विचार

‘दोख’ले भोगेका अनेक ‘दोख’

सामीप्यराज तिमल्सेना |
असार २०, २०७९ १२:१८ बजे

अनुप बरालको निर्देशन रहेको फिल्म ‘दोख’ आउँदो हप्ताबाट प्रदर्शन हुँदै छ । निर्माणको चरणमै सात वर्षभन्दा बढी खर्चिएको फिल्मले दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वलाई पूर्वको एउटा जिल्ला भोजपुरको आँखाबाट प्रस्तुत गर्ने प्रयास गरेको निर्देशक अनुप बराल बताउँछन् । जनयुद्धको विषयमा पहिला बनेका फिल्मले स्थुल घटनालाई मात्र पर्दामा प्रस्तुत गरेकाले आफूले यो फिल्ममार्फत प्रतिहिंसाको डढेलाले कसरी मानिसलाई खरानी बनाउन सक्छ भन्‍ने ‘स्टेटमेन्ट’सहित यो फिल्मको बनेको अनुप बताउँछन् । इकागजका सामीप्यराज तिमल्सेनासँगको कुराकानीमा उनले फिल्म निर्माणमा खेप्नुपरेको हैरानीदेखि फिल्मले बोकेको दर्शनसम्मका कुरा यसरी सुनाए : 

‘दोख’ले भोगेका अनेक ‘दोख’ 
सुटिङ सुरु गरेको १० दिन मात्र भएको थियो । फुटबल मैदानमा झडपको दृश्य थियो । शिक्षक बनेका मनीष निरौलालाई खुकुरी हान्‍नुपर्ने दृश्य थियो । सेटमा सक्कली र नक्कली दुवै खाले खुकुरी थिए । कलाकारले नक्कली हैन सक्कली नै खुकुरी प्रयोग गरौँ भन्‍ने निधो गरेर रिहर्सल गरे । रिहर्सलमा सबै कलाकारले भनेअनुसारकै सट दिए । रिहर्सल अनुसारकै सट लिन भनेर एक्सन कट गरियो । रोयदिभले मनीषलाई खुकुरी हान्‍नुपर्ने थियो । तर नलाग्नुपर्ने रोभदिभले हानेको खुकुरी मनीषको औँलामा गएर लाग्यो । मनीषको औँला काटियो । यसरी सुटिङको दसौँ दिनमा आएर फिल्ममा पहिलो अवरोध आयो । मनीषलाई भोजपुरको अस्पतालमा उपचार गर्न सम्भव भएन । धरानको घोपा क्याम्प लैजानुपर्यो । यसरी सुटिङमा ‘दोख’ पस्यो । 


यो घटनाले हामी सबै निराश भयौँ । त्यहाँको परम्पराअनुसार बिजुवालाई देखाउने सल्लाह भयो । बिजुवाले त्यो मैदान मरेका मानिस अन्त्येष्टि गर्न लैजाने बाटो भएको र राम्ररी नमन्साई सुटिङ गरेकाले अनिष्ट भएको बताए । उनले केही दिन कुखुरा चढाएर मन्साउने सल्लाह दिए । हामीले हप्ता दिनसम्म क्यामरा खोल्नुअघि कुखुरा चढाउने काम गर्‍यौँ । 

सुटिङको दौरानमा अर्को पनि घटना भयो । फिल्ममा दुई गाउँबीच फुटबल प्रतियोगिताको दृश्य छ । यसका लागि हामीले गाउँबाट थुप्रै केटाकेटी जम्मा गरेका थियौँ । फुटबल खेल्ने दृश्य खिच्दा ७ जति बजेको थियो । सुटिङ सकिएपछि केटाकेटीलाई आफ्नो घर छाड्नु थियो । सुटिङ युनिट पनि विभिन्‍न घरमा होमस्टे बनाएर बसेको थियो । हामी फरकफरक गाडीमा फर्किरहेका थियौँ । म एउटा गाडीमा थिएँ अनि दिया (दिया मास्के) केटाकेटी लिएर अर्को गाडीमा थिइन् । पहाडको अप्ठेरो बाटो । केटाकेटी लडलान् भनेर दिया जिपको बाहिर बसेकी रहिछन्, अँध्यारोमा पत्तै नपाई झरिछन् । धेरै वर आइसकेपछि बल्ल केटाकेटीले दिया नभएको चाल पाए । हल्लाखल्ला भएपछि हामी आएकै बाटो फर्कियौँ । दिया कान्लामुनिबाट निस्किरहेकी रहिछन् । जताततै दर्फराएको थियो । 

यी त थिए, दोस्रो खेप सुटिङ गर्दाका दु:ख । तर पहिलो सुटिङमै हामीले नराम्रो आर्थिक क्षति बेहोरेका थियौँ ।  २०७२ सालको सुरुमै हामी सुटिङ गर्न भनेर भोजपुर निस्कियौँ । १२ दिनजति सुटिङ गरेका थियौँ । तर १३ औँ दिनमा भूकम्प आयो । सुटिङ प्याकअप गरेर काठमाडौँ फर्कनु पर्‍यो । यसरी सुटिङ गरेको एउटा सट पनि काम लागेन । लगभग एक वर्षपछि फेरि त्यही ठाउँमा सुटिङ गर्न जाँदा पहिलाका केटाकेटी बढेर अर्कै भइसकेका थिए । हामीले गाउँको स्कुल प्रयोग गरेका थियौँ बीचमा यस्तो स्कुल कसरी सिनेमामा देखाउनु, बेइज्जत हुन्छ भनेर गाउँलेले रङ्याइदिएछन् । यसरी पहिलाको सुटिङ मात्र होइन, लोकेसन पनि काम लागेन । दोहोरो खर्च गर्दा पहिला छुट्याएको सबै बजेट सकियो । 

सुटिङको तयारी
सन् २०१३ तिर न्यु नेपाली सिनेमाले पटकथा लेखन प्रतियोगिताको आयोजना गरेको थियो । त्यसको एक निर्णायक म पनि थिएँ । राजन कठेतले लेखेको यो स्क्रिप्ट हामी सबैलाई राम्रो लागेको थियो र अन्तत: यो पुरस्कृत पनि भयो । तर पछि निर्माता साथीहरूले यही कथामा फिल्म बनाउने भएपछि उहाँहरूले मलाई नै निर्देशन गर्ने प्रस्ताव राख्नुभयो । 

यो कथामा काम गर्नमा मलाई लागेको पहिलो कुरा के हो भने द्वन्द्वको कथामा ‘सेतो सूर्य’ र ‘कालो पोथी’लाई छाडेर गम्भीर रुपमा काम भएका छैनन् । द्वन्द्वको मनोविज्ञान बताउनेभन्दा पनि स्थुल घटनाक्रमलाई टिपेर मात्र फिल्म बनेका थिए । यो कथाको विशेषता भने ठूलठूला घटनाक्रमभन्दा पनि मनोविज्ञानलाई समातेर बुनिएका सानासाना दृश्य थिए, जसले युद्धको प्रभावलाई गहिरो गरी प्रस्तुत गरेका थिए । जस्तो कि तपाईंसँग आइडियोलोजी छैन तर पनि तपाईं आफ्नो फाइदाका लागि त्यो आइडियोलोजीको सहारा लिन खोजिरहनु भएको छ । मानिस स्वभावैले अवसरवादी हुन्छ । यो कथाका चरित्रमा पनि यिनै गुण रहेकाले मलाई यसलाई पर्दामा उतार्न रोचक हुन्छ भन्‍ने लागेर काम गर्ने सोच बनाएको हो । 

तर जनयुद्ध थामिएको १० वर्षपछि हामीले त्यसको पृष्ठभूमिमा काम गर्न खोज्दा त्यो समय पर्दामा देखाउनुपर्ने चुनौती थियो । यो कुरा हाम्रा लागि अलि ‘च्यालेन्जिङ’ नै रह्यो तर हामीलाई यसका लागि हाम्रो थिएटरको पृष्ठभूमिले सहयोग गर्यो । जस्तो कि हामीलाई लडाकुले बोक्ने गन चाहिएको थियो । हामी आर्मीकोमा पुग्यौँ तर आर्मीले कथा सुनिसकेपछि दिन मानेन । यही अवस्था कस्ट्युम डिजाइन र सेटमा पनि थियो । हामीले अलिकति रिसर्च गरेर यो सबै कुरा तयार गर्यौँ । कथाको मागअनुसारको घर पाइरहेको थिएन । हामीले पूरै घर भाडामा लिएर सेट बनायौँ ।

यसका लेखक राजन कठेतको घर खोटाङ हो । उहाँले पूर्वी परिवेशलाई कथामा उतार्नु भएको थियो । यही कारण हामीले पूर्वमा लोकेसन खोज्यौँ । संखुवासभा, खोटाङतिर पनि सुटिङ गर्न सकिन्छ कि भनेर हेर्यौँ । एउटा लोकेसन राजनले सुझाएका थिए तर त्यो पनि उपयुक्त लागेन । हामी भोजपुरमा लोकेसन खोज्दै हिँडिरहेका थियौँ चिया खाने बेलामा मैले त्यहाँको दिदीलाई फोटो देखाएर यस्तो ठाउँ पाइन्छ भनेर सोधेँ । फुटबल मैदान र छेउमा जंगल पनि भएको त्यस्तो ठाउँ हामीले स्केच गरेका थियौँ । यहाँ नभेटिए खोटाङको दिक्तेलतिर लाग्‍ने योजना थियो । तर दिदीले खोजे जस्तो ठाउँ नदेखेको बताए पनि मनले मानेन । 

मैले त्यही आफूले खोजेको जस्तो ठाउँ उल्लेख गरेर गुगल गरेँ । फुटबल मैदान देखियो । जंगल पनि थियो । मैले त्यही चिया पसलको दिदीलाई यो ठाउँ कहाँ भनेर सोधेपछि उहाँले यो त धनसुली हो भन्‍ने जवाफ दिनुभयो । हामी दिक्तेल छाडेर धनसुली मोडियौँ । यो भोजपुर बजारबाट ३ घन्टाको दूरीमा रहेछ । गएर हेरेपछि हामी सबैलाई चित्त बुझ्यो । 

अहिले ‘दोख’मा जो जो कलाकार अटाउनु भएको छ, सबै जना अडिसनबाट छानिनु भएको । दिया मास्के पनि । अहिले नेपोटिजमको पनि कुरा छ । दियाले गरेको भूमिकाका लागि अरुले पनि अडिसन दिनुभएको थियो तर मेरो टिमका सबैले दियाले नै बाँकीभन्दा राम्रो गरेको भनेर सामूहिक निर्णय गरेका हौँ । यसैगरी मनीष निरौलादेखि बाँकीको छनौट पनि त्यसरी नै गरिएको हो । भोलि फिल्म हेर्दा कोही बिझाउँछ जस्तो लाग्दैन । 

भिज्युअल स्टाइल
यो फिल्मले सशस्त्र द्वन्द्वको समयमा पूर्वी पहाडमा वन उपभोगको विषयलाई लिएर दुई गाउँबीच हुने संघर्षको कथा पेस गर्छ । यसमा चरित्रको तह छ र ती चरित्रले रिले दौडमा जस्तो आफ्नो भागको कथावाचन गरेपछि त्यो कथा अर्को चरित्रलाई सुम्पन्छन् । मलाई यो कथामा मन परेको पक्ष हो, यो । 

यसको भिज्युअल स्टाइल डिजाइन गर्दा मलाई लागेको कुरा के हो भने युद्धको समयमा मान्छे हतारमा हुन्छ । उसलाई चिटिक्क पर्ने–पार्ने फुर्सद हुँदैन होला । त्यसैले खिच्दा पनि फ्रेम कम्प्लिट बनाएर खिचेनौँ । अलि अलि छाडिदियौँ । यसले गर्दा इम्याचोर फिल्ममेकर भन्छ कि हामीलाई भन्‍ने प्रश्न साथीहरूको थियो तर मैले जेसुकै भनोस् भनेर त्यो स्टाइल अँगालेको छु । जस्तो तपाईंले दोस्रो टिजरमा हेर्नुभयो भने मनीषको चरित्रसँग कुरा गर्दागर्दै दियाको टाउको हराउँछ । ट्रेलरमा पनि यस्तो केही दृश्य अटाएका छन् । यो जानी जानी गरेको हो । 

अर्को चाहिँ समय सकसपूर्ण थियो । खुलेर कसैसँग बोल्न सक्ने अवस्था थिएन । त्यो भएर हामीले लेन्समा पनि प्रयोग गर्ने कोसिस गरेका छौँ । त्यो भनेको न्यारो लेन्स प्रयोग गर्ने । सामान्यतया स्यालो डेप्थ बनाएर सिनेमाटिक लुक निकाल्नलाई न्यारो लेन्सको प्रयोग गरिन्छ । तर मैले डिप फोकस विथ न्यारो लेन्सको प्रयोग गरेको छु । यसले के गर्छ भने पछाडिको दृश्य पनि फोकसमै छ । तर फ्रेममा जे देखिन्छ, साँघुरो गरी देखिन्छ ।

त्यसले दर्शकका रुपमा चाहिँ उकुसमुकुस बनाउँछ । फ्रेम खोलिदिए हुन्थ्यो नि भन्‍ने लाग्छ । छायांकार शैलेन्द्र डी कार्कीसँग यो स्टाइलमा खिच्ने भनेर छलफल हुँदा उनले मलाई भोलि लोकेसनमा गएर चाहिँ वाइड गर्न लोभ गर्नु भएन नि भनेर सचेत गराएका थिए । पछि खिच्दै जाँदा कहिले हिमाल खुलेको त कहिले आकाश खुलेका देख्दा वाइड खिच्न पनि लोभ लाग्ने । मैले रहर गर्दा पनि शैलेन्द्रले ‘दाइ तपाईंले के भन्‍नु भएको थियो, याद छ नि !’ भनेर सम्झाउँथे । यसरी हामीले कथालाई क्यामरामार्फत पनि भन्‍ने कोसिस गरेका छौँ । 

सिनेमाको अन्तिम १५ मिनेटमा चाहिँ हाम्रो मुख्य चरित्र पनि मानसिक दबाबबाट मुक्त हुने दृश्य छन् । त्यो समयमा चाहिँ हामीले पनि फ्रेमहरू खुला छाड्ने भन्‍ने सोचेर त्यसरी खिचेका छौँ । तर सोचेको कुरा पूर्णतया उतार्न सकेका छौँ भन्‍ने चाहिँ लागेको छैन । 

संगीतको प्रयोग 
फिल्ममा तीनवटा गीत छन् । दुइटा गीत हामीले सार्वजनिक गरिसकेका छौँ तेस्रो गीत फिल्मको अन्त्यमा मात्र बज्छ । सुटिङको तयारी गर्दा नै कथाको भावभूमि समेट्ने गीत राख्नुपर्छ भन्‍ने थियो । लोकेसन हेर्न जाँदा नै मैले त्यहाँका मानिसलाई गीत गाउन लगाउने र रेकर्ड गर्ने गरेँ । यसो गर्दा मैले घाँस काट्न जाँदा गाउने गीतको प्याट्रन पत्ता लगाएँ जसलाई भोजपुरकै कवि श्रवण मुकारुङलाई लेख्न लगाएँ । झुमा लिम्बूले त्यो गीत गाइन् । अर्को चाहिँ नेपथ्यले गाएको छ । नेपथ्यले फिल्मको गीत गाएको छैन अलि अलि पब्लिसिटीको पनि लोभ गरियो भनूँ न । तर तीनै गीत मैले लाइभ रेकर्डिङ गरेको हो ।

अन्त्यमा,
इतिहासका घटनामा फिल्म बनाउनु भनेको पूर्वघटित घटना मात्र देखाउनु हैन, यसो गरिरहँदा भविष्यमा यस्ता घटना नहोऊन् भनेर आँखा खोल्ने काम पनि हो । यो फिल्म भोजपुरको सेटिङमा बनेको भए पनि यो त्यो समयको समग्र नेपालको कथा हो । ठ्याक्कै यसैका लागि फिल्म हेर्नुस् भनेर भन्‍नलाई मसँग एक टुकको जवाफ छैन । तर यस्ता फिल्मले हामीलाई मानवीय बन्‍न प्रेरित गर्छन् कि भन्‍ने लाग्छ । अहिलेलाई त मेरो यत्ति अपेक्षा छ ।



Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
ad
x