विचार

रेड पिटरको नेपाल यात्रा

नीरज लवजू |
असार २, २०८० शनिवार १४:१२ बजे

सविना लेहम्यान नेपाली नाट्य क्षेत्रमा स्थापित नाम हो । स्टुडियो सेभेनमार्फत उनको नाट्य समूह अथक नाट्य आराधनामा लामो समयदेखि तल्लीन छ । सन् १९८० मा आइरिस लेखक स्यामुएल बेकेटको नाटक ‘वेटिङ फर गोडोट’बाट आरम्भ भएको स्टुडियो सेभेनको नाट्ययात्रा आज पनि जारी छ ।

यसबीच स्टुडियो सेभेनले मञ्चन गरेका नाटकहरूको बहुआयाम हेर्दा मात्र पनि लेहम्यान र उनको समूहको नाट्य आराधनाको व्यापकता अनुभूत गर्न सकिन्छ । नाटकमा देश–देशबीचको भौतिक सीमा नाघेर संस्कृतिलाई जोड्न सक्ने तागत हुन्छ भन्ने सत्यको बोध स्टुडियो सेभेनका आजसम्मका प्रस्तुतिले उजागर गर्छ ।


स्टुडियो सेभेनको डबलीमा युरोपेली विषम समयले जन्मेका नाटकदेखि एसियाली मिथकमा आधारित नाटकहरू मञ्चन भएका छन् । चार दसक लामो यो अथक यात्राले काठमाडौँमा सांस्कृतिक अन्तर्राष्ट्रियवादको प्रवद्र्धन मात्र गरेको छैन, बरु यो सांस्कृतिक महानगरमा नाट्य आराधनाको अब्बल उदाहरणसमेत प्रस्तुत हुँदै आएको छ ।

त्यसो त हिजोआज राजधानीमा नाट्य समूह र तिनका गतिविधि बढ्दो क्रममा छन् । नाटक कतिबेला हेर्न पाइला भनी कुर्नुपर्ने समय छैन । राजधानीका कुनै न कुनै नाटकघरमा झण्डै नियमित जस्तै कुनै न कुनै नाटक मञ्चन भइरहेकै हुन्छन् ।

लेहम्यान जस्ता साधकहरूको अथक आराधनाले नेपाली रङ्गमञ्चलाई यहाँ पुर्‍याउन योगदान पुगेकै छ । खासमा स्टुडियो सेभेनजस्ता लामो आयु बोकेका नाट्य मन्दिर यो क्षेत्रका ‘टे«लब्लेजर’ हुन् । 

बिहीबारबाट राजधानीको बज्र होटलमा स्टुडियो सेभेनको नयाँ प्रस्तुति नाटक ‘रेड पिटर’ को मञ्चन आरम्भ भएको छ । जर्मन भाषी साहित्यकार फ्रान्ज काफ्काको कथा ‘रेड पिटर’ मा आधारित नाटक मुख्यतः मानिसले भोगेको उपनिवेशकालीनको इतिहासको चित्रण हो । युरोपमा औद्योगिक क्रान्तिसँगै सस्तो ज्यामी, सस्तो कच्चा सामग्री र ठूलो बजारको खोजीमा युरोपेलीहरूले सामुद्रिक यात्रा गर्न थाले । बन्दुक र बाइबल बोकेर थालेको यो यात्राले मानव समाजको इतिहासमा उपनिवेशवादको एउटा कालो कालखण्ड छोडेर गयो ।

सभ्यताको केन्द्र दाबी गरेको युरोपले संसारका अन्य भूगोलमा भेटिएका मानिसलाई असभ्य करार गर्‍यो । ती मानिसका संस्कृतिलाई तुच्छ भनी तल झारियो । युरोपले आफ्ना भाषा आफूले जस्तै बोल्न जानेका मानिसलाई सभ्य ठान्यो ।

अथवा आफूले चाहेजस्तो, भनेजस्तो, आफूजस्तै बोल्न सक्ने मानिसलाई मात्र सभ्य भएको घोषणा गरियो । परिणामतः सभ्यताको लामो यात्राबाट उठेको अफ्रिका, एसिया, ल्याटिन अमेरिकी देशका मानिसको सांस्कृतिक अस्तित्व बीच बाटोमै ओइलाएर जाने जोखिम भयो ।

‘रेड पिटर’ यही वैचारिक मैदानमा बनेको नाटक हो । अफ्रिकामा गोली हानी घाइते बनाइएको ‘एप’ लाई युरोप लाने क्रममा जहाजमा उनलाई पढाइएको/सिकाइएको सभ्यताको पाठको वर्णन नै नाटकको खाका हो ।

‘एप’ लाई जङ्गली मानिस भनी हचुवा शाब्दिक अनुवाद गर्न सकिएला । तर, यता एपको अर्थ अफ्रिकी मानिस हो जसलाई युरोपेली आँखाले असभ्य र जङ्गली देखेको हुन्छ । निःसन्देह अफ्रिकी समाज अथवा उपनिवेश बनाइएका भूगोलका मानिसको आफ्नै सभ्यता र संस्कृति छ ।

उनीहरूका आफ्नै भाषा र भावना छन् । तर, प्रभुत्व र नियन्त्रणको विषाक्त भावनाले भिजेको युरोपको सांस्कृतिक बडप्पनले पृथक पृष्ठभूमिमा हुर्किएको अफ्रिका (अथवा एसियाली, ल्याटिन अमेरिकी) सभ्यतालाई जङ्गली भनिदिँदा मानिस पनि एप बनाइन्छ । उनीहरूमाथि नियन्त्रण जमाउन अथवा उनीहरूलाई आफ्नो तखतमा राख्न कथित सभ्यताका व्याख्याहरूले आफ्नो मापदण्डअनुसार सभ्य मानिसमा रूपान्तरण गर्न खोज्छन् ।

उनीहरूलाई आफूले जस्तो बोल्न, आफूले जस्तै सोच्न र कुनै पनि कुराको आफ्नै जस्तो व्याख्या गर्न सक्ने बनाए पछि मात्र सभ्यताको नजिक पुगेको टुङ्गो लगाइन्छ । अर्थात आफूभन्दा अलि तलको तर आफूजस्तै बनाए पछि युरोपेली प्रभुत्ववादले अरू मानिसलाई सभ्य वा अलि कम सभ्य मानिसको तहमा पुर्‍याउँछन् ।

अफ्रिकामा गोली हानी घाइते बनाई नियन्त्रणमा लिएको एपलाई युरोप जाने पानी जहाजमा मुस्किलले कोचिएर बस्न मिल्ने तीनतिर भित्ता र एकातिर डण्डीले बारेको साँघुरो खोरमा कैद गरिन्छ ।

तथाकथित सभ्य समाजका मानिसले भन्ने गरेको स्वतन्त्रताका सिद्धान्त एपले बुझ्ने कुरै थिएन । उसले त आफू अगाडि जान मिल्ने अथवा खोरबाट बाहिर निस्कन मिल्ने बाटो मात्र खोजेको हुन्छ ।

ढाडभरि निलडाम बनाएको कुचुक्क परेको खोरबाट मुक्त हुने खोज्दा ऊ पक्कै समुद्रमा हाम फाल्न सक्दैन । त्यसकारण ऊ जहाजकै सभ्य मानिससँग घुलमिल हुँदै जान्छ । उसको उठबस जहाजका मजदुरहरूसँग हुन्छ ।

उसले मानिसबाट सबभन्दा पहिला जहाजी मजदुरहरूले जस्तै जताततै थुक्न सिक्छ । अनि उनीहरूले जस्तै धूमपान गर्न अनि ह्वास्सै गन्हाउने रक्सी पिउन सिक्छ । रक्सीले मातेर एक दिन झन्डै अचानक जस्तै उसको स्वरकण्ठबाट निस्केको हेलो शब्दसँगै अफ्रिकी एप सभ्यताको नजिक पुगेको घोषणा गरिन्छ । उसलाई पदक दिइन्छ । 

नाटकमा सभ्यतालाई द एकेडेमीले प्रतिनिधित्व गरेको छ । द एकेडेमीका तीन पात्रले एप (जसको सभ्य भइसकेपछिको नाम रेड पिटर रहन्छ) लाई सभ्य घोषणा गर्न अधिकारसम्पन्न बनाइएको हुन्छ । रेड पिटरले प्रस्तुत गर्ने रिपोर्टको आधारमा ऊ सभ्य भए नभएको टुङ्गो लगाउने जिम्मेवारी पाएका एकेडेमीका तीन पात्र सभ्यताको केन्द्रले प्रशिक्षित सभ्यताका व्याख्या हुन्छन् । उनीहरूले सभ्यताको स्थापित मान्यता अथवा उनीहरू प्रशिक्षित सभ्यताको मापदण्डभन्दा बाहिर गएकालाई असभ्य घोषणा गर्छन् ।

आफ्नो मूलथलो, आफ्नो परिवार र आफन्त, आफू जन्मे हुर्केको परिवेश छोडेर आउनु पर्दाको विस्मातले भरिएको रेड पिटरको मनलाई जहाजको फराकिलो ठाउँ पनि आफू थुनिएको साँघुरो खोरभन्दा भिन्न लाग्दैन । ऊ तीनतिरका अग्ला पर्खाल फोडेर अघि बढ्ने बाटोको खोजीमा हुन्छ । तर, बाध्यतावश त्यहाँ बस्दा उसले सिकेका कुरालाई नै एकेडेमीका सदस्यहरूले आफ्नो सफलता मानेर उसलाई सभ्य भएको घोषणा गर्ने द एकेडेमीका पदाधिकारीको चित्रणमार्फत काफ्काले कथित सभ्य मानिसको विषम व्यवहार र सोचप्रति व्यङ्ग्य गरेका छन् ।

नाटकका दर्शकलाई एप भनिएको रेड पिटर भन्दा आफूजस्तै सभ्य कहलिएका द एकेडेमीका मानिसहरू अनौठा पात्रझैँ लाग्छ । असभ्य रेड पिटरको नग्न प्राकृतिक व्यवहारभन्दा द एकेडेमीका पदाधिकारीहरूका बडप्पन दर्शकलाई लाजमर्दो लाग्छ ।

नाटकमा मानिसले सभ्यताको नाममा गरिरहेका अस्वाभाविक व्यवहार र स्थापना गरेका सामाजिक संस्था, मूल्य मान्यताप्रति व्यङ्ग्य गरिएको छ । शिक्षित र सभ्य बनाउने नाममा मानिसमाथि थोपरिने प्रभुत्ववाद (हेजेमोनी) नाटकका दर्शकले अझ प्रस्ट बुझ्छन् । सभ्यता के हो ? कसको सभ्यतालाई मूल वा मानक सभ्यता मान्ने ? के गर्न जाने पछि कोही सभ्य हुन्छ ? घाँटीमा टाई, मुखले अङ्ग्रेजी वा अन्य कुनै सभ्य मानिसले बोल्ने स्थापित भाषा बोल्न जाने पछि, चर्चित गीतमा कम्मर मर्काउन जाने पछि मात्र मानिस सभ्य हुने हो ? यो प्रश्न रेड पिटरले मानिस समक्ष छोडेको छ ।

कम्तीमा उसलाई यस्ता प्रश्नकै आधारमा सभ्य भएको घोषणा गरियो । सभ्य भइसकेको भन्दै सभ्यताको पदक हात पारिसके पछि पनि रेड पिटर मानिसले भनेजस्तो स्वतन्त्रता होइन, बरु आफूलाई कैद बनाइएको परिवेशबाट निस्कने बाटो मात्र खोजिरहेको हुन्छ । 

हिजोआज प्रजातन्त्र बारे यस्तै बहस भइरहेको छ । कुन देशको प्रजातन्त्रलाई मानक प्रजातन्त्र मान्ने ? के कुरा भए पछि कुनै पनि देशको व्यवस्थालाई प्रजातन्त्र मान्ने ? मानक र आदर्श प्रजातन्त्र मानिएका देशमा फैलिएका सामाजिक, राजनीतिक र आर्थिक विषमतालाई के भन्ने ? के सभ्यताको व्याख्या जस्तै प्रजातन्त्रको परिभाषा गर्ने अधिकार पनि केही कथित प्रजातन्त्रवादी देशको प्राधिकार हो ? 

काफ्काका साहित्यको विशेषता यथार्थवाद र स्वैरकल्पनाको मिश्रण हो । व्यङ्ग्य र हाँसोको धागोले बुनेका उनका कृतिहरूले पाठक/दर्शकलाई आफैँ पनि पात्र रहेको तर अपरिचित जस्तो लाग्ने अनौठो संसारमा पुर्‍याउँछ । दर्शक आफ्नै विषम व्यवहार र सोचप्रति नाटक हेर्दै खुब मज्जाले हाँस्छ । दर्शकले यस्तो अनौठा व्यवहार आफै अथवा आफ्नै जातिले गरिरहेको कुरा पनि बिर्सेर नाटकमा निमग्न हुन्छन् । काफ्काको यो कथा सन् १९१७ मा प्रकाशित भएको थियो । संसारको कुन भूभाग कसले कब्जा जमाउने, कुन क्षेत्र कसको उपनिवेश हुने विषयमा तत्कालीन युरोपेली शक्ति देशहरूबीचको प्रतिस्पर्धाले विश्व युद्धको रूप लिएको त्यो परिस्थितिमा काफ्काको यो नाटक उपनिवेशीकरणको विरोध हो । 

‘रेड पिटर’ मा काफ्काले सभ्यताको नाममा मानिसले फरक संस्कृति र सभ्यतामाथि गरिरहेको अत्याचार प्रस्तुत गरेका छन् । सविना लेहम्यानले काफ्काको कथालाई नाट्य रूपान्तरण गरेर अर्को नयाँ कृति जन्माएकी छन् । 
नाटकको डबलीमा जम्मा तीन कलाकार देखिन्छन् । रेड पिटरको भूमिका कुन्दुन शाक्यले खेलेका छन् भने एकेडेमी सदस्यमा अलिजे बायनिक, ग्लोरी थापा र आशान्त शर्मा छन् । अलिजेले युरोपेली सभ्यताको प्रतिनिधित्व गरेकी छन् भने बाँकी दुई जना आफै पनि कुनै उपनिवेश देशबाट उपनिवेशवादी शक्तिले बनाएको ज्ञान र सभ्यताको खाकामा फिट भइसकेका पढेलेखेका मानिसको रूपमा चित्रण गरिएको छ ।

 एकेडेमीका सदस्यहरूबीच पनि आपसमा घृणा र वैरभाव हुनुले एकातिर मानिसको झगडालु स्वभाव देखाउन खोजिएको छ भने युरोपेलीहरूले अझै पनि आफ्नो परिधिमा आइसकेका मानिसहरूलाई समेत विभेदपूर्ण व्यवहार गर्ने अवस्थाको चित्रण गरिएको छ । रेड पिटरको भूमिकामा कुन्दुन शाक्य झण्डै आधा समय डबलीमा अर्ध नग्न रूपमा प्रस्तुत हुन्छन् ।

यसले नग्नतालाई असभ्यता भन्ने मान्यतालाई चुनौती दिएको छ । पारिभाषित खालको लुगा लगाए पछि मात्र सभ्य मानिने कथित सभ्यताको मानकलाई यो प्रस्तुतिले तोडेको छ । एकेडेमीका सदस्यहरूले प्रयोग गर्ने विभिन्न भाषाले सभ्यताको नाममा कथित असभ्यतामाथि आफ्नो नियन्त्रण जमाउने प्रयत्नमा कुनै एउटा देश वा शक्ति मात्र लागेको नभई कथित सभ्य मानिस सबै लागेको सङ्केत गर्न खोजिएको छ । अब्बल नाट्य कृतिको लागि स्टुडियो सेभेन र लेहम्यान टोलीप्रति आभार । 


Author

थप समाचार
x