विचार

जित्नेलाई भोट दिँदै हारिरहेका नेपाली

महेश्‍वर आचार्य |
कात्तिक १६, २०७९ बुधबार ७:३६ बजे

दसैँअघि चाबहिलको एक चिया पसलमा एक जना ज्येष्ट नागरिक आक्रोशित हुँदै ठूलो स्वरमा भन्दै थिए 'यी दलहरूले देश उँभो लाउँदैनन् बरु बेच्छन् । यिनीहरूले धर्म बेचे अब देश बेच्दैछन् । एमसीसी अरे, एसपीपी के जाती अरे,नागरिकता विधेयक अरे, यिनी सप्पै देश बेच्न सुरु गरेका  प्रमाण  हुन्  ।' छेउमै बसेका एक जना अधबैंसे पुरुष उनलाई सोध्दै थिए 'चुनावमा कसलाई भोट दिने त बा ?' ज्येष्ठ नागरिकले गर्वका साथ भने ' जसलाई हालिन्छ जित्नेलाई हालिन्छ  ।' 'जित्नेलाई हालेर के गरे र बा अहिलेसम्म ? तपाई धर्म बेचे, देश बेचे पनि भन्नुहुन्छ फेरि तिनैलाई भोट दिने कुरो गर्नुहुन्छ ? धर्म र देश जोगाउने हो भने त अब राजेन्द्र लिङ्‌देनको हलोमा हाल्नु पर्छ' ती पुरुषले सल्लाह दिए । 'हलोले जित्दैन, भोट देर पनि क्यार्नु ?' ती नागरिकले जवाफ दिए । 

भक्तपुर स्थायी घर भएका मेरा एक मित्र वर्तमान राजनीतिक प्रवृत्तिप्रति वाक्क छन् । राजनीतिक कमजोरीका कारण देशले फड्को नमारेको हो भन्दै उनी बारम्बार कुर्लिरहेका हुन्छन्  । यद्दपि प्रसङ्ग जुरेको बेला मैले अब आउने चुनावमा कसलाई भोट हाल्ने त मित्र भनेर सोध्छु, उनको उत्तर हुन्छ 'भोट त सूर्यलाई नै दिनुपर्छ ।' अन्य उम्मेदवार नयाँ छन्  जित्दैनन् र जिते पनि गरि खाँदैनन् भन्ने उनको तर्क हुन्छ । 


दाङ निवासी मेरा एक मित्र जो विगतमा माओवादीसँग आवद्ध थिए । हाल स्वयं उनी नै माओवादीको प्रवृत्तिप्रति सन्तुष्ट छैनन् र दिनमा करिब ५ वटा राजनीतिक चरम असन्तुष्टिका स्टाट्‌स सामाजिक सञ्‍जालमा पोष्ट गर्दछन् । दसैँमा भेट्दा मैले सोधेँ 'यो पालि भोट कसलाई त मित्र ?' उनले मुन्टो निहुराए, फेरि माथि हेरे र लामो सास फेरेर भने 'भोट त हथौडाभन्दा अन्त जाँदै जान्न त बड्डा, म के गरु तँ ?'

चितवन स्थायी घर भई काठमाडौँमा बस्ने मेरी एउटी सहकर्मीको पनि उत्तर सुनौँ । उनी देशको अत्यन्त माया गर्छिन् । उनका केही लेख रचनाहरू पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुन्छन् । सबैमा उनको देशप्रतिको माया र राजनीतिक असन्तुष्टि झल्किने गर्दछ । 

उनलाई एकदिन झुट बोल्न नमिल्ने गरी बडो भूमिका मिलाएर मैले सोधे 'यसपाली त रुखलाई भोट हाल्दैनौ होला नि ?' उनको उत्तर पनि उत्साहजनक थिएन । पहिले त उनले भोट हाल्न चितवन नै जाँदिन, चुनाव बहिष्कार गर्छु भनिन । मैले त्यो त समाधान होइन नि भनेर सम्झाएपछि मतदान केन्द्रमा छिरेपछि आफ्नो हात रुखमा बाहेक अन्त कतै नजाने कुरा राखिन् । 

मैले त्यसो हो भने अब देशको चिन्ता गर्न र लेख रचना लेख्न छाडिदेउ भनेर सल्लाह दिएँ । उनले भनिन ' एमाले र माओवादीलाई म मरिगए भोट दिँदैन अरू साना दललाई, स्वतन्त्रलाई देर मात्र हुन्च र जित्नु पर्दैन र ?'  उनले प्रतिप्रश्न गरिन् 'हार्नेहरूलाई भोट दिएर क्यार्नु के दाइ आफ्नो अमूल्य मत खेर गएन र ?'

उनको उत्तरले म झस्किँए  शिक्षित र लेख रचनाबाट अरुलाई जागरुक गराउनेहरूको व्यवहार त यस्तो बनिबनाउ सिद्धान्तमा चलेको छ भने समस्याको जड कसले पत्ता लगाउने ?  हामी नेतालाई मात्र गाली गरिरहेका छौँ तर समस्या हामी आँफैसँगै छ । 

माथिका केहि प्रतिनिधि पात्र मात्र हुन् । मेरा यस्ता स -साना साक्षात्कारहरूमा अधिकांस जनजिब्रोमा झुण्डिएको बनिबनाउ भनाई थियो 'हार्नेलाई किन हाल्ने ? आफू त जित्नेलाई नै भोट हालिन्छ  ।' केही मानिसले भने आफूलाई जन्मजात कांग्रेस, जन्मजात एमाले र जन्मजात माओवादी भएकोमा गर्व गरेको पनि पाइयो  । यद्दपि चुनावमा गर्व गर्दै भोट माग्न हिंडेकाहरू चुनाव पछिका ५ वर्ष तिनै आफूले भोट मागेका नेतालाई सरापेर समय व्यतित गरेको पनि पाइयो । उनीहरूमा पनि आफूले जित्ने दम्भ हुन्छ, भोट त जित्नेलाई मात्र हाल्नुपर्छ भन्दै हिड्छन् उनीहरू ।

यो देशमा न म हार्नसक्छु तर हारको पनि केही मूल्य हुन्छ भन्ने खालका उम्मेदवार भेटिन्छन्, न त हार्नेलाई भोट दिन तयार कोही जनता भेटिन्छन्  । यो कस्तो अचम्म 'हार' भन्ने  शब्द कसैले पनि मन नपराउने रहेछन् । सायद सधैँ हारेकाले होला । यद्दपि कहिलेकाहीँ अल्पकालमा हार्दा दीर्घकालमा जित्ने सम्भावना रहन्छ । यो सम्भावनाको अवमूल्यन गर्नु हुँदैन । 

हामीले त जित्ने दललाई भोट दिँदै आएका छौं यद्दपि  देशले हारिरहेको  छ । कुशासन, भ्रष्टाचार, चरम असन्तुलित वैदेशिक ऋण, चरम असन्तुलित वैदेशिक आयात, चरम अन्तराष्ट्रिय हस्तक्षेप, बेरोजगारी , जनशक्ति पलायन, पूँजी पलायन, राज्यको अनावश्यक खर्च, (काम न काजको सेतो हात्ती संघीयता- प्रदेश संरचना), धर्म संस्कृतिको विनाश, आयातित धर्मको अतिक्रमण, राष्ट्रघाती सन्धि सम्झौताहरू, नातावाद, परिवारवाद र श्रीमतीवाद आदि इत्यादि । यति भैसक्दा पनि देशले हारेको नमान्ने  हामी नेपाली  धेरै कठोर छौं ।

जित्नेलाई मात्र भोट दिने हो भने त कांग्रेस, एमाले, माओवादी, मधेशवादी लगायत यिनै ३-४ वटा दलहरूले मात्र आजीवन पालैपालो वा मिलिजुली सत्ता हाँक्ने निश्चित छ । पहिलेदेखि चिनेजानेको उमेदवार नै जिताउने हो भने त नयाँ कहिल्यै आउन नसक्ने पक्का छ । सधैँ वृद्ध भत्ता खाने उमेरका नेताहरूको दबदबा रहने निश्चित छ । यिनीहरूको कार्यसम्पादनमा चित्त बुझाउन पनि नसक्ने नयाँलाई चुन्न पनि नसक्ने यसरी परिवर्तन आउँदैन । यो विरोधाभास व्यवहार हो, आत्मघाती कदम हो । 

कुनै कम्पनीले कर्मचारी आवश्यकता भन्दै विज्ञापन माग्दा अनुभवी हुनुपर्ने सर्त राख्यो भनेर हामीले आलोचना गर्दछौं । अवसर नै नदिएपछि कसरी अनुभवी बनिन्छ भनेर प्रश्न गर्दछौं । तर भोट दिँदा चाहिँ यही आफ्नो विचारको हेक्का राख्दैनौँ । परिवर्तन चाहने हो र पुरानाबाट असम्भव देखिएको हो भने नयाँलाई अवसर दिनुपर्छ भनेर हामीले कहिले बुझ्छौँ ?  

हामी भोट नै नदिने अनि नयाँले कसरी जितुन् ? कसरी यी पुराना दलहरूको सिण्डिकेट अन्त्य होस् र वैकल्पिक राजनीतिक शक्तिको उदय होस् ?  गत स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका लगायत केही स्थानका जनताले विवेक पुर्याएका छन् । जसले यो जकडिएको अँध्यारो समाजमा केही प्रकाशका किरणहरू  छरेका छन् । परिवर्तन चाहनेले ती मतदाताबाट सिक्नुपर्दछ । परिवर्तन एकै पटक हुँदैन, सुरुवात यसैगरी हुने हो । यो क्रममा वृद्धि तथा निरन्तरता मात्र भए पुग्छ । 

आउँदो चुनावमा साना दल तथा स्वतन्त्रबाट १५-२० जनामात्र संसद्‌ सिंहदरबार छिरे भनेपनि उनीहरूले  सकारात्मक तरङ्ग ल्याउन सक्छन  । जस्तो अहिले बालेन शाह र हर्क साङ्गपाङ्गले गर्दैछन् । प्रमुख कुरा त उनीहरूविना सरकार नै बन्दैन । यहाँ एक सिटे संसद्‌लाई त सरकार निर्माणको बखत खोसाखोस हुन्छ भने १५-२० जनाको मूल्य ठुलो हुन्छ । करिब २-३ वटा मन्त्रालयमा त्र यी नवआगन्तुकले पाए भने उनीहरूले केही गरेर देखाउन सक्छन् । गर्न दिएनन भने प्रधानमन्त्रीको भण्डाफोर गरेर सरकार छोड्न सक्छन् । यो कुरा जनताले नोट गर्नेछन र आगामी चुनावमा यी नवआगन्तुकको झन् राम्रो परिणाम देखिनेछ ।  

समाजको सुक्ष्म अध्ययन गर्दा अब नेता होइन जनता सच्चिन तयार हुनुपर्ने देखिन्छ ।  सच्चिन तयार नहुनेहरूले वर्तमान राजनीतिक प्रवृतिको आलोचना गर्ने नैतिकता रहँदैन । जे हुँदैछ र हुनेवाला छ ताल बजाएर बस्नुपर्छ । आफैँद्वारा  सृजित परिस्थितिको दोष दल र नेतालाई मात्र थोपरेर आफू पानी मुनिको ओभानो बन्न मिल्दैन ।

देशले त हारिरहेको छ नै , हामी स्वयं पनि हार्दै छौं । हामीहरू वर्तमान राजनीतिक प्रवृतिबाट सन्तुष्ट छैनौँ र हाम्रा न्यूनतम आवश्यकताहरू पनि यी नेता तथा व्यवस्थाले पूर्ति गर्न सकिरहेका छैनन् भने हामीले हारेको स्वत पुष्टि हुन्छ  । भोट त जित्नेलाई नै दिएको हो नि ! फेरि किन हारै हार ? आउने चुनावमा वास्तविक जितको सूत्र पहिल्याउन सकौं, शुभकामना ।

आचार्यका अन्य लेख


Author

थप समाचार
x