विचार

एलन मस्कको कथाले मलाई छुन्‍न

वसन्त आचार्य |
भदौ १७, २०७९ १०:३० बजे

हिजोआज विभिन्‍न संघसंस्थाहरूले उत्प्रेरणा दिने खालका कार्यक्रमहरू निरन्तर गरिरेहका हुन्छन् । जीवनको मेलो समातेर हिँड्न नसकेकाहरूलाई हिँड्न सिकाउनका लागि यस्ता कार्यक्रम अहिले ‘ट्रेन्डिङ’मा रहेका छन् ।

विद्यालय, कलेज, कार्यालय, सहकारी संस्था, कृषि समूह हरेक तह र क्षेत्रमा काम गरिरहेकाहरूलाई उत्प्रेरित गरेर थप उत्साहित बनाउनका लागि यी कार्यक्रमहरू सञ्चालन भएका हुन्छन् । कुनै पनि क्षेत्रमा काम गरिरहेको या कुनै पनि मेलो समात्न नसक्ने मान्छेहरूका लागि यस्ता कार्यक्रमहरू निकै फलदायी हुने (?) विश्वास पनि गरिन्छ । तर के कति फलदायी भयो भन्‍ने कुराको लेखाजोखा भने कसैसँग छैन, केवल आत्मरतिमा सबै रमाइरहेका छन् ।


सामाजिक क्षेत्रमा थोरबहुत काम गर्ने भएको हुँदा मलाई पनि यस्ता कार्यक्रमहरूमा भाग लिने अवसर आइरहेको हुन्छ । काममा आउने उतारचढाबका बीचमा हुने यस्ता कार्यक्रमहरूले केही मात्रामा सितलता पनि प्रदान गरेको मलाई अनुभव छ ।

साता दिन पहिले यस्तै एक कार्यक्रममा सहभागी हुने मलाई अवसर मिलेको थियो । कृषि समूहमा आबद्ध महिलाहरूका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा आउने अधिकांश महिलाहरू नाम लेख्न मात्रै जान्‍ने खालका थिए (व्यक्तिगत विश्लेषण) । अझ समूहका महिलाहरू भएका कारण उनीहरू समूहको परिचय दिने पोसाकमा उपस्थित भएका थिए । 

उद्यमशील बन्‍नका लागि के गर्ने भन्‍ने बारेमा अनेक खालका कुराहरू भएका थिए । प्रशिक्षकले प्रशिक्षणका क्रममा सफलताको सूत्र के हो र कसरी सफल बन्‍ने भन्‍ने कुराका बारेमा उनीहरूलाई प्रसिद्ध व्यक्तिहरूका कुराहरू सुनाइरहेका थिए । संसारभर ख्याति कमाएका व्यक्तिहरूबारे हरेक कुराहरू निकै रोचक थिए । सहभागीहरूका कान ठाडो भएको थियो । प्रशिक्षक बोल्दा सभाहल पूरापूर मौन भएको थियो । कार्यक्रम सकिएपछि मैले एक सहभागीलाई कार्यक्रमका बारेमा सोधेँ, ‘कस्तो भयो कार्यक्रम ?’ उनले सुन्दा निकै आनन्द आएको तर कार्यक्रममा सुनिएका नामहरूले खासै प्रेरित नगरेको बताइन् ।

अन्य सहभागीहरूसँग भएको छलफलमा पनि उनीहरूले सोहीअनुसार नै जवाफ दिए । यो पहिलो मोटिभेसनल कार्यक्रम थिएन जहाँ संसारका ख्यातिप्राप्त व्यक्तिहरूका बारेमा सफलताका कुरा सुनाइएको थियो । यो देशका ख्यातिप्राप्त व्यक्तिदेखि भर्खरै मोटिभेसनल कार्यक्रम गर्न सुरु गरेकाहरूले पावरप्वाइन्टमा केही सीमित तस्बिरहरू राखेका हुन्छन् ।

विशेष गरेर संसार हल्लाएका वारेन बफेटदेखि, एलन मस्क, बाराक ओबामा, मार्क जुकरबर्ग, स्टिभ जब्स, फ्लोरेन्स नाइटिंगेल, म्याडम क्युरीहरू नै समेटिएका हुन्छन् । माथि उल्लेख गरिएका नामहरू अर्बौंबाट छानिएका नामहरू हुन् । उनीहरूका कथा सुन्दा निकै रमाइलो लाग्छ । सामान्य कथा हुनेथियो भने सायद उनीहरूको कृति यसरी संसारभरमा फैलने नै थिएन ।

आममान्छेले सोच्नेभन्दा उनीहरूको सोच्ने कुरा निकै फरक भएको कारणले गर्दा पनि यसो भएको हुन सक्छ । उनीहरूका कथा सुन्दा रोचक त होला तर के त्यसले हामीलाई उत्प्रेरित गर्छ त ? एउटा गाउँको सामान्य मानिसलाई विश्वप्रसिद्ध मानिसको सफलताको कथा सुनाएर ‘मनोरञ्जन’ अथवा केही क्षणका लागि जोस ल्याउन सकिएला तर त्यसले प्रतिफल भने दिँदैन । सामान्य अक्षर मात्रै चिनेको मान्छेलाई सामान्य मान्छेको जीवन किन हामी पढाउन सक्दैनौँ ?

‘केही कुरा त जानियो तर त्यति ठूलो मान्छेले गरेको जस्तो कहाँ गर्न सकिन्छ र ?’ माथि उल्लेख गरिएको कार्यक्रममा सहभागी एक महिलाले सुनाइरहेकी थिइन् । हाम्रा गाउँघरमा सानोतिनो काम गरेर जीवन गुडाइरहेका सामान्य मान्छेहरू किन हाम्रा उदाहरण हुन सक्दैनन् ? आँखाले छामिएका मान्छेका कथाहरू रोचक बनाएर हामीले प्रस्तुत गरेमा बाटो अलमल परेका मान्छेहरूले हिँड्ने बाटो भेटाउने थिए । आफैँले देखेका मान्छेका कथा उनीहरूका लागि जीवन्त मात्रै हुने थिएनन् आफ्नै कथा जस्ता पनि हुने थिए ।

हरियो पासपोर्ट च्यातेर हरियो बारीमा पसिना बगाउने किसानहरूका कथा किन हामी सुनाउँदैनौँ ? पाँच सयको सामग्रीले कुनै एक बरन्डामा कसेर हरेक दिन एक हजार कमाउने सार्की दाइको कथा किन हामीले सुनाउने कथा बन्‍न सक्दैन ? सानो बच्चालाई कोक्रोमा हल्लाउँदै पोते बुन्‍ने महिलाको कथा किन हाम्रो सफलताको ‘ग्राफ’मा अटाउँदैन ?

मैले विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई उत्प्रेरित गर्दा तिनै विश्व प्रसिद्ध व्यक्तिहरूबारे मात्रै शिक्षकहरूले चर्चा गरेको देखेको र सुनेको हुन्छु । हो, हामीले समाजका हरेक व्यक्तिलाई यो संसारकै महान् व्यक्ति बनाउन आवश्यक छ । तर के त्यो सम्भव छ ? हामीले हरेक दिन देख्ने र केही न केही गरिरहेका व्यक्तिहरू किन हाम्रा उदाहरण बन्‍न सक्दैनन् ?

हरियो पासपोर्ट च्यातेर हरियो बारीमा पसिना बगाउने किसानहरूका कथा किन हामी सुनाउँदैनौँ ? पाँच सयको सामग्रीले कुनै एक बरन्डामा कसेर हरेक दिन एक हजार कमाउने सार्की दाइको कथा किन हामीले सुनाउने कथा बन्‍न सक्दैन ? सानो बच्चालाई कोक्रोमा हल्लाउँदै पोते बुन्‍ने महिलाको कथा किन हाम्रो सफलताको ‘ग्राफ’मा अटाउँदैन ?

‘राम्रो काम गर्ने त सबै विदेशी मात्रै हुँदा रहेछन्, नेपाली त एउटा पनि सुनिएन,’ एक मोटिभेसनल कार्यक्रममा सहभागीको तीतो गुनासो थियो । हामीलाई हामी हिँड्ने बाटोमा हिँडेकाहरू सामान्य लाग्छ । उनीहरूको कथाको ‘भ्यालु’ सुनाउन लायक हामीले मान्दैनौँ । जसले गर्दा सात समुद्रपारिबाट रोचक कथाहरू नै हामीले सुनाइरहेका छौँ । ‘ठूला ठूला मान्छेहरूले कत्रो संघर्ष गरेका हुँदा रहेछन् हामीले कहाँ त्यस्तो संघर्ष गर्न सक्छौँ र ?’ कार्यक्रम सकिएपछि बाहिरिने क्रममा सहभागीहरूले दिएको प्रतिक्रिया थियो ।

हो, सामान्य मान्छे पनि संसारको प्रसिद्ध बन्‍न सक्छ भन्‍नका लागि लियोनल मेस्सीले चिया बेचेर फुटबलको तालिम लिएका थिए, आँखा नदेखेर पनि आँखा नदेख्नेहरूलाई पढ्नका लागि लुइस ब्रेलले ब्रेल लिपिको आविष्कार गरेका थिए, अरुको घरको पुस्तकालयबाट किताब मागेर पढेर आफूलाई प्रशिक्षित गर्दै अब्राह्म लिंकन अमेरिकाको सोह्रौँ राष्ट्रपति भएका थिए, लगायतका उदाहरणहरू पेस गर्नु जायज नै मानिएला तर समाजमा राम्रो गरिरहेका आँखै अगाडिका मानिसहरूलाई बेवास्ता गरेर विश्वप्रसिद्ध व्यक्तिहरूको नाम जपेर मात्रै हामीले जनतालाई कर्मशील बनाउन सक्दैनौँ ।

अहिले पनि म मेरो समाजमा कयौँ सफल मान्छेहरू देखिरहेको हुन्छु । फोब्र्स पत्रिकाले जस्तो हामीकहाँ सफलताको मानक पनि पैसा, सत्ता या शक्तिसँग मात्रै जोडिएको देखिन्छ । तल्लोबाट अमेरिका पुगेर टोपी खस्ने महल हाल्ने भन्दा पानी चुहिने झुपडीमा बसेर आफ्नै देशमा केही गरिरहेको मान्छे सफल हो भन्‍ने कुरा हामीले आजको पुस्तालाई बुझाउने प्रयास पनि गरेका छैनौँ । सायद हरेक दिन विमानस्थलमा आँसुको झरी पर्नुको एक कारण यो पनि होला ।

हामी बेलाबेलामा भन्‍ने गर्दछौँ, ‘बत्तीमुनि सधैँ अँध्यारो हुन्छ’ तर यो उखानलाई हाम्रो सामाजिक परिवेशसँग गलत साबित गर्न भुइँमान्छेका कथाहरूलाई पहिलो प्राथमिकता दिनुपर्दछ । एलन मस्कको पेपल, टेसला, स्पेस एक्स कम्पनीको चर्चा भन्दा गाईको दूध मोटर साइकलमा हरेक दिन बेच्न जाने हर्केको कथा हाम्रा लागि प्रेरक हुन सक्छ । तर हामीले समाजमा साना मानिसहरूका साना कथालाई कथा नै देख्न छाडेका छौँ । समाजमा साना–साना कामलाई काम नै भन्‍न छाडेका छौँ । इमानदारीको पहिचानलाई सफलताको मानक मान्‍न छाडेका छौँ । हामीले साँच्चै भन्दा आफ्नो गाउँ बनाउनका लागि गाउँ बनाउने मान्छेलाई चिन्‍न छाडेका छौँ ।

[email protected]

आचार्यका लेखहरू


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
ad
x