विचार

एनआरनएन उत्तर अमेरिकाज क्षेत्रीय सम्मेलन र यसको सान्दर्भिकता

सुमन पौडेल |
जेठ ११, २०८० बिहिवार १३:४६ बजे

अहिले गैर–आवासीय नेपालीहरुको साझा अभियान इतिहासकै कठिन मोडबाट गुज्रिरहेको अवस्था छ । तर यो अभियान जुन ढंगबाट सशक्त र संगठित हुनु पथ्र्यो त्यसो हुन सकेको छैन । पछिल्ल्लो समयमा गैर–आवासीय नेपाली संघ संस्थागत रुपमा दुई धारमा विभाजित छ ।

गैर आवासीय नेपाली संघ प्रति गैर–आवासीय नेपालीहरुको चरम वितृष्णा उत्पन्न भइरहेको छ । गैर–आवासीय नेपालीहरु संघभित्रै गोलबन्द हुन सकिरहेका छैनन् । गैर–आवासीय नेपाली संघभित्र चरम राजनीतिक धुव्रीकरण र हस्तक्षेप पनि बढिरहेको छ । यसले के जनाउँछ भने आगामी दिनमा गैर आवासीय नेपाली संघको अस्तित्व संकटमा पर्दैछ ।  अर्थात गैर–आवासीय संघको, संगठन प्रगतिभन्दा पनि दुर्गतितिर उन्मुख हुँदैछ । त्यसैले यस्तो दुर्गति आउन नदिन र यसको उज्जवल भविष्यको लागि सचेत वर्ग र वुद्धिजिवीले नागरिक पहरेदारी गर्न जरुरी छ । 


त्यसो त विश्वव्यापीकरणको कारणले पछिल्लो समयमा नेपालीहरु श्रम, अध्ययन, पेशा तथा व्यवसायका लागि विश्वका विभिन्न मुलुकमा पुगेका छन् । नेपालीहरु जहाँ जहाँ बसोबास र काम गर्दै गएका छन्, त्यहाँ फरक–फरक प्रकृतिका समस्या र सवालहरुसँग जुध्न बाध्य भएका छन् । त्यस्ता सवालहरुको पहिचान गरी समस्या समाधानका लागि सम्बन्धित देश र नेपाल सरकारसँग समन्वय तथा सहजीकरणका लागि आवश्यक पहलकदमी गर्ने प्रमुख नैतिक जिम्मेवारी गैर आवासीय नेपाली संघको काँधमा रहेको छ ।  

किनकि विदेशी भूमिमा बस्ने प्रत्येक नेपालीलाई आफनो मातृभूमिप्रतिको अपार माया र प्रगाढ आत्मीयता छ । उनीहरुलाई नेपालको बिकास र सम्वृद्धिमा योगदान पुर्याउने हुटहुटी पनि जागेको छ । विदेशमा आर्जन गरेको मौद्रिक सम्पत्ति मात्र हैन, ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपालको विकासको पक्षमा हस्तान्तरण गर्ने सवाल पनि गैर आवासीय नेपालीहरुको ठूलो चासो र चिन्ताको विषय हो ।

त्यसैले यसलाई सही ढंगबाट व्यवस्थापन र सहजीकरण गर्ने जिम्मेवारी गैर आवासीय नेपाली संघको काँधमा छ । तर संघको भूमिका यस सम्बन्धमा अपेक्षित रुपमा प्रभावकारी हुन सकिरहेको छैन । गैर आवासीय नेपालीहरु लामो समयदेखि आफनो पैत्रिक सम्पत्तिको सुरक्षा, वंशजका आधारमा नागरिकताको निरन्तरता र मातृभूमिमा आफनो लगानीको सुरक्षाका लागि संघर्षरत छन् । यद्यपि नेपालको संबिधानले गैर आवासीय नेपालीका यी अधिकारहरु सुनिश्चत गर्ने प्रतिबद्धता गरेता पनि हालसम्म यसको यथेष्ट कानुन निर्माण गर्न नसक्दा गैर आवासीय नेपालीहरु सम्बन्धित अधिकारबाट बञ्चित हुनु परेको अवस्था छ । 

अहिलेको मुख्य चुनौती भनेकै संघभित्रको चरम राजनीतीक गुटबन्दी र राजनीतिक हस्तक्षेप नै हो । यसको असर संघको राष्ट्रिय समन्वय परिषददेखि अन्तराष्ट्रिय समन्वय परिषदसम्म परेको छ । यसको प्रत्यक्ष उदाहरणः अदृश्यरुपमा नेपालका मुख्य राजनीतिक दलहरुको राजनीतिक हस्तक्षेपमा भएको दशौं महाधिवेशन पश्चात् गठित तीन अध्यक्षहरु सहितको जम्बो कार्य समिति हो जुन गैर आवासीय नेपाली संघको इतिहासकै एउटा गलत अभ्यास हो ।

यसरी विश्वभरीबाट गैर आवासीय नेपालीहरुले दिएको म्यान्डेटलाई केन्द्रीय तहमा दुरुपयोग गर्नु भनेको गैर आवासीय नेपालीहरुको भविष्य प्रति गम्भीर खेलवाड गर्नु हो । यस्ता गलत संस्कार, अभ्यास र परिणामले संघभित्र अवसरवादी चरित्रको नेतृत्वबाट गैर आवासीय नेपालीहरुको हक हित र नेपालको विकास तथा सम्वृद्धिमा काम हुन्छ भन्नु कागलाई बेल पाक्यो हर्ष न विस्मात हो । यस्ता प्रवृत्तिले नयाँ पुस्तालाई संघको अभियान प्रति आकर्षण गर्न सक्दैन । त्यसैले गैर आवासीय संघ भित्र मौलाइरहेको विकृति र बिसंगतिहरुलाई गम्भीर ढंगबाट समीक्षा र विश्लेषण गर्नु पर्ने बेला आएको छ । गैर आवासीय अन्तर्राष्ट्रिय संघको १० औ महाधिवेशन पश्चात् संघ दुई धारमा विभाजन भएको छ । एउटा पक्षले विधानको खिल्ली उडाएर गैर आवासीय नेपालीहरुको म्याण्डेटलाई मानमर्दन गरेको छ भने अर्को पक्ष विधान बमोजिम गठित हुँदै संघ भित्र सुशासन र पारदर्शिताको मुद्दालाई उठाउँदै एनआरएनलाई राम्रो र हाम्रो एनआरएन बनाउने अभियानमा जुटिरहेको छ । 

यसै परिप्रेक्ष्यमा विधान बमोजिम विनोद कुवँरको नेतृत्वमा गठित गैर आवासीय नेपाली संघको उत्तर अमेरिकाज क्षेत्रको  क्षेत्रीय सम्मेलन यही मे को २७ र २८, २०२३ मा पहिलो पटक क्यानाडाको टोरोन्टो सहरमा आयोजना गरिँदैछ । गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद, गैर आवासीय संघ यूएसए र ग्लोबल एनआरएन क्यानाडाको संयुक्त आयोजनामा हुन गइरहेको यो सम्मेलनको विशेष महत्व र अर्थ छ । सम्मेलनले नेपालको आर्थिक विकास र सामाजिक सम्वृद्धिमा गैर आवासीय नेपालीहरुको भूमिका भन्ने मूल नारा तय गरेको छ ।

यस सम्मेलनले उत्तर अमेरिकाज क्षेत्रमा पर्ने देशहरु अमेरिका, चिली, क्यानाडा लगायत अन्य करिब ४० देशहरुबाट कार्यक्रममा सहभागी हुन आउने गैर आवासीय नेपालीहरुको साझा अभियानका जुजारु नेतृत्व, अगुवाहरु र प्रतिनिधिहरुलाई गैर आवसीय नेपालीहरुको साझा हितमा कार्य गर्न तथा नेपालको विकास र समृद्धिमा योगदान पु¥याउन मार्गदर्शन, संगठित र उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा गैर आवासीय नेपाली संघसँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्हरुका वर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्य र सल्लाहाकारहरु तथा गैर आवासीय नेपालीहरुको अभियानसँग आबद्ध हुनु भएका विभिन्न पेशाकर्मीहरु, व्यवसायीहरु, विषय विज्ञहरु तथा सामाजिक अभियन्ताहरु गरी करिब २०० जनाको सहभागिता रहनेछ । दुई दिनसम्म चल्ने यस सम्मेलनमा प्रमुख चारवटा मुद्दाहरुमा छलफल गरिने छ ।  

अहिले नेपालमा मात्र हैन विश्वभरि नै उर्जा संकट मौलाउँदै गएको छ । विश्वमा अहिले उर्जाको प्रमुख स्रोतको रुपमा पेट्रोलियम पदार्थ रहेको छ । समयमै अब यसको विकल्प सोचिएन भने निकट भविष्यमै विश्वले चरम उर्जा संकट बेहोर्नु पर्ने अवस्था सृजना भइसकेको छ । त्यसैले विश्वमा वैकल्पिक उर्जाका रुपमा हाइड्रोजनको प्रयोग आइसकेको छ ।

नेपाल बिश्वकै जलस्रोतमा दोस्रो धनी देश हो । तसर्थ यस सम्बन्धमा नेपालले आफनो जलस्रोत उपयोग गरेर प्रचुर लाभ लिन सक्ने अवसर छ । त्यसैले देशको दीगो आर्थिक बिकासमा टेवा पुराउन नविकरणीय उर्जाको रुपमा हाइड्रोजनको उत्पादन, प्रयोग र बिक्री वितरण महत्वपूर्ण हुन सक्दछ । गैर–आवसीय नेपालीको दृष्टिकोणबाट अहिले यो क्षेत्रमा कसरी योगदान गर्न सकिन्छ भन्ने बिषयमा छलफल बहस प्रारम्भ भइसकेको छ । गैर आवासीय संघका अग्रजहरुले नेपाल सरकारसँग यसका संभावनाका विषयमा छलफलहरु अगाडि बढाइरहनु भएको छ । यो सम्मेलनमा पनि यो प्रमुख छलफलको विषय हुनेछ । 

गैर अवासीय नेपाली संघले लामो समयदेखि गैर आवासीय नेपालीहरुका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरताको मुद्दा उठाइरहेको छ । यद्यपि यो विषयमा नेपालको संविधान सकारात्मक भएतापनि सम्बन्धित प्रस्तावित ऐन कानून हालसम्म पनि पारित हुन नसक्नुले गैर आवासीय नेपालीको मातृभूमिसग्ाँको सम्बन्ध बिच्छेद हुने अवस्था सृजना भएको छ । साथै यसको अभावमा गैर आवासीय नेपालीहरुले मातृभूमिमा चाहेर पनि लगानी गर्न सक्ने वातावरण बनेको छैन । यो विषयमा पनि सम्मेलनमा गभ्मीर छलफल हुँदैछ । यो छलफलमा उठेका विषय वस्तुहरुमाथि नेपाल सरकारको ध्यानकर्षण गर्दै प्रस्तावित ऐन कानूनहरु अविलम्ब पारित गर्ने बातावरण बनाउने अपेक्षा सम्मेलनले लिएको छ । 

नेपाल विविधताले भरिपूर्ण देश हो । नेपालको अस्थिरता र अविकासको एउटा प्रमुख कारण समाजिक साँस्कृतिक, भाषिक, लँैंगिक, र क्षेत्रीय रुपमा रहेको असमानता पनि एउटा कारक हो भन्ने कुरा नेपालको संविधानले पनि अंगीकार गरिसकको अवस्था छ । आर्थिक विकासले मात्र देशको कायापलट हुन नसक्ने हुनाले मानवीय र सामाजिक बिकास पनि सँगसँगै जानुपर्ने विषय अहिले विश्वकैै प्रमुख विषय हो ।  तसर्थ गैर आवासीयको नेपालीहरुको लगानी अवका दिनहरुमा नेपालको आर्थिक बिकास र सामाजिक सम्वृद्धि दुवैमा टेवा पुर्याउनका लागि हुनु पर्दछ जुन कार्यले नेपालको संविधानको अपनत्व र कार्यन्वयनमा पनि गैर अवासीय नेपालीहरुको सहभागितालाई वृद्धि गर्ने कुरामा सम्मेलनले विशेष जोड दिनेछ ।

गैर आवासीय नेपाली संघको अव एजेन्डा भनेको पारदर्शी, विधान र पद्धति केन्द्रित, जवाफदेही र संस्थागत रुपमा सुढृढ एनआरएन हो । जसले मात्र गैर आवासीय नेपालीहरुलाई यो संस्थाप्रति अपनत्व र दायित्व बोध गराउन सक्दछ । त्यसलै संघको संस्थागत शुद्धिकरण अभियान केन्द्रित कसरी बनाउने भन्ने सवालमा सम्मेलनमा बृहत छलफल हुन गइरहेको छ ।  

गैर आवासीय नेपाली संघको पछिल्लो सन्र्दभमा हुन गइरहेको यस सम्मेलनले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र यसका सदस्य सस्थाहरुलाई संघको उद्देश्य प्राप्तिको लागि सशक्त ढंगबाट कार्य गर्न मार्गदर्शन प्रदान गर्ने दिशामा कोशेढुंगा सावित हुनेछ । सम्मेलनले संघलाई समग्र गैर आवासीय नेपालीहरुले साझा प्रतिनिधिमूलक सस्थामा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।  साथै विश्वभर छरिएर रहेका करिब ८० लाख गैर आवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास लिएको छ ।

(लेखक ग्लोबल एनआरएन क्यानाडाका उपाध्यक्ष तथा सम्मेलनको मूल आयोजक समितिका सचिवालय सदस्य हुन् ।)


Author

सुमन पौडेल

पौडेल सामाजिक अभियन्ता तथा ग्लोबल एनआरएनए क्यानाडाका उपाध्यक्ष हुन् ।


थप समाचार
x