बाहेक २४ मधेसी समूहलाई सूचीबद्ध गरेको पाइन्छ । विभिन्न जात/जाति समूहहरूको इतिहास र संस्कृतिको ज्ञानको अभावमा एक सांस्कृतिक समूह आदिवासी/जनजाति वा मधेसी वा दलित वर्गमा राखिएको पाइएको छ । यही कारणले होला पछिल्लो समयमा आएर जात/जातिको परिभाषा विवादको घेरामा छ । हिन्दू भर्सेज गैह्र हिन्दू वा गाईको मासु खाने भर्सेज नखानेको परिभाषामा आधारित जनजातिको वर्गिकरणले न त नेवार वा मगर वा गुरुङ्ग आदि सबै जनजाति समूहहरु आदिवासी हुन्छन् त खस आर्यको नाममा ब्राह्मण/क्षेत्री जनजाति हुन्छन्, यस्को लागि विस्तृत अध्ययन अनुसन्धान हुन जरुरी पर्दछ ।

नेपालमा ईसाई जनसंख्याको मन्दगतिमा वृद्धि

हालैका वर्षहरूमा धर्म आत्म-पहिचानको लागि एक महत्त्वपूर्ण सामाजिक परिवर्तन भएको छ । नेपाल धर्मनिरपेक्ष राज्य बन्नु अघि २४० वर्ष (१७६९-२००६) को अवधिमा हिन्दू धर्म विशेष गरी शाह शासकहरूको लागि देशमा शासन गर्नको लागि दार्शनिक मार्गदर्शिका बनेको थियो । यद्यपि विभिन्न धार्मिक समूहहरू वर्षौंदेखि हिन्दू धर्मको साथमा पनि देखिएका थिए ।

२०११ को जनगणना अनुसार देशभित्र विभिन्न १० वटा धर्म मान्ने व्यक्तिहरू रहेको देखाएको छ । नेपालको कुल जनसङ्ख्याको ८१.४ प्रतिशत हिन्दू, त्यसपछि क्रमश बौद्ध (९.०%), इस्लाम (४.४%), किरात (३.०%), ईसाई (१.४%), प्रकृत (०.५%), वोन (०.०५%)। जैन (०.०१%), बहाई (१,२८३ मात्र)र शिख (६०९ मात्र) धर्मालम्बीहरु छन् । ६१,५८१ वा ०.२३ प्रतिशत व्यक्तिहरुले आफ्नो धर्म खुलाएको पाइएन । 

सन् १९५२/५४ को जनगणना पछि हरेक जनगणनामा विभिन्न प्रकारका धर्म मान्ने मानिसको संख्या बढेको छ । सन् २००१ को जनगणनाको तुलनामा सन् २०११ को जनगणनामा दुई थप धार्मिक समूहहरू थपिएका थिए: प्रकृति र बोन जुन तिब्बत र नेपालको पुरानो धर्म मानिन्छ । साथै पहिचान नभएका अन्य धार्मिक समूहहरू पनि २०११ को जनगणनामा सूचीबद्ध गरिएको थियो किनभने धेरै उत्तरदाताहरूले उनीहरूले अँगालेको धर्म पहिले नेपालमा पहिचान भएको थिएन।

सन् १९९० को दशकमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनासँगै नेपालमा नाटकीय रुपमा चर्च र ईसाईको जनसंख्या हरेक वर्ष बढ्दै गएको छ ।

विगत ७० वर्षमा सबै धर्म अगाल्ने मानिसहरूको पूर्ण संख्या बढेको पाइन्छ । तर सन् १९८१ को जनगणनामा हिन्दू जनसंख्याको प्रतिशत विस्तारै घट्दै गएको देखिन्छ । जनगणना वर्ष सन् १९९१ र सन् २००१ को बीचमा हिन्दू जनसंख्या ५.९ प्रतिशतले गिरावट भएता पनि जनगणना २०११ मा हिन्दूको जनसंख्याको ०.७ प्रतिशतले बढेको देखिन्छ ।

पछिल्लो जनगणना सन् २०२१ अनुसार विगत १० वर्षमा हिन्दूको जनसंख्या ८१.२ प्रतिशत (लगभग ०.१ प्रतिशत घटेको), बुद्ध धर्म मान्नेहरुको ८.२ प्रतिशत (लगभग ०.८ प्रतिशत घटेको) पाइन्छ भने ईस्लाम धर्मालम्बीको संख्या ५.१ प्रतिशत (लगभग ०.७ प्रतिशत बढेको), किरात धर्म अगाल्ने ३.२ प्रतिशत (लगभग ०.२ प्रतिशत बढेको), ईसाई धर्मालम्वीहरु १.८ प्रतिशत (०.४ प्रतिशत वृद्धि भएको) पाइन्छ ।

सन् १९५२/५४ को जनगणनामा समेत रिपोर्ट नगरिएका ईसाईको जनसङ्ख्या सन् १९६१ मा ४५८ मात्र थियो तर जनगणना सन् २००१ सम्म आइपुग्दा यस्को जनसंख्या १०१,९७६ पुग्यो। दुई जनगणना सन् १९९१ र सन् २००१ बीचमा ईसाई अनुयायीहरूको संख्या २२६ प्रतिशतले वृद्धि भएको थियो । त्यसै गरी ईसाई धर्मका अनुयायीहरू जनगणना सन् २००१ र सन् २०११ को अवधिमा २६८.४ प्रतिशत अर्थात कुल संख्या २७३,७२३ पुगेको थियो तर ईसाई धर्मसँग सम्बन्धित संस्थाहरुले त्यसबेला कम्तिमा ८००,००० भएको अनुमान गरेका थिए । यिनै संस्थाहरुले सन् २०२१ मा ईसाई धर्म मान्नेको संख्या तीस लाख पुग्न सक्ने अनुमान गरेको थिए। सन् २०२१ मा सम्पन्न जनगणनाको अन्तिम नतिजाले ईसाई धर्म मान्नेहरुको संख्या २३९,५७४ वृद्धि भई कूल ५१३,२९७ मात्र देखाएकोले ३० लाखको दाबी असत्य भएको प्रमाणित भएको छ ।

सारां

समग्रमा भन्नु पर्दा शिक्षा, स्वास्थ्य, महिला अधिकार र बालअधिकारका क्षेत्रमा सेवा दिने नाममा नेपालमा ईसाई धर्म फैलाउन धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्रसरकारी संघ/संस्थाहरु उत्प्रेरकको रूपमा काम गरिरहेका छन् । यसबाहेक नेपालमा हिन्दू र बौद्ध धार्मिक मूल्य मान्यताहरूद्वारा प्रभावित गरिब मानिसहरू विस्तारै आफ्नो मौलिक धर्म परिवर्तन गरी ईसाई धर्मका अनुयायी हुँदैछन् । ईसाई धर्मको वृद्धिले गैह्र हिन्दूहरुले क्षणिक खुसी मानेता पनि नेपालमा सनातनदेखि प्रभुत्वमा रहेका हिन्दू, बौद्ध र किरात धर्महरुलाई चुनौती थपिँदैछ ।

अन्त्यमा, सबैभन्दा महत्वपूर्ण कुरा के भने नेपालमा विशेष गरी तल्लो जातका हिन्दूहरू मात्र होईनन तथाकथित उच्च जात कहलिएका ब्रामण/क्षेत्री/ठकुरी तथा नेवारहरु पनि बौद्धलम्वी तामाङहरु जस्तै ईसाई धर्ममा परिणत भएका देखिन्छन् । यसले सांस्कृतिक अलवा राजनैतिक अर्थ पनि राख्दछ किनकि धार्मिक अल्पसंख्यकको नाममा ईसाईलेसंघीय देखि स्थानीय सरकारमा प्रतिनिधित्व खोज्ने समय आउँदैछ ।

के यी ईसाई तथा मुस्लिम धर्मालम्बि परिवारहरु विच सामाजिक रुपान्तरणको लागि विवाहवारी हुन सक्छ त? आज सम्म हिन्दु वर्णाश्रमले विभाजन गरेको पानी चल्नेहरु बीच विवाहवारी स्वीकार्य हुँदै गएको पाईन्छ तर पानी चल्ने तथाकथित उपल्लो समुदायहरु र पानी नचल्ने दलित समूदायहरु विच हाल सम्मको नेपालको परिवेशमा सहजरुपमा विवाहावारी हुन सकिराखेको छैन। यस्को मुख्य कारण नेपाली समाज चाहे त्यो हिन्दू वा बौद्ध वा किरात वा जैन वा ईसाई धर्मालम्वीहरुलेहिन्दु वर्ण व्यवस्थाको भेदभाव अभ्यासलाई अझसम्म पनि निरन्तरता दिनु हो।जातीय विभेदीकरणको अन्त्य धर्म परिवर्तनले मात्र सम्भव छैन । दलितहरुले ईसाई धर्म अगाल्दैमा सामाजिक विभेद हटेर सहजरुपमा विवाहवारी हुन्छ भन्ने सोच्नु पनि महाभुल हुनेछ । यस्को लागि सामाजिक रुपान्तरण हुन अति जरूरी छ ।


Author

थप समाचार
x