खेलकुद

बव र मार्गरेटालाई एसियन ट्रायथलन कपको उपाधि

धनबहादुर गुरुङ |
चैत १८, २०७९ शनिबार २१:३४ बजे

पोखरा- नेपाल ट्रायथलन संघको आयोजनामा शनिबार पोखरामा एसियन ट्रायथलन कपको आयोजना भयो । प्रतियोगितामा १९ राष्ट्रका खेलाडीले भाग लिएका थिए । तीमध्ये ४७ पुरुष र १९ महिला थिए । बिहान फेवातालबाट सुरु भएको उपाधि यात्रा ५५ मिनेट ५५ सेकेन्डसम्म चल्यो । 

फेवातालमा पौडि, किनारमा साइक्लिङ र दौड ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ लक्जेम्वर्गका बव हलर उपाधि चुमे । महिलातर्फ स्लोभाकियाकी मार्गरेटा विकानोभाले जितिन् । पुरुषतर्फ उपाधि जितेका बवले ७.५ किमी पौडी ९ मिनेट ६ सेकेन्ड, २० किमी साइक्लिङ २८ मिनेट १६ सेकेन्ड र ५ किमी दौड १७ मिनेट १३ सेकेन्डमा पूरा गरे । 


उज्वेकिस्तानका एलेक्सान्ड कुरिसोभ हलरभन्दा २ सेकेन्ड मात्रले पछि पर्दा उपविजेतामा सीमित भए । उनले निर्धारित दुरी पूरा गर्न पौडी ८ मिनेट ५८ सेकेन्ड, साइक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै समग्रमा ५५ मिनेट ५७ सेकेन्ड लगाए । लक्जेम्वर्गका स्टेफन जाचाउस तेस्रो (५६ मिनेट १ सेकेन्ड) तेस्रो र जापानका क्योटारो योसिकावा (५६ मिनेट ९ सेकेन्ड) चौंथो भए ।

महिलातर्फ उपाधि विजेता स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ४ मिनेट ५१ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । जापानकी मिनोरी इकेनोले १ घण्टा ५ मिनेट १८ सेकेन्ड दोस्रो र जापानकै चिस्टो नाकाजिमा १ घण्टा ५ मिनेट ३० सेकेन्ड लगाउँदै तेस्रो भइन् । 

सन् २०१९ मा तत्कालीन अन्तर्राष्ट्रिय ट्रायथलन महासंघ (आइटियु) ले नेपाललाई एसिया कप गर्ने स्वीकृति प्रदान गरेपछि नेपालमा सो स्तरको प्रतियोगिताले निरन्तरता पाएको थियो । सन् २०१९ मा सुरु भएको एसिया कप कोरोनाका कारण २ वर्ष रोकियो । सन् २०१३ मा वेगनास तालमा पहिलो पल्ट दक्षिण एसियन च्याम्पियनसिप भए पनि त्यहाँ सडक पूर्वाधार कमजोर भएकोले फेवाताल किनारमा हुन थालेको हो । यो पटक एसियन, साउथ एसियन, साउथ एसियन जुनियर र नेपालगरी ४ विधामा महिला र पुरुषबीच प्रतिस्पर्धा भएको थियो । 

साउथ एसियन कपतर्फ इलाइट पुरुषतर्फ भारतका आदर्श मुरालीधरन नेर सिनिमोल पहिलो भए । उनले पौडी ११ मिनेट १ सेकेन्ड, साइक्लिङ ३२ मिनेट ५८ सेकेन्ड र दौड १८ मिनेट ४८ सेकेन्ड गरी कुल १ घण्टा ४ मिनेट १६ सेकेन्ड लगाए । भारतकै विश्वनाथ यादव दोस्रो र नेपालका वसन्त थारु तेस्रो भए । विश्वनाथले समग्रमा १ घण्टा ६ मिनेट २५ सेकेन्ड र वसन्तले समग्रमा १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका हुन् । सोही इभेन्टको महिलातर्फ प्रज्ञा मोहन प्रथम, भारतकी मान्सी मोहित दोस्रो र नेपालकी श्रेवी महर्जन तेस्रो भए । 

साउथ एसियन पुरुष जुनियरतर्फ भारतको वर्चश्व रह्यो । भारतका खुन्द्रापाम नाम्वा पहिलो, पर्थ मिराज दोस्रो र श्रीदाथ सुधीर तेस्रो भए । नेपालका यदु महर्जन चौंथो भए । जुनियर महिलातर्फ भारतकी सन्जना सुनिल जोशी पहिलो, नेपालकी श्रेवी महर्जन दोस्रो र भारतकी देविका शर्मा तेस्रो भए । 

नेपालका खेलाडी मात्र समेटेर भएको राष्ट्रिय ट्रायथलन इलाइट पुरुषमा वसन्त थारु प्रथम भए । उनले समग्रमा १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरी पूरा गरेका हुन् । दीपेश चौधरी दोस्रो र मौलिक महर्जन तेस्रो भए । दीपेशले समग्रमा १ घण्टा ९ मिनेट १७ सेकेन्ड र मौलिकले १ घण्टा ११ मिनेट ३ सेकेन्डमा दुरी पार गरे । सुसिम चित्रकारले १ घण्टा १५ मिनेट ८ सेकेन्ड लगाउँदै सान्त्वना भए । सोही इभेन्टको महिलातर्फ श्रेवी महर्जन प्रथम (१ घण्टा १८ मिनेट), केशरी थापामगर दोस्रो (१ घण्टा ३२ मिनेट ३१ सेकेन्ड) भए ।

७५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौडको ट्रायथलन र ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौडको दुवाथलन रहेको नेपाल ट्रायथलन संघ अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी दिए । दुवाथलन आइतबार हुनेछ । 


Author

थप समाचार
x