विचार

मन्त्रको प्रभाव र पानीको स्मरण शक्ति

नारायण घिमिरे |
कात्तिक १४, २०७९ सोमबार १२:४२ बजे

वेद र विज्ञानको सम्बन्ध बारे कुरा गर्दा विज्ञानको पाटो लाई कहिल्यै भुल्न सकिँदैन। हाम्रा परम्परागत संस्कार अनुरूप हामी हाम्रा आस्थाका धार्मिकस्थलबाट जल ल्याएर त्यसलाई पिएर आफूलाई शुद्ध भएको महसुस गर्ने गरिन्छ। हामी मध्ये कतिलाई आफू बिरामी हुँदा मन्त्र जप गरी मन्तरेको पानी पिएर निको भएको अनि नेपाली व्यथाले च्याप्दा मन्त्र फुकेर निको बनेको अनुभव पनि ताजै छ। आज पनि हामी हाम्रा पवित्र नदीहरू, पशुपति, मुक्तिनाथ जस्ता धार्मिक स्थानहरू आदिको भ्रमण गरी त्यहाँको शुद्ध जल त्यहाँ पुग्न नभ्याएका आफन्तलाई ल्याएर बाँड्ने गर्दछौ।

त्यहाँ नपुगे पनि यसरी प्राप्त जलको सेवनले ती शक्ति केन्द्रको आशीर्वाद आफूले प्राप्त गरेको विश्वास हामी गर्दछौँ। पानीको बारेमा गएका केही दशकमा भएका शताब्दी कै नयाँ उत्साहवर्धक वैज्ञानिक खोजहरू सम्पन्न भएका छन्। विश्वका एक भन्दा धेरै वैज्ञानिक ल्याबहरूमा कुनै आपसको सहकार्य र कतिपय फरक फरक रूपमा भएका खोज तथा अनुसन्धानहरूले पानीको अणुको मानिसको दिमागको जस्तै व्यापक स्मरण शक्ति रहने कुरा पत्ता लगाएको छ। 


वैदिक मान्यताले  मानिसको जीवनमा पानीको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण रूपमा हेर्ने गरेता पनि विज्ञानले साधारण सोल्भान्टको रूपमा मात्र लिने गर्दथ्यो। विश्वका वैज्ञानिकहरूको पानीमा स्मरण शक्ति रहने बारे भएका फरक-फरक स्वतन्त्र अनुसन्धानबाट भएको पानीको अणुको स्मरण शक्ति रहने वैज्ञानिक पुष्टि मानव चेतनाको लागि  शताब्दीकै नयाँ आश्चर्यको खुलासाको रूपमा लिइएको छ। उक्त खुलासाले पानीको शक्ति विगतमा सोचिने गरिए जस्तो सामान्यभन्दा पृथक् रहेको मान्न संसार लाई बाध्य पारेको छ। साथै उक्त वैज्ञानिक खुलासाले जलबारेको वेद र विज्ञानको मान्यता लाई निकै करिब ल्याउन मद्दत पुर्‍याएको छ।

०५ अक्टोबर २०१८ मा जर्मनीका वैज्ञानिकहरूको अन्वेषणबारे दि रेजोनान्स साइन्स फाउन्डेसनको 'वैज्ञानिकहरूले पानीको स्मरण शक्ति रहेको पुष्टि गरे' भन्ने लेखमा खुलासा भए अनुरूप जब वैज्ञानिकहरूले पानीको थोपालाई वैज्ञानिक उपकरणको प्रयोगबाट अत्यन्त ठूलो बनाएर जाँच गरे तब तिनीहरूले फरक फरक पानीको थोपाको अविश्वसनीय फरक फरक ढाँचाको सूक्ष्म आकृति भेटे।

दुई हाईट्रोजन एउटा अक्सिजनमा जोडिएर बन्ने पानी समूहमा रहँदाको सूक्ष्म ढाँचा एक अर्कोसँग फरक फरक रहेर अद्वितीय रूपमा एक सुन्दर संरचनाको रूपमा रहेको देखिन्थ्यो। एक वैज्ञानिक अनुसन्धान अन्तर्गत एकै भाँडोमा रहेको पानीबाट एकै समयमा फरक फरक पानीको थोपा निकालेर हरेकको माइक्रोसकोपिक जाँच गर्ने क्रममा समेत हरेक पानीको थोपाको फरक छविहरू देखियो।

त्यसपछि दोस्रो परीक्षण गर्नको लागि एक बिरुवाको फूललाई पानीमा केही समय डुबाएर राखियो। केही समयपछि त्यो पानीबाट निकालिएको एक थोपा पानीको नमुना माइक्रोस्कोपमा राखी हेर्दा उक्त थोपाको अत्यन्त मन्त्रमुग्ध ढाँचा देखियो। जब त्यसबाट पानीको अन्य थोपासमेत लिएर धेरै ठूलो पारेर हेरियो तब त्यहाँबाट निकालिएका सबै नै पानीका सबै थोपाहरू लगभग समान भेटिए।

त्यही प्रयोग जब फरक फरक प्रजातिको फूल पानीमा डुबाएर दोहोर्‍याइयो, फरक फरक फल डुबाएको पानीको थोपाको म्याग्निफाइड संरचना पूर्णतया फरक फरक देखिन्थ्यो। उक्त अनुसन्धानको व्यापक परीक्षणपश्चात् त्यसमा संलग्न अन्वेषकहरू फरक फरक फूल डुबाएको पानीको थोपाले फरक फरक आकृतिमा रहेर आफ्नो अणुगत संरचनामा उक्त फूलको स्मरण सञ्चय गरिरहेको निचोड निकाले।

दि रेजोनान्स साइन्स फाउन्डेसनका बायोफिजिस्ट विलियम ब्राउनका अनुसार यो खोजबाट पानीमा स्मरण शक्ति हुन्छ भन्ने नयाँ अवधारणा स्थापित भएको छ। उक्त अनुसन्धानमा संलग्न जर्मन वैज्ञानिकहरूको विश्वासअनुसार पानीले आफू यात्रा गरेको सबै ठाउँबाट त्यहाँको  जानकारीहरू लिन्छ र भण्डारण गर्दछ। विभिन्न स्थान हुँदै आएको पानी पिउने क्रममा मानिसको शरीरले ती ठाउँहरू बारेको जानकारी प्राप्त गर्दछ। पानीले यसरी नियमित रूपमा मानिसलाई विभिन्न ठाउँका जानकारीका स्रोतहरूसँग जोड्ने कार्य गर्दछ।

ब्राउनको तर्कअनुसार मानव शरीर सत्तरी प्रतिशत पानी निर्मित छ। अनुसन्धानको निचोडअनुसार शरीरको विभिन्न भागमा पुग्ने पानीले ती भागहरूको सूचना सङ्कलन र भण्डारण गर्दछ। आँसु तिनै पानी निर्मित हुने हुँदा मानव आँसुले कुनै व्यक्तिको अनुभूतिको अनौठो स्मरण राख्न सक्दछ। पानीलाई विश्वव्यापी रूपमा सबै मानव शरीर जोडने माध्यमको रूपमा समेत बुझ्न सकिन्छ।

एचआइभीको खोजमा महत्त्व पूर्ण योगदान दिए बापत सन् २००८ मा फिजियोलोजी वा मेडिसिन विषयमा नोबेल पुरस्कार पाएका भाइरोलोजिस्ट मोन्टाग्नियरले उनको २००९-२०१० तिरको नयाँ छुट्टै अनुसन्धानमा डिएनएले अत्यन्त कमसल क्षमताका विद्युत् तथा चुम्बकीय तरङ्गहरू उत्सर्जन गर्ने र त्यसले पानीमा संरचनात्मक परिवर्तनहरू ल्याउने भेटे। डिएनएले उत्सर्जन गर्ने विकिरण अत्यन्त कमसल हुँदा हुँदै पनि पानीको अत्यन्त ठूलो मात्रामा डाइलुसन गर्दा पनि पानीमा ती सूचनाहरू रहने र त्यसलाई उनले विकास गरेको विधिबाट नाप्न सकिने गरेको भेटे। 

मोन्टाग्नियरले उनको अनुसन्धानले फ्रान्सेली वैज्ञानिक ज्याक बेन्भेनिस्टेले १९८८ मा नेचर पत्रिकामा निकै धेरै मात्रामा डाइलुसन गरिँदासमेत पानीले यसमा घुलेका यौगिकहरू स्मरणहरू सुरक्षित राख्न सक्दछ भनी लेखेको वैज्ञानिक लेखको दाबी पुनः पुष्टि गरेको दाबी गरे। जुन कुरा अन्य वैज्ञानिकहरूले प्रयोगशालामा पुष्टि गर्न सकेका थिएनन्। 

पानीको स्मरणको क्षमताको उपयोगबाट मोन्टाग्नियरलाई आफ्ना सहकर्मीसँग मिलेर ब्याक्टेरिया र भाइरसको डिएनए वा आरएनए जस्ता जीनले पानीमा छोड्ने छालहरू पत्ता लगाउन सक्ने उपकरण विकास गर्न सहयोग मिल्यो। उनका अनुसार भविष्यमा उपयुक्त उपकरणको विकास गरी निश्चित फ्रिक्वेन्सीका विद्युत् तथा चुम्बकीय तरङ्गहरूले ब्याक्टेरियाको डीएनएद्वारा उत्पादित तरङ्गहरूलाई मार्न सम्भव हुनेछ। 

सो हुन सक्यो भने भविष्यमा अत्यन्त न्यून खर्चमा मानिसको रोग पहिचान मात्र नभएर निदानका लागि समेत उपयुक्त उपायको जोहो हुन सक्नेछ। मोन्टाग्नियरको आविष्कार सेन्थेटिक ओखतीको बिक्री र महँगो चिकित्सा प्रणालीमार्फत संसारबाट अकुत मुनाफा उठाइरहेको ठूलो समूहको निद हराम गरिदिएको छ। जसले गर्दा उनले तिनीहरूबाट प्रायोजित बकवासको बेतुका कुरा गर्ने सिउड़ोसाइन्स वैज्ञानिकको आरोप खेपिरहेका छन्।  

वेदका अनुसार निर्धारित मन्त्रहरूको जप गरेर पानी, हावा वा निश्चित पदार्थको भौतिक आणविक संरचनामा निश्चित आकार पैदा गरी सकारात्मक वा नकारात्मक शक्ति प्रवाह गर्न सकिन्छ।

हाम्रा विचार र नियतले हाम्रो वरिपरिको भौतिक वातावरणमा प्रभाव पार्ने सिद्धान्तको प्रतिपादन गर्ने जापानी वैज्ञानिक डा. मासारु इमोटो विश्वले चिनेको जाने मानेका महत्त्वपूर्ण पानी अनुसन्धानकर्ताहरू मध्ये एक हुन्। सन् २०१४ मा आफ्नो निधन हुनु अघिको लगभग बीस वर्षको समय उनले मानिसको शब्द, विचार, आवाज र  नियतको सम्पर्कमा आउँदा पानीको आणविक संरचना कसरी परिवर्तन हुन्छ भन्ने बारे वैज्ञानिक अनुसन्धानमा व्यतित गरे।

के मानिसले पिउने पानीले उसको विचार र भावनाहरूमा कुनै प्रभाव पर्ला भन्ने जिज्ञासाको उत्तर खोज्न उनले पानीको आणविक संरचनाबारे गहिरो अनुसन्धान गरे। सो कुराको निर्क्योल गर्न पानीमा थोपरिएका विभिन्न भावनाहरूले के साँच्चै नै पानीको आणविक संरचनामा परिवर्तन ल्याउला त भन्ने अनुसन्धानको प्रोटोकल बनाए।
 
मानिसको फरक फरक नियत, बोली र इमोसनको फरक फरक तरङ्गहरू उत्सर्जन गर्ने बुझेका डा. इमोटोले आफ्नो अनुसन्धानको लागि विभिन्न तरङ्गको ध्वनिले पानीलाई कसरी असर गर्छ भन्ने अध्ययन मार्फत आफ्नो अनुसन्धान पूरा गर्न सकिने निर्क्योल गरे। उनले मायालु, परोपकारी, दयालु मानव नियत तथा डरलाग्दो र असङ्गत मानव अभिप्रायहरू सबैको तरङ्गको पहिचान गरी निश्चित प्रकारको शास्त्रीय सङ्गीत, ध्वनि आदिको उपयोग गरी मानिसको नियत, बोली र इमोसनले पानीमा पार्ने असरबारे अध्ययन गरे। 

डा. इमोटोले आफ्नो व्यवहारिक अनुसन्धानको लागि उपयोगमा ल्याएका म्याग्नेटिक रिसोनेन्स एनलाईसीस टेक्नोलोजी (एमआरएटि) तथा हाईस्पिड फोटोग्राफी प्रविधिले खिचेको पानीको भौतिक आणविक संरचनाको चित्रहरूको गहिरो पुनरावलोकन गर्दा मायालु, परोपकारी र दयालु मानव अभिप्रायको सम्पर्कमा आएको पानीको भौतिक आणविक संरचनाहरू सौन्दर्यात्मक र मनमोहक थियो।

त्यसको ठीक विपरित डरलाग्दो र असङ्गत मानव अभिप्रायको सम्पर्कमा आएको पानीको आणविक संरचनाका फोटोहरूले पानीको भौतिक आणविक संरचना विच्छेदन भएको, विकृत तथा अप्रिय देखिन्थ्यो। निश्चित प्रकारको ध्वनि, जस्तै शास्त्रीय सङ्गीत आधा घण्टा सुनाइएको पानीको फोटो सुन्दर क्रिस्टलीय ढाँचाहरू युक्त थियो। जबकि आधा घण्टा हेभी मेटलको सङ्गीत सुनाइएको पानीको फोटो कुरूप र विकृत क्रिस्टलीय संरचना युक्त भेटियो।

डा. इमोटोको प्रयोगात्मक अनुसन्धानले पानीमा कैद गरिएका भावनाहरूले आणविक संरचनामा परिवर्तन ल्याउने पुष्टि गर्‍यो। आफ्नो आफ्नो व्यावहारिक अनुसन्धानबाट जापानी वैज्ञानिक इमोटो हामीले पिउने र प्रयोग गर्ने पानीको स्मरण शक्ति हुने पुष्टि गर्न समेत गर्न सके।

सामानको अर्थ गीत र वेदको अर्थ ज्ञानबाट बनेको सामवेद हाम्रा परम्परागत धुन र मन्त्रहरू बारेको प्राचीन श्रुतिहरूको सङ्ग्रह हो। परम्परागत मान्यता अनुरूप वैदिक जपले मानसिक शक्ति र भौतिक शक्तिको प्रवर्धन गर्न, तनाव कम गर्न तथा चेतनाको हद गहिरो स्तरमा पुर्‍याउन मानव ईनर इन्जिनियरिङ गर्दछ। मन्त्रोच्चारण एवं ठूलो स्वरमा ॐ आदि जस्ता जप गर्ने गर्दा स्मरण शक्ति र एकाग्रताको शक्तिमा पनि उल्लेखनीय सुधार हुने मान्यता छ।

मन् र त्रको संयोगबाट बनेको शब्द मन्त्रमा मन् भन्नाले विचार र त्र भन्नाले मुक्ति भन्ने बुझिन्छ। सम्पूर्ण विचारबाट मुक्ति लिने र तत्कालमा जिउने अर्थको मन्त्रको मूल प्रयोजन यसको उच्चारणबाट निर्धारित फ्रिक्वोईन्सिको (तरङ्ग र कम्पन) ध्वनि निकाल्नु हो। जसको पानी लगायत वरपरको वातावरणमा  दृश्य एवं अदृश्य आकृतिहरू उत्पन्न गर्ने अभिप्राय हुन्छ।

वेदका अनुसार निर्धारित मन्त्रहरूको जप गरेर पानी, हावा वा निश्चित पदार्थको भौतिक आणविक संरचनामा निश्चित आकार पैदा गरी सकारात्मक वा नकारात्मक शक्ति प्रवाह गर्न सकिन्छ। साथै उक्त प्रविधिलाई राम्ररी बुझ्न सक्दा त्यसलाई मनोवैज्ञानिक र आध्यात्मिक सबलता निर्माणदेखि रोगको उपचार गर्नेसम्म प्रयोजनमा उपयोगमा ल्याउन सकिन्छ।  

वैदिक परम्परामा प्रभावकारी ध्वनिको लागि बीज मन्त्र भनिने ध्वन्यात्मक मन्त्र (ॐ, क्रीं, श्रीं, ह्रौं, ह्रीं, ऐं, गं, फ्रौं, दं, भ्रं, धूं, हलीं, त्रीं, क्ष्रौं, धं, हं, रां, यं, क्षं, तं) उपयोग गरिन्छ। मनोवैज्ञानिक शान्ति प्राप्ति, कार्य सिद्धि र शुभ लाभ आदिको लागि कार्यात्मक मन्त्रहरुको (जस्तै: ॐ गण गणपतये नमः, ओम नमः शिवाय, ॐ नमो भगवते वासुदेवाय) उपयोग गरिने गरिन्छ। विशिष्ट परिस्थितिको सामना गर्न विशिष्ट प्रकृतिको मन्त्र जपमार्फत विविध कम्पनको सिर्जना गर्न परम्परागत रूपमा विभिन्न मन्त्रहरू विकसित भएको देखिन्छ।

जसअन्तर्गत सामान्य नेपाली ज्वरो निको पार्ने, मन्त्र जपेको पानी छर्कने, धार्मिक पीठहरूमा घण्टी बजाउने, रुद्री आदि पाठ गर्ने, विभिन्न स्थानको जल पिउने आदि चलन चलेको देखिन्छ। कतिपय अवस्थामा अन्धविश्वास हो कि जस्तो लाग्ने  वेदका परम्परागत मान्यतामा आधारित हाम्रा उल्लेखित  प्राचीन चालचलन आज आधुनिक विज्ञानले विस्तारै तथ्यगत रूपमा वैज्ञानिक रहेको पुष्टि गर्दै गएको छ। जुन हामी सबैले गर्व गर्न लायक पक्ष हो।

घिमिरेका यी पनि पढ्नुस् :


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x