विचार

हाम्रा आठ माननीय, आपत्‌मा कोही छैनन् साथमा

वसन्त आचार्य |
बैशाख २३, २०७८ १२:५६ बजे

शीर्षक हेरेपछि तपाईंलाई खासै अनौठो नलाग्‍न पनि सक्छ । आजभोलि हराउने मौसम भएर पनि हुन सक्छ । अझ त्यसमा माननीयहरु त कति बेला कहाँ हुन्छन्, भन्‍नै सकिन्‍न । कसैका सत्ता जोगाउन र कसैको खोस्‍नका लागि माननीय हराउनुले जनतालाई के नै असर गरेको छ र ? तर जनता महामारीको चर्को चपेटामा परेका बेलामा माननीय हराउनु भने निकै दुखको कुरा भएको छ । जनताले खोजेको बेलामा माननीयहरु अदृश्य हुनु लाजमर्दो कुरा हो । कसरी जनताका नाममा यिनीहरु राजनीति गर्न सक्छन् ? कसरी निर्वाचनमा नैतिकता फ्याँकेर मत माग्‍न सक्छन् । 

कोरोना प्रकोपको समय छ, कुरा आफ्नै ठाउँको गरौँ । तुलसीपुरले आधा दर्जनभन्दा बढी माननीय पाएको छ । अझ त्यसमा पनि देश खाई शेष पल्टिएका माननीयहरु पनि छन् । तर हेर्नुस् त यी माननीय हुन् कि हाननीय जनता अक्सिजन नपाएर तड्पिरहेको बेलामा गुमनाम छन् । कार्यक्रमको प्रमुख अतिथि बनाउनका लागि मात्रै के जनताले उनीहरुलाई मत दिएका थिए त ? जीवनको सहारा एक मात्र छोरो गुमाएका तुलसीपुर ७ का उज्ज्वल शर्माका बाबुको मनले भनिरहेको छ । यस्ता मनहरु हरेक दिन सागर जस्तै फैलँदै गएका छन् ।


घरमा अक्सिजन छैन, अस्पताल लैजाने बेड छैन, कहाँ जाने ? हरेक पल विमल केसीको मोबाईलमा यही धुन रन्किरहेको हुन्छ । कोरोना अस्पतालका द्रोण वलीलाई एउटा मात्रै गुण लगाऊँ मलाई बचाऊँ भन्‍ने कारुणिक आवाजले सेकेन्ड सेकेन्डमा अनुनय विनय गरिरहेका छन् । आश हो कतिपयलाई अस्पतालले थेग्‍न सक्दैन भन्दा भन्दै पनि एम्बुलेन्सबाट बेलझुण्डी पुर्‍याउँछन् ।

भित्र बेड हुँदैन चिकित्सकले पेटीमै राखेर उपचार गर्छन् । अक्सिजन पुग्दैन ज्यान गुमाउँछन् । थाहा छ, माननीयज्यूहरु तपाईंलाई यो पीडा ? यो पीडामा केही गरौँ भन्‍ने लाग्दैन ? माननीय कोमल वलीज्यू तपाईं सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ । तुलसीपुरका २ जनाले अस्ति ज्यान गुमाउँदा तपाईंको रमाइलो टिकटक हेरेको थिएँ । जनता अक्सिजन नपाएर मर्दा तपाईंलाई टिकटकमा रमाउन कुन नैतिकताले दियो ? तपाईंलाई म कसरी राष्ट्रिय सभाको प्रतिनिधि मानु ? तपाईं अहिले पनि कलाकार नै हो । हुन त यो प्रकोपमा कलाकारहरु पनि सक्रिय भएर जनताको घरघरमा अक्सिजन पुर्‍याइरहेका छन् ।

हराएका माननीयज्यूहरु ! तपाईंहरु समयमै भेटिनुभएन भने जनतालाई खोज्‍ने कष्ट नगर्नुहोला । हामीसँग ८ जना जनप्रतिनिधि छन्, तर ती कोही टिकटकमा व्यस्त छन्, कोही पद र कुर्सीको बार्गेनिङमा छन्, दल अदलीबदलीमा छन्, छैनन् त शोकाकुल नागरिकको साथमा ।

महामारीले विकराल रुप लिएको छ । स्थानीय सरकारको पहलले मात्रै पनि यो सम्भव छैन । यसमा सबैले साथ नदिने हो भने अझ विकराल अवस्था सृजना हुन सक्छ । यसलाई हामीले वुझ्नु पर्दैन । सरकार कुर्सीको लडाइँमा मस्त छ, तपाईंहरु पनि टिकटकमा मस्त हुने हो ? तपाईंलाई कसरी जनताको प्रतिनिधि मानौँ ? 

सामाजिक सञ्जालमा माननीय हराएको कुरा आएपछि प्रदेश सभा सदस्य विमला वलीले फेसबुकमा लेख्नुभयो, ‘महामारीको समयमा घरमा नबसेर कहाँ बजारमा जुलुस गर्न जानु ?’ उहाँले कसलाई र किन भन्‍नुभयो त्यो उहाँको कुरा हो । तर महामारीमा जनता अक्सिजन र अस्पताल नपाएर जीवन गुमाइरहँदा घरमा बसेर सामाजिक सञ्जालबाट मलाई खोज्नु आवश्यक छैन भन्‍ने खालका स्ट्याटस लेख्ने जनप्रतिनिधि भने जनताले खोजेका थिएनन् । 

महामारीमा जनता मरिरहँदा कोमल वली टिकटक बनाउँछिन्, जगप्रसाद शर्मा अपार माक्र्सवाद छाँट्छन्, डिल्ली चौधरी चखौरा रिसोर्ट (उनले संग्रहालय पनि भन्छन्) को चिन्ता गर्छन । विमला वली घरमै कोरोनाबाट बच्न बसेको सञ्जालमा लेख्छिन् । अमर डाँगी अझ राम्रो समाजसेवा गर्न माननीयबाट राजीनामा दिन्छन् । कृष्णबहादुर महरा र हिराचन्द्र केसी सामाजिक सञ्जालमा शुभेच्छा व्यक्त गर्छन् । कठै हाम्रा माननीय । तपाईंहरुलाई कोरोना संक्रमण नहोस् भनेर अब स्थानीय सरकार र जनताले सेवा दिनुपर्ने त होइन ?  

हेर्नुहोस् त जनता ज्यानको भिख मागिरहेका बेलामा यिनीहरु कहाँ छन् ? के गरिरहेका छन् ? स्थानीय तह हुँदैन थियो भने अहिलेको अवस्था कहाँ पुग्थ्यो होला ? के अनुमान गर्न सकिन्छ । फिल्डमा हेर्नुस् मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरु छन् । महामारीमा लुक्ने माननीय हामीलाई चाहिएको हो र ? 

तुलसीपुरकै मुख्यमन्त्री हुनुहुन्छ शंकर पोख्रेल । उहाँ पनि अहिले सत्ता जोगाउने खेलमा आफैले खोलेको कोभिड अस्पतालका चित्कारहरु सुन्न नसक्ने हुनुभएको छ । जनताले अक्सिजन नपाएर जीवन गुमाउँछन् भने कोभिड अस्पतालको के अर्थ भयो ? मुख्यमन्त्रीज्यू, अस्पतालका व्यवस्थापकले अब विरामी भर्ना गर्न सक्दैनौँ । अक्सिजन नपाएर जनता मरे भन्ने खबर पढ्नुभएको छ ?

सांसदसँग महामारीमा परिचालन गर्ने बजेट पक्कै पनि हुँदैन, यो सबैलाई थाहा छ । तर बसपार्कमा वर्कसप चलाएको पदम पोखरेलले अभियान चलाएर घरघरमा ग्यास पुर्याउन सक्छ भने के हाम्रा माननीयले यति पनि गर्न सक्दैनन् । रुकुममा जनार्दन शर्माले अक्सिजन प्लान्ट खोल्न सक्छन्, वर्षमान पुनले रोल्पामा अक्सिजन सिलिन्डर पठाउन सक्छन् ? तिनभन्दा पनि बलियो पकड भएका कृष्णबहादुर महराले यही गर्न सक्दैनन् ।

हराएका माननीयज्यूहरु ! तपाईंहरु समयमै भेटिनुभएन भने जनतालाई खोज्‍ने कष्ट नगर्नुहोला । 


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
ad
x