विचार

दक्ष जनशक्ति कसरी तयार पार्ने ? विदेशबाट सिकौँ

ईश्वरीप्रसाद पोखरेल |
पुस २४, २०७९ आइतबार ८:३५ बजे

विभिन्न मुलुकहरूमा राज्य सञ्चालन तथा आर्थिक विकासका लागि आवश्यक पर्ने जनशक्तिको वैज्ञानिक अध्ययन आवश्यक हुन्छ । बजार माग र आपूर्तिको अवस्था थाहा पाउन विभिन्न विधि र मोडेलहरू प्रयोग गरेर सिपयुक्त नागरिक तयारी तथा आवधिक जनशक्ति प्रक्षेपण गरेको पाइन्छ । प्रयोगमा ल्याइएका मोडेलहरू मुख्यतः मागमा आधारित (Demand-based), आपूर्तिमा आधारित (Supply-based) र आवश्यकतामा आधारित (Exploratory) देखिन्छन् । श्रमशक्ति तथा जनशक्ति विकास र प्रक्षेपणका विभिन्न विधिहरू हुन सक्छन् तर मुख्यतः गुणात्मक (Discriptive) र सङ्ख्यात्मक/मात्रात्मक (Quantitative) गरी  दुई भागबाट योजना निर्माण गरेको पाइन्छ । 

जनशक्ति प्रक्षेपण विधिमा अन्वेषणात्मक (Exploratory) वा वर्णनात्मक (Discriptive) तरिकाहरू पनि प्रयोगमा पर्दछन् । जनशक्तिको प्रक्षेपण साङ्ख्यिकीय रूपमा गर्नुपर्ने भएकोले यसका लागि विभिन्न देशहरूमा विभिन्न परिमाणात्मक विधिहरू (Quantitative Forecast Methods) को प्रयोग गरेको पनि पाइन्छ । कुन विधि प्रयोग गर्ने भन्ने कुरा मुख्यतः तथ्याङ्कहरूको उपलब्धतामा निर्भर गर्दछ । जनशक्ति प्रक्षेपण गर्दा रोजगार दाताहरूको सर्वेक्षण विधि (Employers Survey Method) मा नमुना गणना विधि (Survey method)  अथवा समग्र गणना विधि (Population method) पनि अपनाउने गरिन्छ । विश्वमा प्रचलित जनशक्ति विकास तथा प्रक्षेपणका केही विधिहरू देहायका पाइन्छन्  ः 


जनशक्ति आवश्यकता पहिचान विधि 
जनशक्ति प्रक्षेपणका लागि जनशक्ति आवश्यकता पहिचान विधि मुख्य हुन्छ । जनशक्ति प्रक्षेपण विधिले जनशक्ति प्रक्षेपणलाई कसरी शैक्षिक योजनासँग आबद्ध गर्ने भन्ने मार्गदर्शन गर्न सक्छ । देशको आर्थिक योजनाले (वा सरकारले) भविष्यको कुनै वर्षसम्म अनुमान गरेको कूल  गार्हस्थ उत्पादन (Gross Domestic Product, GDP​) को प्रारम्भिक अनुमानलाई आधार मानेर लक्षित गरिएको वर्षसम्मका लागि शिक्षित जनशक्तिको आवश्यकता आपूर्ति गर्ने गरी विभिन्न चरणमा प्रक्षेपण कार्य अगाडि बढाउँन सकिन्छ ।

श्रमशक्तिको पेसागत संरचनालाई प्रत्येक पेसामा उपयुक्त रूपमा काम गर्न आवश्यक पर्ने औपचारिक शिक्षाको स्तरीय मापदण्ड (Standard measure of the level of formal education) मा बदलिन्छ वा परिवर्तन गरिन्छ । तर वैज्ञानिक मापदण्ड निर्माण गर्दा मृत्यु, अवकाश र प्रवासनका लागि केही सिटमा छुट दिइन्छ  । मुलुकमा आवश्यक शिक्षित जनशक्तिको कूल  सञ्चितिमा प्रतिस्थापन र आपूर्ति गर्ने कामहरू अभिलेख र तथ्याङ्कका आधारमा गरिन्छ । यस विधिको अन्तिम नतिजा शिक्षित जनशक्तिको मागको ससर्तात्मक विकास, प्रक्षेपण तथा प्रयोग हुनु र ससर्तात्मक मापदण्ड तोडिएमा क्षतिपूर्ति गर्नै पर्ने बाध्यता हुन्छ । यसरी प्रक्षेपित जनशक्ति कूल गार्हस्थ उत्पादन (Targeted GDP) को प्राप्ति तथा आर्थिक लगानीमा निर्भर गर्दछ ।

मुलुकले योजनावद्ध विकास गर्न प्रक्षेपण गरिएका जनशक्ति तयारी मुख्य हुन्छ । देशको शैक्षिक सबलता तथा आवश्यकताहरूको समीक्षा र कार्यक्रमलाई उच्च प्राथमिकता दिइन्छ । मुलुकमा विद्यमान शिक्षित जनशक्तिको माग र सञ्चिति (stock) तथा प्रयोग नतिजा र यी पक्षलाई दृष्टिगत गरी कार्यसम्पादनसँग तुलना गरिन्छ । योजनावद्ध विकास र तयार भएका जनशक्ति पनि विभिन्न कारण बहिर्गमन हुने र नव प्रवेशीलाई समायोजन गरेर अगाडि बढ्नुपर्ने हुन्छ । वैज्ञानिक आधारमा शैक्षिक पद्घतिको उत्पादनलाई विस्तार वा सङ्कुचनको योजना  निर्धारणमा जानुपर्ने हुन्छ । 

जनशक्ति आवश्यकता पहिचान विधिमा प्रयोग भएका तरिकाहरू सरल, तार्किक र पारदर्शी हुनु पर्दछ । खुला, सामाजिक मूल्यमान्यताका तरिकाहरू सजिलै बोधगम्य हुने हुँदा नीति, निर्माता र योजनाकारहरूले स्थानीय सिप, क्षमता र कार्यसम्पादन विधिलाई समर्थन गर्न तथा सञ्चालन तहमा मन पराउँन सक्छन् । जनशक्ति प्रक्षेपण विधिलाई अपनाउन तथा प्रयोग गर्न थुप्रै तहका तथ्याङ्कहरूको आवश्यकता पर्दछ भन्ने कुरा नीति निर्माणमा बिर्सिनु हुँदैन । 

जुनसुकै विधिलाई प्रयोग गरेर जनशक्ति र रोजगारी प्रक्षेपण गर्दा पूर्वानुमान त्रुटि (Forecast error) धेरै हुन सक्छ । तिनको प्रमुख कारणमा श्रमको औसत उत्पादकत्व वृद्धिका सम्बन्धमा स्थिर गुणाङ्क (Fixed coefficient) र श्रमको उत्पादकत्व र शिक्षाको तहका बिचमा पनि स्थिर सम्बन्ध हुन्छ । बजार प्रतिस्पर्धाको मान्यता राखेर जनशक्ति उत्पादनमा आर्थिक लगानीको सुनिश्चितता गर्नुले जनशक्ति विकास र प्रयोग पक्ष सफल हुन्छ । विश्व अभ्यासमा जनशक्ति आवश्यकता पहिचान विधि सर्वत्र उपयोगी हुने गरेको पाइन्छ ।

मान्यतामा आधारित विधि 
कुनै निश्चित मान्यता (Norm) लाई आधार मानेर पनि खासखास पेसाका जनशक्तिको प्रक्षेपण गर्ने गरिन्छ । खास गरी जनतालाई प्रत्यक्ष सेवा दिने पेसाहरूका लागि जनशक्तिको माग सेवा लिने जनसङ्ख्याको वृद्धि र उनीहरूका परिवर्तित विशेषताहरूलाई आधार मानेर प्रक्षेपण गरिन्छ । यस विधिका विभिन्न तरिकामध्ये एउटा तरिकामा एक विशेष पेसागत समूह र एउटा काम वा सेवा सम्बन्धी मापदण्डबिच पेसागत अनुपात (Ratio​) स्थापना गरिन्छ । श्रमशक्ति र कामको अनुपात/भार (Size of workforce and work load) लाई जनशक्तिको आवश्यकता प्रक्षेपण गर्ने प्रमुख आधार मानिन्छ । मान्यतामा आधारित विधिमा अनुपातहरू प्रचलित मानक वा इच्छाइएको मानकमा निर्भर हुन्छन्  ।

प्रतिफलको दर विधि
जनशक्ति प्रक्षेपणको प्रतिफलको दर विधि (Rate of Returns Approach) शिक्षामा गरिएको खर्च र खुद प्रतिफलको गणनामा आधारित छ । शैक्षिक कार्यक्रमहरूका धनात्मक प्रतिफल (Positive return) लाई विस्तार गरिनुपर्दछ । शून्य (Zero) अथवा ऋणात्मक (Negative) खुद वर्तमान मानलाई घटाउनु अथवा सम्भवत हटाउनुपर्दछ । प्रतिफलको दरमा आधारित विधिले जनशक्तिको आवश्यकताको सङ्ख्या निर्धारण गर्नुको सट्टा कुनै शैक्षिक कार्यक्रम र व्यवसायिक तालिमलाई विस्तार गर्ने वा घटाउने कार्यका लागि आवश्यक सूचनाहरू उपलब्ध गराउँछ । यस विधिले जनशक्ति विकासका लागि विभिन्न विकल्पहरूको औचित्यको तुलना गर्नमा सहयोग पुर्‍याउँछ । 

अर्थमितीय विधि
अर्थशास्त्रका सिद्धान्तहरूसँग गणित र तथ्याङ्कशास्त्रका अवधारणा र विधिहरू मिसाएर पनि जनशक्ति प्रक्षेपण गरिन्छ । अर्थ, गणित र तथ्याङ्क कुनै एक वा सोभन्दा बढी चरहरूको भविष्यवाणी गरिने विधि नै अर्थमितीय विधि (Econometric method) हो । शिक्षालाई आर्थिक वृद्धिसँग जोडेर जनशक्तिको पूर्वानुमान गर्न माध्यमिक तह र कलेज तहको शिक्षा र उत्पादन क्षेत्रलाई जोड्ने काम गरिन्छ । यो मोडेलमा जनसङ्ख्या, आर्थिक हैसियत र आयवितरण सम्बन्धी तीन उपसमूहका थुप्रै समीकरणहरू पनि प्रयोग गरिन्छन् । शिक्षामा गरिने आर्थिक लगानीको प्रतिफल व्यक्ति, समाज र राष्ट्रका लागि कति हुन्छ ? लाभ लागतका आधारमा जनशक्ति विकास र प्रक्षेपण गर्ने वैज्ञानिक विधि अवलम्बन गरिन्छ । 

गणितीय मोडलहरू
 विभिन्न व्यवसायिक क्षेत्रहरूका लागि विभिन्न पेसामा जनशक्तिको पूर्वानुमान गर्नका लागि गणितीय मोडेलहरू (ःबतजझभतष्अब िmयमभकि) पनि प्रयोग भएको पाइन्छ । जनशक्ति प्रक्षेपणमा प्रयोग हुने वा गरिने विधि गणितीय विधि (Mathemetical models)लाई मानिन्छ । यो तरिका, पद्घति, तिनका चरहरू र मानकहरू तथा तिनका अन्तर सम्बन्धहरू बुझ्नुको साथै गुणात्मक र सङ्ख्यात्मक दुवै चरहरू प्रयोग गरेर मोडेलहरू बनाउन गणितीय विधि अत्यन्त सशक्त ठानिन्छ ।

संसाधन–उत्पादन मोडेल विधि
संसाधन–उत्पादन मोडेल विधि (Input-output Model Approch) एक विधि हो । अर्थ व्यवस्थाभित्रका अन्तरक्षेत्रगत क्रय विक्रयका सम्बन्धहरू र बाह्य संसारसँगको व्यापारिक सम्बन्धको विस्तृत रूपरेखाबाट यो विधि आरम्भ हुन्छ । रोजगारीको आवश्यकता चाहिँ उद्योगगत रूपमा अनुमान गरिएका श्रम उत्पादनका अनुपातहरू (Labour-output ratios) लाई टेकेर निर्धारण गरिन्छन् । संसाधन–उत्पादन मोडेल विधिले पेसागत प्रक्षेपण प्रणालीका लागि आवश्यक पर्ने मूलतत्त्व पहिचान गरी स्थापित गर्दछ भन्न सकिन्छ । संसाधन–उत्पादन विधि विभिन्न आर्थिक क्षेत्रहरूका उद्योगहरूको अन्तरसम्बन्धलाई ध्यानमा राखेर एकदमै विस्तृत रूपमा जनशक्तिको रोजगारीलाई प्रक्षेपण गर्न सवल पनि हुन्छ भन्ने मान्यता राखिन्छ ।

घाताङ्क मिहीन विधि 
पूर्वानुमानको घाताङ्क मिहीन विधि (Exponential Smoothing Method​) हो । यो विधिमा कुनै चरको भविष्यको मान पूर्वानुमान गर्नमा धेरै पुरानाभन्दा पछिल्ला/निकट समयका मानहरू बढी महत्त्वपूर्ण हुन्छन् भन्ने मान्यता राखिन्छ । यसको आधारमा सबभन्दा नजिक समयका मानहरूलाई बढी भार र धेरै वर्ष अघिका मानहरूलाई कमभन्दा कम भार दिइन्छ र त्यसका आधारमा जनशक्ति विकास र प्रक्षेपणमा विश्वास गरिन्छ ।

बहिर्विस्तार विधि
प्रक्षेपण गर्ने बहिर्विस्तार विधि (Extrapolative Method) व्याख्यात्मक प्रवृत्तिहरूमा नभएर तथ्याङ्कका ढाँचाहरूमा आधारित हुन्छ । यसका विविध चरण र कार्यहरू हुन्छन् । ती सबैको विस्तारित रूप Box-Jenkins को विधिलाई समय श्रेणीको रूपमा तथ्याङ्क उपलब्ध भएको चरको पूर्वानुमान बहिर्विस्तार विधि (Extrapolative Method)को परिष्कृत तरिका हो भनेर जनशक्ति प्रक्षेपणमा उपयोगमा ल्याइन्छ । हाम्रो सन्दर्भमा कुन विधि र सैद्धान्तिक मार्ग अवलम्बन गर्ने ? पहिचान गरी अगाडि बढ्न आवश्यक छ ।


Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार
x