विचार

तपाईंलाई राजनीति किन मन पर्दैन ?

खगेन्द्र कर्ण |
बैशाख ४, २०७८ शनिवार २०:१८ बजे

‘राजनीतिमा मलाई कुनै इन्ट्रेस्ट छैन’ अथवा ‘राजनीति मलाई मन पर्दैन’, धेरै नेपाली युवाहरूले उच्चारण गर्ने वाक्य हुन् यी । विगतमा हामीले राजनीतिको माध्यमले धेरै उपलब्धि हासिल गर्यौँ । नेपाल कुनै देशको उपनिवेश हुनुपरेन । राणा शासन जहाँ बोल्न, लेख्‍न र पढनमा स्वतन्त्रता थिएन, त्यो शासनको अन्त्य गर्यौँ । निरंकुश पञ्‍चायती शासकलाई जनआन्दोलनको बलमा घुडा टेकायौँ । हत्या, हिंसाको राजनीति गरिरहेका तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिमा ल्यायौँ । गणतन्त्र, संघीयता, समानुपातिक समावेसी र धर्म निरपेक्षता जस्ता अग्रगामी मुद्दा स्थापित गर्यौँ । व्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रता,स् वतन्त्र न्यायलय, कानुनी राज्य र मानवअधिकारको सुनिश्चितता गर्यौँ। 

बहुलवादमा आधारित प्रतिस्पर्धामुलक संसदीय व्यवस्थालाई आत्मसात गर्यौँ । यसका बावजुद युवाहरु भन्‍ने गर्छन् ‘राजनीति मलाई मन पर्दैन् ।’ उनीहरूसँग देश कसरी चलिरहेको छ ? भन्‍ने प्रश्‍न गर्यौँ भने राजनीति र राजनीतिक दलप्रति घृणायुक्त विचार सम्प्रेषित गर्छन् । राजनीतिको निराशाजनक अवस्थाको बयान गर्छन् । उनीहरूको भनाइ  हुन्छ ‘राजनीतिक दलका नेतामा मुलुक समृद्ध बनाउने उद्देश्य भन्दा आफ्नो परिवार र नाता सम्बन्धलाई धनी बनाउने योजना मात्रै हुन्छन् ।


 राजनीतिक नियुक्तिको नाममा योग्यभन्दा आफ्ना भक्तलाई अवसर प्रदान गर्छन् । स्वच्छभन्दा भ्रष्ट उम्मेद्वारको छनौट गर्छन् । काम गर्नका लागि घुस र काम गरे पछि कमिसन बुझाउनु पर्छ । दलको सद्स्यता राम्रालाई भन्दा आफ्नालाई दिने गर्छन् ।’ नेपालको राजनीतिको सन्दर्भमा यस्तो किसिमको आक्रोश र निराशा जायज पनि छ । यद्यपि राजनीतिप्रतिको अरुचिको कारण धेरैलाई यो जानकारी हुँदैन कि आधाभन्दा बढी जनसंख्याले कुनै न कुनै प्रकारको सहयोग सरकारी नीति अनुरुपनै प्राप्त गरिरहेका हुन्छन् । 

अवश्य पनि सरकारी सहयोग कतिको पारदर्शी अथवा सर्वसुलभ उपलब्ध भएको छ ? प्रश्‍न गर्ने अधिकार पनि संविधानले दिएको छ । पुरानो राज्यले दुई विषयमा बहस र छलफल मन पराउँदैनथ्यो । त्यो थियो, राजनीति र धर्म । जस्तो कि पञ्चायकालमा राजनीतिक गतिविधि माथि प्रतिबन्ध लगाइएको थियो । एक जना अमेरिकन प्रोफेसरले भनेका छन् ‘दुई विषयमा निश्‍चितरूपमा बहस हुनु पर्छ । पहिलो ‘वर्तमानमा हामी कसरी बाचिरहेका छौ ?’ र दोस्रो ‘भविष्यमा हामी कसरी बाँच्‍नेछौँ ।’ यी विषय राजनीतिसँग जोडिएको हुन्छन् । उनले भनेका छन् ‘राजनीति धेरै राम्रो कथा हो । यो विश्‍वको इतिहास हो । हप्ताभरिको समाचार हो । भविष्यको द्वार हो । जस्तो कि राम्रो चलचित्र जहाँ हिरो र भिलेन हुन्छ । 

सद‍भाव र द्वन्द्व हुन्छ । क्रिया र प्रतिक्रिया हुन्छ । सँगसँगै हामी त्यो कथा भन्‍न सक्छौँ । प्रारम्भमा भन्दा अन्तिममा बढी बुझछौँ । जब हामी राजनीति भन्छौँ, के बुझिन्छ ? कुनै राजनीतिक दलको झन्डा समात्ने, बन्द हडताल गर्ने, पुतला दहन गर्ने र पब्लिक स्टन्ट गर्ने ? यी तस्बिर हाम्रो मस्तिष्कमा आउने गर्छ । तर यो राजनीति होइन । राजनीतिको अंग्रजी शब्द ‘पोलिटिक्स’ जुन ‘पोलिटी’शब्द बाट आएको हो । जसले सन्दर्भित गर्छ, ‘राजनीति भनेको ‘कला’ र ‘नागरिक सरकार निर्माणको अभ्यास हो ।’ 

युवाहरू किन मतदान गर्न संकोच मान्छन् ? मतदान गर्नुभन्दा अगाडि राजनीतिक दलका घोषणापत्र किन पढ्दैनन् ? घोषणापत्रमा उल्लेख भएका योजनाका बारेमा किन प्रश्‍न गर्दैनन् ?

राजनीतिको परिभाषालाई तपाईं खोतल्दै जाने हो भने पाउनु हुनेछ प्रत्येक नागरिकले सबै चिजको निर्धारण, संगठन र समाजको नियामक राजनीतिको परिभाषा अनुसार नै गरिरहेका हुन्छन् । चुनाव प्रचारदेखि सरकार गठन, कानुन निर्माण, कर निर्धारण, खर्चको सीमा तोक्ने र अर्थ व्यवस्थापन । अझ भन्‍नुपर्दा राजनीति सम्भव भएको कला हो । तपाईं कुनै एजेन्डामा नागरिकलाई  कसरी सहमत गराउनु हुन्छ ?

२० औ शताब्दीमा अमेरिकन राजनीतिशास्त्री हेरोल्ड लासवेलले राजनीतिको व्यवहारिक परिभाषा प्रस्तुत गरेका थिए । उनले भनेका थिए ‘राजनीति भनेको कसले के, कहिले र कसरी प्राप्त गर्छ ?’ अर्का राजनीतिशास्त्री डेभिड इएस्टोन जसले राजनीतिलाई भनेका थिए ‘अधिकारयुक्त मूल्यको बाँडफाँड ।’ अर्थात राजनीति भनेको हामी त्यो निर्णय कसरी गर्न सक्छौ कि कसले के पाउने ? र त्यसका लागि कसले मूल्य चुकाउने ?
 
हाम्रो मुद्दामा फर्कौँ, किन राजनीति युवाहरूको माझमा यति धेरै घृणित भएको छ ?मुख्य कुरा नेपालमा नागरिकले राजनीतिक परिवर्तनको अनुभूति गर्न पाएनन् । राजनीतिले उनीहरूको दैनिक जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सकेन । अर्को वर्गका नागरिकहरू पनि छन् जसले आफ्नो वरिपरि के भइरहेको छ पूर्णतः बेवास्ता गर्छन् । यो अवस्था बढी युवा अथवा विद्यार्थीहरूको माझमा देखिन्छ । यी युवाहरू राज्यको सेवा र सुविधासँग जोडिएको महसुस गर्दैनन् । तर राजनीतिले जीवनको प्रत्येक चरणमा प्रभाव पारिरहेको हुन्छ । 

इन्धनको मूल्य वृद्धि, खाना पकाउने ग्याँसको अभाव, सार्वजनिक यातायात सेवाको भाडा दरमा वृद्धि, विद्युत आपूर्ति, खेलकुद, शिक्षा प्रणाली, रोजगार आदि इत्यादि । यी सबै क्षेत्र नागरिकको जीवनसँग जोडिएका हुन्छन् । यसको सञ्चालन र नियन्त्रण गर्ने एकाइ देशको सरकार हुन्छ । त्यसकारण कसरी भन्‍न सक्छौँ कि ‘राजनीति मलाई मन पर्दैन ।’ अवश्य पनि राजनीतिले नागरिकलाई प्रभावित गरिरहेको हुन्छ । यसका बावजुद युवाहरूले आफ्नो वरिपरि के भैरहेको छ, नदेखेको जस्तो गर्छन् । 
अथवा नेपालमा यस्तै हो भनेर पन्छिने गर्छन् । किन युवाहरू मतदान गर्न संकोच मान्छन् ?

मतदान गर्नुभन्दा अगाडि राजनीतिक दलका घोषणापत्र किन पढ्दैनन् ? घोषणापत्रमा उल्लेख भएका योजनाका बारेमा प्रश्‍न किन गर्दैनन् ? किन अनलाइन र पत्रपत्रिका पढदैनन् ? भ्रष्टाचार र कमिसनका बारेमा खुल्लमखुल्ला किन प्रश्=g गर्दैनन् ? यदि राजनीतिको प्रतिस्पर्धा फोहरी हो भने जीवनको प्रत्येक क्षेत्र फोहरी हुन् । शैक्षिक प्रणाली र कर्पोरेट क्षेत्र पनि पूर्णतः सफा छैन । तर हामीले के बुझ्नु पर्छ भने शैक्षिक प्रमाण पत्र र रोजगारीविना हामी बाँच्‍न सक्दैनौ । युवाहरू पनि बहस छलफल र आरोप प्रत्यारोपको राजनीतिमा सहभागी हुनै पर्छ । हामीसँग लोकतन्त्रमा अर्को विकल्प छैन ।
 


Author

खगेन्द्र कर्ण

(पूर्वाञ्‍चल विश्‍वविद्यालयका नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष कर्ण सिभिल इन्जिनियर हुन् ।)


थप समाचार
x