खेलकुद

पल्सर स्पोर्टस अवार्ड

एथ्लेटिक्सका दीपक र राजपुरा पछाई उत्कृष्ट खेलाडी घोषित

सञ्जीव शाह |
माघ २८, २०८० आइतबार २०:२९ बजे

काठमाडौँ- एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाईले आइतबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् । त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले वर्षको उत्कृष्ट पुरुष खेलाडी पुरस्कार जिते ।

गत वर्ष काठमाडौँमा भएको १६ औं एसियाली क्रसकन्ट्री प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दीपकलाई नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष विधाको पुरस्कार प्रदान गरेको हो ।


क्रिकेटरद्वय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखलाई पछि पार्दै दीपकले उपाधि जितेका हुन् । उपाधिसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे ।

एथलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन् । उनले मनोनयनको शीर्ष ३ मा परेका अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पारिन् ।

पिपुल्स च्वाइसतर्फ टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठले जितिन् । 

२० औं संस्करणको अवार्डमा सिक्काले फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ढगुंन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

फेसबुक लाइकबाट २८, प्रशिक्षकको मतबाट २८, एनएसजेएफ मेम्बरकोतर्फबाट १८, इशेवाबाट ४५ प्रतिशत मत प्राप्त गरेकी थिइन् । समग्रमा उनको प्रतिशत ४४.८० रहेको एनएसजेएफले जनाएको छ । पिपुल्स च्वाइस अवार्ड विजेता सुवालले पल्सर बाइक प्राप्त गरिन् ।

एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।

अवार्डको शीर्ष ३ मा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई पछि पार्दै उनले अवार्ड हात पारे ।

उनी १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक हुन् ।
खेल पत्रकार सुदर्शन रञ्जितलाई एनएसजेएफ स्पेसल अवार्ड २०७९ प्रदान गरिएको छ ।

अवार्ड समारोहमा पोखराका पत्रकार रञ्जितलाई सो अवार्ड प्रदान गरिएको हो । 

क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।

देव खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन उनले टिमको नेतृत्व गरेका थिए ।

पारा एथलिट अफ द इयरको अवार्ड मैयाँ विशुंखेलाई प्रदान गरियो । उनको जन्मिँदै दायाँ हातको आधा भाग थिएन । एथ्लेटिक्सकी अब्बल खेलाडी विशुंखेले २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनले सन् २००९ मा जापानको युथ पारा गेम्स, २०१० को चीनको ग्वाङझाउमा भएको एसियाली पारा गेम्स  र २०१२ मा लन्डन ओलम्पिक पारा गेम्समा उनले नेपालको प्रतिनिधित्व गरिन् ।

हङकङका चुइ चानले एसियन स्पोर्ट्स जर्नलिस्टको अवार्ड पाए ।

शारीरिक सुगठनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड भारत्तोलनका पहिलो ओलम्पियन राजेन्द्र कुमार प्रधानलाई प्रदान गरियो । साढे ५ दशकको भारोत्तोलनको इतिहासको सम्मान गर्दै उनलाई प्रदान गरिएको हो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x