खेलकुद

११ महिने दुधे बच्चा बोकेर स्वर्ण

धनबहादुर गुरुङ |
असोज ३०, २०७९ आइतबार १०:५७ बजे

पोखरा - पोखरा रंगशालास्थित पोखरा बहुउद्देश्यीय कभर्ड हलमा ह्याण्डबलका पदक बिजेता खेलाडीहरूको सेलिब्रेसन चलिरहेको थियो । महिलातर्फ च्याम्पियन बनेको त्रिभुवन आर्मीका खेलाडीहरू पनि फोटो खिच्दै थिए । फोटो खिच्दै गर्दा एउटा बच्चा हातगोडाले हिँड्दै उतै लम्किए । धेरैले कसको बच्चा हो भनेर अचम्म माने । 

केही छिनमा बच्चालाई आर्मीकी खेलाडी मञ्जु राउतले आफ्नो काखमा लिइन् । दुधे बच्चा स्वर्णधारी खेलाडीको काखमा पुगेपछि उनैको हो भन्ने भयो । बच्चा बोकेरै राष्ट्रिय खेलकुदमा सहभागी भएकोमा कसैले आश्चर्य माने, कसैले बधाइ त कसैले माया देखाए । 


मञ्जु राउत भने आफ्नो ११ महिने छोरीसँग खुसी साट्दै थिइन् । महिला ह्याण्डबलतर्फ उनको टिम आर्मीले स्वर्ण जितेको थियो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा उनको टिमले एपिएफलाई १७–१६ स्कोरले पराजित गर्दै स्वर्ण जितेको थियो । 

अरु साथीहरू जितको खुसीमा रमाइलो गरिरहँदा उनी भने छोरी फकाउँदै थिइन् । खेल हुँदा प्यारापिटमा रहेकी छोरीमाथि बेला बेलामा नजर जुधाउँदै कोर्टमा गर्नुपरेको संघर्ष स्वर्णले भुलाएको उनले सुनाइन् । ‘छोरीले साह्रै दु:ख त दिदैँन तर पनि ११ महिने छोरी रोयो कि भन्ने चाहिँ हुने,’ उनले भनिन् ‘त्यति बेलाको पीडा स्वर्ण जितेपछि सबै हरायो ।’
 
कोर्टमा पुगेपछि बच्चाको भन्दा पनि खेलकै चिन्ता हुने उनले सुनाइन् । अधिकांश खेलमा उनी पहिलो रोजाइमै खेलिन् । छोरीको माया, परिवार र साथीहरूको साथकै कारण स्वर्ण जित्न सफल भएको उनको भनाइ छ । 

सातौं, आठौं र नवौंगरी ३ वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी राउतले आगामी दिनमा आफूलाई सुधार गर्दै जाने बताइन् । ‘छोरी काखमै हुँदा त यसरी खेलेर सफलता हात पारियो । अब त छोरी ठूली हुँदैछिन्,’ उनले भनिन् । 

अन्र्तराष्ट्रिय प्रतियोगिताका लागि छनोटमा परिसकेकी उनको अब राष्ट्रिय टिमबाट खेल्ने धोको छ । २८ वर्षीय राउत नेपाल आर्मीमा जोडिएको नौ वर्ष भयो भने ह्याण्डबल खेल्न थालको २०७२ सालदेखि हो । 

आर्मीको महिला ह्याण्डबल प्रशिक्षक भिम भट्ट पनि राउतको प्रदर्शनबाट खुसी छन् । ११ महिने छोरी लिएर खेल क्षेत्रमा अतुलनीय योगदान दिएको उनले बताए । 

राउत नेपाल आर्मीका लागि महत्वपूर्ण खेलाडी भएको भट्टले सुनाए । छोरी काखमा च्यापेर खेल्नु र पदक जित्नुमा खेलाडीको ईच्छाशक्ति नै ठूलो रहेको उनले बताए । ‘खेलाडी कै ईच्छाशक्ति हुनुपर्छ । यसमा प्रशिक्षक मात्र लागिपरेर हुँदैन,’ उनले भने, ‘खेलाडीले नै भित्री मनबाट म सक्छु, मैले गर्नुपर्छ भनेर लागेकाले च्याम्पियनसम्मको यात्रा तय भएको हो ।’ 

उनको ईच्छाशक्ति, खेलप्रतिको माया र पछिल्ला खेलहरूको सुधारले राउत महिला ह्याण्डबलको राष्ट्रिय टोलीमा पर्नेमा प्रशिक्षक भट्ट विश्वस्त छन् । 
 


Author

थप समाचार
x