विचार-वार्ता

सम्पादकीय

सबै पार्टी नागरिकका सवालबाट टाढा, धेरै टाढा

इकागज |
मंसिर १६, २०७८ १७:२ बजे

दलहरू महाधिवेशनको माहौलमा छन् । महाधिवेशनमा दलको नीति–व्यवहारबारे भने खासै छलफल भएको पाइएन । नेतृत्वका काम–नकामबारे न त समीक्षा नै भएको पाइयो । बरु उनै पुरानै पात्रलाई अनुमोदन गरियो, गरिँदै छ । राज्य सञ्चालनको जिम्मा पाउने दलहरूमा विचार–व्यवहारको नयाँ–नौलो–नवीनपन अब छैन । समीक्षा नै नगर्ने दलबाट के अपेक्षा ? अरु दललाई आलोचना गर्दै गफ दिने वैकल्पिक भनिएका पार्टीहरूमा त झन् बासी तथा सडेगलेको विचार हाबी भएको छ ।

अक्सर पार्टीहरू सत्तामा गएपछि आलोचित हुन्छन् तर वैकल्पिक भनिएका पार्टीहरू कुनै पनि हिसाबले पार्टी भन्नलायक छैनन् । पुराना पार्टीमा नयाँपन त छैन छैन, बरु नयाँ पार्टीमा पुरानोपन बढ्दै छ । लोकतन्त्रमा दलको विकल्प छैन । नागरिक आफ्ना दुःखका पहाडले थिचिएका छन् । कोभिड–१९ पछि झनै गरिबी बढेको छ । रोजगारीका क्षेत्र खुम्चिएका छन् । उद्योगधन्दा बन्द छन् । सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय आसेपासेलाई स्वतः स्थायी गर्ने निर्णय गर्छ । लोकतन्त्र भनेको खुलापन हो । तर, खुला प्रतिस्पर्धा यहाँ निषेध छ । खुला विचार अपहृत छ । 


गरिब नागरिकले विदेशबाट पठाएको रेमिट्यान्सले मुलुक चलेको छ । महँगी बढेको छ । धेरै नागरिकको कमाइ खुम्चिएको छ । बचत छैन । यस्तोमा नागरिकका समस्याप्रति दलहरू बेखबर छैन । मौन छन् । नागरिकलाई कसरी सुखी र खुसी बनाउने भन्नेतिर दलहरू लागेका छैनन् । बरु दलहरूको प्राथमिकता अवैध धनार्जन गरेका व्यापारी, दलाल, बिचौलिया पोस्नेतिर छ । दलहरूमा धनीमानीको बाहुल्य झनै बढ्दो छ । 

 

शिक्षा र स्वास्थ्य व्यापारी हाबी हुने, यिनैले पार्टी–सरकार–राज्य चलाउने देश कसरी समाजवादी हुन्छ ? 

देशलाई समाजवादउन्मुख घोषणा गरिएको छ । तर, व्यवहार ठीक उल्टो छ । आसेपासे पुँजीवादउन्मुख देशलाई समाजवादउन्मुख भनेर संविधान झुट बोलिरहेको छ । शिक्षा र स्वास्थ्य व्यापारी हाबी हुने, यिनैले पार्टी–सरकार–राज्य चलाउने देश कसरी समाजवादी हुन्छ ? 

यहाँ कम्युनिस्ट पार्टी, समाजवादी पार्टी, साम्यवादी पार्टी, राष्ट्रवादी पार्टीको कुनै कमी छैन । तर, कम्युनिस्ट पार्टीका केन्द्र, प्रदेश र जिल्ला त के पालिका र वडास्तरका कार्यालयमा मुख्य समस्या भनेको गाडी–पार्किङ हुँदै छ । सर्वहाराको प्रतिनिधित्व गर्छाैं भन्ने कम्युनिस्ट–समाजवादी दलका जिल्ला तहका कार्यालयमा गाडी पार्किङका लागि ठाउँ नपुग्ने स्थिति एउटा विम्बका हिसाबले भनिएको हो । 

आफूलाई सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल भनाउने नेपाली कांग्रेसमा लोकतन्त्र भेटाउनु टिकटिक नभएको सेलिब्रिटी भेटाउनु जस्तो गाह्रो भएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भनाउने पार्टीमा सुखी नेता र समृद्ध पार्टी–गुट मात्र भेटिन्छ । गरिब सोझा नागरिक भिडाएर मर्न–मार्न तयार भएर आएको पार्टी माओवादीको व्यावहारिक पतनको पाटोबारे त जति लेखे पनि कमै हुन्छ । 

समग्रमा भन्दा नागरिकका सवालबाट सबै पार्टी टाढा, धेरै टाढा पुगिसके । 



Author

थप समाचार