विचार

‘शिक्षित’ छन् तर सीप छैन, पढाउने यो कुनै तरिका हो !

ईश्वरीप्रसाद पोखरेल |
पुस २१, २०७९ बिहिवार १८:४५ बजे

नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई प्राथमिक, द्वितीय तथा तृतीय (सेवा) क्षेत्रमा अध्ययन गरिन्छ । सेवालाई तीन भागमा विभाजन गरेर सीप र क्षमताशील कार्य सम्पादन (Performamce)  विश्लेषण गर्नु न्यायसंगत तथा व्यावहारिक हुन्छ । प्राथमिक क्षेत्रअन्तर्गत शिक्षा तथा तालिमको अवसर विना कृषि, वन तथा माछापालन जस्ता गरने कार्य पर्दछन् । द्वितीय क्षेत्रअन्तर्गत उद्योग, विद्युत्, ग्यास तथा पानी आपूर्ति सेवा र वितरण पर्दछन् । तृतीय (सेवा) क्षेत्रअन्तर्गत वित्तीय मध्यस्थता, स्वास्थ्य तथा सामाजिक कार्य, रियल इस्टेट (घर जग्गा कारोबार) भाडा तथा व्यावसायिक सेवाहरू समेटिन्छन् । 

नेपालको कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रअन्तर्गत कृषि क्षेत्रको योगदान आर्थिक वर्ष २०७४/७५ मा २७.१ प्रतिशत छ । खानी तथा उत्खनन क्षेत्रको योगदान चाहिँ जम्मा ०.६ प्रतिशत पुगेको छ । द्वितीय क्षेत्रअन्तर्गत उद्योग, विद्युत्, ग्याँस तथा पानी आपूर्तिमध्ये उद्योगको योगदानको हिस्सा २०७४/७५ मा ५.४ प्रतिशतमा मात्र सीमित छ । समग्रमा द्वितीय (उद्योग) क्षेत्रको हिस्सा २०७४/७५ मा १४.२ प्रतिशतमा खुम्चिएको छ । तृतीय (सेवा) क्षेत्रको राष्ट्रिय उत्पादनमा योगदान क्रमशः बढ्दै २०७४/७५ मा ५७.६ प्रतिशतमा उक्लेको छ । वित्तीय मध्यस्थता ११.१ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्य ९.९ प्रतिशत, रियल इस्टेट (घर जग्गा कारोबार) भाडा तथा व्यवसायिक सेवाहरूमा ८.४ प्रतिशतमा वार्षिक औसत वृद्धिदर हासिल भएको सन्तोषजनक अवस्था छ । 


सक्रिय जनशक्तिको श्रमक्षमता अवस्था 

आर्थिक वर्ष २०७४/७५ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय रु.१,०३,३३५ (१००४ अमेरिकी डलर) अनुमान गरिएको थियो । प्रतिव्यक्ति आयको आधारमा नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्र तथा सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रको सूचीमा स्तरोन्नति गर्ने लक्ष्य राखियो । नेपालमा २१.६ प्रतिशत (६० लाख भन्दा बढी) जनसङ्ख्या निरपेक्ष गरिबीको रेखाभन्दा तल छन्, नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ मा स्पष्ट उल्लेख छ ।

२०६८ को जनगणना अनुसार नेपालको कूल जनसंख्यामध्ये १० वर्ष माथिको जनसङ्ख्या २,३६,९७,५५५ छ । श्रमबजारमा जानसक्ने सक्रिय उमेर समूह १५ –६४ वर्षभित्रको जनशक्ति २०७४/७५ सालमा १,७४,१८,३६५ अनुमान गरिएको थियो । श्रमशक्ति सहभागिता दर ७३.५० छ । सेवा क्षेत्रमा जनशक्तिको औसत वार्षिक वृद्धिदर ५.९७ प्रतिशत पुगेको छ भने द्वितीय क्षेत्रमा ५.५ प्रतिशत तथा कृषि क्षेत्रमा १.६ प्रतिशत मात्र वृद्धि पाइन्छ । 

समग्रमा वि.सं. २०७४/७५ सम्ममा झन्डै ६० प्रतिशत जनशक्ति अझै पनि प्राथमिक सेवा क्षेत्रको कृषि क्षेत्रमा संलग्न छन् । द्वितीय तथा तृतीय क्षेत्रमा जनशक्तिको संलग्नता क्रमशः१५.४ प्रतिशत र २४.४ प्रतिशत पुगेको छ । समग्रमा, अर्धदक्ष र अदक्ष कामदारहरू अधिक रूपमा रोजगार प्रदान गर्ने प्राथमिक क्षेत्र (कृषि) र व्यापारमा संलग्न पाइन्छन् । फलतः प्राथमिक सेवामा संलग्नहरूले गुणात्मक उत्पादन र बजार प्रतिस्पर्धा गर्न नसक्दा आयआर्जन मनग्य हुन सक्दैन । जनशक्ति विकास र प्रयोग विश्लेषणका आधार नेपाली अभ्यास देहायका छन्: 

औद्योगिक र पेसागत वर्गीकरणमा जनशक्ति 

विश्वव्यापी अभ्यासमा प्रमुख रूपमा अन्तर्राष्ट्रिय स्तरीय औद्योगिक वर्गीकरण (International Standard Industrial Classification, ISIC) र अन्तर्राष्ट्रिय स्तरीय पेसागत वर्गीकरण (International Standard Industrial Classification, ISIC) लाई देशहरूले जनशक्ति विकास सूचक वा मानकलाई सर्वस्वीकार्य मापदण्ड बनाएका हुन्छन् । त्यही आधारमा नेपालस्तरीय औद्योगिक वर्गीकरण (Nepal Standard Industrial Classification, NSIC) र नेपालस्तरीय पेसागत वर्गीकरण (Nepal Standard Classification of Occupation, NSCO) को मापन गर्ने गरिन्छ । यसै अनुसार सेवारत जनशक्तिलाई अर्थतन्त्रको विभिन्न आर्थिक क्षेत्रहरू तथा पेसाहरूमा संलग्न तथा कार्य जिम्मेवारी बाँडफाँट भएको आधारमा सूचक वा मानक निर्धारण गरी जनशक्तिको सीपगत क्षेत्र तथा पेसागत क्षमताको विश्लेषण गर्न सकिन्छ । नेपालको कार्यप्रकृतिका आधारमा २१ औद्यौगिक वर्गीकरणमध्ये १.०७ देखि ६४.७९ प्रतिशतसम्म ठूलो संख्या आठ वटा क्षेत्रमा तथा ०.११ देखि ०.९८ प्रतिशतसम्म १३ प्रकारका स-साना कार्यक्षेत्रका सेवामा जनशक्ति खपत हुने गरेको देखिन्छ । 

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ को औद्योगिक वर्गीकरण अनुसार कूल श्रमशक्ति संख्या १,७४,१८,३६५ छ । योबाट कृषि, वन तथा माछा पालन क्षेत्रमा सबैभन्दा बढी ६४.७९ प्रतिशत मानिसहरू अल्झिएका छन् । दोस्रो स्थान थोक तथा खुद्रा व्यापार, मोटर र मोटरसाइकल मर्मतमा (७.९४ प्रतिशत) छ । तेस्रो प्रशोधन उद्योग (६.७९ प्रतिशत) तथा चौँथोमा निर्माण क्षेत्रमा (६.१७ प्रतिशत) को सहभागिता छ । पाचौँ शिक्षा सेवामा (३.५१ प्रतिशत)लाई रोजगारी उपलब्ध भएको देखिन्छ । अन्य क्षेत्रहरूमा जनशक्तिको सहभागिता तुलनात्मक रूपमा अन्य सबै पेसामा ११ प्रतिशतभन्दा पनि कम १०.८ प्रतिशत रहेको देखिन्छ ।

नेपालमा जनशक्ति तथा श्रमको विभाजन अवस्था 

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ मा उल्लेखित क्रियाशील जनशक्ति १,७४,१८,३६५ छ । यो संख्यालाई पेसाको आधारमा जनशक्तिको स्थितिको नौ वर्गमा समावेश गरिएको छ । पेसागत क्षेत्रको संलग्नता मूल्याङ्कन गर्दा सबैभन्दा बढी (६४.०७ प्रतिशत) प्राथमिक पेसा (Elementary occupation) मा संलग्न छन् । सेवा तथा वस्तु बिक्री गर्ने कामदारको रूपमा (१०.८० प्रतिशत) छ । शिल्पकला तथा कालिगढी सम्बन्धी व्यापार गर्ने कामदारहरू (८.७८ प्रतिशत) छन् । दोस्रो तहको सीपका कृषि, वन, माछा पालन कार्यका कामदारहरू (६.२५ प्रतिशत) छन् । प्राविधिक तथा सहायक पेसाविद्हरू ३.६४ प्रतिशत तथा विशिष्ट पेसाविद्हरू १.९८ प्रतिशत छन् । उच्चस्तरको विज्ञताको काम गर्ने नेतृत्वशील कामदार तथा व्यवस्थापकहरू ०.५३ प्रतिशत मात्र छन् । नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ बाट प्राप्त नतिजाअनुसार नेपालमा १,७४,१८,३६५ मानिसहरू उमेर र सक्रियताका आधारमा जनशक्तिका रूपमा कार्यरत हुन सक्छन् । तर तीमध्ये १,५९,०५,५५३ संख्याको पेसा तथा क्षेत्र स्पष्ट उल्लेख पाइन्छ भने १०,४९,०६७ जनाको पेसा तथा सेवा क्षेत्र स्पष्ट उल्लेख नभएको स्थिति छ । शायद ती बेरोजगार हुन सक्छन् । 

तीन बृहत् औद्योगिक क्षेत्रहरू (प्राथमिक, द्वितीय र तृतीय) मा जनशक्तिको संलग्नतालाई दृष्टिगत गर्दा विभिन्न शैक्षिक तहको शिक्षा पाएका कूल १,०१,८५,८३९ जनशक्तिमध्ये ५५.९५ प्रतिशत प्राथमिक क्षेत्रमा, १५.२३ प्रतिशत द्वितीय क्षेत्रमा र २८.८३ प्रतिशत तृतीय क्षेत्रमा संलग्न भएको देखिन्छ । कुनै पनि अर्थतन्त्रमा आफ्नै प्राथमिक तहको काम गर्ने कामदारहरूको सङ्ख्या बढी हुनु राम्रो होइन । त्यसैले आफ्नो काम गर्ने अनौपचारिक जनशक्ति (Own-account workers) लाई अर्थतन्त्रको औपचारिक क्षेत्रमा रोजगारी सृजना गरेर अनिवार्य स्थानान्तरण (shift) गर्नुपर्दछ । जनशक्तिको ठूलो हिस्सा अदक्ष (Unskilled) काममा संलग्न हुनुलाई विकास तथा समृद्धिका लागि मुख्य चुनौती बनी सीपयुक्त (Skilled) जनशक्तिको विकासमा राज्य तह तथा सरकारी तहले विशेष ध्यान दिनुपर्ने स्पष्ट छ । 
पेसागत अवसर तथा जनशक्ति उपयोग स्थिति 

नेपालमा सार्वजनिक सेवा प्रदायक क्षेत्रमा संलग्न कूल २६,६२,५४० जनशक्तिमध्ये सरकारी क्षेत्रमा लगभग २५ प्रतिशत मात्र रोजगारी उपलब्ध छ । जस्तै (२१.९९% सरकारी क्षेत्र र राज्यको स्वामित्व भएको सार्वजनिक संस्थानका क्षेत्रमा ३.०४%) मात्र रोजगारी सृजना छ । रोजगारी सिर्जनामा निजी क्षेत्रको झन्डै ७५ प्रतिशत योगदान छ । निजी क्षेत्रअन्तर्गत वित्तीय संस्थातर्फ ११.१२ प्रतिशत र गैरवित्तीय क्षेत्रतर्फ ५४.२० प्रतिशतको हाराहारीमा रोजगारी उपलब्धताको अनुमान गरिन्छ । यसरी कूल श्रमशील जनशक्ति १,७४,१८,३६५को जनसंख्यामध्ये २६,६२,५४० मात्र सङ्गठित क्षेत्रहरूमा रोजगारीमा अवसर पाउनुको अर्थ १,४७,५५,८२५ सङ्ख्याका श्रमशक्ति अनौपचारिक क्षेत्रहरू (Informal Sector) मा संलग्न अभिलेखरहित काममा रहेको स्पष्ट हुन्छ । 

शिक्षा, तालिम तथा काम/रोजगारीबीच तालमेलको समस्या तथा समाधानको सवाल पनि अध्ययन र सिकाइका लागि उपयोगी छ । नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/०७५ अनुसार कूल श्रमशक्ति मध्ये १० प्रतिशत भन्दा बढी जनशक्तिको शिक्षा, तालिम तथा काम/रोजगारीबीच तालमेल नमिलेको कारण सीप बेमेल (Skill mismatch) भएको स्थिति देखिन्छ (प्राप्त शिक्षा र तालिम भन्दा फरक काम गर्दै आएको स्थिति) । अतः जनशक्तिको उत्पादन गर्ने संस्थाहरू र खपतका क्षेत्रहरू (रोजगारदाताहरू) बीचको आपसी समन्वय तथा सहकार्य स्पष्ट हुन कार्यविधि विकास गर्न जरुरी छ । राष्ट्रिय अर्थतन्त्रको माग बमोजिमको जनशक्ति उत्पादन भई सोही अनुरूपको बजारमा दक्ष सीप पूर्ति हुन गई आर्थिक विकासका लक्ष्यहरू प्राप्त गर्न विशेष मद्दत पुग्न सक्दछ ।

समग्रमा नेपालबाट कति श्रमशक्ति कामका लागि भारतमा गएका छन् ? सोको लिखित अभिलेख सरकारसँग छैन । भारतबाहेकका विदेशमा गएका व्यक्तिहरूको सङ्ख्या मात्र २०७४/०७५ को श्रमशक्ति सर्वेक्षणमा ३२ लाख बढी आँकलन गरिएको छ । विदेशमा काम निश्चित भएर कामका लागि गएको जनशक्ति ६३.३३ प्रतिशत, काम निश्चित नभई कामको खोजीमा गएको जनशक्ति २४.६६ प्रतिशत, यी दुवै श्रमशील जनशक्ति गरी काम गर्ने उद्देश्यले मात्र ८८ प्रतिशत मानिसहरू विदेशमा गएको सर्वेक्षणमा देखिन्छ । 

विदेश गएकामा आधारभूत शिक्षा प्राप्त गरेका सबैभन्दा बढी (४५.६६ प्रतिशत), माध्यमिक तहको शिक्षा हासिल गरेका जनशक्ति (४०.४७ प्रतिशत), अशिक्षित तथा कुनै औपचारिक शिक्षा हासिल नगरेका व्यक्तिहरू १७.७७ प्रतिशत छन् भन्ने देखाउँछ । विदेशी श्रम बजारमा काम गर्न बाहिरिएका अधिकांश जनशक्ति न्यून शिक्षा/सीप भएको कारण काम पनि न्यून स्तर तथा कामबाट प्राप्त गर्ने प्रतिव्यक्ति प्रतिफल वा पारिश्रमिक पनि न्यून र काममा उच्च जोखिम हुने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

उच्च शिक्षा हासिल गरेका, सरकारी छात्रवृत्ति तथा विविध सेवासुविधामा उत्पादित जनशक्ति उच्च शिक्षा प्राप्त ५.५८ प्रतिशत व्यक्तिहरू देशबाट बाहिरिँदा बौद्धिक पलायन (Brain drain) को क्रम डरलाग्दो रूपमा बढिरहेको अवस्था छ । विदेश जाने क्रममा उच्च शिक्षा र पेसागत डिग्री प्राप्त गरेका नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन अझ बढ्दै गएको देखिन्छ । यसले नेपालको पेसागत नेतृत्वदायी विज्ञता गुम्ने र राष्ट्रको हित नहुने कुरा स्पष्ट सङ्केत गर्दछ । यसैले मुलुकप्रति जिम्मेवार बनौँ ।

(उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) 


 


Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार
x