खेलकुद

महिला क्रिकेट खेलाडीलाई गण्डकी सरकारको उधारो पुरस्कार

धनबहादुर गुरुङ |
चैत १६, २०७९ बिहीबार ११:३२ बजे

पोखरा - सामाजिक विकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकीले मंगलबार क्रिकेट खेलाडीलाई सम्मान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा गण्डकी प्रदेश सरकारले चार क्रिकेट खेलाडीलाई सम्मान पनि गरेको थियो । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी र अन्डर १९ वल्र्डकपमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने दिपक डुम्रे, अर्जुन कुमाल र सुवास भण्डारीलाई ५०/५० हजार नगदसहित सम्मान प्रदान गरिएको हो । 

त्यहाँ सहभागी धेरैले ढिलै भए पनि प्रदेश सरकारले गज्जबको काम गरेको भन्दै प्रशंसा गरेका थिए । क्रिकेट खेलाडीहरू पनि निकै खुसी थिए । कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ लगायत सहभागी थिए । मन्त्रीहरूसँगै क्रिकेट संघसंस्थाका पदाधिकारी र क्रिकेटप्रेमीहरू पनि थिए । 


कार्यक्रममा शुभकामना दिनका लागि कार्यक्रम सञ्चालक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुलाई बोलाए । अनि प्रदेशको ढाँटको खेल छताछुल्ल भयो । प्रजुले प्रदेश सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म नदिएको रोस्टमबाटै भनिदिए ।‘अलिकति विडम्बना के भयो भने तत्कालीन सरकारले घोषणा गरेको हो । अर्थले घोषणा गरेको थियो । पछि त्यो फाइल खेलकुद मन्त्रालयमा गयो रे भन्ने सुनियो । पछि दुई मन्त्रालयबीच के मिलेन, अहिलेसम्म आएको छैन’, उनले भने, ‘अहिलेको सरकारसँग फेरि पहल गरेका छौं ।’

कुरो थियो, गत वर्ष कैलालीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ सहभागी महिला राष्ट्रिय क्रिकेट खेलाडीले पुरस्कार नपाएको विषय । त्यो समय गण्डकीको महिला टिम च्याम्पियन बनेर आएपछि पछि गण्डकीको टोलीलाई प्रदेश सरकारले सम्मान गरेको थियो । गण्डकीका तत्कालिन अर्थमन्त्री रामजीप्रसाद बरालले टोलीका १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ सदस्यीय टोलीलाई जनही ५०/५० हजार पुरस्कार दिने घोषणा गरेका थिए । तर, घोषणा गरेको एक वर्षसम्म पनि खेलाडीहरूले उक्त नगद पुरस्कार पाएका छैनन् । उधारो पुरस्कार उधारोमै सीमित भएको खेलाडीको गुनासो छ । 

नेपाल क्रिकेट संघले नै आयोजना गरेको प्रतियोगितामा गण्डकीले फाइनलमा कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गरी उपाधि जितेको थियो । उपाधिसँगै गण्डकीले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो । खेलाडीको प्रोत्साहन र उनीहरूलाई हौसला प्रदान गर्न सो पुरस्कार प्रदान गरिने समेत बरालले उल्लेख गरेका थिए । अहिले बराल अर्थमन्त्री छैनन् । सरकार पनि परिवर्तन भएको छ । 

पहिलेको सरकारले खेलाडीलाई दिने भनिएको रकम दिने तयारी भइरहेको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले बताए । उनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको बताए । ‘अर्थ मन्त्रालयलाई हामीले प्रस्ताव पठायौं, मन्त्रालयबाट मन्त्रिपरिषद्मा पठाउने चिठी प्राप्त भएको छ, त्यहीअनुसार अगाडि बढ्छ’, उनले भने ।


Author

थप समाचार
x