विचार

बाढी नियन्त्रण, पानी र खाद्यपदार्थ उत्पादनको अन्तरसम्बन्ध

गोविन्द शर्मा पोखरेल |
असार ६, २०८० बुधबार १५:२ बजे

बिषयको सन्दर्भ

बाढी र सुख्खापीडित उत्तर गंगा क्षेत्रका बासिन्दाहरुको वार्षिक तीन बाली खेती गरी आर्थिक प्रगति गर्ने सपना पानीको खडेरी र बाढीका कारण कोही कोहीलाई मात्र सम्भव हुन सकेको आजको वास्तविकता हो । साथै यस क्षेत्रका नेपाल र भारतका बासिन्दाका लागि बाढीका समयमा व्यापक जनधनको नोक्सानी तथा अरु समयमा भोकमरी पनि धेरैका लागि नियमित तालिका नै हो ।


त्यसैले, यस क्षेत्रका बासिन्दाका लागि गरिबी एक दिनचर्या नै हो । यसका कारणहरु धेरै होलान् तर मुख्य कारण भने बाढी, खडेरी र अव्यवस्थापन नै हुन भन्दा केही अतिसयोक्ति नहोला । यस आलेखमा गण्डकी र महाकाली नदीबीचको नेपालको भूभाग र सोसँग जोडिएको भारतको भूभागको चर्चा गरिएको छ ।

गण्डकी नदीदेखि पश्चिम महाकाली नदीसम्म नेपाल र भारतको उत्तर प्रदेश राज्यबीच करिब ७ सय किलिमिटर लामो अन्तर्राष्ट्रिय सिमाना पर्दछ । यस सिमानालाई काटेर नेपालबाट अनेकन ठूला साना नदीहरु भारत प्रवेश गर्दछन् तापनि हिउँदका खडेरीको समयमा भारतको उत्तर प्रदेश राज्यमा पानीको हाहाकार हुन्छ । विगतको गलत सरकारी नीतिका कारण भूमिगत जलभण्डारहरु माथिल्लो सतहमा जलविहीन भइसकेका छन् भने तल्लो सतहको भूमिगत जल साधारण किसानको पहुँचभन्दा बाहिर भएको तथा प्रयोग गर्न खर्चिलो पर्ने भएकाले साधारण किसान मर्कामा परेका छन् । पानीको अभावमा हिउँदे खेतीको उत्पादकत्व घट्दो छ । भारतको सोही गलत नीतिका कारण भारतमा भूमिगत पानीको दोहन अत्यधिक भएकाले उत्तर प्रदेशसँग सिमाना जोडिएका नेपालको तराई क्षेत्रमा समेत भूमिगत जल भण्डारको सतह गरिब किसानहरुको पहुँच बाहिर पुगेको छ । यसैका कारण पनि गरिबहरु झन् गरिब हुँदैछन् ।

एकातिर खडेरीको यस्तो चपेटा छ भने अर्कोतर्फ वर्षातका ४ महिना आउने बाढीले गर्दा जनजीवन कष्टकर बनेको मात्र होइन बाढीका कारण धेरैको ज्यानसमेत जाने गरेको समाचार सुनिन्छ। बाढीका कारण राज्यमा सालाखाला वार्षिक १ अर्ब अमेरिकी डलरभन्दा ज्यादा नोक्सानी हुने गरेको आंकडा सरकारी तथ्यांकहरुले देखाउँछ । यस्तो आँकडामा खेती लगाइएको जमिनमा बाढीले बगाएको क्षेत्रमा हुन सक्ने कुल उत्पादनको नोक्सानीको पनि हिसाब गर्ने हो भने यस्तो क्षतिको मूल्यांकन अझ निकै बढ्ने बिज्ञहरुको राय छ । त्यसैले, अन्तर्राष्ट्रिय सिमानाका दुवैतिरका यस क्षेत्रका बासिन्दा वर्षैभरी कि खडेरीले कि बाढीले पीडित छन् । विपन्न वर्गका मानिस यस कारणले पनि सबैभन्दा बढी मारमा छन् ।

बाढीको अवस्था

यस क्षेत्रमा पनि नेपालका अरु क्षेत्रहरु जस्तै बाढीको प्रमुख कारण वर्षातको पानी नै हो । वर्षातमा पानीको मात्रा साधारणतया: पूर्वबाट पश्चिमतिर कम हुँदै जाने भएपनि विभिन्न कारणले त्यसमा घटी बढी हुने गर्दछ । तालिका १ मा प्रस्तुत विवरणले यस तथ्यलाई राम्रोसँग देखाउँछ ।

तालिका १ नदीहरुको बहाव को विश्लेषण

नदीको नाम

जलग्रहण क्षेत्र फल, वर्ग किमि

औसत वार्षिक बहाव, क्युमेक्स

कूल वार्षिक बहाव, अरव ध. मि.

औसत वार्षिक वर्षा, मिमि

नारायणी/गण्डकी

३४,९६०

१,४०९.४७

४४.४४९

२११९.०४

कर्णाली

४३,६७९

१,३३६.४४

४२.१४६

१६०८.१७

महाकाली

१५,२६०

६३८.९८

२०.१५१

२२००.८५

पश्चिम राप्ती

५,१५०

१२३.०३

३.८८

१२५५.६६

बबई

३,०००

८६.८८

२.७४

१५२२.२२

जम्मा

१०२,०४९

३५९४.८१

११३.३६६

१८५१.५०

यस तालिकामा औसत वार्षिक वर्षाको हिसाब गर्दा वर्षाबाट आएको कूल पानीको परिमाणमा ४० प्रतिशत पानी वाष्पीकरण, भूमिगत जल भण्डारको पुनर्भरिकरणलगायतमा खर्च भएको समेत हिसाब गरिएको छ । साथै यी आँकडाहरुमा करिब २२०० मिलिमिटर वार्षिक वर्षा हुने महाकाली नदीको जलग्रहण क्षेत्र देखाईएको छैन ।

तालिका १ मा प्रस्तुत गरिएका तथ्यांकले हिमालबाट आएका नदीहरुको तुलनामा महाभारत शृंखलाबाट आएका नदीहरुको औसत वार्षिक बहाव निकै कम भएको देखाउँछ । यसबाट, महाभारत क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा ज्यादा वर्षात हुने अनुमान लगाउन सकिन्छ भने कर्णाली नदीको जलग्रहण क्षेत्रका माथिल्लो भेकमा न्यून वर्षात हुने कारणले गर्दा उक्त नदीको औसत वार्षिक बहाव निकै कम भएको समेत देखिन्छ । तर, नेपालभित्रका नदी बेसिनहरु मात्र हेर्ने हो भने यो दृष्य अलिक फरक देखिन सके पनि नेपाल र भारतमा यी नदीहरुमा बग्ने पानीको मात्रामा केही फरक नहुने भएकाले यी नदीहरुले वर्षातमा ल्याउन सक्ने प्रकोप तथा हिउँदमा हुने खडेरीमा केही फरक हुने छैन ।

माथि तालिकामा प्रस्तुत गरिएका आँकडाहरुलाई अझ विश्लेषण गर्दा यो पानीको परिमाणमध्ये ज्यादा परिमाण वर्षातमा बाढीको रुपमा आउने र हिउँदका ८ महिनामा केबल नगण्य मात्रामा आउने (तालिका २) भएकाले एकातिर यस क्षेत्रमा विद्यमान पानीको मौसमी संकट देखाउछ भने अर्कोतर्फ यसको समाधान मात्र होईन अपितू सम्पन्नताका लागि यसले प्रदान गर्न सक्ने मौका वा अवसर पनि देखाउँछ ।

तालिका २; नदीहरुको मौसमी बहावको विश्लेषण

नदीको नाम

मनसुनको बहाव, अरव घ. मि.

सुख्खा यामको बहाव, अरव ध. मि.

मनसुनको औसत वर्षा, मिमि

सुख्खा यामको औसत वर्षा, मिमि

मनसुनको औसत वर्षा, प्रतिशत

नारायणी/गण्डकी

३१.९४२

१२.५०७

१५२२.७९

५९६.२५

७१.८६

कर्णाली

३७.८९१

४.२५५

१४४५.८१

१६२.३६

८९.९०

पश्चिम राप्ती

२.९६५

०.९१५

९५९.५५

२९६.११

७६.४२

बबई

२.१४८

०.५९२

११९३.३३

३२८.८९

७८.३९

जम्मा

७४.९४६

१८.२६९

 

 

८०.८०

यसक्षेत्रका प्रमुख चार नदीहरुको बहाव तथा ती नदीहरुको जलग्रहण क्षेत्रको औसत वार्षिक वर्षाको आँकडाले पश्चिम नेपालका यी क्षेत्रहरुमा वर्षातको समयमा पानीको उपलब्धता र पानीको बहाव वार्षिक औसतको ८०.८० प्रतिशत औसत हुने र सुख्खा मौसमका ८ महिनामा कूल वार्षिक वर्षाको औसत केवल १९.२० प्रतिशत मात्र भएको देखाउँदा यस क्षेत्रमा वर्षातको ४ महिनामा कुल वार्षिक वर्षाको परिमाण ७१.८६ प्रतिशतदेखि ८९.९० प्रतिशत भएको देखाउँछ । यी आँकडाहरुले पश्चिम नेपालका यी क्षेत्रहरु तथा सोसँग जोडिएका भारतका क्षेत्रहरुमा वर्षातको समयमा हुनसक्ने औसत बाढीको प्रकोप तथा सुख्खा याममा हुने औसत खडेरीको परिदृष्य देखाउँछन । सोबाहेक, गण्डकी र कर्णाली नदीहरुको वर्षातको ४ महिनाको पानीको औसत परिमाण उस्तै-उस्तै करिब १५०० मिलिमिटरको हाराहारीमा भएबाट तल्लोतटीय क्षेत्रमा औसतमा उस्तै-उस्तै बाढी देखिने भएतापनि यी जलग्रहण क्षेत्रमा समय-समयमा हुने भीषण वर्षातका कारण आउने ठूला बाढीहरुले ल्याउने प्रकोपले धेरै जनधनको क्षति भएको तथ्यांकहरुले देखाउँछन् । त्यसैले, यस क्षेत्रमा बाढी नियन्त्रण अनिवार्य देखिएको छ । बाढी नियन्त्रणको अनिवार्यता अब भारत पहिलेजस्तो विपन्न मुलुक नभई विश्वस्तरको र सम्पन्न मुलुक भइसकेकाले पनि आफ्ना नागरिकहरुलाई बाढीजस्तो प्रकोपबाट ज्यान जोखिममा नपार्न र आवश्यक सुरक्षा प्रदान गर्न सक्षम भएकाले पनि भएको हो । अब भारत यस्तो दृष्य आफू असमर्थ भएको कारणले टुलुटुलु हेर्न बाध्य छैन र भारतीय नागरिक पनि आफ्नो सरकारबाट पूर्ण सुरक्षाको अपेक्षा गर्दछन् ।

साथै, बाढीको नियन्त्रणका साथै पानीको उचित व्यबस्थापन गर्नसके यसबाट अत्याधिक आर्थिक लाभसमेत लिन सकिने देखिएकाले बाढी व्यवस्थापन अनावश्यक खर्च मात्र नभई लगानीको अवसर समेत हुन आउँछ । तर, गएको ५० वर्षको काम गराई हेर्दा यस्तो बाढी नियन्त्रणसहितको पानीको व्यबस्थापन यस क्षेत्रका सरकारहरुको प्राथमिकतामा नपरेको देखिन्छ । त्यसैले, यहाँका सरकारहरु काम गर्नुको सट्टा अरुलाई दोषारोपण गर्नमा ज्यादा व्यस्त देखिन्छन् ।

बाढीको व्यवस्थापन

बाढीको वा बाढीको पानीको उचित व्यबस्थापन अन्तर्गत बाढी नियन्त्रण कार्य गर्दा माथिल्लो तटीय क्षेत्रमा, अथवा, नेपालको पहाडी क्षेत्रमा वर्षातको समयमा सञ्चित गरिने पानीको परिचालनबाट हिउँदका महिनालगायत वर्षातका महिनाहरुमा समेत विभिन्न उद्योगहरु जस्तै: जलविद्युत उत्पादन, सिँचाई, मत्स्यपालन, जलयातायात, पर्या-पर्यटनको विकास आदी कार्यहरुबाट धेरै आर्थिक उपलब्धी प्राप्त गर्न सकिन्छ । हालसालै गरिएको एक अध्ययनले तल्लो तटीय क्षेत्रमा गर्न सकिने यस्ता उद्योगबाट मात्र वार्षिक कूल २९.८४ अर्ब अमेरिकी डलर बराबरको वार्षिक आम्दानी गर्न सकिन्छ । यस्तो आम्दानीमा आवश्यता अनुसार वर्षैभरी उपलब्ध हुन सक्ने सिँचाईका कारण खाना उत्पादनको अंश करिब ९० प्रतिशत हुनसक्ने तालिका ३ मा प्रस्तुत गरिएका आँकडाहरुले देखाउँछन् ।

तालिका ३ बाढी व्यवस्थापनबाट तल्लो तटिय क्षेत्रमा हुनसक्ने वार्षिक फाईदा (अर्ब अमेरिकी डलरमा)

क्र. सं.

उध्योगको किसिम

वार्षिक फाईदा

बाढी नियन्त्रण

१.००

खाना उत्पादन

२६.९४

जलविद्युत उत्पादन

०.४०

जल यातायात, खानेपानी, मत्स्य पालन, पर्यापर्यटन, भूमिगत जल भरण र अन्य उध्योग

१.५०

 

जम्मा वार्षिक फाइदा

२९.८४

यस्तो आयोजनाको कूल लागत करिब ५३.२० अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यस परियोजनाको लागत तथा वार्षिक मुनाफाको हिसाब गर्दा यस्तो आयोजना सरकारले आवश्यक ग्यारेन्टी गरी दिएमा निजी लगानीको लागिसमेत एकदमै आकर्षक देखिन्छ ।

त्यसैले, अब अर्को ठूलो बाढीको प्रतीक्षा नगरी आफ्ना नागरिकको सुरक्षालगायतका माथि उल्लेखित आर्थिक फाइदाहरु समेतलाई मध्यनजर गरी अविलम्व यो परियोजना सुरु गरी द्रुतगतिमा सम्पन्न गर्न अनिवार्य देखिएको छ ।


Author

थप समाचार
x