खेलकुद

नवौँ राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक ४० खेलाडीको 'एन्टी डोपिङ' परीक्षण

धनबहादुर गुरुङ |
कात्तिक ३, २०७९ बिहीबार १२:१२ बजे

पोखरा- गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीहरूको 'एन्टी डोपिङ' गरिएको छ ।

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टी डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत गठित एन्टी डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिएका छन् ।


उनले भने– 'राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक यो अभ्यास सुरु भएको छ । यसले नेपाली खेलकुदको स्वच्छतालाई अघि बढाउन सहयोग पुग्ने छ ।'

विभिन्न खेलका ४० जना खेलाडीको नमूना लिइएको डा. शाहले बताए । 'यो निकै संवेदनशील विषय हो । हामीले गरेको नमूना संकलन कुनै पनि दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै हो,' दक्षिण एसिया एन्टी डोपिङका सदस्यसमेत रहेका डा. शाहले भने– 'हामीले गरेको नमुना संकलनहरू कतार पठाएका छौं । नतिजा प्राप्त हुन केही समय कुर्नुपर्ने हुन्छ ।'

'खेलाडीले पदक जित्न शक्तिवद्र्धक औषधि प्रयोग गरेका इतिहास मात्रै होइन, एन्टी डोपिङबाट पदक खोसिएको इतिहास पनि हामीसँग छ', डा. शाहले भने– 'अब नेपाली राष्ट्रिय खेलाडीले आफ्नो खेलको प्रदर्शनको सुधार शक्तिबद्र्धक औषधीको प्रयोगबाट नभई आफ्नै सक्षमतामा निर्भर हुनुपर्छ ।' खेलाडीले जितेको पदक र खेललाईसमेत आधिकारिकता दिन एन्टी डोपिङको समेत विशेष भूमिका हुने उनले बताए ।

पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टी डोपिङका लागि दक्षिण एसियाली एन्टी डोपिङ संस्थाले सहयोग गरेको उनले जानकारी दिए । राखेपले एन्टी डोपिङका लागि डा. नविशमान सिंहको संयोजकत्वमा ६ सदस्य कमिटि बनाएको थियो ।


Author

थप समाचार
x