विचार

नाट्यसम्राट्को जन्मजयन्तीमा नयाँ नाट्यसम्राट्हरूलाई एक सम्बाेधन

विमल आचार्य |
माघ २५, २०७९ बुधवार १९:४६ बजे

हिजो माघ २४ गते ‘नाट्यसम्राट्’ बालकृष्ण समको १२१औँ जन्मजयन्ती । विख्यात नाटककार, कवि, आत्मकथाकार तथा चित्रकार सममा हार्दिक श्रद्धाञ्जलि । 
हिजो यो देशमा एक नाट्यसम्राट् थिए । अब यो देशमा अनेक नाट्यसम्राट् छन् ।

साहित्यका विधामध्ये नाटकका किताब अचेल खासै निस्किँदैनन् । तर, ‘नाटकका कथा’ फुत्तफुत्त निस्किरहेछन्— सरकारहरूबाट, संसद्‍बाट , दलहरूबाट, सुसंस्कृत र वैकल्पिक नेताहरूबाट, मिडियाबाट, सामाजिक सञ्जालहरूबाट... । मण्डला, शिल्पी, सर्वनाम, थियटर भिलेज, नाचघरहरूका नाटकअघि सिंहदरबार, बालुवाटार, बानेश्वर र पार्टीका मुख्यालयहरूले मञ्चन गरिरहेका नाटक हिट छन् । ती झुरेस्ट नाटकका दर्शक बन्न सारा नेपाली अभिशप्त छन् । र, एक दर्शकका रूपमा यो पंक्तिकार सबैभन्दा पीडादायी समय गुजारिरहेछ । तिनका बीभत्स नाटकले दर्शकमा जुगुप्सा पैदा गरिरहेको छ । धेरैका लागि हास्य लाग्ने कन्टेन्टले ममा भने उल्टो करुण रस पैदा गरिरहेछ ।


नाटक भनेको अभिनय । नाटकको आत्मा अभिनय । अभिनय भनेको नक्कल । सबै नक्कल अनुकरण हैन । दोहोरो (तेहेरो पनि, यसमाथि के–के भनिन्छ, लेख्न शब्द जानिएन) चरित्र बोक्नु–बक्नु नक्कल हो । यहाँ दोहोरो चरित्र, दोहोरो भूमिकाका सन्दर्भमा नाटक शब्दको प्रयोग गरिएको हो । साहित्यिक विधा नाटकको अपमान गर्नु लेखको उद्देश्य होइन ।

यो देशमा कम्युनिस्ट नेतृत्वको सरकार छ । क्रान्ति नायक सरकारमा छन् । गरिब, सर्वहारा, किसान, मजदुरको हितका लागि मर्न–मार्न तयार भएर युद्ध लडेका पुष्पकमल दाहाल सरकारमा छन् । हिजो युद्ध कमान्डर प्रचण्ड गरिबका लागि मर्न तयार थिए । आज प्रधानमन्त्री पुष्पकमल गरिबलाई मार्न तयार छन् ।

‘गरिबका लागि मर्न तयार’देखि ‘गरिबलाई मार्न तयार’सम्मको यो अभिनयका लागि अभि–नेता दाहाल नाट्यसम्राट् हुन् ।

दाहाल किन नाट्यसम्राट् ? दाहालको दैलो अर्थात् सिंहदरबारअघि यो देशका अकिञ्चन नागरिक ४२ दिनदेखि धर्नामा छन् । उनीहरूले मागेको दाहालको मुटु–कलेजो हैन, उनको निजी सम्पत्ति पनि हैन । (सरी, निजी सम्पत्तिको त अन्त्य गरिसक्नुभयो क्यारे !) धर्नाकारी ती नारीहरूले मागेको प्रधानमन्त्रीको इत्ति दायित्व र जिम्मेवारी मात्र हो । वर्गीय पक्षधरता निम्नवर्गीयतिर छ भन्ने तर निम्नवर्गलाई ४२ दिनका २४ घण्टा धुरुधुरु रुवाउने प्रधानमन्त्री नाट्यसम्राट् नभएर को हो त ? 
निर्मला कुर्मी, रुबी खानहरू आफ्ना घरबेटी ठेकेदार भएका भए प्रधानमन्त्रीलाई पोल्थ्यो । निर्धन, निमुखा, निरक्षर, निःसहाय निरीह नागरिकको न्याय र अधिकार अनि आत्मसम्मानबारे कुनै चिन्ता नभएका माओपथिक दाहालको नाट्ययात्रा कहाँसम्म हो ? समको नाट्यसम्राट् पद खोसेर दाहाललाई सम्मान गर्न म आन्दोलनकारीहरूसँग माग गर्छु ।

हिजो नाट्यसम्राट् बालकृष्ण समको जन्मजयन्ती । ४२ दिनदेखि दाहालको दैलोअघि न्यायका लागि धर्ना । ‘गरिबका लागि मर्न तयार’देखि ‘गरिबलाई मार्न तयार’सम्मको यो अभिनयका लागि प्रधानमन्त्री दाहाल नाट्यसम्राट् हुन् । 

किसानहरू आफ्ना उत्पादन सडकमा फालिरहेका छन्, सरकारलाई कुनै सरोकार छैन । साना उद्यमीहरू मरिरहेछन्, सरकारलाई कुनै सरोकार छैन । महँगी बढेर गरिब नागरिकहरू व्रतै व्रत बस्नुपरेको छ, सरकारलाई कुनै सरोकार छैन । व्यापार घाटाहरूले अर्थतन्त्र घाटमा पुगेको छ । अर्थ घाटमा पुग्दा नाट्यसम्राट्हरू भने राष्ट्रपतिको र्याल चुहाउँदै मुख मिठ्याइरहेछन् । राता बाकसमाथि उभिएर अहोरात्र महाभोज गरिरहेका नाट्यसम्राट्हरूलाई अर्थ अर्थि बनेकामा कुनै चिन्ता र पश्चात्ताप छैन । यो प्रणय सप्ताहमा कुनै युवाले सफल अभिनयका लागि एउटाएउटा गुलाब उपहार देओस्, यी अभि–नेता तथा नयाँ नाट्यसम्राट्हरूलाई ।

सार्वजनिक पदमा बसेपछि ऊ जवाफदेही हुनुपर्छ । राज्यकोषबाट तलब–भत्ता खाने भएपछि ऊ आफ्ना करदाता अर्थात् नागरिकअघि निहुरिनैपर्छ । सबैभन्दा पिँधमा रहेका नागरिकलाई सबैभन्दा बढी दुःखैदुःख दिने नेता न लोकतान्त्रिक हो, न न्यायप्रेमी । ऊ अधिनायकवादी महासम्राट् हो । ऊ शासक हैन, शोषक हो । शोषकसम्राट् हो, नाट्यसम्राट् हो । शोषकले नागरिकको कमाइ (कर) चुस्नु चुस्छ र उनै नागरिकलाई लात हान्छ ।

यहाँ आम नागरिकलाई पाइलापाइलामा यातना छ । कुनै पनि सरकारी कार्यालयमा समयमा काम हुँदैन । बिचौलिया नै पोस्नुपर्छ । मेरो काम किन भएन भनेर सोध्नलाई कुर्सीमा कर्मचारी भेटिँदैन । भेटिएछ भने पनि ऊ स्पष्ट बोल्दैन । बोलेछ भने पनि हप्काएर मात्र बोल्छ । कर्मचारी कसलाई हप्काउँछ त ? जसले कर तिरेर आफूहरूलाई तलब खुवाएको छ, उसैलाई ।

यो नाटक नभए के हो ? कुन देशमा, कुन संस्थामा, कुन कम्पनीमा, कुन घरमा नोकरी गर्नेले आफ्नो मालिकलाई हेप्न सक्छ ? आफ्ना मालिकलाई झ्यालझ्याल कुदाउने, घण्टौँ लाइनमा उभ्याउने, वर्षाैं कुराउने तन्त्र लोकतन्त्र होइन, त्यो नोकरशाहीतन्त्र हो । शोषकसम्राट्हरूद्वारा सम्राट्हरूका लागि मञ्चित नाट्यतन्त्र मात्र हो ।

प्रश्न गर्नलाई यो देशमा बलियो प्रतिपक्षी छैन । आफूलाई लोकतान्त्रिक भनाउने दल भागबण्डाका लागि मात्र जीवित छ । उसमा कुनै नैतिक साहस र हिम्मत छैन । आफूलाई वैकल्पिक र सुसंस्कृत भनाउने दलको त कुरै नगरौँ । उनीहरू जे हुँ भन्छन्, ती हुँदै होइनन् ।

बदनाम ठेकेदारको घरमा बस्ने, दुई–दुई पटक संसद्को हत्या गर्ने तर माफीसमेत नमाग्ने नेताहरूलाई मालिक मानेर उनैकोअन्डरमा मन्त्री हुने दल सुशासनवादी दल हुँदै होइन । यदि ऊ साँच्चिकै सुशासनवादी हुन्थ्यो भने भ्रष्टाचार, ठग, लुटको अभियोग लागेका नेतालाई बहिष्कार गर्थ्याे । हिजो जुन दल र नेताको ‘नाकको डाँडी’ भाँच्ने भनियो, आज तिनैको नाक आफ्नो अनुहारमा टाँसियो । रातारात ती नाक कसरी सबैभन्दा सफा र सुग्घर भए ? सम्मानित अदालतबाट बेइमान पुष्टि भएको मसी नसुक्दै कुनै नेताले इमानकै अपमान हुने गरी आत्मरति गर्ने र पत्याउने नागरिक हुँदासम्म नाट्यसम्राट्हरू जन्मिरहन्छन् ।

कुनै पनि विषय राम्ररी पढ्ने, पर्गेल्ने, सोच्ने अनि सोध्ने नागरिकले लोकतान्त्रिक संस्कारलाई बलियो बनाउँछ । तर, एक लाइन पनि राम्ररी नपढेर गालीगलौज मात्र गर्ने नागरिकले नाट्यसम्राट्हरू मात्र हुर्काउँछन् । प्रश्नले मान्छेलाई चिन्तक बनाउँछ । लाञ्छनाले मान्छेलाई निन्दक ।

साहित्यमा नाट्यसम्राट्हरू जन्मेको धेरै राम्रो हो । तर, सरकारमा, संसद्‍मा, दलहरूमा, मिडियाहरूमा, नागरिकहरूमा नाट्यसम्राट्हरू जन्मिनु र जम्नु लोकतान्त्रिक संस्कृतिका लागि हानिकारक छ ।

कुनै पनि विषयमा असन्तुष्ट र आक्रोशित हुँदा कुटपिट गर्न, घेर्न, घृणा गर्न आह्वान गर्ने नाट्यसम्राट्हरूले निर्दाेष नागरिकलाई भकुण्डो जसरी स्टेजमा खेलाइरहन्छन् । तर, असन्तुष्टि र आक्रोशलाई शब्दमार्फत, लेखमार्फत खण्डन गर्न आह्वान गर्नेले आफ्ना नागरिकलाई पछि लेखक बनाउँछन् । सम्पादकलाई चिठी लेख्नेहरू नै पछि लेखक बन्न सक्छन् । लेखक बन्दा नाम पनि, दाम पनि कमाउन सकिन्छ । विरोध सृजनात्मक छ भने भोलि नाटककार अर्थात् लेखक पनि होइन्छ । विरोध विध्वसांत्मक छ भने भोलि पश्चात्ताप मात्र साथमा रहन्छ ।

सम्मानित अदालतबाट बेइमान पुष्टि भएको मसी नसुक्दै कुनै नेताले इमानकै अपमान हुने गरी आत्मरति गर्ने र पत्याउने नागरिक हुँदासम्म नाट्यसम्राट्हरू जन्मिरहन्छन् ।

यहाँ हरेक सचेत नागरिकले राज्य, सरकार, संविधान, विधि, संस्थाहरूको अवस्थिति र अस्तित्व बुझ्नुपर्ने हुन्छ भने नेता हुन चाहनेले त झन् यी सब बुझ्नु नै पर्छ । राज्यले कसरी फङ्सन गर्छ, सरकारी–गैरसरकारी–निजी क्षेत्र भनेको के हो, राज्यमा स्वतन्त्र प्रेस र सक्षम अदालत किन चाहिन्छ, नागरिक र दबाब समूहले के काम गर्छन्, अनुसन्धान संस्था र विश्वविद्यालयहरू किन चाहिन्छन्, यस्ता आधारभूत विषयमा समेत मठ्ठ पात्र नेता हुनै सक्दैन । केही क्षण नेता भएछ भने पनि त्यो नाट्यसम्राट् मात्र हुन्छ ।

नाट्यसम्राट्हरूले मञ्च चलाउँछन्, देश चलाउन सक्दैनन् । गृह अर्थात् घरबाट सीधै जंगल प्रवेश गर्ने, जंगली शैलीमा मञ्चमा तथानाम बोल्ने चरित्र झुर अभिनेता होला, नेता हुनै सक्दैन । एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा चाहिने नेता विवेकी, सुपठित, शिष्ट, शालीन, नैतिकवान्, अध्ययनशील हुनुपर्छ । उसमा बहुसंख्यक आम नागरिकले सोच्नेभन्दा उन्नत योजना र सपना, त्यसअनुसार आचरण र कार्यक्रम हुनुपर्छ । म नै साम्राज्य हुँ टाइपमा गालीगलौज, घृणा, प्रतिशोध ओकल्ने सम्राट्को युग उहिल्यै सकिइसक्यो । घृणा उत्पादक, घृणा प्रसारक, घृणा वितरक त यहाँ युगौँदेखि कुर्सीमा विराजमान छँदै नै छन् । नाट्यसम्राट्पछि अर्काे नाट्यसम्राट् यहाँ चाहिएको होइन ।

देश सही दिशामा छैन । वास्तवमा यसमा देशको त कुनै गल्ती छैन । देशको मूल नीति राजनीति हो । राजनीति गर्नेहरू सही दिशा र चिन्तन, सही विधि र व्यवहार, सही संस्कार–संस्कृतिमा नहुँदा देश बिचरा बदनाम हुन पुगेको छ ।

राजनीतिलाई शुद्धयाउने काम राजनीति गर्नेको मात्र पनि होइन, हर नागरिकको हो । सार्वजनिक पद धारण गरेका व्यक्तिलाई उनीहरूका कमजोरी, अपराध, कुकर्मबारे बारम्बार प्रश्न गर्नु नै आम नागरिकले गर्ने राजनीति हो । आफ्ना सीमा र कर्तव्यको ख्याल गर्दै हर नागरिक आफ्ना नेताप्रति निर्मम आलोचक हुने हो भने लोकतन्त्र बलियो हुन्छ ।

जवाफदेहिता सरकार र नेताजीसँग मात्र खोज्नु हुँदैन । हर क्षेत्रले आफूप्रति उठेका प्रश्नमा जवाफदेही हुनुपर्छ । प्रश्नलाई निषेध गर्न, विषयान्तर गर्न पाइँदैन । तर, को सार्वजनिक पद धारण गरेको व्यक्ति हो, को राज्यकोषबाट तलबभत्ता खान्छ, यो बुझ्नुपर्छ । कर खानेको जवाफदेहिता प्राथमिक हो । कर खानेहरू जिम्मेवार हुनेबित्तिकै अरु क्षेत्र स्वतः जिम्मेवार हुन्छन् । कसरी ? तल पढ्नुस् ।

कर खानेहरू, खाएकाहरू, कुर्सीवालहरू कानुनअनुसार चले भने अरु क्षेत्र भ्रष्ट हुनै सक्दैन । राज्यलाई कानुनअनुसार हरेक क्षेत्र कस्ने पूर्ण अधिकार छ । राजनीति गर्नेले, राज्य चलाउनेले अरुलाई दोष देखाउनु भनेको आफ्नै लाचारी प्रदर्शन गर्नु हो । कानुन छ भने कानुनअनुसार, छैन भने लोकतान्त्रिक विधिअनुसार निर्वाचित संसद्‍बाट कानुन बनाएरै हर भ्रष्ट संस्था/व्यक्तिलाई ठेगान लगाउन सकिन्छ । यसकै लागि कार्य–व्यवस्था–न्यायपालिका चाहिएको हो । नत्र अंगत्रय काटेर फाले भयो । काम नलाग्ने अंगलाई कर खुवाई खुवाई किन पाल्नुपर्यो र ?

यो वा त्यो कारणले काम गर्न सकिनँ भनेर प्रधानमन्त्री/मन्त्रीहरू बर्बराउनु खराब शिक्षकले विद्यार्थीलाई गाली गर्नु, पिट्नु सरह हो । चिटिङ गर्नुमा विद्यार्थी/व्यापारीको कुनै दोष छैन । सम्पूर्ण दोष लम्पट, अयोग्य, अक्षम शिक्षक/नेताको हो ।

जब पदमा बसेकाहरू प्रश्नबाट छटपटिन्छन्, प्रेसलाई गालीगलौज गर्न थाल्छन्, रोस्ट्रममा उभिएर अदालतप्रति लाञ्छना लगाउन थाल्छन्, बुझ्नुपर्छ– नागरिक र प्रेसको राजनीति ठीकठाक छ । जब शासक अर्थात् शोषकले, ठग र बेइमानले, भ्रष्टाचारी र दुराचारी, निरंकुश र तानाशाह नाट्यसम्राट्हरूले प्रेसको वाहवाही गर्न थाल्छन्, बुझ्नुपर्छ— प्रेस गलत बाटोमा छ ।

बितेका दशकमा शिक्षा–उच्चशिक्षा क्षेत्र पार्टीगत भागबन्डामा गयो । शिक्षा संकाय र शिक्षण कर्म सबैभन्दा हेपियो । शिक्षणको माध्यम र कन्टेन्टमा त्रुटि भयो । १५ वर्षयता शिक्षा मन्त्रालय माओवादी अझ नारायणकाजीले बढी चलाए, शिक्षा सुधार्न उनले कुनै राम्रो नीति र नियत लिएको देखिएन । निजी र सार्वजनिक शिक्षाबीच ठूलो खाडल आयो । पढाउने विषय, पाठ्यक्रम र पाठ्यपुस्तकमा सुधार र अनुगमन भएन । पुस्तकालय मासिए । थपिएनन् । प्रविधिको पहुँच बढेर पनि होला, गुदी कुरा पढ्नेभन्दा सतहमा तैरिरहेका विषयमा बढ्ता चासो भयो । जब राजनीतिशास्त्र र समाजशास्त्र, अर्थशास्त्र र इतिहासको आधारभूत सम्यक ज्ञान हुँदैन तब नेता नाट्यसम्राट् बन्छ । र, नागरिक जति नाटकका मौन दर्शक । हाउसफुल दर्शकले सफल बनाउने भनेकै राजनीतिको छक्कापञ्जा मात्र हो ।  
नाटक मूल रूपमा हेर्ने विधा हो । तर, नागरिकहरू नाटकको दर्शक मात्र बन्न छोडेर कहिलेकाहीँ नाटकको पाठक पनि बन्नुपर्छ । नपढी नाटकबारे कमेन्ट गर्नुहुन्न । कमेन्ट लेखक बन्न नै सही, लेखक बन्न पहिला पाठक त हुनैपर्छ । 

उहिलेका नाट्यसम्राट् बालकृष्ण समले देशैभर सम्यक पाठक र समीक्षक पनि तयार पारे । उनका नाटकका दर्शक त दरबार र दरबार हाइस्कुलतिर मात्र थिए । उनको अभिनय र निर्देशनका दर्शक त लगभग अब भौतिक रूपमा सकिए । तर, पाठक ? संसारभर जीवित छन् । ती पाठक लेखक पनि बनेका छन् । उनका समीक्षक र आलोचक बन्न सकेका छन् । साढे चार सय वर्षपछि पनि सेक्सपियरका पाठक दुनियाँभर जन्मिरहेका, बढिरहेका छन् । उनका दर्शक मरिसके तर कलाकार जन्मिरहेका छन् ।

दर्शकको मात्र उत्पादन गर्नु क्षणिक र सीमित हो । दर्शक मरेका दिन नाट्यसम्राट् राजनेता सकियो । तर, पाठक पनि बनाएको नाट्यसम्राट् सिंहदरबारको फोटोमा मात्र बाँच्नेछैन । ऊ पाठक र चिन्तक, आलोचक र शुभचिन्तक उत्पादन गरिरहनेछ ।

‘मुटुको व्यथा’, ‘तानसेनको झरी’, ‘अन्धवेग’, ‘भीमसेनको अन्त्य’, ‘प्रेमपिण्ड’हरू लेखेका नाट्यसम्राट् बालकृष्ण समलाई हार्दिक श्रद्धाञ्जलि । ‘नेपालीको व्यथा’, ‘गरिबको आँखाका झरी’, ‘अन्धभक्त’, ‘प्रेमप्रसादको अन्त्य’, ‘घृणापिण्ड’ बनिरहेका नयाँ नाट्यसम्राट्हरूलाई शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना छ ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x