विचार-वार्ता

मेरो ‘युटोपियन’ पाठशाला

लिलाराज खतिवडा |
असोज २१, २०७८ १५:४६ बजे

मैले पढेका जुनसुकै पाठशालाहरूमा मलाई अर्को एउटा ‘चलाख सैतान’ वा ‘बुद्धिमान् शैक्षिक दास’ बनाउने प्रयास गरियो । एउटा शिल्पीका लागि त्यो सरासर नाजायज !

मूलधारको शिक्षालाई मेरा कैयन् चुनौती छन् । र, म आज यहाँ कुनै वैकल्पिक शिक्षाको पनि कुरा गरिरहेको छैन । आज मैले यहाँ प्रस्तुत गर्ने पाठशाला हो, एक ‘युटोपिया’ !


अब कथित मूलधारको शिक्षाप्रणालीलाई भटाभट केही प्रश्न गरौँ:

के वर्षमा आधा दर्जन पुस्तक पढाएर वा रटाएर यहाँ आदर्श समाज निर्माण गर्न सकियो ? कि जताततै चतुर, चलाख र धूर्तहरूको संख्या मात्रै बढ्यो ? तपाईं कसरी एउटा मौरीलाई झुसिल्किरोले जस्तो पात चबाउने तालिम दिन सक्नुहुन्छ ? वा एउटा झुसिल्किरोलाई तपाईं कसरी मह बनाउने तालिम दिन सक्नुहुन्छ ?

तर यस्तो लाग्छ, यहाँ मौरीहरू पात चबाउन बाध्य छन् र झुसिल्किराहरू मह बनाउन ताम्सिएका छन् । खराब राजनीतिले त्यसमा साथ दिएको छ । वा त्यस्ताले खराब राजनीतिलाई साथ दिइरहेका छन् । राजनीतिले असम्भव कुरालाई पनि सम्भव गरिदिन्छ । जस्तो, राजनीति मौरीलाई झुसिल्किरो र झुसिल्किरोलाई मौरी करार दिने गर्छ । 

एउटा संगीतको प्यासी कसरी इन्जिनियर हुन सक्छ ? चित्रकलाको प्यासी कसरी चिकित्सक हुन सक्छ ? कवि प्रवृत्तिमा रमाउने मानिस कसरी प्रशासक हुन सक्छ ? साधु स्वाभावको मान्छे कसरी कसाही बन्न सक्छ ? बरु यहाँ कसाही कायाकल्प भएर साधु बन्न सक्छ । तर एउटा साधुलाई कसाही बन्न किन बाध्य पार्ने ? र, यदि एउटा साधुलाई कसाही बन्न बाध्य पारियो भने ऊ विक्षिप्त हुने छ । दुनियाँमा यो भन्दा जघन्य अपराध अर्को के हुन सक्छ ?

यहाँ जो जे हो, उसले त्यो हुन पाएको भए दुनियाँ यति दयनीय र दर्दनाक हुने थिएन । यहाँ जो जे होइन, बढी जसो ऊ त्यही छ । यहाँ गोरुलाई खच्चर, खच्चरलाई उँट, उँटलाई जिराफ, जिराफलाई हात्ती र हात्तीलाई मान्छे बनाइएको छ । यहाँ आँपको बोटमा अम्बा फलाउने प्रयास गरिन्छ । अब त्यहाँ न आँप फल्छ, न त अम्बा नै । आँपमा अम्बा फलाउने निरर्थक प्रयासमा जिन्दगी स्वाहा ! 

जसले जे गरे पनि वा जोसँग जे प्यास भए पनि आफू र समग्र अस्तित्वलाई बोध गराउने शिक्षा पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो । तर यहाँ जागृत गराउने होइन, निद्रा लगाउने शिक्षाप्रणालीले जिन्दगीहरू भुटभाट पारेको छ । जागृत गराउनेभन्दा बेहोस तुल्याउने र बचाउनेभन्दा मार्ने शिक्षाले आज संसार आक्रान्त छ । यस्तो नकारात्मक शैक्षिक संक्रमणले आज जताततै रोगी र आपराधिक जनसंख्या निर्माण गरेर मानव अस्तित्वलाई नै संकटमा पारेको छ ।

यहाँ कोही खान नपाएर मर्दैछन् भने कोही बढी खाएर मर्दाछन् । सन्तुलित जीवनको अभ्यासमा त यहाँ विरलै मानिसहरू लागेका छन् । स्मरण रहोस्, खान नपाउँदा पनि कुपोषण हुन्छ र बढी खाँदा पनि कुपोषण नै हुन्छ । अनि शरीर कुपोषणग्रस्त भएपछि मष्तिस्क कुपोषित नहुने त कुरै भएन । यसै कारणले गर्दा दुनियाँका अधिसंख्यक विचारहरू यहाँ कुपोषणग्रस्त लाग्छन् । यहाँ सन्तुलित र अभिनव विचारको अब खडेरी पर्दै गएको आभास हुन्छ ।      

स्मरण रहोस्, यहाँ जताततै बासी र रोगी दर्शनले जिन्दगीहरू गाँजिएका छन् । यहाँ जताततै रोगी मान्छेहरूकै वर्चस्व छ । के धनी के गरिब ? यहाँ अप्रायोगिक शिक्षा तथा अनुचित खानपान र अराजक जीवनशैलीका कारण अधिसंख्यक मानिसहरू रोगी, पिलन्धरे वा सुन्निएका छन् । यसको प्रमाण टोलटोलमा खुलेका अस्पताल र औषधि पसल नै हुन् । जहाँ जति धेरै डाक्टर, त्यहाँ धेरै धेरै बिरामी !

आफ्नो कुरा गरौँ, कलेज छाडेपछि मात्रै मेरो खास पढाइ सुरु भएको थियो । यथास्थिति आफैँले नतोडेको भए, म निकै अगाडि जगत्बाट सदाका लागि पलायन भइसकेको हुन्थेँ । कागजका एक अँगालो खोस्टाहरूको अनकन्टार र दिग्भ्रमित जगत्बाट निस्किएर आफैँभित्रको सम्पदा नखोजेको भए, मेरो जीवन—सन्दर्भ बञ्जर भइसकेको हुने थियो । 

अनेक मूलधारे अनुसूचीउपर विद्रोहको ज्वाला ओकल्दै मैले सरोकारवालाहरूलाई सख्त आवाजमा भनेँ, ‘तपाईं एउटा सिमलको रुखलाई गमलामा रोप्न नखोज्नुहोस् । र, अथाह सागरलाई लोटामा कैद गर्ने धृष्टता पनि नगर्नुहोस् ।’ 

अनि लगातार कैयौँ वर्ष लगाएर मैले एउटा पृथक् पाठशाला निर्माण गरेँ । आफ्नै लागि । खासमा यो पाठशाला मात्रै नभएर एक शैक्षिक ‘युटोपिया’ नै हो । एउटा पुरानो अंग्रेजी भनाइ सापटी लिएर भन्नुपर्दा, खासमा म आफूलाई कुनै गुरु मान्दिनँ । न त मलाई कुनै ‘गुरुडम’मा विश्वास छ । तर मलाई कसरी पढाउने भन्ने राम्रोसँग थाहा छ ।  

मैले निकैअघि मनन गरेँ, यदि आफूलाई पढाइएका पाठशालाहरूबाट सन्तुष्ट नभए कस्तो पाठशालामा अध्ययन गर्न चाहन्थेँ त म ? अथवा, यदि अब फेरि मैले पढ्न थाल्ने हो भने, कस्तो पाठशाला रोजुँला ? तर रोजुँला कहाँ ? माफ गर्नुहोस्, यहाँ मलाई रोजाइको कुनै सुविधा छैन । मेरो रोजाइको पाठशाला सारा दुनियाँमै नरहेको जानकारी गराएँ । भए खबर पाउँ ।

तसर्थ आफैँ निर्माण गरेर आफूले पढ्ने एउटा अभूतपूर्व पाठशाला, मैले फेरि जिन्दगीका कैयन् पाठ सुरु गरेको छु । अस्वीकार गरेर सारा पुरातन वा आधुनिक शिक्षाहरू आज मैले फेरि जिन्दगीमा पहिलोपल्ट आफूलाई मानिलिऊँ ‘कखरा’ सिक्न कक्षा कोठामा राखेको छु । तपाईं पनि यहाँ सहभागी हुन सक्नुहुन्छ । तर अनिवार्य छैन । 

भन्नु उसो होइन, टाउको सुन्निएर रावण जस्तो विद्वान् वा शरीर फुलेर कुम्भकर्ण जस्तै बेहोसहरूलाई मेरो पाठशाला अलिक बढी (हाइभोल्टेज) नै पनि हुन सक्छ । अनि टाउकोमा अनेक कुण्ठा बोकेर जिन्दगी नामको वाहन मर्मत गर्न व्यस्तहरूलाई पनि यी कुरा अपाच्य हुन सक्छन् । वा, एक झिनो आशावाद, नहुन पनि सक्छन् ।  

मेरो पाठशाला नितान्त भिन्न हुनेछ । 

सुरुमै जनाउँछु, यहाँ पाठशालाको काम पाठशालामै र घरको काम घरमै हुने गर्छ । मेरो पाठशालामा विद्यार्थीले शुल्क बुझाउनु पर्दैन । उल्टै पाठशालाबाट कमाएर उनीहरूले घर चल्न सक्ने पैसा कमाएर लैजाने छन् ।

छात्रछात्राहरू घरबाट खाली हात आफ्नै पहिरनमा पाठशाला आउँछन् । त्यहाँ उनीहरू सबैको आआफ्नो ‘लकर’ हुन्छ । जहाँ ‘युनिफर्म’लगायत पाठशालामा आवश्यक पर्ने अन्य सामग्री पनि हुन्छन् । 

पाठशाला पुगेपछि विद्यार्थीले सर्वप्रथम सामूहिक स्नान गर्नुपर्ने हुन्छ । सबै उमेरका छात्रछात्राहरू अनुशासित भएर नग्न नै स्नान गर्छन् । विद्यार्थी आफैँले एउटा विशेष साबुन तयार गरेका हुन्छन् । पञ्चकब्य र अनेक जडिबुटी मिश्रण गरिएको त्यस्तो साबुनले त्वचाका टालिएका प्वाल खोल्छ र खुल्ला प्वाललाई टालिन दिँदैन । यसले त्वचालाई नरम र स्वस्थ पनि राख्छ ।

स्नानपश्चात लगाएको लुगा धोइपखाली सुकाएर विद्यार्थीहरू पाठशालाको ‘युनिफर्म’ लगाउँछन् । ‘युनिफर्म’ पनि विद्यार्थीले आफैँ तयार गरेका हुन्छन् । पाठशालामा सबैले गाँजा, अल्लो र जुटबाट उत्पादित बलिया लुगा लगाउँछन् । 

उनीहरूलाई अब पाठशालाकै खेतबारीमा नै उत्पादित पोषणयुक्त खाना खुवाइन्छ । समय लगाएर आरामसँग राम्रोसँग चबाउँदै खाना खाएपछि उनीहरू कक्षामा जान्छन् । मेरो पाठशालामा कक्षा, श्रेणी र लिंग विभाजन हुँदैन । उमेरको विभाजन भने अवश्य हुन्छ । किनभने, हुर्किंदै गरेका बच्चाहरूलाई फरक उमेरमा फरक शिक्षाको जरुरत पर्र्दछ । हुर्किंदै गरेका र हुर्किसकेकाहरूको भोजन निश्चय नै फरक हुन्छ । उमेरअनुसार भोजन परिवर्तन गर्न नजानेर नै आज मानव खिइएको हो ।  

बजारबाट केही पनि खरिद गरेर पाठशालामा ल्याइँदैन । बरु पाठशालाबाट टनका टन सामानहरू बजारमा बेच्न पठाइन्छ । पाठशाला आफूलाई आवश्यक पर्ने सारा कुराहरू उत्पादन र निर्माण गर्न सक्षम हुने छ । तत्काल नतिजा दिने जीवनोपयोगी प्रायोगिक शिक्षा दिन नसके केको पाठशाला ?

कक्षामा प्रायः पल्याँटी कसेर बस्नुपर्ने हुन्छ । तर आवश्यकताअनुसार टेबुलकुर्सीको पनि प्रयोग हुने गर्छ । कक्षामा सर्वप्रथम एकाग्रता बढाउन र अस्तित्व रहस्य झाँक्न आँखा बन्द गरेर सासमा ध्यान दिनुपर्ने हुन्छ । सास भित्र आइरहेछ । सास बाहिर गइरहेछ । प्राकृतिक रूपमा चलिरहेको सासमा आफ्नो सारा ध्यान टिकाउनु पर्छ ।

विद्यार्थीहरूलाई तीव्र्र एकाग्रता चाहिने हुँदा सासको वर्तुलमाथि होस राख्न सिक्नुपर्छ । लगातार आइरहेको र गइरहेको सासमाथि होस टिकाइरहनु पर्छ । एक घण्टा यस्तो ध्यान गरेपछि विद्यार्थीहरू संगीत, नृत्य र अन्य क्रियाकलापहरूमा सामेल हुन्छन् । शिक्षकले गाएर, नाचेर र अन्य अभ्यास गरेर देखाउँछन् । विद्यार्थी उनीहरूलाई अनुसरण गर्छन् । 

पाठशालामा सबैले संगीत, चित्रकला, नृत्य, खेलकुद, कृषि, पाककला जस्ता विषयहरू अनिवार्य रूपमा पढ्नु पर्ने र अभ्यास गर्नु पर्ने हुन्छ । शुरुमा हामी ‘कखगघ’ र ‘एबीसीडी’ रटाउँदैनौँ । यहाँ ध्यान, संगीत र नृत्यबाट हरेक बच्चाले शिक्षारम्भ गर्छ त्यसपछि बिस्तारै ऊ क्रमशः अन्य विद्या सिक्दै जान्छ । यहाँ कुनै दबाब छैन । विद्यार्थी यस्तरी प्रेरित हुन्छ कि पाठशालाको वातावरणमा ऊ हमेसा जिज्ञासु, उत्साहित र ऊर्जावान् कायम रहन्छ ।  

पाठशालामा खेतिपाती र पशुपालनसमेत हुन्छ । माटाका घैला र अन्य सामग्री बनाउने, मुढो वा हलो तास्ने, ढुंगा फोरेर मुर्ति बनाउनेजस्ता विषयहरू अनिवार्य । विद्यार्थीहरू समयसारिणीअनुसार अनेक क्रियाकलाप र सिर्जनात्मक अभ्यासमा सामेल हुन्छन् । हाम्र्रा विद्यार्थी गोबर पनि सोहोर्छन् र कम्प्युटर पनि चलाउँछन् ।

उनीहरू ठेकीमा मोही मारेर नौनी काढ्न पनि सिपालु हुन्छन् र कम्प्युटरमा भिडियो सम्पादन पनि गरिरहेका हुन्छन् । उनीहरू संस्कृत श्लोक पनि गाउँछन् र अंग्रेजीमा प्रवचन दिन पनि भ्याउँछन् । उनीहरू आँखा बन्द गरेर ध्यान पनि गर्छन् र आँखा खोलेर तारो पनि हान्छन् । 

यस ‘युटोपियन’ पाठशालामा जिन्दगीलाई खेल र उत्सवका रूपमा लिन सिकाइन्छ । हरेक कामलाई खेल, उत्सव र व्यायामका रूपमा लिन सिकाएर विद्यार्थीलाई तदनुरूप अभ्यास गराइन्छ । ‘टिनएज’ पुगेकालाई ‘जन्मशिक्षा’ दिइन्छ । ‘टिनएज’ सकिएपछि उनीहरूले ‘मृृत्युशिक्षा’ पढ्न पाउँछन् । यी दुई विपरीत अतिहरूका बीचको जिन्दगी नाम गरेको झिनो तर अति चहकिलो सम्भावनायुक्त अस्तित्वको बोध पनि गराइन्छ । 

छात्रछात्राहरूलाई पाठशालामै भोजन गराइने हुँदा उनीहरूलाई पाककलामा पनि निपूण बनाउँदै लगिन्छ । आफ्नो र अरुका लागि कसरी पोषणयुक्त भोजन पकाउने मात्रै नभएर अनाज र तरकारी फलाउने फुलाउने काममा पनि संलग्न गराइन्छ ।

पाठशालामा एउटा विशेष प्रयोगशाला हुन्छ । ‘टिनएज’ प्रवेश गरेसँगै छात्रछात्राले त्यहाँ अनेक प्रयोग गर्न पाउँछन् । हाम्रो शिक्षा पाएपछि विद्यार्थी दुनियाँसँग हरतरहले लड्न सक्छ । ‘सर्भाइभल अफ दि फिटेस्ट’ भनेजस्तै उसलाई हामी ज्ञानी, बौद्धिक र बहादुर बनाउँछौँ । ताकि उसले पढाइ सकेर दुनियाँसँग ठीक तरिकाले लडोस् । समृद्ध पाराले आफ्नो जिन्दगी चलाओस् ।

प्रयोगशालामा पाठशालामै निर्माण गरिएको रक्सी हुन्छ । खासमा विद्यार्थीहरूले नै रक्सी उत्पादन गर्न सिक्छन् । रक्सी के हो भनेर उनीहरू सैद्धान्तिक र प्रयोगात्मक अध्ययन गर्छन् । विद्यार्र्थीहरूलाई आफैँले बनाएको रक्सी चाख्नसमेत दिइन्छ । मात् के हो भनेर अनुभवकै तलबाट उनीहरूले शिक्षा लिन पाउनेछन् ।  

दुनियाँमा रक्सी छ्यापछ्याप्ती पाइने भएकाले पाठशालामै यसबारे विद्यार्थीलाई पढाइएन भने, उनीहरूले त्यस मात्ने झोललाई दुरुपयोग गर्छन् । त्यसैले यसका सारा राजहरू पाठशालामै खोल्नुपर्ने हुन्छ । बेलैमा यसका फाइदा र नोक्सानी बुझाउनुपर्ने हुन्छ । अहिले रक्सी विशेष झोल हो भनेर उनीहरूलाई बुुझाइएकोमा अब उनीहरूलाई रक्सी एउटा मादक द्रव्यसिवाय केही पनि होइन भनेर बुझाइन्छ र यसलाई सामान्य रूपमा लिन पनि सिकाइन्छ ।   

साथै दुनियाँमा प्रचलित अन्य नशाका बारेमा पनि विद्यार्थीलाई रक्सी जसरी नै सैद्धान्तिक र प्रायोगिक अध्ययन गराइन्छ । 

‘टिनएज’ पुग्दा भविष्यका कर्णधारहरूले जन्मशिक्षा अनिवार्य लिनुपर्छ । उनीहरूलाई बच्चा जन्मिँदै गरेको भिडियो देखाइन्छ । यौनका बारेमा स्वस्थ शिक्षा दिइन्छ । स्वयंसेवकहरूले अभिसार गरेर प्रत्यक्ष देखाउँछन् । र, ‘टिनएज’ सकिएका छात्रछात्राहरू पनि इच्छा भए कामक्रीडाको स्वस्थ प्रयोग गर्न स्वतन्त्र हुनेछन् । एकअर्काका यौन अंगहरूका विभिनताबारे उनीहरू बेलैमा परिचित गराइन्छन् । खासमा उनीहरूलाई लिंगले विभाजन नै गरिँदैन ।

सदियौँदेखि व्याप्त स्त्री वा पुरुषको भेदको अवैतनिक छापलाई बिस्तारै मेटाउने प्रयास गरिन्छ । समग्र मानवको परिभाषाले स्त्री र पुरुषलाई समेटेर उनीहरूका कार्यविभाजनबारे प्रस्ट्याइन्छ । प्रजनन स्वास्थ्य, प्रजनन कला, योग, आशन र प्राणायामसमेत सिक्दै अर्को लायकको बच्चा जन्माउन समर्थ भएर विद्यार्थी दिक्षित हुनेछ । 

यसप्रकार, छात्रछात्राका सारा उत्कसुकता र जिज्ञासाहरूलाई पाठशालामै समाधान गर्ने प्रयास गरिन्छ । ताकि एक स्वस्थ र शान्त भविष्य निर्माण हुन सकोस् । बाबुआमाले ठीकसँग नजन्माएको वा नहुर्काएको बच्चा मेरो पाठशालामा आएर आफूलाई ठीकठाक गर्दछ र बिल्कुलै नयाँ कार्यक्रम हालेर चेतना निखार्छ । अब ऊ आफ्नो घरसमेत ठीक गर्न र चलाउन सक्षम हुन्छ ।

अध्ययनकालमा नै व्यावसायिक शिक्षा कार्यक्रममार्फत उद्यम गरेर मेरा छात्रछात्राहरू घर चलाउने पैसा पाठशालामै कमाउँछन् । यसले उनीहरूमा पैसा नै सर्वोपरि हो भन्ने मान्यता तोडिन्छ र उनीहरूले पैसा साध्य नभएर साधनमात्रै भएको कुरा बुझ्छन् । अब जीवन निश्चय नै सहज बन्दछ ।

‘टिनएज’ सकिएपछि उनीहरूलाई ‘मृत्युशिक्षा’ दिइन्छ । मृत्युको सत्यतालाई स्वीकार गर्न सिकाइन्छ । र, मृत्युपार जाने उपायहरू अवलम्बन गराइन्छ । जीवन शाश्वत छ र देह मरणधर्मा छ । देहभित्र अति शक्तिशाली प्रकाश विराजमान छ । जो हाम्रो केन्द्र हो र स्थिर छ । यो न विगत न भविष्यत, यो सदा वर्तमान कालमा स्थिर छ । जवानीमै यो बोध विद्यार्थीमा गराइन्छ र स्थूलबाट सूक्ष्मतर्फ फाल हाल्न सिकाइन्छ । फलस्वरूप देहको मृत्यु जीवनको समाप्ती नभएर अनन्त जीवनको सुरुवात हो भन्ने तत्वबोध पनि विद्यार्थीहरूलाई गराइन्छ ।

देहसँग विद्यार्थीलाई अनाशक्त रहन सिकाइन्छ । मृत्युमा शोक होइन उत्सव मनाउने प्रेरणा दिइन्छ । वास्तवमा हाड, छाला र रगतको शरीरमात्रै मर्दछ । पाँच तत्वमध्ये आकाश तत्वको बोध नभएका कारण नै मानिसलाई मृत्यु भयावह लागेको हो । पृथ्वी, जल, अग्नि र वायुइतर–आकाश तत्वको उपादेयता नबुझेरै आजको मानव अतिशय छट्पटाइरहेको छ । विद्यार्थीहरूलाई आफैँमा अन्तर्निहित आकाश तत्वबारे जागृत गराइन्छ र उमेरअनुसारको भोजन गर्ने शिक्षा पनि दिइन्छ । जस्तो शरीरको वृद्धि समाप्त भएपछि पृथ्वी तत्वको सेवन क्रमशः छाड्ने र आकाश तत्व बढी ग्रहण गर्ने ।

रोगको कुनै पनि चर्चा पाठशालामा वर्जित । पाठशालामा सबैले हमेसा स्वस्थताको चर्चा र अभ्यास गर्नुपर्ने अनिवार्य हुन्छ । रोगबारे कुनै पाठहरू हुुने छैनन् । निरोगिता र समृद्धिबारे भने त्यहाँ अनेक पाठ हुनेछन् ।

आखिर मान्छे जे सोच्छ वा जे बोल्छ, ऊ त्यही हुन्छ । मान्छे सजिलै सम्मोहित हुने प्राणी हो । यदि मानिसले रोगकै चर्चा मात्रै गर्ने र सोच्न थाल्ने हो भने, ऊ स्वतः रोगहरूतर्फ सम्मोहित हुन्छ । तसर्थ रोगका सारा परिभाषाहरू जलाउनुपर्ने भएको छ ।

विद्यार्थीलाई घुस्सा हान्न र खानसमेत सिकाइन्छ । मार्सलआर्ट, कुस्ती र आत्मरक्षाका अनेक खेलहरूमा उनीहरूलाई पोख्त बनाइन्छ । पौडी, घोडचढी, हिमाल आरोहण जस्ता साहसिक खेलतमासा र कीर्तिमानी कार्यहरूमा उनीहरूलाई प्रेरित गरिन्छ ।

मन्त्रोच्चारण, यज्ञहवन, चिकित्साशास्त्र, वाचनकला, गायन, वाद्यवादन, चित्रकारी, मूर्तिकलादेखि लिएर खेतीपाती, पशुपालन, अंग्रेजी भाषा र कम्प्युटर प्रणालीमा समेत विद्यार्थीहरू निपूण हुन्छन् । यसका अलावा उनीहरू अरु जुनसुकै विद्यामा पनि जान स्वतन्त्र हुनेछन् । आफ्नो खाना र वस्त्र आफैँ उत्पादन गर्ने, आफ्नो घर आफैँ बनाउन सक्ने, धेरैभन्दा धेरै कला र विद्या जानेको, स्वस्थ, सम्बृद्ध र स्वावलम्बी भविष्य निर्माण गर्नु आजको आवश्यकता हो । त्यसैले समान अवसर दिएर असमान जनशक्ति उत्पादन गर्नु ‘युटोपियन’ पाठशालाको परम उद्देश्य हो । 

घरको काम पनि जानेका र पाठशालामा अनेक विद्या सिकेका युवाहरूको आज विश्वलाई खाँचो छ । कुनै पनि युवाले आफ्नो पुर्खाको काम जान्नु अति जरुरी छ । चाहे उसको पुर्खाको पेसा जुनसुकै होस् । वा युवाले जति नै भयंकर विज्ञता हासिल गरे तापनि यदि ऊ आफ्ना पुर्खा वा बाबुआमाको काम जान्दैन भने, ऊ अधूरै हुनेछ । त्यसैले ज्ञानमार्गमा पाठशाला आधा र घर आधा । 

पाठशालामा नै विद्यार्थीलाई घरमा कसरी सिक्ने भनेर एउटा विशेष कक्षा सञ्चालन हुन्छ । र, हप्तामा एकपटक आफ्ना नानीहरूले पकाएको स्वादिष्ट र पौष्टिक भोजन ज्युनार गर्ने गरी प्रत्येक विद्यार्थीका अभिभावक पनि यस्ता कक्षामा सहभागी हुनु जरुरी हुन्छ । 

विद्यार्थीलाई विवाह थोपरिँदैन । यो उसको नितान्त वैयक्तिक निर्णय हो । पाठशालामा प्रेम, करुणा र आत्मीयताको पाठ पढेकाहरू आफ्नो जिन्दगीका हरेक महत्त्वपूर्ण निर्णय ज्ञानसम्मत हिसाबले गर्न सक्षम हुन्छन् । 

विवाह गरेर सन्तानोत्पादनमा इच्छा हुनेहरू त्यतै एकाग्र हुन्छन् । हुनु जरुरी पनि छ । तर जसलाई सन्तानोत्पादनमा इच्छा छैन, उसलाई विवाहको दबाब हुँदैन । यस्ता विद्यार्थी स्वतन्त्र हुन्छन् र कुनै नवीन खोजमा लामो समय व्यतीत गरेर केही अभूतपूर्व आविष्कार गर्न सक्षम हुन्छन् । 

एउटा समृद्ध र स्वावलम्बी समाज र कुण्ठारहित मनुष्य निर्माण गर्नु चानचुने कुरा पक्कै होइन । पुरातन र आधुनिक दुवै शिक्षाले जीवनलाई समाधान नगरेर अझ विकराल तुल्याए । फलस्वरूप एउटा रोगी जमातले संसारमा शासन गरिरहेको छ । यहाँ रोग पढिन्छ । रोग बाँचिन्छ । र रोग मरिन्छ । जगत्बाट स्वस्थता किन यसरी गायब भइरहेको छ ? किन मानिसलाई अनेक रोगहरूले सम्मोहित तुल्याएर भयावह जीवन ज्युँन बाध्य पारिएको छ ? र, अनेक अथक प्रयासका बाबजूद मानिस रोगहरूबाट मुक्त नभई मर्न बाध्य छ ।

तसर्थ यो सभ्यतालाई बचाउने हो भने, दुनियाँभरको मौजुदा शिक्षाप्रणालीमा टड्कारो परिवर्तन आवश्यक छ । दासहरूले मात्रै संसार भरेर के भयो ? वा के हुन्छ ? हामीले यहाँ महामानव निर्माण किन नगर्ने ? मानवका सारा सम्भावित शक्ति उजागर गर्ने शैक्षिक प्रणालीको यथासम्भव विकास किन नगर्ने ? 

जाँदाजाँदै ब्रिटिस लेखक सि.एस. लेविसले भनेको यो वाणी छाड्न चाहन्छु । लेविसले भनेका थिए, जति नै उपयोगी भए पनि मूल्य र मान्यता बिनाको शिक्षाले एउटा मान्छेलाई अति नै चलाख सैतान बनाइदिन्छ । 

त्यसैले हामीले सि. एस. लेविसले भने जस्ता चलाख सैतान नभएर ज्ञानी, बहादुर र समृृद्ध जमातको निर्माणकार्यमा जुटिहाल्नु अति जरुरी भएको छ । नत्र हाम्रो ग्रहभ्रमण व्यर्थै जाने निश्चित देखिन्छ । 


Author

थप समाचार
ad
x