विचार

‘देशभक्तिविनाको राजनीतिक राष्ट्रवाद’मा प्राण भर्दै सैन्य कूटनीति

विनोद न्यौपाने |
भदौ १९, २०७९ ११:४३ बजे

सैन्य कूटनीतिले दुईपक्षीय र बहुपक्षीय सम्बन्ध बलियो बनाउँछ भन्‍ने अन्तर्राष्ट्रिय मान्यता छ । हरेक मुलुकमा सरकारहरू पटकपटक बदलिने तर सैनिक संगठन स्थायी र भरपर्दो हुने भएकाले पनि सैन्य कूटनीतिले महत्व पाएको हुनुपर्छ । पृथ्वीनारायण शाहको चातुर्यकै कारण स्थापित सैन्य कूटनीतिकै उपज हो आजको नेपाल । घर बनाउँदै जाँदा जगको ढुंगा पुरिन्छ तर सिंगो घरलाई त्यसले अड्याएर राखेको हुन्छ ।

त्यसैले बुढापाका भन्‍ने गर्थे, ‘जगको ढुंगा बलियो हुनुपर्छ ।’ त्यही जगको ढुंगा बलियो भएकै कारण नेपालको पहिचान सुरक्षित र संरक्षित छ । हरेक सैनिक नेतृत्वले त्यसमा एकएक इटा थप्दै आएका कारण नेपालको अस्तित्व कायम छ । बेलाबेलामा राजनीतिले बिथोल्न खोजे पनि सैन्य कूटनीतिकै कारण आजसम्म हामी गोर्खालीको साहसी पहिचान कायम राख्न सफल छौं । यसको निरन्तरतामा कहीं कतैबाट बाधा अवरोध नआओस् भन्‍नेतर्फ हामी सचेत हुन जरुरी छ ।


विश्व शीतयुद्धका कारण दुई ध्रुवमा विभाजित भए पनि नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा अडिग रहिरह्यो । दुई धु्रवमा रहेका अमेरिका र सोभियत संघको सैनिक गठबन्धनमा सामेल हुन उचित ठानेन, सधैं तटस्थ बस्दै आयो । अहिले पनि अमेरिका, चीन होस् वा भारत कसैलाई पनि हेर्ने दृष्टिकोणमा फरकपना छैन । नजिकको छिमेकी भारत र चीनलाई हेर्ने दृष्टिकोणमा पनि समभाव देखिन्छ । असंलग्नता र तटस्थतामा दृढ छ । दक्षिणको मूल्यमा उत्तरतिर ढल्कने वा उत्तरको मूल्यमा दक्षिणतिर फर्कने नीति नलिनुको कारण नेपालको सैन्य कूटनीति सफल छ ।

सैन्य कूटनीतिको अलावा नेपाली सेनाले राष्ट्रिय हित, सुरक्षा, नागरिक र वैधानिक सरकारप्रति बफादार संगठनको पहिचान र संस्कार स्थापित गरेको छ । संकट आइपरेको बेला राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा ऊ कहीँकतै चुकेको छैन । जहाँ अप्ठेरो पर्छ, त्यहाँ सेना पुगेको छ । गैरराजनीतिक चरित्रको संगठन भएकाले सेनाले आलोचनाको पर्वाह नगरी आफू नबोलेर पनि मुलुकको हितप्रति सकारात्मक ‘सन्देश’ दिँदै आएको छ । राष्ट्रियता कमजोर नहोस्, मुलुकको स्वाभिमानमा चोट नपुगोस् भन्‍नेबारेमा ऊ सधैं सचेत र सजग छ, तैपनि बेलाबेलामा देशभक्तिविनाका राष्ट्रवादको वकालत गर्ने राजनीतिले हिलो छ्याप्ने कोसिस गर्छ ।

राजनीतिले बाटो बिराए पनि सैनिक संगठनलाई त्यो छुट हुँदैन, किनकि उसले नेपाली माटो र आमाको रक्षार्थ सपथ खाएको छ । मुलुकको अस्तित्व रक्षामा सधैं खम्बा बनेर बसेको आभास दिइरहेको छ । यसैले त राष्ट्रवादी छवि जोगिएको छ । यसमा नेपालीले गौरव गर्नुपर्छ ।

संविधान घोषणालगत्तै भारतले गरेको नाकाबन्दी सैन्य कूटनीतिकै कारण खुलेको थियो । नाकाबन्दीकै बीचमा सैनिक नेतृत्वले भारत भ्रमण गरी अघोषित नाकाबन्दीका कारण नेपाल भारत सम्बन्धमा चिसोपन बढेको भन्दै त्यसलाई हटाउन आग्रह गर्‍यो । सैनिक नेतृत्वले भारत स्वतन्त्र हुँदा गोर्खा सैनिकले पुर्‍याएको योगदानको प्रसंग कोट्याउँदै नाकाबन्दीका कारण गोर्खा सैनिकका परिवार आज औषधि खानबाट समेत वञ्चित हुनुपर्ने अवस्थाप्रति भारतलाई सोच्न बाध्य बनायो । अघोषित नाकाबन्दी हटाइयो । सैनिक कूटनीति भनेको यस्तो हुनुपर्छ, जसले मुलुक हितमा गरेको योगदानले छिमेकीलाई समेत सोच्न बाध्य बनाओस् । भारतको विरोधमा नेपालमा जुलुस निकालेर त्यसको समाधान निस्कँदैनथ्यो ।

भारतीय सेनाले सानो देश भएकै कारण नेपाललाई नराम्रो दृष्टिले हेर्छ भन्‍ने कथित राष्ट्रवादीको भ्रमप्रति हामी सजग हुनुपर्छ । दुई देशबीचको सैन्य सम्बन्धले भारतलाई भन्दा नेपाललाई बढी फाइदा पुगेको छ ।

यो विषय हामीले सधैं स्मरण गर्नुपर्छ । त्यतिबेला आफूलाई राष्ट्रवादी भन्‍ने बुद्धिजीवी र राजनीतिज्ञ धेरै थिए तर तिनीहरूको भूमिका राष्ट्रवादलाई बलियो बनाउने भन्दा पनि व्यक्तिगत नाफाघाटामा केन्द्रित रह्यो । जसकै कारण मुलुकका बारेमा हरेक निर्णय गर्दा भारतमै गएर सल्लाह र सुझाव लिनुपर्ने अवस्था निर्माण भयो ।

सहमति खोज्न उतै जाने तर यहाँ आएर उसैको विरोध गर्ने शैलीले हामीलाई कमजोर बनायो । हामी बलियो हुने बाटोमा गएको भए सायद आज राजनीति पनि परनिर्भर हुने थिएन । राजनीतिक परनिर्भरता बढे पनि सैन्य कूटनीतिले आजसम्म मुलुकलाई धानेर राखिरहेको छ । मुलुक सानो भए पनि सार्वभौमसत्ता ठूलो मुलुकबराबर हुन्छ भन्‍ने मान्यताको सैन्य कूटनीतिले सम्मान गरेको कुरालाई सबैले स्मरण गर्नुपर्छ ।

प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे भदौ १९ गते अर्थात् आज नेपाल भ्रमणमा आउँदैछन् । पाण्डेलाई राष्ट्रपतिद्वारा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्‍यानी चिह्न दिने कार्यक्रम छ । यो भारतको हकमा मात्र होइन नेपालको हकमा पनि लागू हुन्छ । नेपालका प्रधानसेनापति शर्माले भारतको मानार्थ महारथीको दर्ज्‍यानी चिह्न लिइसकेका छन् । यो पछिल्लो सात दशकदेखिको परम्परा हो । यसलाई दुवै देशले विशेष महत्व दिँदै आएका छन् । भारतीय स्थल सेनाध्यक्षको भ्रमणलाई नेपाली सेना र भारतीय सेनाबीच एक अर्कोका सेनापतिलाई मानार्थ उपाधि दिने परम्पराको एक हिस्साका रूपमा मात्र लिनुपर्छ, अनावश्यक टीकाटिप्पणी होइन ।

यो परम्परा राष्ट्रिय हितको सम्बर्द्धनमा कोशेढुंगा सावित भएको छ । हो, दुई देशबीचको कूटनीतिक सम्बन्धको प्रमुख आधार राजनीति र कूटनीति नै हो, सैन्य कूटनीतिले त त्यसलाई थप बलियो बनाउने काम मात्र गर्छ । राजनीतिले कूटनीति बलियो बनाउन सकेको भए त्यसैको माध्यमबाट सैन्य कूटनीति अघि बढ्ने थियो, तर राजनीतिले मुलुक भन्दा आफ्नो मूल्यलाई महत्व दिँदा कताकता स्वाभिमानमा आँच आएको आभास हुन्छ । त्यसैले मुलुक हितमा सैन्य कूटनीति सफल र भरपर्दो आधार बन्‍न सकेको हो ।

दर्ज्‍यानी चिह्न आदानप्रदानको परम्परा दुई देशबीचका सेनाबीच सुमधुर सम्बन्ध र  सहकार्य कायम रहिरहोस् भन्‍ने उद्देश्यले सुरु भएको हो । कसैले कसैलाई नियन्त्रणमा राख्नुपर्छ भन्‍ने मान्यताबाट यो निर्देशित देखिँदैन । नेपाल र भारतबीचको सम्बन्धमा मानार्थ महारथीको पदवीले महत्वपूर्ण सहयोग पुर्‍याएको छ । नेपाली सैनिक टोली भारत जाने भारतीय टोली नेपाल आउने परम्पराले पनि सम्बन्ध प्रगाढ बनाएको छ ।

त्यसैले त नेपाल र भारतबीचको सैन्य कूटनीति अब्बल छ, कहिल्यै बिथोलिएको छैन । सम्बन्धमा कहिलेकाहीँ उतारचढाव आएको छ तर राजनीतिक कारणले । कतिपय समस्याको राजनीतिले अवलम्बन गरेको कूटनीतिले नभई सैन्य कूटनीतिले समाधान गरेका उदाहरण प्रशस्त छन् । भारतीय सेनाले सानो देश भएकै कारण नेपाललाई नराम्रो दृष्टिले हेर्छ भन्‍ने कथित राष्ट्रवादीको भ्रमप्रति हामी सजग हुनुपर्छ । दुई देशबीचको सैन्य सम्बन्धले भारतलाई भन्दा नेपाललाई बढी फाइदा पुगेको छ ।

विश्व शान्तिमा नेपाली सेनाले पुर्‍याएको योगदानकै कारण कूटनीतिमा नेपालको स्थान उचो छ । गोर्खालीको पहिचान बोकेर भारतीय सेनामा कार्यरत रहेकाले पनि नेपालीलाई हेर्ने भारतीय सेनाको दृष्टिकोणमा खोट देखिन्‍न किनकि गोर्खाली फौजका बीचमा उसले आफूलाई सुरक्षित महसुस गर्छ । यसले पनि भारतीय स्थल सेना र नेपाली सेनाको उचाइ समदूरीमा भएको प्रमाणित हुन्छ । यो नेपालका लागि गर्वको विषय हो । यो परम्पराले विश्वभर नेपाली सेनाको छविलाई थप उजिल्याएको छ । मुलुक सानो वा ठूलो हुँदैन भन्‍ने मान्यतालाई पनि यसले बल पुर्‍याएको छ । भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि दिँदैमा उसैको छाताभित्र नेपाली सेना रहन्छ भन्‍ने गलत मान्यताको सिकार हुन अब हामीले छाड्नुपर्छ । व्यक्ति सानो वा ठूलो जस्तो भए पनि उसको तापक्रम नाप्ने यन्त्र एउटै हुँदैन र ?

नेपाली सेना र भारतीय सेनाबीच पुरानो संस्थागत सम्बन्ध भएको इतिहास पढ्न पाइन्छ । भारतीय सेनामा गोर्खा सैनिकले देखाएको निस्वार्थ सेवा तथा बलिदानीको उच्च प्रशंसा हुँदै आएको छ । सैन्यस्तरको यो व्यावसायिक सम्बन्धले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन भूमिका निर्वाह गरेको छ । सेना–सेनाबीचको सम्बन्ध भनेको नेपाली सेना र भारतीय सेना मात्र नभई संसारभरिकै अभ्यास हो । कमाण्ड एन्ड स्टाफ कोर्स, माउन्टेन वार फेर र जंगल वारफेरका लागि झन्डै दुईदर्जन बढी मुलुकका उच्च सैनिक अधिकारी पनि नेपाल आउने गरेका छन् । यो विश्वमा नेपाली सेनाले पारेको प्रभाव र सैन्य कूटनीतिको परिणाम हो ।

देशभक्तिको मुद्दामा नेपाली सेना कसैबाट प्रभावित भएको पाइँदैन । नेपालको राष्ट्रिय सुरक्षा उसको पहिलो जिम्मेवारी हो । द्वन्द्वको शान्तिपूर्ण समाधान हुनुपर्छ भन्‍ने हरेक मुलुकको नीति हुन्छ नेपाल त्यही नीतिअनुसार अघि बढ्दै आएको छ, सेनाले त्यही मान्यतालाई सघाउँदै आएको छ । नेपालमा सेना मात्र यस्तो संगठन हो जसले मात्र संविधानको पूर्ण पालना गर्दै आएको छ ।

यहाँ देशभक्तिविनाको राष्ट्रवादको नाममा राजनीति हुन्छ, सत्ता र शक्तिको भागबन्डाको राजनीति हुन्छ, निर्वाचनमा सिट बाँडफाँटको राजनीति हुन्छ मुलुक र नागरिकको मुद्दामा भने प्रतिरक्षाको होइन प्रतिशोधको राजनीति हुन्छ । विचार, सिद्धान्त, आदर्श र निष्ठाको राजनीति मृतप्राय छ । सबै एकजुट भएर ‘नेसन फस्ट’ को मूल्यमा नैतिकता, सिद्धान्त र निष्ठाको राजनीति गरे  देशभक्ति मर्दैन । छिमेकीसँगको सम्बन्ध राम्रो भए परको छिमेकीले हेप्दैन । नेपाल र भारतको सेनाबीचको सम्बन्धलाई राजनीतिसँग नजोडौं । राजनीतिले बिगारेको सम्बन्ध दुई देशका सेनाबीचको संवादबाट सुध्रिएको ऐतिहासिक क्षणलाई स्मरण गरौं । मुलुक हितमा सैन्य कूटनीतिले पुर्‍याएको योगदानको उच्च सम्मान गरौं ।

न्यौपानेका अन्य लेखहरू
 


Author

थप समाचार
ad
x